बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को रौनक : प्रदेश सरकारका लागि धमाधम सिँगारिँदै कार्यालयहरु (फोटोफिचर)

मङ्गलबार, ०१ फागुन २०७४, ११ : ०७
मङ्गलबार, ०१ फागुन २०७४

बिराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगरका कर्मचारीलाई आजभोलि भ्याईनभ्याई छ । प्रदेश सभा बैठक शुरु भएसँगै सभामुख चयन भैसकेका छन् भने मुख्यमन्त्री र मन्त्रीहरुको टुंगो लाग्ने दिन ‘आज हो की भोलि’ भनेजस्तो भैसकेको छ । यस्तोमा प्रदेशका मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय र मन्त्रालयहरुका लागी कार्यालय व्यवस्थापन गर्न सरकारी अधिकारीहरु जुटिरहेका छन् ।

विराटनगर महानगरपालिका–१३ स्थित रोडसेसमा रहेको क्षेत्रिय कृषि विकास निर्देशनालयलको बोर्ड अहिले हटाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपषिद्को बोर्ड राखेर त्यहाँ मुख्यमन्त्री र सचिवका लागी कार्यकक्ष तयार गरिँदै छ । मुख्य सडकमा अवस्थित भव्य भवनमा बसेको क्षेत्रीय कृषि विकास निर्देशनालय अहिले सोही भवनको भुँईतलामा थन्किएको छ । 

सोमबार पूर्वाञ्चल क्षेत्रिय सिँचाई निर्देशकको क्वार्टरमा पुग्दा त्यहाँ केही सरकारी कर्मचारी सिरक–डस्ना प्याक गरेर सरकारी गाडीमा लोड गर्दै थिए । नजिकै उभिएका क्षेत्रिय सिँचाई निर्देशक मोहन शाक्य भन्दै थिए, ‘संघीय प्रणालीलाई सहयोग गर्नु हामी कर्मचारीको दायित्व हो, हाम्रो क्वार्टरमा प्रदेश प्रमुख बस्ने भएपछि हामी सर्न थालेका हौँ ।’

अहिले सुनसरी–मोरङ सिँचाई योजनाको कार्यालयमा बसिरहेका प्रदेश प्रमुख केही दिनमै पूर्वाञ्चल क्षेत्रिय सिँचाई निर्देशकको निवासमा सर्दैछन् । 

‘हाम्रो कार्यालयको बीचको तल्लामा प्रदेश प्रमुखज्यू को कार्यालय बस्ने भएको छ’ सिँचाई निर्देशक शाक्यले भने, ‘हामी तेस्रो र पहिलो तल्लामा सिमित भएका छौं ।’ 

प्रदेशको स्थायी संरचना बनिसकेको छैन । अहिले यहाँ भएका सरकारी संरचनालाई मर्मत–सम्भार र रंगरोगन गरेर प्रदेश स्तरका कार्यालयहरुलाई व्यवस्थापन गरिँदै छ । प्रदेशस्तरीय कार्यालय तथा पदाधिकारी निवास ब्यवस्थापनको काम शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले गरिरहेको छ । 

विराटनगर–१३ पोखरियास्थित पुर्वाञ्चल क्षेत्रिय बन निर्देशनालयमा प्रदेश १ को उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालय को बोर्ड राखिएको छ । मन्त्रीचयन हुनासाथ कार्यालय सञ्चालन हुनेगरी पूर्वाञ्चल क्षेत्रिय बन निर्देशनालयको भवन चिटीक्क पारेर सिंगारिएको छ । 

सुनसरी–मोरङ सिँचाई योजनाको कम्पाउण्डभित्र रहेको दुईओटा भवनमा श्रमिकहरु धमाधम रंगरोगन गर्दै थिए । 

‘त्यहाँ सभामुख र उप–सभामुखको निवास तयार हुँदै छ,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल भन्छन्, ‘यहाँ उपलब्ध सरकारी संरचनालाई भरपुर उपयोग गरेर प्रदेशका अस्थायी संरचना तयार गर्दै छौं, हामीसँग अहिले अरु विकल्प पनि छैन । 

तस्विरहरु : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप