शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश ग्राउन्ड ६ – यसरी धमाधम बनाइँदैछ मुख्यमन्त्रीको कार्यालय (फोटो/भिडियो रिपोर्ट)

सोमबार, २९ माघ २०७४, १० : ५१
सोमबार, २९ माघ २०७४

सुर्खेत– आइतबार साँझ ५ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित पहिलेको क्षेत्रीय प्रशासन कार्यालयको माथिल्लो तलामा कौशिला थापा टेबल सरसफाइ गर्दै थिइन् । यसअघि कार्यालयको समय सकिएपछि घर जाने उनलाई आजभोली साँझसम्म कार्यालयको कामको चटारो छ ।

उनीजस्तै अन्य कर्मचारी तथा कामदार अहिले साँझ बिहान नभनी दुईतले उक्त भवनको निर्माण, मर्मत, सरसफाइ, रङ्गरोगन तथा व्यवस्थापनको काममा खटिएका छन् । पहिलेको क्षेत्रीय प्रशासन भवनलाई उनीहरू नयाँ बनाउन मिहेनत गरिरहेका छन् ।

यो भवन अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा रूपान्तर हुँदैछ । अबको केही दिनभित्र यही भवनबाट प्रदेश नम्बर ६ का पहिलो मुख्यमन्त्रीले आफ्नो कार्यभार सम्हाल्दैछन् ।  

प्रदेश नम्बर ६ को अस्थायी राजधानी वीरेन्द्रनगर सुर्खेतमा यसरी धमाधम मुख्यमन्त्रीको कार्यकक्ष निर्माण भइरहेको हो । मुख्यमन्त्री बस्ने मुख्य कार्यकक्ष, प्रदेश सचिवको कार्यकक्ष, मन्त्री तथा मन्त्रालयका कर्मचारी बस्ने कार्यकक्ष निर्माणको कामलाई तीव्रता दिइएको छ ।

मुख्यमन्त्रीको कार्यकक्षको एकतर्फको छेउमा भीआईपी भेटघाट गर्ने बैठक कक्ष रहने छ भने एकातर्फ मुख्यमन्त्रीको सचिवालय रहने व्यवस्था गरिएको छ । मुख्यमन्त्रीको कार्यकक्षमा यतिबेला एट्याच्ड बाथरुम निर्माणभइरहेको छ ।  कार्यकक्षबाट भीआईपी कक्ष र सचिवालयमा प्रवेश गर्ने कोठाको ढोकामा चौकोस हाल्ने काम सकिएको छ ।

मुख्यमन्त्रीको कार्यकक्ष ७ मिटर ७० सेन्टिमिटरको हुनेछ ।

मुख्यमन्त्रीको कार्यकक्ष नजिकै प्रदेश सचिवको पनि कार्यालय रहने व्यवस्था गरिँदैछ ।

मुख्यमन्त्री निवास छनौट गर्ने काम भइरहेको छ भने प्रदेश सचिवको आवासका लागि क्षेत्रीय हुलाक कार्यालयको भवनलाई छनौट गरिएको छ ।

छिटो निर्माण सक्नुपर्ने भएकाले बिहानैदेखि रातिसम्म झन्डै कामदारहरू खटिएका छन् ।

निर्माण मजदुर, इलेक्ट्रिसियन, प्लम्बर गरी झन्डै २५ जना कामदार खटिएको भवन निमार्ण विभागका सबइन्जिनियर नरेन्द्र बुढाले जानकारी दिए । मुख्यमन्त्रीको कार्यकक्ष निमार्णका लागि ५ लाख बजेट छुट्याइएको छ ।

मुख्यमन्त्रीको कार्यकक्षमा विद्युतका साथै एसी जोड्न बाँकी रहेको छ । ४ दिनभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

यस्तै मुख्यमन्त्रीको कार्यालयका लागि नयाँ सोफा सेटलगायतका अन्य नयाँ फर्निचर खरिद गरिएको छ । भत्काउनु नपर्ने कोठाहरूमा फर्निचर मिलाउने कामसमेत धमाधम भइरहेको छ ।

आगामी फागुन ३ गतेभित्र प्रदेश नं. ६ ले मुख्यमन्त्री पाउने भएको छ । वाम गठबन्धनले गरेको सहमतीअनुसार माओवादी केन्द्रका सांसद एवम् पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले यस भवनबाट आफ्नो प्रशासनिक कार्य सञ्चालन गर्नेछन् ।

भिडियो नखुले यहाँ क्लिक गर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप