मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

धर्मनिरपेक्ष मुलुकमा ‘धार्मिक’ राष्ट्रपति !

शुक्रबार, २६ माघ २०७४, १३ : ००
शुक्रबार, २६ माघ २०७४

–२१ माघ २०७४ मा राष्ट्रपति विद्यादेवी भण्डारी धार्मिक क्षेत्र मानिने देवघाटधाम पुगिन् । गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याञ्चल विराट् ज्ञान महायज्ञको देवघाटधाममा उद्घाटन गरिन् । राष्ट्रपति भण्डारीले नवनिर्मित नर्मदेश्वर शिव मन्दिर र धर्मशालाको उद्घाटन गनुको साथै यज्ञमण्डपमा दीप प्रज्ज्वलन गरी महायज्ञको शुभारम्भ गरेकी थिइन् ।

सो अवसरमा उनले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । राष्ट्रपतिले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रूपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको संवद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउनुपर्ने पनि बताइन् । गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रूपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको राष्ट्रपतिको भनाइ थियो ।

–८ माघ २०७४ मा राष्ट्रपति भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण तथा प्रसाद ग्रहण गरिन् । बिहान ११ बजेर १७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी थिइन् । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता थियो । शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो । हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त श्रवण गराउनुका साथै राष्ट्रपति लगायतलाई प्रसाद दिएका थिए ।
 
यसै महिना राष्ट्रपतिले सहभागी जनाएका यी दुई धार्मिक कार्यक्रम हुन् ।  राष्ट्रपति भण्डारीले पछिल्लो दुई वर्षमा हरेकजसो धार्मिक कार्यक्रममा सहभागिता जनाएकी थिइन्, जसरी राजाहरूले राष्ट्रप्रमुखको हैसियतमा जनाउथे । प्रथम राष्ट्रपति रामवरण यादवले पनि शक्तिपीठको पूजाअर्चना, मन्दिर दर्शन तथा शक्ति पीठको भक्तिजस्ता धार्मिक कार्यक्रममा सहभागिता जनाउने गरेका थिए ।  

 
यसअघि पनि राष्ट्रपतिले धार्मिक कार्यक्रममा रुचिपूर्वक सहभागी जनाउने गरकी थिइन् ।

जस्तो कि २९ असोज २०७४, हिन्दुहरूको महान् पर्व बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा गएर पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका विजेस वनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराएका थिए ।
 
नवदुर्गाका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरिन् । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरूलाई जनही ५०५ का दरले दक्षिणा प्रदान गरिन् । वि.स २०४६ सालदेखि यो मन्दिरमा कोजाग्रत पूर्णिकाको दिन राष्ट्रप्रमुखको उपस्थिति रहँदै आएको छ ।
 
त्यस अगाडि उनले २६ असोज २०७४ मै राष्ट्रपति विद्यादेवी भण्डारीले डोटी सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन गरिन् । देशका विभिन्न स्थानहरूको भ्रमण गर्ने क्रममा जुम्ला हुँदै सुदूरपश्चिम पृतना मुख्यालय दिपायल पुगेकी राष्ट्रपति भण्डारीले बिहीबार शैलेश्वरी दर्शन गरेकी थिइन् । कडा सुरक्षा व्यवस्थासहित मन्दिर क्षेत्रमा पुगेकी भण्डारीले शैलेश्वरी मन्दिरमा पूजा अर्चना गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले शैलेश्वरी क्षेत्रमा हालै निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गरेकी थिइन् ।
 
त्यसबाहेक उनले २६ असोज २०७४ मा नै राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध पर्यटकीय एवम् धार्मिकस्थल खप्तड पुगेकी थिइन् । खप्तड क्षेत्रका त्रिवेणी धाम, खप्तड बाबाको आश्रम, सशस्त्रलिङ्ग लगायतका क्षेत्रको भण्डारीले दर्शन गरेकी थिइन् ।

त्यसअघि १४ असोज २०७४ मा राष्ट्रपति भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दसैंको टीका लगाइदिइन् । राष्ट्रपति भण्डारीले महाअष्टमीको दिन शक्तिपीठहरूको दर्शन गरेकी थिइन् । राष्ट्र प्रमुखले दसैंको टीका लगाइदिने र शक्तिपीठहरूको दर्शन गर्ने प्रचलन छ ।
 
यसबाहेक ८ भदौ २०७४ हरितालिका तीजको अवसरमा राष्ट्रपतिले पशुपतिनाथको दर्शन गरिन् ।
 
उनले ३१ साउन २०७४ मै पशुपति दर्शन तथा पूजा अर्चनामा पुगिन् ।
 
गत वर्ष पनि उनी धार्मिक काममा सक्रिय भइन् । उदारणका लागि २४ फागुन २०७३ मा नवलपरासीको दुम्कौलीमा चौधरी गुरूपले निर्माण गरेको शाश्वतधामको राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको पावनभूमि क्षेत्रमा स्थापित शाश्वत धामले सामाजिक कल्याण र जागरणका क्षेत्रमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गरिन् । राष्ट्रपति कार्यक्रम स्थलबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि उक्त कार्यक्रममा पुगेका थिए ।
  
त्यसभन्दा अगाडि उनले १३ फागुन २०७३ मा राष्ट्रपति भण्डारीले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर पुगेर पशुपतिनाथको दर्शन एवम् पूजा–आराधना गरिन् ।
 
यसबाहेक राष्ट्रपति २०७३ मा अरू धार्मिक कार्यक्रममा पनि आफू सहभागी भइन् । जस्तो कि, २१ कात्तिक २०७३ मा गृहश्ेवरीमा पूजा अर्चन गरिन् । ६ कात्तिक २०७३ मा सप्तरीको छिन्नमस्त मन्दिरमा विशेष पूजा अर्चना गरिन् । ४ कात्तिक २०७३ मा अन्तर्राष्ट्रिय सनातन वौदिक आर्य महासम्मेलनको उद्घाटन गर्न गइन् । २९ असोज २०७३ मा भक्तपुरको तलेजु मन्दिर दर्शन तथा विषेश पूजामा सरिक भइन् ।
 
यसैगरी २३ असोज २०७३ मा फूलपातीको अवसरमा उपत्याकाका विभिन्न शक्तिपीठको दर्शन गरिन् । १३ असोज २०७३ मा गोरखाको मनकामना मन्दिर दर्शन तथा पूजा अर्चना गरिन् । १९ भदौ २०७३ मा पशुपतिको दर्शनमा पुगिन् । १० भदौ २०७३ मा सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण मन्दिर उद्घाटन गर्न गइन् ।

 
यसबाहेक ९ भदौ २०७३ मा पाटनको कृष्ण मन्दिर दर्शन गरिन् । ६ भदौ २०६३ मा भक्तपुरको डोलेश्वर महादेश दर्शनमा गइन् । १ भदौ २०७३ मा विजेश्वरीको बाह्र वर्षे पूजमा सहभागी भइन् । ३१ साउन २०७३ मा उनी चाँगुनारायण मन्दिर कलशको छायाँ दर्शनमा पुगिन् । यसबाहेक १४ साउन २०७३ मै रातो मछिन्द्रनाथको दर्शमा गइन् । १ असार २०७३ मा विवेश्वरी मन्दिरमा पुगेर कलेवर फेर्ने १२ वर्षे पूजा सामग्रीको स्पर्श गरिन् । २१ वैशाख २०७३ मा नवलपरासीको गैँडाकोटमा मौलाकालिका मन्दिर दर्शन गर्न पुगिन् । २ वैशाख २०७३ मा सेतो मछिन्द्रनाथको दर्शनमा गइन् ।
 
यसबाहेक राष्ट्रपतिले २०७२ मा पनि धेरै धार्मिक कार्यक्रममा आफूलाई सहभागी बनाइन् । उदारणका लागि १४ फागुन २०७२ मा महाशिवरात्रीको अवसरमा पशुपतिमा दर्शन तथा पूजा अर्चना गरिन् । ३० पुस २०७२ मा ललितपुरको गोदावारीमा अमृत महास्नान र कुम्भ दर्शन गरिन् । १३ पुस २०७२ विवाह पञ्चमीको अवसरमा जनकपुरको रामजानकी मन्दिर पुगिन् । २९ कात्तिक २०७२ मा गुह्येश्वीमा पूजा अर्चना गर्न पुगिन् ।
त्यस अगाडि पनि उनले विभिन्न धार्मिक कार्यक्रममा आफूलाई सहभागी बनाएकी थिइन् ।
 
भारत भ्रमणमा रहेका बेला धार्मिक क्षेत्रको अवलोकनका लागि गुजरातको राजकोट पुगेकी थिइन् । उनले त्यहाँ राजकोटमा रहेको सोमनाथ मन्दिरको अवलोकलन गरिन् ।
 
उडिसाको जगन्नाथ पुरीलगाएतका मन्दिरमा पूजाअर्चना गरेकी थिइन् ।
 
संविधानको पालक र संरक्षकको हैसियतमा राष्ट्रपति रहने व्यवस्था छ । तर, धर्मनिरपेक्ष मुलुकमा राष्ट्रपति भण्डारीले संविधानकै प्रस्तावनाको विरोध गरिरहेको समूहको सम्मेलन उद्घाटन गर्नसमेत पुगेकी छिन् । अनौठो के छ भने अरू धर्मका समारोह तथा कार्यक्रममा राष्ट्रपतिको सहभागिता रहेको पाइएको छैन ।
 
आफ्नो कार्यकालमा राष्ट्रपति भण्डारी धरै नै आस्तिक देखिएको घटना सतहमा आएका छन् । उनले आफ्नो एक महिनाको तलब पशुपतिनाथमा दानसमेत गरेकी थिइन् ।
 
राजनीतिक विश्लेषकहरू व्यक्तिगत रूपमा कुनै धर्ममा आस्था रहन सक्ने भए पनि राष्ट्रपतिका रूपमा एउटा धर्मको मात्र कार्यक्रम र धार्मिक समारोहमा सरिक हुनुलाई स्वभाविक मान्दैनन् ।
 
गत कात्तिक ११ गते उनी राष्ट्रपति भएको दुई वर्ष पुगेको छ । भण्डारी राष्ट्रपति हुनु अगाडि एमालेकी उपाध्यक्ष थिइन्, अर्थात धर्मप्रति उनको फरक दृष्टिकोण थियो । तर, राष्ट्रपति भएपछि धार्मिक–सांस्कृतिक परम्परा धान्ने नाममा उनी धेरैभन्दा धेरै धार्मिक कार्यक्रममा सहभागी भएकी छिन् ।
 
एमाले नेताहरूका अनुसार राष्ट्रपति हुनुअघि भण्डारीको धार्मिक गतिविधिमा खासै रुचि थिएन । धार्मिक सभामा पुग्ने गरेकी थिइनन् । मन्दिर दर्शन दुर्लभ थियो । शक्तिपीठको पूजा अर्चनामा संलग्नता थिएन ।
 
विद्यादेवीका पति मदन भण्डारीको दासढुङ्गा दुर्घटनामा निधन भएको थियो । तत्कालीन एमाले महासचिव मदन भण्डारी आफ्नो दर्शनअनुसार धर्मकर्म, मन्दिर दर्शन र पूजापाठबाट टाढै थिए ।
 
पछिल्लो जनगणना अनुसार देशमा हिन्दू धर्मावलम्बीको सङ्ख्या करिब ८१ प्रतिशत, बौद्धमार्गी करिब ११ प्रतिशत, इस्लाम ४ प्रतिशत, किराँत करिब ४ प्रतिशत, इसाई करिब ०.५ प्रतिशत छ ।


 
कानुन व्यवसायी खिमलाल देवकोटा भन्छन्
–    ‘एकात्मक राज्य र राजतन्त्र हुँदा मुलुकलाई नै हिन्दू अधिराज्य’ भनिएको थियो ।

धर्मनिरपेक्ष घोषणा गरिसकेपछि राज्यको धर्म हुँदैन ।

धर्म चाहिँ व्यक्तिको आस्थाको कुरा हो ।

व्यक्तिगत स्वतन्त्रतासम्मको कुरा भएपछि त्यसमा राज्यको लगानी गर्ने, राज्यका जिम्मेवार पधादिकारी सहभागी हुने र  जिम्मेवार पदाधिकारीले त्यसलाई वैधानिकता दिने संविधानसँग त्यति मेल खाँदैन ।
 
कुनै धर्मका कार्यक्रममा सहभागी हुने र कुनै धर्मका कार्यक्रममा सहभागी नहुँदा झन् विभेद देखाउँछ । राज्यले सबै धर्मलाई समान व्यवहार गर्छ भन्ने हो भने सबै धर्मका कार्यक्रममा समान ढङ्गले सहभागिता जनाउँदा राम्रो हुन्छ । राज्यको पदीय हैसियतबाट एकै खालको व्यवहारको अपेक्षा गरिन्छ ।
 
कुनै पनि धर्ममा कार्यक्रममा राज्यका पदाधिकारी सहभागी हुने धर्मनिरपेक्ष राज्यका निम्ति सुपाच्य कुरा होइन । त्यसमा पनि कुनै धर्मलाई प्राथामिकतामा राखेर सहभागी हुनु राम्रो कुरा भएन । विभेदको कुरा राज्यका पदाधिकारीले गर्नु राम्रो होइन ।
 
राज्यको धर्म हुँदैन । राष्ट्रपति सहभागी हुने कुरामा राज्यका लगानी हुन्छ । त्यसैले त्यस्ता कार्यक्रम कटौति गर्नु राम्रो हुन्छ ।


 
अर्को महत्वपूर्ण कुरा हाम्रो देशमा राष्ट्रपति भनेको आलङ्गकारिक मात्रै हो । आलङ्गकारिक प्रमुखले त्यस्ता कार्यक्रममा सहभागी भएर विभिन्न आश्वासन दिने, सरकारलाई निर्देशन गर्नेजस्ता गतिविधि पनि देखिन थालेको छ । त्यो पनि हाम्रो संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपतिको स्पिरिट अनुकुल हुँदैन । त्यस्तो नगर्दा राम्रो हुन्थ्यो भन्ने मेरो भनाइ हो ।

धर्मनिरपेक्षता मन नपरेका मान्छेहरूको व्याख्या धर्मनिरपेक्षता हिन्दू विरोधी हो भनेर गलत व्याख्या छ ।

धर्मनिरपेक्षता मन नपराएकाका निम्ति धर्मनिरपेक्षतालाई नजरअन्दाज गराउन सकिन्छ कि भन्ने नियतले पनि काम गरेको हुनसक्छ ।
 
वाम विश्लेषक झलक सुवेदी भन्छन्–
 पहिलो कुरा त धर्मनिरपेक्ष राज्य भएकै कारण राष्ट्रपति धार्मिक कार्यक्रमा सहभागी नहुने भन्ने हुँदैन । खालि सबै धर्मप्रति सद्भाव राखेर सहभागी हुनुपर्छ ।

खालि एउटा धर्मप्रति बढी औपचारिक देखिने र अरू धर्मलाई मिनिमाइज गर्न खोजेको देखिनु हँुदैन ।

पूर्व राष्ट्रपति रामवरण यादव राष्ट्रपति भएदेखि त्यो संस्थालाई पराम्परागत हिसाबले अझ भनौँ, राजतन्त्रदेखिको भूमिकामा लाने प्रयास गरियो ।

अहिलेको राष्ट्रपतिको भूमिकामा पनि पराम्परागत देखियो ।

पराम्परागत धार्मिक सांस्कृतिक गतिविधिहरूमा सहभागी हुने कुरा, भेटी, वाचा, वसन्त श्रवण जस्ता कार्यक्रममा पशुपति दर्शनमा जाने सबैखालका जे गतिविधि भएका छन्, परम्पराअनुसार चलिआएका छन् ।
 
पहिला राजाको भूमिका थियो । अहिले राष्ट्रपति जान्छन् ।
 
गणतान्त्रिक राष्ट्रपतिको संस्थालाई कस्तो बनाउने ? परम्परागत राजाको भूमिका र गणतान्त्रिक राष्ट्रपतिको भिन्नता के हुने ? भनेर बहस छलफल भएनन् ।
 
जस्तो भाषाकै विषय हेरौँँ । अहिले कर्मचारीले राष्ट्रपतिलाई दरबारिया भाषा प्रयोग गर्ने गर्छन् । कल्चरल्ली राजाको स्थानमा राख्ने भन्ने भएको हँुदा चाहिँ यस्तो भएको हुन सक्छ ।

अघिल्ला राष्ट्रपतिले निभाएका भूमिकामा अहिलेको राष्ट्रपतिले पनि कायम छन् भन्ने पनि होला । तर यी विषयमा सोसाइटीमा बहस भएका छैनन् ।
 
परम्परागत शक्तिले राष्ट्रपतिको संस्थालाई पनि हाइज्याक गर्यो भन्ने लाग्छ मलाई ।

यसमा म त्यति धेरै बहस, विवाद गरिरहनुपर्छ जस्तो चाहिँ देख्दिनँ । चलिरहेका परम्परालाई चल्न दिए हुन्छ । तर, कुनै एउटा धर्मलाई मात्र प्राथमिकता दिनु भएन भन्ने हो ।
 
संविधान निर्माण गर्ने वेलामा नै संविधान बनाउने शक्तिहरूले एउटा प्रश्नलाई छ्यासमिस गरेका छन् ।

धर्मनिरपेक्षलाई सनातन धर्मको संरक्षण, चलिआएको धर्म परम्पराको संरक्षणको अर्थमा बुझ्ने गरी संवैधानिक व्यवस्था भएको छ ।
 
संवैधानिक परिभाषाअन्तर्गत हेर्ने हो भने यसलाई अन्यथा लिनु पर्ने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप