शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मागको २५ प्रतिशत च्याउ स्वदेशमै उत्पादन

मङ्गलबार, ०१ फागुन २०७४, १२ : ५९
मङ्गलबार, ०१ फागुन २०७४

ललितपुर– ललितपुरका च्याउ उत्पादक कृषकहरु संगठित हुन थालेका छन् । 
  ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर ११ को सेराकोट, वडा नम्बर १० को चापागाउँ र १३ को झरुवारासी, १२ को ठेँचो क्षेत्रमा रहेका च्याउ कृषकले ‘ललितपुर जिल्ला च्याउ उत्पादन संघ’ गठन गरेका हुन् । 

स्वदेशी उत्पादनबाटै च्याउमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ संगठित भएको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । 

‘अन्य खेती भन्दा छिटो र सरल तरिकाबाट उत्पादन लिन सकिने भएकाले नेपालमा च्याउ व्यवसायमा लाग्ने किसानहरुको संख्या बढ्दै गएको छ,’ ललितपुर च्याउ संघका अध्यक्ष समेत रहेका  घिमिरीले भन्छन् , ‘यसको खेतीका लागि मल, माटो र सिँचाईको खासै आवश्यकता नपर्ने भएकाले थोरै जमिन भएका निम्नवर्गका किसानले सानो टहरा बनाएर खेती गर्न सक्छन् र गर्दै आएका छन् ।’ 

नेपालमा च्याउ उत्पादक कृषकलाई लगानी बढाउन र आधुनिक खेती विस्तार गर्नसक्ने योजना ल्याएर दीर्घकालीन रुपमा व्यवस्थापन गर्न पनि कृषकहरुले सरकारसँग माग गरेका छन् ।

यस क्षेत्रमा हाल २५० जना किसानहरुले करिव १२ सय रोपनी क्षेत्रफलमा च्याउ खेती गर्दै आएका छन् । खेतीबाट मासिक १ हजार ५ सय किलोग्राम च्याउ उत्पादन हुने कृषकको भनाइ छ । 

संघले च्याउ खेती विग्रने र ठूलो घाटा व्यहोर्नुपर्ने भएकाले विमा गराउने, कृषकलाई गुणस्तरीय विउ उत्पादन गराउने, व्यावसायिक च्याउ खेतीका लागि अनुदान उपलब्ध गराउने, सहुलियत ऋणका लागि बैंक तथा सहकारीमा पहल गर्ने र आवश्यकताअनुसार ठूला तथा साना उद्योग दर्ता गराउन पहल गर्ने निर्णय गरेको संघका सचिव बुद्ध नेगीले बताए । 

हाल नेपालमा २५ हजार टन च्याउ उत्पादन हुँदै आएको  तथ्यांक रहेको छ । तर नेपाली बजारको माग भने ७५ हजार टन रहेको छ । तर, काठमाडौंको मात्र तथ्यांक हेर्ने हो भने स्थानीय उत्पादनले बजार धान्न सक्ने  कृषकहरुको दाबी छ । 

नेपालमा ७ सय २० प्रकारका च्याउ


नेपालमा वि.स २०२८ सालबाट च्याउ उत्पादन शुरु भएपनि अनुसन्धान पछि वि.स २०२९ सालबाट  गोब्रे च्याउको खेती प्रविधि सम्बन्धी अनुसन्धान भएको मानिन्छ । 

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरुलाई च्याउ खेती प्रविधिसम्बन्धी तालिम दिन थालिएको हो । 


हालसम्म नेपालमा ७ सय २० प्रकारका च्याउका प्रजातिहरुको पहिचान गरिएको छ । त्यसमध्ये १ सय १० प्रकारका खान हुने र ७५ प्रकारका औषधिको लागि प्रयोग हुने च्याउ रहेका छन् ।

च्याउका फाईदा 
 च्याउहरुमा विभिन्न भिटामिन, प्रोटिन, थाइमिन, नाइसिन र विभिन्न मिनरल्सहरुका साथै भिटामिन ए, बि, सी र क्याल्सियमसमेत पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ र यसमा स्टार्च हुँदैन । त्यसैले यसलाई पौष्टिक र स्वस्थ्यकर खानाकारुपमा लिइन्छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरुमा व्यावसायिकरुपमा च्याउ खेती हुदै आईरहेको  छ । 
च्याउ टिपेको १२ घण्टाभित्रै खाँदा त्यसलाई स्वस्थकर मानिन्छ । च्याउ सम्बन्धि विज्ञहरुले आयातित च्याउको तुलनामा स्थानीय उत्पादन स्वस्थ्यकर हुने बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप