बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ग्राउन्ड ३ – आर्थिक स्रोत साधनमा कति सबल छ प्रदेश ३ ?

सोमबार, २९ माघ २०७४, १० : ३९
सोमबार, २९ माघ २०७४

हेटौँडा– मुलुक सङ्घीयतामा प्रवेश गरेपछि प्रदेशहरूको आर्थिक स्रोतमा सबलता र स्वावलम्बनका विषय उठ्न लागेका छन् ।

तुलनात्मक रूपमा प्रदेश ३ अन्य प्रदेशभन्दा स्रोत र साधनमा बलियो देखिएको छ । जलस्रोत, उद्योग, कृषि, पशुपालन तथा धार्मिक पर्यटन प्रदेश ३ का प्रमुख आधार स्रोत मानिएको छ । 

केन्द्रीय राजधानी पनि प्रदेश ३ मा परेकाले यस प्रदेशलाई थप सहजता थपिएको छ । 

कस्तो छ प्रदेश ३ ?
मध्यमाञ्चलका १३ जिल्ल्ला रहेको यस प्रदेशमा ५५ लाख २९ हजार ४५२ जनसङ्ख्या रहेको छ ।

प्रतिनिधि सभामा ३३ र प्रदेश सभामा ६६ सिट सख्या रहेको छ । 

मानव विकास प्रतिवेदन २०१४ अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रदेश ३ को ३२ प्रतिशत योगदान रहेको छ ।

कृषि तथा पशुमा चितवनको योगदान नेपालमा सबैभन्दा बढी छ ।

पशुमा चितवनसँगै काभे्रको उल्लेखनीय योगदान रहेको छ । प्रदेश ३ मा पशुपालनमा योगदान २६ प्रतिशत रहेको छ । 

देशको करिब दुई तिहाई उद्योग प्रदेश ३ मा रहेका छन् । रामेछाप र दोलखा जलविद्युतका लागि प्रचुर सम्भावना रहेका जिल्लाहरू छन् ।

नेपालको सबैभन्दा बढी आर्थिक सम्भाव्यता रहेको प्रदेशको रूपमा ३ नम्बर प्रदेशलाई चिनिएको छ । 

आर्थिक सम्भाव्यता

जलविद्युत, कृषि, उद्योग र धार्मिक पर्यटनमा विकास तथा सुधार गर्न सकेको अवस्थामा प्रदेश ३ ले अर्थ व्यवस्थामा परिवर्तन ल्याउने सम्भावना छ । 

जलविद्युत 
जलविद्युतका ठूलाठूला आयोजनाहरू प्रदेश ३ मा निर्माण भइरहेका छन् । माथिल्लो तामाकोशी ४५६ मेघावाट दोलखामा, रसुवामा १११ मेघावाट क्षमताको रसुवागढी आयोजना निर्माणधीन छन् । 

त्यसैगरी सान्जेन र मध्य भोटेकोशी निर्माणाधीन आयोजना पनि प्रदेश ३ मै परेका छन् । रसुवामा २१६ मेघावाटको त्रिशूली जलविद्युत आयोजना निर्माण हुँदैछ । दोलखामा १६० मेघावाटको लाप्चे खोला जलविद्युत आयोजनाले  उत्पादन अनुमति पाएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ का छ जिल्लामा जलविद्युत उत्पादनको सम्भावना उच्चतम रहेको बताए । 

रामेछाप र दोलखामा जलविद्युतमा सरकारी निकायको ध्यान पुगेको अवस्थामा प्रदेश ३ ले पुरै मुलुकलाई पाल्न सक्ने हैसियत रहेको प्रदेश सदस्य नरोत्तम वैद्यले बताए ।

दोलखालाई जलविद्युतको राजधानीका रूपमा विकास गर्नुपर्ने विषयमा प्रदेशमा छलफल तथा बहसहरू सुरु भएको छ । साथै बिजुली उत्पादनको हब दोलखा बन्नसक्ने बताइएको छ । 

धार्मिक पर्यटन

विश्व सम्पदा सूचीमा सूचीकृत धरोहरहरूको सङ्ख्या प्रदेश ३ मा बढी छन् । पशुपतिनाथ, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भुनाथ स्तूप, पाटन दरबार क्षेत्र र हनुमान ढोका दरबार क्षेत्र यस प्रदेशमा पर्छन् । 

उपत्यकका तीन जिल्लामा धार्मिक तथा पर्यटकीय स्थानहरू उल्लेख्य रहेकाले ती स्थानको विकासले पनि प्रदेश  सरकार बलियो हुन मद्दत पुग्ने पौडेलले बताए । आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि प्रदेश ३ गन्तव्य बनेको छ । पशुपतिनाथलाई धार्मिक पर्यटनका रूपमा विकास गर्नुपर्ने वैद्यको धारणा छ । धार्मिक पर्यटन मार्फत केन्द्रीय ढुकुटीमा राजस्व वृद्धिमा सहयोग गर्नसक्ने  वैद्यले बताए । पशुपतिनाथ भगवानको पनि भगवान देवादीदेव बस्ने भएकाले हिन्दुहरूको तीर्थस्थलका रूपमा विकास गर्न सकिने उनले बताए । धार्मिक पर्यटनलाई महत्व दिएको अवस्थामा पशुपतिनाथको कमाइले प्रदेश ३ लाई पुग्ने आर्थिक स्रोत उपलब्ध हुने उनले बताए । 

कृषि र पशुपालनको राजधानी 
चितवनलाई पशुपालन र कृषिका लागि सबैभन्दा अनुकूल जिल्लाका रूपमा चिनिएको छ । गतवर्ष तथ्याङ्क विभागले गरेको सर्वेक्षणमा चितवन कुखुरा र अण्डा उत्पादनमा पहिलो नम्बरमा आएको थियो । ६४ जिल्लामा गरिएको सर्वेक्षणमा चितवनमा व्यावसायिक रूपमा ८१ करोड १९ लाख अण्डा उत्पादन भएको थियो । कुखुराजन्य कुल कारोबार भएको ३४ अर्बमध्ये करिब २१ अर्बको कारोवार चितवनमा मात्रै भएको थियो । 

चितवनलाई पशुपालन र कृषि उत्पादनको राजधानी बनाउन सकिने वैद्यले बताए । कुखुरापालनका लागि चितवन  उत्कृष्ट जिल्लाका रूपमा चिनिएको छ । चितवन र काभ्रेले देशमा पशुपालनको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । 

उद्योगहरूमा अग्रस्थान  
विगतमा सरकारी निर्णयबाट सुरु गरिएका औद्योगिक क्षेत्रहरूमा सबैभन्दा बढी प्रदेश ३ मा परेका छन् । २०१९ मा बालाजु औद्योगिक क्षेत्र सुरु गरिएको थियो । बालाजुमा १०८ वटा उद्योगहरू सञ्चालनमा छन् । पाटन, हेटौँडा र भक्तपुर औद्योगिक क्षेत्र पनि प्रदेश ३ मा परेका छन् । 

सरकारको औद्योगिक क्षेत्र विस्तार गर्ने नीतिअन्तर्गत चितवन र हेटौँडामा थप औद्योगिक क्षेत्र खुल्दैछन् । चितवनको शक्तिखोर र मकवानपुरको मयूरधापमा नयाँ औद्योगिक क्षेत्र विस्तार हुँदैछन् । 

प्रदेश ३ को भूभाग तराईदेखि हिमालसम्म जोडिएको छ । औद्योगिक नगरीको रूपमा विकास गर्न सकिने स्थानहरू पनि भएकाले प्रदेश ३ सम्भावनाको क्षेत्र रहेको पौडेलले बताए । 

सडक सञ्जालमा व्यापक लगानी गरिएको तथा सातवटै प्रदेशमा औद्योगिक क्षेत्र घोषणा गर्ने सरकारी निर्णयले प्रदेश ३ लाई थप बल मिलेको प्रदेश ३ का विपक्षी दलका नेता इन्द्र बानियाले बताए । हेटौँडामा औद्योगिक क्षेत्रमा उद्योगहरू थपिने क्रम जारी रहेकाले पनि प्रदेश ३ सबल छ, उनले भने ।

उद्योगहरूलाई सबलीकरण र यान्त्रीकरण गरिएको अवस्थामा प्रदेश ३ सक्षम हुने हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । 
 
रामेछापमा फलाम खानीको सम्भावना रहेको बताइएको छ । राणाकालमा ठोसेमा उत्पादन भएको फलाम खानीका कारण जङ्गल नासिएको भन्दै रोकेको वैद्यले बताए । चुनढुङ्गाका लागि पनि प्रदेश ३ उपयुक्त प्रदेशका रूपमा चिनिएको छ । 

जडीबुटी, जलस्रोत, गिटी बालुवालगायतका क्षेत्रमा प्रदेश ३ स्वावलम्बी रहेको मकवानपुर २ ‘ख’ की प्रदेश सदस्य कुमारी मुक्तानले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप