शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियासँग अमेरिकाको डर : आणविक क्षमताभन्दा उसको मिसाइल हो

बुधबार, १० माघ २०७४, १५ : ००
बुधबार, १० माघ २०७४

एकपछि अर्को आणविक बम परीक्षण गरेर उत्तर कोरिया समय समय चर्चामा आइरहन्छ । तर अमेरिका उत्तर कोरियासँग रहेको आणविक बमभन्दा मिसाइल क्षमतामा हासिल गरिरहेको प्रगतिबाट बढी भयभित छ । उत्तर कोरिया र अमेरिकाको पश्चिम किनारालाई प्रशान्त महासागर मात्र छुट्याए पनि ती दुई देशबीच दश हजार किलोमिटरभन्दा बढी दूरी रहेको छ । त्यो दूरीमा मार हान्नसक्ने क्षमता अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलमा मात्र हुन्छ । जुन अमेरिका र रुससगँ हजारौँको सङख्यामा छ । शितयुद्धको समयमा यी दुई राष्ट्र यो मिसाइल एकअर्का विरुद्ध प्रयोग गर्ने धम्की दिन्थे । उत्तर कोरियाले यो मिसाइल हात पार्न लामो समयदेखि प्रयासरत छ । तर हालसम्म तिनले बनाएका मिसाइलका संस्करणले काम गरिरहेको छैन । 

उत्तर कोरियासँग सन् २००६ देखि नै परमाणु बम छ । तिनले आफ्नो छिमेकीमाथि प्रयोग गर्ने सामर्थ राख्छन् । तर ऊसँग लामो दूरीको निशानामा बम हान्नसक्ने प्रविधि छैन । बम खसाल्न हवाइजहाजको प्रयोग गर्न सकिन्छ (जस्तो नागासाकी र हिरोसिमामा यही विधिबाट बम खासालिएको थियो) । तर त्यसलाई लक्ष्यमा पुग्नुअघि सजिलै दुस्मनले नष्ट गरिदिन सक्छन् । फेरि उत्तरको धेरै राष्ट्रसँग हवाई सम्झौता छैन । आणविक बम प्रहार गर्ने सबैभन्दा प्रभावकारी तरिका सो बमलाई मिसाइलमा जोड्नु हो । 

उत्तर कोरियासँग मध्यम दूरीसम्म मार हान्न सक्ने थुप्रै मिसाइलहरू छन् । तर प्रयोगमा गर्न सकिने अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल भने छैन । यस्ता मिसाइलले पन्ध्र हजार किलोमिटर दूरीसम्म मार हान्न सक्छन् । खासमा यो चार अलग मिसाइल एकमाथि अर्को जोडेर एउटै एकाइका रूपमा काम गर्नेगरी निर्माण गरिएको मिसााइल हो । पहिलो चरणमा प्रत्येक हिस्सा एकपछि अर्को चालु गराएर बम राखिएको मुखको भागलाई अन्तरीक्षसम्म पुर्याइन्छ र दोस्रो चरणमा सो भाग आफ्नो लक्ष्यको माथि पुगेलगतै यसलाई वायुमण्डलमा प्रवेश गराएर विष्फोट गराइन्छ । यो निर्माण गर्न निक्कै जटिल उपकरण हो, जसका कारण उत्तर कोरियाले हालसम्म यसको निर्माण गर्न सकेको छैन ।

रकेट परीक्षणको आवरणमा उत्तर कोरियाले विगतमा छ पटक यो मिसायल परीक्षण गरिसकेको छ । जुन तीन पटक असफल भए र बाँकी दुई पटक रकेट अन्तरिक्ष त पुग्यो तर पुन वायुमण्डलमा प्रवेश गरिने महत्वपूर्ण चरणमा असफल रह्यो । भर्खरै गरेको परीक्षण सफल रहेको उत्तरको दाबी पनि सूक्ष्म निगरानीमा विश्वनीय देखिन्न । उत्तर कोरियासगँ सैद्धान्तिक रूपमा अमेरिकाको पश्चिमी किनारसम्म मार हान्न सक्ने के.एन.–०८ र के.एन.–१४ नामका अरू दुई मिसाइल रहेको छन् । तर यीमध्ये कुनै पनि अहिलेसम्म परीक्षण गरिएको छैन । त्यसैले यिनलाई विश्वसनीय मानिन्न । 

तर विगत दश वर्षदेखि उत्तर कोरियाले सो मिसाइलमा गरेको लगानीले ऊ आफ्नो लक्ष्य नजिक पुगेको छ । अमेरिकी सरकारका सुरक्षाविज्ञहरूले उत्तर कोरिया आजको रफ्तारमा गए २०२७ अघि त्यस्तो मिसाइल हात पार्न सफल हुने हिसाब निकालेका छन् । अमेरिकी जासुसी संस्थाले उत्तर कोरियाले सो मिसाइलको निर्माणको सबैभन्दा जटिल चरण– मिसाइलको मुखमा अटाउने आकारको आणविक बम निर्माणमा सफलता हात पारेको सूचना हासिल गरेका छन् । सानो आकारको बमले मिसाइल हल्का र प्रभावकारी बनाउँछ । अमेरिकाका लागि यो ठूलो टाउको दुखाइको विषय बनेको छ । 

उत्तर कोरिया यस्तो प्रविधि पहिले किन चाहन्छ त ?
निश्चित मिति थाहा नभए पनि उत्तर कोरियाले १९५० को दशकमा पहिलो पटक आणविक प्रविधि हासिल गरेको हो । उसलाई आफ्नो मित्रराष्ट्र तत्कालीन सोभियत सङ्घले आफ्नै रेखदेखमा ऊर्जा प्रयोजनको लागि आणविक बनाइदिएको थियो । सँगसँगै सोभियत सङ्घको संरक्षण स्वीकारेर ऊ आफ्ना शत्रुराष्ट्र द. कोरिया र अमेरिकाबाट सुरक्षित रह्यो । १९९१ मा सोभियत सङ्घको पतनसँगै त्यो सुरक्षाको प्रत्याभूतिको अन्त्य भयो । त्यसैले तत्कालीन उत्तर कोरियाली राष्ट्रपति किम जोङ इलले सोभियत सङ्घले आफ्नो भूमिमा छाडेर गएको आणविक भट्टीमा रहेको युरेनियमबाट हतियार बनाउने कार्यक्रम घोषणा गरे । अन्तर्राष्ट्रिय कानुनमा प्रतिबद्ध नरहेको राष्ट्रको हातमा आणविक हतियार पुग्नबाट रोक्न सबै कदम चाल्ने अमेरिकाले बतायो । इलको उक्त कार्यक्रम घोषणापछि निर्वाचित तीन अमेरिकी राष्ट्रपति सबैले उत्तर कोरियालाई रोक्न फरक फरक रणनीति प्रयोगमा ल्याए । क्लिन्टनले संवाद गरे, बुसले वार्ता भङ्ग गरेर धम्क्याए र ओबामाले पर्ख र हेरको रणनीति अपनाए । तर यी सबै प्रयास आणविक कार्यक्रम रोक्न असफल भए । सन् २००६ मा उत्तर कारियाले दशकौँको प्रयासबाट सो हतियार निर्माण गरिछाड्यो । यो हतियार हासिल गर्न उत्तर कोरियाले गरेको यत्रो प्रयासको कारण छ । किम वंश आफ्नो अस्तित्वरक्षाको एक मात्र विकल्प आणविक क्षमता हासिल गर्नु ठान्छ । सत्ताच्यूत हुनु केही समयअघिसम्म बलियो पकडमा रहेको ठानिएका इराकका सद्दाम हुसेन, लिवियाका मुअम्मर गद्दाफी अमेरिकाको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपमा फ्याँकिएबाट तिनको डर सतहहीन लाग्दैन । अझ गद्दाफीले त अमेरिकासँग वार्ता गरेर उसको सुरक्षा प्रत्याभूति हुने शर्तमा आफ्नो आणविक कार्यक्रम बीचमै त्यागेका थिए (यहि सम्झौताका कारण लिवियामका विद्रोहीलाई सघाउन उद्देश्यले नाटोले हमला गर्दा फ्रान्सले नेतृत्व गरेको थियो) । किम वंश आफू त्यो शृङ्खलाको अर्को सिकार नहुन दृढ देखिन्छ । त्यसैले तिनीहरू आणविक हतियार बोक्ने मिसाइल निर्माणमा प्रतिबद्ध देखिन्छन् ।

उत्तर कोरियासँग पन्ध्र सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘नोडोङ्ग’ मिसाइल काम गर्ने अवस्थामा छ । साथै उसले सोभियत सङ्घबाट उलेख्य सङ्ख्याका पाएको ‘स्कड’ मिसाइलहरू हजार किलोमिटरसम्म अत्यन्त प्रभावकारी छन् । यो दूरीमा उत्तरको दुई कट्टर दुस्मन द. कोरिया र जापान पर्छन् । त्यहाँ दुई हजारको सङ्ख्यामा अमेरिकी सेनासमेत रहेका छन् । यथार्थमा उत्तर कोरिया यो कुरा चर्को र प्रष्ट पार्न चाहन्छ, जुन ऊ बारम्बार गर्ने छोटो दूरीको मिसाइल परीक्षणबाट गरिरहेको हुन्छ ।

एक त यी परीक्षणहरूले तिनलाई आफ्नो मिसाइल सुधार्ने मौका प्रदान गर्छ । त्योभन्दा महत्वपूर्ण यसले राजनीतिक सन्देश प्रेषण गर्छ । जापान र द. कोरिया उत्तर कोरियामाथि पहिले आक्रमण नगर्नुको कारण तिनले आफ्ना ठूला शहरहरू क्षणभरमै नष्ट गर्ने क्षमता भएका यी मिसाइलहरू देखेका छन् । फेरि तिनीहरूसँग आफ्नै आणविक हतियार पनि छैनन् ।

उत्तर कोरियालाई तनावबीचमा पनि यी दुई मुलुकमाथि पहिलो हमला गर्नबाट एक मात्र अवरोध रहेको छ– अमेरिका । अमेरिकाले जापान र द. कोरियामाथिको आक्रमणलाई आफूमाथिको आक्रमण मानेर आफ्ना सम्पूर्ण क्षमता प्रयोग गर्ने सम्झौता गरेको छ । दोस्रो विश्वयुद्धलगतै भएको सो सम्झौताका कारण आज पनि यी दुई देशमा ठूलो सङ्ख्यामा अमेरिकी सेना तैनाथ छन् । यो व्यवस्थाले उत्तर कोरियाको हात तल परेको छ । अमेरिकासँग उत्तर कोरियासम्म आणविक बम हान्ने प्रविधि रहेको छ तर उत्तर कोरियासँग त्यस्तो छैन । यही बलका आधारमा अमेरिकाले उत्तर कोरियालाई नाकाबन्दी लगाएर बाँकी विश्वबाट एक्ल्याउन सक्छ । यो असन्तुलन हटाउन उत्तर कोरिया अन्तर महादेशीय ब्यालेस्टिक मिसायल हात पार्न यति व्यग्र रहेको हो ।

उत्तर कोरिया आफूले परीक्षण गरिरहेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ‘टाइप्अडङ्ग–२’ मा सफल रहे ऊ अमेरिकासँग तुलनात्मक सन्तुलको स्थितिमा पुग्छ । अमेरिकी भूमि आफै उत्तर कोरियाको निशानामा पर्ने अवस्थामा उसले जापान र द. कोरियालाई दिने सुरक्षाको प्रत्याभूति विश्वसनीय रहँदैन । आफ्नो सुरक्षा चिन्ताले स्वभाविक रूपमा जापान र द. कोरिया आफैले आणविक हतियार बनाउनेछन् । अमेरिकासँगको सन्धिमा बाधिएरको अवस्थाले मात्र आणविक हतियार निर्माण नगरेका यी दुई उच्च सम्पन्न राष्ट्र आणविक बम बनाउन उत्तर कोरियाभन्दा हरेक हिसाबमा सक्षम छन् । यसले आणविक प्रसारको अवस्था निम्त्याउनेछ । शित युद्धपछि आफू नेत्तृत्वको एकल ध्रुवीय विश्वमा अमेरिका पहिले आणविक हतियार भएका राष्ट्रभन्दा थप राष्ट्रले सो हतियारमा पहँुच नपाऊन् भन्ने चाहन्छ । हाल विश्वमा नौ राष्ट्रहरूसँग आणविक हतियार रहेको छ । उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल हासिल गर्नासाथ त्यस अवस्थामा परिवर्तन हुनेछ ।

द. कोरिया र जापानले आणविक हतियार निर्माण गरेमा अरू सबल आणविक हतियारविहीन राष्ट्रहरू (जस्तै जर्मनी, साउदी अरब) पनि आणविक हतियार अप्रसार सन्धिमा बाँधिरहनुपर्ने बाध्यता रहँदैन । त्यसैले अमेरिका अहिले गर कि मरको मुडमा रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प चिनियाँ समकक्षी सी जिनपिङलाई मनाउन निरन्तर कोसिस गरिरहेका छन् ।

आजको दिनमा उत्तर कोरियाको चीनसँग मात्र सीधा व्यापार विनियम चालु छ । यही व्यापारबाट सो राज्यले आफ्ना आधारभूतदेखि सम्पूर्ण आवश्यकता पूरा गर्छ । ट्रम्प चीनले उत्तर कोरियासँग रहेको यही सम्बन्ध पनि कटौती गरोस् भन्ने चाहन्छन् । उनी उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल निर्माणका लागि आवश्यक कुनै स्रोतहरू पनि नपाओस् भन्ने सुनिश्चिता गर्न चाहन्छन् । 

उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल हात पारे परिस्थिति आफ्नो हातबाट बाहिर जाने डरमा अमेरिकाले उत्तरमाथि हालसालै अकस्मात हमला (सर्जिकल अट्याक) गरे आश्चर्य हुने छैन । अमेरिका सो अवस्थामा चीन तटस्थ बसोस् भन्ने चाहन्छ । उत्तर कोरियाले पनि त्यस्तो सम्भावनाको नजरअन्दाज गरेको छैन भन्ने उसको मिसाइल क्षमताको परीक्षण गरिरहेको छ । चीन आफ्ना छिमेकीको व्यबहारबाट खुसी नरहेको देखिए पनि युद्ध भड्किएर आफूसँग लामो सीमा जोडिएको देशभित्र प्रतिस्पर्धी अमेरिकाको सैन्य उपस्थितिको सम्भावनामा बढी अस्वीकार्य मान्छ । ऊ सकेसम्म यथास्थिति कायम होस् भन्ने चाहन्छ । उत्तर कोरियाले थोरै भूभाग रसियासँग पनि जोडिएकाले उसको पनि यसमा सुरक्षा चासो रहने नै छ । आफै अमेरिकाको सानो स्तरको आर्थिक नाकाबन्दीमा रहेको यो देशले अमेरिकाको मनसाय असफल पार्न बाहिरी र गोप्य रणनीति अपनाउने निश्चित छ । यी तथ्यले कोरियाली सङ्कटको जटिलता दर्साउछ र यो क्षेत्रमा युद्ध सुरु भए त्यसले भूमण्डलीय स्वरूप ग्रहण गर्ने देखाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप