केन्द्रीय संस्करण

समाजवादको अपव्याख्या

person access_timeमाघ २५, २०७४ chat_bubble_outline0

      ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार मानव समाज  विकासले विभिन्न ऐतिहासिक चरणहरू पार गर्दैआएको देखिन्छ । यसमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग अनि समाजवादी ऐतिहासिक युगहरूको अभ्यास भइसकेको छ । 
समाजवादी राज्यरूपको पनि तीनवटा विशेषता देखिन्छ । यसमा काल्पनिक, वैज्ञानिक र उपभोक्तावादी समाजवाद पर्छ । औद्योगिक क्रान्तिको विकाससँगै पुँजीवादको जन्म भयो । यसमा मजदुर र मालिकबीच चरम अन्तरविरोधपूर्ण अवस्था रह्यो । शोषण,  विभेद र असमानता पुँजीवादको पर्याय नै बन्नपुग्यो । यही वस्तुगत धरातलमा पुँजीवादको विकल्प बारे वैज्ञानिकहरूले बहस प्रारम्भ गरे ।

     यसैक्रममा दार्शनिकहरूले शोषण र विभेदरहित आदर्श समाजको परिकल्पना गर्न थाले । उनीहरूको आदर्श समाजलाई नै  काल्पनिक समाजवाद भनियो । यो अवधारणा अपनाउने दार्शनिकहरूमा साइन्ट सिमन, रोवटै ओवेन, चाल्र्स फ्युरियर र प्रुँधो लगायतकाहरू थिए । तर उनीहरूले ऐतिहासिक रूपमा विकसित सर्वहारा र पुँजीपति वर्गबीचको सङ्घर्षको निरन्तर प्रक्रियाबाट मात्र समाजवाद सम्भव हुन्छ भन्ने वैज्ञानिक मान्यता अन्वेशण गर्न सकेन । यसकारण यो अवधारणा काल्पनिक हुनपुग्यो ।

     आजकल बुर्जुवाहरूले पनि रणनीतिकरूपमा समाजवाद पदावलीको प्रयोगमार्फत यसको चरम अपव्याख्या गरिरहेका छन् । तर उनीहरूको समाजवाद केवल भौतिक पूर्वाधार विकास, अमूक आर्थिक समृद्धि र भौतिक भोगविलाशमा सङ्केन्द्रित देखिन्छ । उनीहरू यो इतिहासको निर्मम प्रक्रिया वा सङ्घर्षबाट प्राप्त हुने सच्चाइलाई इन्कार गर्छ । व्यवहारमा व्यक्तिवादी असमान र विभेदपूर्ण आर्थिक उत्पादन, वितरण र लम्पट उपभोग नै उपभोक्तावादी समाजवाद हो । यो पुँजीवादकै पछिल्लो विकृत रूप हो ।

     तर यता माक्र्स र एङ्गेल्सले काल्पनिक समाजवादको खण्डन गर्नुभयो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक गर्दै वैज्ञानिक समाजवादी अवधारणा अन्वेषण गरे । यसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरूको स्वरूप स्पष्ट गरिएको छ । उनीहरूले पुँजीवादी साम्राज्यको गर्भबाट नै वैज्ञानिक समाजवाद जन्मिने ऐतिहासिक भौतिकवादी मान्यता अघि सारे । यस आलेखमा वैज्ञानिक समाजवादको असली विशेषताहरूको चर्चा गरिएको छ ।

     (क) राजनीतिक विशेषताः विकसित पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकालीन राज्यव्यवस्था नै वैज्ञानिक समाजवाद हो । यो साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र दलाल पुँजीवाद विरोधी राज्यव्यवस्था हो । यो समुदाय केन्द्रित सामाजिक आर्थिक पद्धतिमा आधारित हुन्छ । आर्थिक विकासको सामाजिक सम्बन्धको विशिष्ट ऐतिहासिक चरण हो । वैज्ञानिक समाजवाद बनिबनाउ र आकस्मिक रूपमा नभएर ऐतिहासिक विकासक्रमको शृङ्खलामा विकसित उत्पीडक र उत्पीडित वर्गहरूबीचको सङ्घर्षको लामो प्रक्रियाबाट स्थापित हुन्छ । प्राथमिक चरणमा पुँजीवादी र समाजवादी द्वैध आर्थिक पद्धति अस्तित्वमा रहन्छ । तर उच्च चरणमा आर्थिक, सामाजिक र सांस्कृतिक स्वरूप समाजवादीकरणको उच्चतम विन्दुमा पुग्दछ, जहाँ पैसाको मूल्य, ज्याला र पुँजीसञ्चय न्यून हुँदैजान्छ । यसैको जगमा साम्यवाद निर्माण गरिन्छ ।

     प्रगतिशील पुँजीवादमा जनताको अधिनायकत्व हुन्छ भने वैज्ञानिक समाजवादमा सर्वहारा (उत्पीडित) वर्गीय अधिनायकत्व हुन्छ । सम्पूर्ण जनतालाई एउटै समाजवादी राजनीतिक मिसनमा गोलबन्द गरिन्छ । सिङ्गो मानव समाज एउटै लक्ष्य र गन्तव्यको ऐतिहासिक प्रक्रियामा गोलबन्द हुन्छ । बहुसङ्ख्यक सर्वहारा वा उत्पीडित वर्गीय अधिनायकत्व अन्तर्गत उत्पादक शक्तिको अधिकतम विकास गरिन्छ । सार्वजनिक, सहकारी र सामूहिक मनोवैज्ञानिक सोच र चिन्तनलाई लामो सङ्घर्षको प्रक्रियाबाट संस्थागत गरिन्छ । यो लामो आन्दोलन हो जुन सबैको सचेत र सङगठित प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।

     वास्तवमा यो समाज विकासको ऐतिहासिक प्रक्रियाकै एउटा महत्वपूर्ण चरण हो । यो सर्वोत्तम र उन्नत साम्यवादी विश्वव्यवस्थाको आधारशीला हो । यो अस्थायी र सङ्क्रर्मणकालीन हुनेगर्दछ । राज्यको सबै सत्ताहरू एकल समाजवादी मिसनमा आआफ्नो ठाउँबाट क्रियाशील रहन्छ । त्यति मात्र होइन यो वर्ग सचेत क्रान्तिकारी जनताको सङ्क्रर्मणकालीन वर्गीय अधिनायकत्वसहितको राज्य व्यवस्था हो । यसमा समानता र सामाजिक न्यायको पूर्ण प्रत्याभूति हुन्छ ।

      निजी स्वार्थको ठाउँमा सामाजिक र सामूहिक स्वार्थसहितको आम पद्धति स्थापित गरिन्छ । सम्पूर्ण नागरिकहरूलाई समाजवादी उन्नत चेतना र मनोविज्ञानद्वारा प्रशिक्षित गरिन्छ । उन्नत समाजवादी चेतनाको विकाससँगै जनताका आवश्यक्ताहरूमा राज्यले दायित्व लिन्छ । यद्यपि बुर्जुवाहरूले दायित्व लिनुलाई नै समाजवाद भनेर अपव्याख्या गरिरहेका छन् । सम्पूर्ण नागरिकहरूको समान र सामूहिक पहुँच र अवसरको सुनिश्चितता गरिएको हुन्छ । सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सत्ताहरूलाई प्रक्रियागत रूपमा समाजवादीकरण गरिन्छ । सबैखाले शोषण, विभेद र हेला होचो लगभग समाप्तिको दिशामा हुन्छ ।

     (ख) आर्थिक विशेषताः राजनीति र अर्थतन्त्र अन्तरसम्बन्धित आयामहरू हुन् । सार्वभौमतः वैज्ञानिक समाजवादका लागि अर्थतन्त्रको चरित्र पनि सामूहिक र सामाजिक हुनेगर्दछ । यसमा राष्ट्रिय औद्योगिक अर्थतन्त्रको पूर्ण आकारमा विकास गरी त्यसलाई समाजवादीकरण गरिएको हुन्छ । समाज पूर्णरूपमा औद्योगीकृत हुनुपर्दछ । सामानको प्राचुर्यता र सेवा पर्वाह व्यापकरूपमा गरिन्छ । आन्तरिक पुँजीको वृहत्तर विकास पछिको सामूहिक तथा न्यायपूर्ण परिचालन र वितरणको समग्रता नै समाजवादी अर्थतन्त्रको सार हो । उद्योग, कलकारखाना र अन्य आर्थिक एकाइहरूलाई राष्ट्रियकरण र सहकारीमा पुनर्सङ्गठित गर्दै समाजवादीकरण गरिन्छ । अर्थतन्त्रको मूलभूत चरित्र सार्वजनिक, सामूहिक र सहकारी पद्धतिमा आधारित हुन्छ । श्रमशक्ति खरिद बिक्रीको अन्त्य गर्दै समाजका सदस्यहरू मजदुर–मालिक एउटै भूमिकामा रहन्छ । राज्य एउटा समृद्ध एवम् सुखी समुदाय र परिवार जस्तो हुन्छ ।

     मूलतः उत्पादनको साधनहरूको सामूहिक स्वामित्व र सामाजिक परिचालन गरिन्छ । यसमा व्यक्तिगत स्वामित्वको ठाउँमा सामाजिक स्वामित्व स्थापित गरिन्छ । सामाजिक स्वामित्वको लामो प्रक्रियागत अभ्यासपछि मात्र साम्यवाद सम्भव हुन्छ । स्वायत्त सहकारी, प्रत्यक्ष सार्वजनिक स्वामित्व र सामूहिक उपयोगका लागि उत्पादन गरिन्छ । प्राथमिक चरणमा बजार सम्बन्ध अस्तित्वमा रहे पनि  क्रमिक रूपमा नाफा र बजारबिहीन सामाजिक आर्थिक सम्बन्ध स्थापित गरिन्छ । पछौटे र टुक्रे आर्थिक उत्पादन सम्बन्धलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै व्यापक परिमाणमा उत्पादन गरिन्छ । यसमा क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति हुन्छ ।  वैज्ञानिक समाजवाद भनेको आर्थिक तथा सामाजिक प्रणालीको ऐतिहासिक शृङ्खला हो, जहाँ उत्पादक शक्तिहरूको समुचित विकास गर्नुको साथै उत्पादनको साधनहरूमा जनताको पूर्ण नियन्त्रण र सामूहिक स्वमित्व हुन्छ ।

     अर्कोतिर वैज्ञानिक समाजवादमा उत्पादक शक्तिहरू सचेत र विकसित हुनु अपरिहार्य हुन्छ । पछौटे उत्पादन सम्बन्धले समाजवाद सम्भव हुँदैन । उत्पादनका साधनहरूमा श्रमजीवीहरूको पूर्ण नियन्त्रण अनिवार्य हुन्छ । उत्पादन, विनिमय, वितरण र उपभोगमा सामाजिक पद्धति अङ्गीकार गरिन्छ । उत्पादन सम्बन्ध र सम्पत्तिमा जनताको स्वामित्व कायम गरिन्छ । यसमा सार्वजनिक, सामूहिक र सहकारी स्वामित्व रहन्छ । राज्यले मानव मात्रको हर आवश्यक्ताको दायित्व लिने राजकीय सामाजिक पद्धति नै वैज्ञानिक समाजवाद हो । सामाजिक आर्थिक सत्ताको समुदाय केन्द्रित पद्धति निर्माणको वैज्ञानिक तरिका नै समाजवाद हो ।

     (ग) सांस्कृतिक तथा सामाजिक विशेषताः आज विश्वमा उपभोक्तावादी  संस्कृति हावी छ । यो माक्र्सवाद विरोधी संस्कृति हो । उपभोक्तावादी संस्कृतिले वैज्ञानिक समाजवादको वकालत गर्दैन । यसको लागि माक्र्सवादी उन्नत, न्यायिक र प्रगतिशील संस्कृति अपरिहार्य हुन्छ । यो समानता, न्याय र मानवतामा आधारित हुन्छ । वास्तवमा भाते, स्वादे र भोगविलासी प्रवृत्ति नै उपभोक्तावाद हो । यसमा चरम आत्मकेन्द्रित व्यक्तिवाद र भोगविलाशवाद हावी हुन्छ । तर वैज्ञानिक समाजवादमा भने माक्र्सवादी पद्धति अनुरूपको उन्नत चेतना अनिवार्य हुन्छ । उपभोक्तावादी समाजवादमा सम्पूर्ण सत्ताहरू निहीत स्वार्थको गुरुत्वकेन्द्रमा घुमिरहन्छ । व्यक्तिगत सम्पत्ति आर्जनको होडबाजीका कारण भ्रष्टाचार संस्थागत हुन्छ । मुट्ठीभर योग्यतमहरू हावी हुन्छन् ।

     तर यता वैज्ञानिक समाजवादमा सबै नागरिकहरूलाई कामको प्रकृति अनुरूप समान वितरण र उपभोगको अवसर दिइन्छ । समाजवादी संस्कृतिले जनतामा उन्नत माक्र्सवादी सामूहिक चेत र मनोविज्ञानलाई आधारभूत शर्त स्वीकार गर्छ । तर उपभोक्तावादले भने राज्यले दायित्व लिने नाममा जनतालाई ब्रोइलरीकरण गर्छ । सामूहिक पद्धति, चिन्तन र चेतविना राज्यबाट उपलब्ध गराइने सेवासुविधा भनेको जनतालाई ब्रोइलर बनाउने काइदा मात्र हो । यसबाट समाजवाद निर्माणको लामो एवम् कठिन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रिया पूरा हुनसक्दैन । किनकि धनी बन्नु नै समाजवाद होइन । ऐतिहासिक आन्दोलनको निरन्तर प्रक्रिया मार्फत मान्छेको सोच्ने तरिकाहरूलाई रूपान्तरण गर्ने पद्धति नै वैज्ञानिक समाजवाद हो ।
     त्यस्तै सामाजिक रूपमा पनि एकरूपता, सद्भाव र मेलमिलापको राजकीय नीति अपनाइन्छ । उता बुर्जुवाहरूले भने सामाजिक उत्पीडनहरू कायम राख्दै मौखिक अमूक सामाजिक सद्भाव र मेलमिलापको कुरा गर्छ । तर व्यवहारतः उनीहरूको वर्गचरित्रले सबै समुदायहरूलाई समान र न्यायपूर्ण व्यवहार गर्दैन । यो वर्गीय सार्वभौम नियम हो । वैज्ञानिक समाजवादमा सबै समुदायहरूलाई समान अवसर, न्याय र सम्मानसहितको सामाजिक सद्भावको वकालत गरिन्छ । यसमा विभिन्न वर्ग, जाति, क्षेत्र र लिङ्गका नागरिकहरू एउटै सुन्दर परिवारमा सङ्गठित हुन्छन् । स्वार्थ, सोच, चाहना, मर्म र भावना पनि सामूहिक वा सामाजिक पद्धतिमा आधारित हुन्छ । सामूहिक रूपमै दुःख, कष्ट, खुशी र हाँसो, पीर र चिन्ता साटासाट गरिन्छ ।


     त्यसैले माक्र्सवादी मान्यता अनुरूप साम्यवादमा पुग्ने अस्थायी साधन नै वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद लामो र निरन्तर सङ्घर्षको प्रक्रिया मार्फत रूपान्तरित उन्नत सामूहिक चेतनाको विकास पछि मात्र सम्भव हुन्छ ।  पुरानै सोच र मनोविज्ञानमा आधारित पछौटे उत्पादन सम्बन्धमा समाजवाद स्थापना हुँदैन । जनताका मौलिक अधिकारहरूमा राज्यले दायित्व लिनु नै वैज्ञानिक समाजवाद होइन । यो आम जनताको औसत चिन्तन, मनोविज्ञान, सोच र स्वार्थबाट माथि उठेको उन्नत सामूहिक तथा मानवीय प्रगतिशील चेतबाट मात्र सम्भव हुन्छ ।

     यसका लागि सामूहिक, राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय हुँदै मानवीय उन्नत चेतना विकास जरुरी हुन्छ । निजी स्वार्थमा आधारित आर्थिक पद्धति अन्तर्गत राज्यले दायित्व लिनु भनेको समाजवादको सुनियोजित अपव्याख्या मात्र हो । यस्तो पद्धति वैज्ञानिक समाजवाद हुनसक्दैन । यो त बुर्जुवा  उन्नत चेत, सामूहिक स्वार्थ, न्यायिक वितरण र उपयोगमा आधारित हुन्छ । साम्यवाद अघिको सङ्क्रमणकालीन सामाजिक आर्थिक पद्धतिसहितको न्यायिक राज्यरूप नै वैज्ञानिक समाजवाद हो ।     

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ