केन्द्रीय संस्करण

कथा : च्वाँक केटी–२

person explore access_timeअसार १७, २०७४ chat_bubble_outline0

-दीपक घिमिरे

जसरी भए पनि भेट्ने जिद्दी मैले लिएपछि हाम्रो भेट्ने योजना त बन्यो तर कहाँ भेटने ? विनाले एक दर्जन ठाउँका नाम लिई । तीमध्ये मलाई एउटा मन परेन । ऊ सिभिल मलमा भन्दै थिई, कहिले दरबारमार्गको कफी हाउस । 
मैले सीधै बजेटको अभाव देखाउन सक्दिनथँे । त्यसैले कहिले स्वयम्भु भन्थेँ त कहिले बाइसधारा पार्क । ऊ महँगा डेटिङ स्पट रोज्दै थिई । म भने पाँच रुप्पँे टिकट काटेर चार घण्टा बिताउने स्थान खोज्दैथेँ । उसको रोजाइ र मेरो खोजाइ नमिल्दै उसले भनी– ‘साँगा जाउँ साँगा ! वाटर पार्क पनि घुमौँला ।’
मोबाइलबाटै उसले एक झापट हाने जस्तो झस्किएँ । एकछिन चुप बसेर गोजा छामेँ । पुग–नपुग दुई सय रुप्पेँ थियो । पन्ध्र गते पछाडि बाले पैसा आईएमई गर्दिन्छु भनेको हुनाले गाडी भाडा मात्र लिएर काठामाडौँ निस्केको मसँग बचत यही दुई सय थियो । यतिले साँगासम्म गाडी भाडा पुग्दैन अझ वाटर पार्क घुम्ने सोच ।
‘इक्जाम आउँदैछ, साँगापछि जाउँला । आज यतै कतै भेटौँ है ?’ मैले बहाना बनाए । 
‘अनि कहाँ भेट्ने त बुद्धू ?’ उसले हल्का रिसाएजस्तो पारा झपारी । 
‘आज सँगै बसेर खाजा खाउँला, म तिम्रो कलङ्की चोकतिरै आउँछु, उतै भेट्ने है ?’ मलाई भेट्नुसँग मतलब थियो, स्थान जहाँ भए नि मैले भेट्ने परी विना हुनुपर्यो, बस । 
उसले स्वीकार गरेसी आजको दिन मेरा लागि निक्कै लामा भए । हिजोको रात त जेनतेन कट्यो तर आज खाजा खाने समय नै आउँदैन । बिहान भोकै थिएन त्यसैले भात पकाइनँ, दिउँसो खाजा खाने समय घडीको सुईले हुनै दिँदैन । 
बल्ल बल्ल बडो कष्टका साथ दिउँसोको दुई बजेपछि म कलङ्कीतिर निस्किएँ । लोकल माइक्रो चढेर कलंकी पुगेपछि उसलाई फोन गरे– ‘म कलंकी छु, अस्ती गाडी झरेको ठाउँ ।’ 
ऊ दस मिनेटमै देखा परी, स्वर्गकी परीजस्ती भएर । निलो कलरको चुज पाइन्ट, कन्भर्स जुत्ता अनि पिङ्क कलरको भेस्टमा । कानमा अलि ठूलै रिङ झुण्डाएकी उसले अलि महंगै चश्मा पहिरेकी थिई । झ्वाट्ट हेर्दा चिन्न मुस्किल पर्ने उसलाई मैले उसको जिरो फिगरबाट चिनेको थिए । 
म लजाएजस्तो गरेँ, उसले नजिकै आएर भनी– ‘बाइक छैन ?’ 
उसले बाइक भनेपछि मैले घरको थोत्रो हर्कुलिस साइकल सम्झिएँ । उतिबेला बजारसम्म दूध पुर्याउन बाले किनेको साइकल अझैसम्म छ । संसार बाइक चढ्ने भैसक्दा पनि मेरा घरमा त्यही हर्कुलिस साइकलले धानेको छ । 
‘बाइक !’ म अलमल परेजस्तो गरँे । 
‘डेटिङ लान खोज्ने तर बाइकै छैन है कञ्जुस !’ उसले हाँसो–ठट्टा गरेजस्तो गरेर मलाई पिन्च हानी । 
‘पढ्ने उमेरमा कसको हुन्छ र बाइक ? अब जब गर्न थालेसी किन्ने हो बाइक । म कार किन्ने सोच्दैछु ?’ मैले हल्का दिइहाले । उसलाई ट्वाँ पार्ने स्टाइलले गफ दिइएन भने उसलाई पट्याउन गारो थियो । किनकि ऊ हेर्दै आधुनिक युवती थिई ।
‘कहाँ जाने ?’ उसले आँखाको चस्मा निधारमा पु¥याउँदै सोधी । 
‘यतै कतै बसेर खाजा खाऔँ ।’ मैले यता–उता हेरेर रेस्टुराँ खोजँे । 
‘ह्या ! हँुदैन, यस्तो धुले ठाउँमा को बस्छ, जाऊँ न्युरोडतिर ।’ उसले टाउकोमा अडेको चस्मा फेरि आँखामा घुसाउँदै बोली । 
म फेरि झस्किएँ । जीवनको पहिलो डेटिङ, त्यो पनि दुई सय रुप्पँे बोकेर । 
मेरो इक्जाम आउँदैछ, आज यतै कतै बसेर मःमः खाऔँ । इक्जाम सकिएपछि जाउलाँ नि हुँदैन ?’ मैले बहाना बनाउन छाडिनँ ।
निधार खुम्च्याउँदै उसले भनी– ‘ह्वाट ? मःमः ? नो वे, म कहिले खाँदिनँ । आई डोन्ट लाइक मःमः ।’ 
उसको नक्कल अनि उसको बोल्ने शैलीले लाग्दैथ्यो आज म खत्तम भएँ, आज मेरो असली औकात बाहिर छचल्किन्छ । ऊ मःमः खाँदिनँ, आखिर के खान्छे ? समोसा ख्वाउने हैसियत छैन तैपनि म मःम ख्वाउने सपना देख्दैछु । तर ऊ भने नाक खुम्च्याउँदै छे, निधार बटार्दै छे । 
ऊ अघि–अघि हिँडी, म पछि–पछि । ऊ बाटोमा खास्सै बोल्दी रैनछे, म मात्र बोलिरहँे । ‘तिमी के गर्छ्यौ ?’ 
पहिलो डेट थियो, बसमा आँखा जुधेका थिए । न ऊ मलाई चिन्थी, न म उसलाई चिन्थे । यत्ति थाहा थियो कि ऊ निक्कै राम्री थिई, लोभलाग्दी । 
‘पढ्छु ।’ उसले छोटो उत्तर दिई । मलाई मीठो लाग्यो । 
‘कहाँ अनि कुन सब्जेक्ट ?’ मैले प्रश्न गरिरहेँ । 
‘ताहचालमा बी.एड्. लास्ट इयर हो ।’ उसले मलाई सोधी– ‘अनि तिमी ?’ 
‘बी.ई. हो, मेरो पनि लास्ट इयर । केईसीमा पढ्छु बसुन्धरा ।’ मैले छाती चौडा गराएँ । 
‘वाउ ! अनि कुन इन्जिनियरिङ पढ्दैछौ नि ?’ उसले मुहार हसिलो बनाई, सायद ब्वाइफ्रेन्ड इन्जिनियर पाएर होला । 
‘सिभिल इन्जिनियरिङ हो, हाम्रो जस्तो विकासोन्मुख देशमा सिभिल इन्जिनियरहरुको स्कोप धेरै छ । रुचि त कम्प्युटर इन्जिनियरिङमा थियो तर सिभिल नै पढेँ ।’ मैले देश दुनियाँ खाएजस्तो गफ लगाइदिए । ऊ छक्क परी सायद । 
कलङ्की उकालोमा भएको चाइना टाउन क्याफेमा पुगेका थियौँ, हामीहरु । टेबुलमा नबस्दै वेटरले मेनु ल्याइदिए । उसले मेनु टेबुलमा राख्दै भनी– ‘पैला दुई ठाउँमा भेनिलाल आइस्क्रिम ल्याऊ, भेनिला फ्लेवरमा ।’
वेटरले मुन्टो निहुराएर हस गर्यो अनि गयो, मैले मेनु हेरे जस्तो गरेर आइस्क्रिमको मूल्य हेरेँ । ओ माई गड ! एउटा आइस्क्रिम एक सय बीस रुपैयाँ । दुई सय चालीस त आउनै लाग्यो । गोजीमा दुई सय छ । अब कसो गरुँ, दाँत दुखेको बहाना गरेर आइस्क्रिम नखाऊँ क्यारे । यस्तै सोच्दैथे, वेटरले बडो सानसँग आइस्क्रिम ल्याइदियो । म फेरि एकपटक नराम्रोसँग झस्किएँ । 
आइस्क्रिम मलाई मन पर्छ तर नाक निचोर्दै भने– ‘भाइ ! एउटा आइस्क्रिम फिर्ता है, रुघाले सताएको छ । म लिँदैन ।’ 
उसले सजिलै मान्यो । एक सय बीस रुपैयाँ बच्यो ठान्दैथे, बिनाले मोबाइलमा हेर्दै भनी– ‘अनि म एक्लै खान्छु त ? तिमी पनि खाउ नत्र म पनि खाँदिनँ ।’
म फेरि फसेँ, जति बहाना गर्दा पनि त्यो आइस्क्रिम फिर्ता भएन अनि बाध्य भएँ । 
त्यो मीठो भेनिला फ्लेवर आइस्क्रिम मलाई करेला भन्दा तीतो लाग्दै थियो । चिसो आइस्क्रिम मलाई तातो मुखै पोल्ने लाग्दै थियो । तर बाध्य थिएँ खान । आइस्क्रिमका प्रत्येक बाइटमा हिसाब गर्दै अनि कसरी तिर्ने सपना देख्दै आइस्क्रिम सकँे । 
आइस्क्रिम सकेर अब निस्कने तयारी होला भनेको बिनाले फेरि वेटरलाई बोलाई, वेटर आयो अनि भनी– ‘दुई प्लेट पनिर पकौडा अनि दुई पिस चिकेन बर्गर । पैला पनिर पकौडा ल्याइहाल है भाइ ।’ 
ओ माई गड ! उसको अर्डरले मेरो सातो गयो । फेरि मेनु तानेर हेरेँ, एक प्लेट पनिर पकौडाको मूल्य दुई सय असी थियो अनि चिकेन बर्गर तीन सय पचासको एउटा ।
म झण्डै बेहोस भएन । ओठ सुके, हात थरथर कामे । यही हिसाब हो भने त पन्ध्र गते पछाडि बाले पठाउने कलेज फी र कोठा भाडा तिर्ने जम्मै पैसा यस्तै डेटिङ्मै सक्किने भो । एक पटकको डेटमा दुई हजारले नपुग्ने अवस्था थियो । 
पछिका कुरा मनमा खेल्दै थिए, यहाँ तत्कालको समस्या कसरी टाराँै भैराको थियो । वेटरले ल्याइदेका मीठा–मीठा खाने कुरा मलाई विषजस्तै लाग्दैथे । मनले हिसाब गर्दैथ्यो । अनि सोच्दैथेँ के गरुँ, कसो गरुँ ?
ट्वाइलेटले सतायो, भन्छन् नि मान्छे डरले सु गर्छन् भनेर ! ठ्याक्कै त्यस्तै भयो । खाँदा–खाँदै मैले कान्छी औँलाको इसाराले विनासँग समय मागेँ । उसले मुन्टो हल्लाएर अनुमति दिई ।
ट्वाइलेटमा पुगेर सु गर्न आँटेको तुरुक्क बाहेक अरु एक थोपो झरेन । सबै डरले यस्तो भएको थियो । एकैछिन ट्वाइलेटमै बसेर सोचे, अब के गर्ने ? 
होटलको बिल तिर्न नसकेर बेइज्जत हुनु अनि बिनालाई गुमाउनु र अहिले नै यतैबाट टाप कसेर भाग्नु अनि विनालाई गुमाउनु एउटै थियो । विनालाई गर्लफ्रेन्ड बनाइरहन पनि फाइदाजनक देखिन अनि पछाडिबाटै टाप कसेर एकै पटक सीतापाइला चोकमा निस्किएँ । उसले सयौँ कल गरी, मैले उठाइन् । फेसबुक खोलेर सुटुक्क उसलाई ब्लक गर्दिएँ अनि आफ्नै औकातमा फेरि पढाइलाई निरन्तरता दिएँ । 
आजभोलि सोच्दैछु ! यी गर्लफ्रेन्ड, डेटिङ अनि मोजमस्ती भन्ने कुरा हुने खानेलाई हो । हामी जस्तालाई त कल्पनामै रमायो अनि बाआमाले रोजेकीलाई जीवनसाथी बनायो ।

यो पढ्नुभयो ?

कथा : त्यो च्वाँक केटी

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ