मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ग्राउन्ड–३ : हेटौँडाले मुख्यमन्त्री पायो, बन्ला त स्थायी राजधानी ?

आइतबार, २८ माघ २०७४, १० : ३७
आइतबार, २८ माघ २०७४

हेटौँडा । नेपाली राजनीतिमा पछिल्लो समय दुई परिघटना भए । पहिलो, प्रदेश ३ को मुकामका लागि भक्तपुर वा काभ्रेको बढी चर्चा भएको थियो । तर मुकाम वन्यो हेटाँैडा । दोस्रो, प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेका दुई हस्ती अष्टलक्ष्मी  शाक्य र राजेन्द्र पाण्डेको महिना दिनदेखि चर्चा चल्यो तर बाजी ७२ वर्षीय मकवानपुरकै डोरमणि पौडेलले बाजी मारे  । 

यी दुई परिदृश्यसँगै काँग्रेसबाट दलको नेतामा मकवानपुरका इन्द्र बानियाँ अघि आए । अप्रत्यासित रूपमा सरकारले गरेको निर्णयलाई साथ मिल्ने गरी एमाले र काँग्रेसका स्थानीय नेता मुख्य पदमा आसिन भए । स्थानीय दुई नेताको मुख्य जिम्मेवारीले हेटौँडा नै स्थायी मुकाम बन्नेमा मकवानपुरवासीको आशा बढेको छ । तर, मकवानपुरवासीको अपेक्षा पूरा हुन सहज भने छैन ।
 
प्रदेशसभा वैठकसँगै दुई धार 

स्थायी मुकामको निर्णय हुने गरी  सदनमा विषयले प्रवेश पाउने समय आइसकेको छैन । तर प्रदेश सदस्यहरूले आफ्ना मत स्पष्टसँग बाहिर भने  ल्याएका छन् । भौतिक रूपमा हेटौँडा सम्पन्न तथा समथर भूभाग भएकाले हेटौँडा नै बन्नुपर्ने स्थानीय प्रदेश सदस्यहरूको राय छ भने हेटौँडा भन्दा बाहिरका अधिकांश सांसदहरूको अपायक रहेकाले सार्नुपर्ने मत छ । 

⦁ एमाले नेता राजेन्द्र पाण्डेले मकवानपुर छेउ भएकाले प्रदेश राजधानी बन्न नसक्ने जिकिर गरे । ‘अपायक भएकाले आएका सांसद फर्कन हतार गर्नुपर्ने स्थिति छ’ उनले भने ।
हेटौँडा राजधानी बन्दा म्यानपावर (सांसद)हरूको  दुरूपयोग भएको ठोकुवा गरे ।

माओवादी केन्द्रकी स्थानीय सांसद कुमारी मोक्तान भने राजेन्द्र पाण्डेको तर्कलाई खण्डन गर्छिन् । केन्द्रीय राजधानीभन्दा प्रदेश राजधानी बाहिर हुनुपर्ने भएकाले हेटौँडा प्रदेश राजधानी उपयुक्त भएको बताइन् । राजधानीसँग ७० किमिको दूरीमा रहेको स्थानलाई अपायक भन्न नमिल्ने मोक्तानको भनाइ छ । हावापानी अनुकूल तथा आवासको व्यवस्था पनि सहज भएकाले प्रदेश राजधानी स्थायी रूपमा हेटौँडा नै हुनुपर्ने उनको मत छ । 

⦁ राजधानीमा जनघनत्व भार हटाउन हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्ने काँग्रेसबाट समानुपातिक सांसद विजया केसी श्रेष्ठको भनाइ छ ।  तर काठमाडौँ ४ क बाट जितेका नरोत्तम वैद्यले नेपाली काँग्रेस सरकारको निर्णय अविवेकी भएको वताए । 


 
फरक दल तर सर्न नदिने अडानमा एकमत 

नेकपा एमालेबाट संसदीय दलका नेता तथा मुख्यमन्त्री  डोरमणि पौडेलले शनिबार सभामुखको निर्वाचन प्रक्रिया सकिएलगत्तै पत्रकारहरूसँग भने हेटौँडाबाट राजधानी नसर्ने ठोकुवा गरे । भौतिक संरचनाको निर्माण तीव्र भएको जनाउँदै पौडेलले भने राजधानी सार्ने विषय उठेकै छैन । आफूलाई अनुकूल भएन भने अपायक भनिने परम्परा हो ।  उनले भने कर्णालीका नागरिकलाई काठमाडौँ पायक  हो ? आम जनतासँग राजधानीको सरोकार नरहेकोले हेटौँडाबाट राजधानी सर्नुपर्ने कारण नभएको उनले बताए । 

नेपाली काँग्रेसका दलका नेता तथा मकवानपुरका काँग्रेसका पार्टी सभापति इन्द्र बानिया पनि राजधानी सार्न नदिने पक्षमा पौडेलसँग एकमत छन् । यातायात, भूभाग तथा हावापानीले हेटौँडा उपयुक्त स्थान भएको उनको ठम्याइ छ । हेटौँडा बनाउनुपर्छ भनेर ३४  मत एमालेबाट डोरमणिलाई आएको छ । काँग्रेस प्रदेश सभासदहरू हेटाँैडाप्रति सकरात्मक छन्, राजधानी सार्ने बहस गर्नुपर्ने अवस्था छैन, उनले भने । 
 
सांसदलाई सहुलियतको जग्गाप्रति आपत्ति 
हेटौँडालाई स्थायी राजधानी बनाउन स्थानीय हेटाँैडा उपमहानगरपालिका निर्णयसँगै सक्रिय भएको थियो । सांसदहरूलाई आवासका साथै होटलहरूमा विशेष छुटको निर्णय गरिएको थियो । 

पछिल्लो समय उपमहानगरपालिकाले गरेको निर्णय भने विवादास्पद देखिएको छ । नगरविकासको स्वामित्वमा रहेकोे जग्गालाई किस्ताबन्दीमा प्रदेश सदस्यहरूलाई बिक्री गरिने बताइएको थियो । सर्वदलीय सहमतिमा सो निर्णय गरिएको उपमहानगर पालिकाका मेयर हरिबहादुर महतले बताए । पाँच वर्षमा चुक्ता गर्ने  सहुलियत दरमा स्थायी आवासको प्रयोजनले घडेरी बिक्री गर्ने योजना बनाइएको उनले बताए । 

माओवादी केन्द्रका सांसद शालिकराम जम्मरकट्टेलले सहुलियत दरको घडेरीको प्रलोभनमा नपर्ने बताए । ‘सस्तो हो भने गरिबहरूलाई वितरण गरे भयो नि, किन सांसदहरूलाई लोभ्याउने ? गरिबलाई वितरण गर्ने विषय सरकारको नीतिमा भर पर्ने बताउँदै महत भने स्थायी बसोवासको चाहना राखेर गरिएको निर्णय हो । विवेकशील साझाका तीन सांसदले किस्ताबन्दीमा उपलब्ध गराउने जग्गामा आर्थिक चलखेलको गन्ध भेटिएको भन्दै उपमहानगरपालिकाको निर्णय स्वीकार नगर्ने बताएका छन्् ।  

बहुसङ्ख्यक सांसदहरू राजधानी परिवर्तनको पक्षमा देखिएका छन् । मुख्यमन्त्री प्राप्त गरेको मकवानपुरले राजधानी छोड्नुपर्ने आवाज पनि मुखरित हुँदै गएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप