मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनता छिर्न पाउने यस्तो छ प्रदेश नं. ६ को संसद भवन (फोटोफिचर)

मङ्गलबार, ०१ फागुन २०७४, १० : ५०
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौँ । संसद भवनमा हतपत्त सर्वसाधारणले प्रवेश गर्न पाँउदैनन् । त्यो उनीहरुको प्रत्यक्ष सेवा लिने कुनै सरकारी कार्यालय पनि होइन । तर  प्रदेश नं.६ को अस्थायी राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको संसद कार्यालयमा भने सर्वसधारणले सजिलै प्रवेश पाउँछन् । 

संसद बस्ने कार्यालय तथा कार्यकक्षमा जान नपाएपनि उनीहरुले त्यसलाई नजिकबाट देख्न सक्छन् । उनीहरु संसद भवनमा जान्छु भनेर पनि आएका हुँदैनन् तर संसद भवनको बाटो भएर उनीहरु अर्को कार्यालयमा सेवा लिन जान्छन् । 

संसदका लागि छुट्टै कार्यालय नभएपछि वीरेन्द्रनगरेको सिंचाई विभागको कार्यालयमा प्रदेश नं. ६ को कार्यालय बनाइएको छ । आधा भाग सिंचाई कार्यालय छ भने आधा भागमा संसद हल बनाइएको छ ।

सिंचाई विभाग र संसद कार्यालय एउटै भवनमा भएपछि सिंचाईको कार्यालयमा जाने सेवाग्राही सर्वसाधारण संसद हल हुँदै सो कार्यालयमा पुग्छन् ।

पूर्वाधार नभएकोले सिंचाई विभागको ३ कोठा लिएर कार्यालय तथा संसद बैठक कक्ष तयार पारेको संसद सचिवालयका प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताए । 

मिटिङ हललाई सांसद हाउस र अरु ३ कोठालाई बैठक कक्ष, सभामुखको कार्यकक्ष र कर्मचारी कक्ष बनाइएको छ  भने एउटा कोठामा ७ जना कर्मचारीले काम गरिरहेका छन् । 

अत्यन्तै द्रुत गतिमा संसद कार्यालय निर्माण गरिएको संसद सचिवालयका प्रदेश सभाका सचिव खड्काले बताए । लुम्बिनीबाट मेच, काठमाडौंबाट माइक तथा संसदमा बजाँउने घण्टी पनि काठमाडौंबाट मगाएको उनले बताए । काठमाडौको जस्तै पोडियम र ड्यास लगायत आवश्यक पूर्वाधार खडा गरेको उनले बताए । उनले भने–‘काठमाडौैंबाट आँउनेवित्तिकै काम थाल्यौं । चार पाँच दिनमा नाटकीय ढंगले परिवर्तन भयो भनेर माननीय ज्यूहरु खुसी भएका छन् । केही नहुँदा खेरी देखेको र यसमा सबैकुरा पुरा गरेपछि छक्क पर्नुभयो ।” 

२ महिनापछि अर्को भवनमा 
२ महिनापछि संसद शैक्षिक तालिम केन्द्रमा सार्ने तयारी भएको छ । खड्काले भने–“पूर्वाधारको हिसाबले पनि त्यहाँ उपयुक्त छ । भोली उपसभामुख निर्वाचित भएर आउँने हो भने पनि बस्ने ठाउँ छैन । कर्मचारीहरुको समस्या छ । यहाँको प्रदेश सरकारले मिलाउँदैछ । जिरोबाट शुरु गर्नुपर्ने भएकोले उनीहरुलाई पनि गाह्रो नै छ ।” 

अहिले प्रदेश संसद भएको स्थानमा भोलि कुनै मन्त्रालय बस्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । शहरी विकास तथा भवन विभागले आवश्यक भवन निर्माण तथा मर्मतको काम गरिरहेको छ । 

प्रदेश नं. ६ को संसदमा उपसभामुख, संसद सचिवालयका लागि अर्को कोठा अभाव रहेको छ । सभामुखको निजी सचिवालय, उपसभामुखको निजी सचिवालय, प्रदेशको संसदीय दलको कार्यालय अझै  व्यवस्थापन गर्नुपर्ने छ । गर्नुपर्ने कामहरु धेरै कामहरु धेरै छन्, क्रमिक रुपमा त्यसको व्यवस्थापन हुँदैछ । 

प्रदेशमा संसद भवन निर्माणमा पूर्वाधारको अभाव भएपनि व्यवस्थापन गर्न समस्या भने नभएको सचिव खड्काले बताए । उनले भने–“मलाई त्यस्तो फरक अनुभुति भएन । बानेश्वरमा पनि मैले नजिकबाट काम गरेको थिएँ । त्यहाँ जसरी काम हुन्थ्यो, त्यहाँ जस्तो पूर्वाधार थियो त्यस्तै गर्ने प्रयास गरेको छु । सातै प्रदेश मध्येकोे प्रदेश सभा कार्यालय व्यवस्थापन गर्न सबैभन्दा मलाई सजिलो भयो जस्तो  लाग्छ ।” 

सभामुखको कार्यकक्षमाथि राष्ट्रपति र प्रदेश प्रमुखको फोटो
२०६२/६३ को आन्दोलन अघि सरकारी कार्यालयका भित्तामा राजा रानीको २ तस्विर झुन्डिएको हुन्थ्यो । लोकतन्त्र आएसँग त्यस स्थानमा राष्ट्रपतिको एउटा मात्र तस्विर हुन्थ्यो । नयाँ संविधान निमार्णपछि त्यसको कार्यान्वयनका रुपमा स्थापना भएको संघीय प्रदेशमा अहिले फोटोको प्रयोगमा फरक आएको छ । अर्थात् प्रदेशहरुका कार्यालयका भित्तामा राष्ट्रपति र प्रदेश प्रमुखको फोटो राख्न थालिएको छ ।

प्रदेश नं. ६ को अस्थायी राजधानी सुर्खेत स्थित संसद सचिवालयमा सभामुखको नयाँ कार्यकक्षको भित्तामा राष्टपति बिद्यादेवी भण्डारी र प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालको तस्विर राखिएको छ । यसरी तस्विर राख्नुपर्ने कतै केही उल्लेख नभएपनि कार्यालयको शोभा बढाँउनका लागि राखिएको संसद सचिवालयका प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप