शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गममा किन बढ्दैछन् आँखाका बिरामी

शुक्रबार, १९ माघ २०७४, ११ : ४०
शुक्रबार, १९ माघ २०७४

 

जाजरकोट- यस जिल्लामा उमेर ढल्केका मात्र होइन, कलिलै उमेरका व्यक्तिमा पनि आँखाको समस्या बढी रहेको पाइएको छ । महिनैपिच्छे हुने आँखा शिविरमा ३०० भन्दा बढीले आँखाको उपचार गराएको तथ्यांक रहेको छ । 

सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा रहेका स्थानीयवासीमा आँखाको समस्या बढी रहेको पाइएको हो । नलगाड नगरपालिकाले तीन महिनायता गरेको आँखा शिविरमा महिनैपिच्छे ३०० भन्दा बढी आँखाका बिरामीले उपचार गराएका छन् । नगरपालिकाले विभिन्न संघ संस्थाको सहयोगमा आँखा शिविर गर्दै आएको छ । 

नलगाड नपाको दल्ली स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार दैनिक पाँचभन्दा बढी आँखाकै बिरामी उपचारका लागि आउने गरेका छन् । आँखासम्बन्धी शिविरमा समेत महिनैपिच्छे आँखाका जटिल खालका ३०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । सामुदायिक आँखा उपचार केन्द्र खलंगामा दैनिक २० जनाभन्दा बढी आँखाका बिरामी आउने गरेको उपचारमा संलग्न सुशील पुनले जानकारी दिनुभयो । 

गाउँघरमा खाना बनाउँदा होस् या अन्य कामका लागि होस् दाउराको प्रयोग बढी हुने गर्दछ । दाउराको प्रयोग बढेसँगै खुला चुलोबाट निस्किने धुवाँका कारण यहाँका ग्रामीण क्षेत्रमा बढी आँखामा समस्या देखिने गरेको छ । 

सुधारिएको चुलो ग्रामीण क्षेत्रमा नभएका कारण थप धुवाँको समस्या भएको हो । आँखाको हेरचाहमा ध्यान नदिने, धमिलो पानीमा सरसफाइ गर्ने, जथाभावी आँखा मिच्दा बढी आँखामा समस्या आएको चिकित्सकले बताएका छन् । उमेर ढल्केमा मानिसकै तुलनामा युवा अवस्थाका मानिसमा आँखाको समस्या देखिएको सामुदायिक आँखा उपचार केन्द्र खलंगाले बताएको छ । 

जिल्लामा एकमात्र आँखा उपचार केन्द्र भएका कारण पनि बिरामीको संख्या बढी भएको हो । गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा आँखासम्बन्धी खासै जाँच नहुने भएकाले सदरमुकामसम्म आउन आँखाका बिरामी झन्झट मान्ने तथा आर्थिक अभावले समयमै उपचार नहुने गरेको हो । गाउँघरमा हुने विभिन्न खालका शिविरमा मात्र कहिलेकाहीँ सामान्य खालको आँखाको उपचार हुने गर्दछ । जटिल खालका आँखाका बिरामी आँखाको उपचार गर्ने अस्पताल टाढा हुँदा रोग पालेर बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । 

बिहीबार नलगाड नपाको दल्लीमा भएको आँखा शिविरमा मात्र ४०० भन्दा बढीले आँखाको जाँचका लागि बिरामी आएको आयोजक नलगाड नगरपालिकाले बताएको छ । आँखामा समस्या आएपछि स्वास्थ्य संस्थाभन्दा पनि धामीकहाँ गएर झारफुक गराउनको संख्या ठूलो रहेको छ । 

आँखाको उपचार गराउन जाजरकोट सदरमुकाम र नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ । उपचारको अभावमा आँखाका बिरामी पीडा सहेर बस्नुपर्ने बाध्यता रहेको नलगाड नपा–११ का वडाध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आँखा उपचार गर्नका लागि आवश्यक स्रोत साधनसमेत नहुँदा स्वास्थ्यकर्मी उपचार गर्न सकिरहेका छैनन् । वृद्धवृद्धालाई आँखाको समस्या भएपनि उपचारमा लाने मानिस नहुँदा आँखाका बिरामीको संख्यामा वृद्धि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप