बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के हो माइग्रेन ?

मङ्गलबार, ०१ फागुन २०७४, १३ : ३९
मङ्गलबार, ०१ फागुन २०७४

डा. ज्योतिर्मय अधिकारी, क्लिनिकल फर्माकोलोजी

माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिइरोकिई टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ । यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ ।

कारण
०   महिलामा शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।
०  तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ ।
०  कफिनको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ ।
०  वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ ।
०  धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ ।

लक्षण
०  टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ ।
०  जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ ।
०  यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् ।
०  माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ ।
०  माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन ।
०  माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ ।
०  माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् ।
०  माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् ।
०  यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।

सजगता
०  सन्तुलित आहारले माइग्रेनको समस्या अन्त्य हुन सक्छ । आहारमा चकलेट, पनिर, कफी, मदिराजस्ता पदार्थ प्रयोग गर्नु हुँदैन । बरु म्याग्नेसियम र हरियो सागपातको बढी प्रयोग गर्नुपर्छ । अमिलो खानेकुराबाट बच्नुपर्ने हुन्छ । शरीरलाई हाइड्रेट राख्नका लागि दैनिक करिब सात गिलास पानी पिउनु उपयुक्त हुन्छ । खानामा ओमेगा थ्री फ्याट एसिड र भिटामिन बीको प्रयोग गर्नु राम्रो हुन्छ ।
०  अनिद्राले माइग्रेनलाई असर पु¥याउँछ । लामो समयसम्म टिभी हेर्दा वा स्मार्टफोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ । निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
०  तनाव माइग्रेनको कारण हो । त्यसैले मानिसले एक्सरसाइजमा ध्यान दिनुपर्छ । एक्सरसाइजले तनाव कम गर्नुका साथै दिमागमा सकारात्मक सोचको विकास गर्छ । जब तपाईं वर्कआउट गर्नुहुन्छ, त्यसपछि शरीरले फाइदाजनक हर्मोन रिलिज गर्न थाल्छ ।
०  माइग्रेनबाट ग्रसित मानिसले टाउको दुखाइको औषधि अत्यधिक सेवन गर्नु हुँदैन । बढी र पटक–पटक औषधि सेवन गर्दा माइग्रेनलाई झन् खतरनाक असर पर्न सक्छ । त्यसैले औषधि प्रयोग गर्नुपूर्व यसको परिणामबारे पनि चिकित्सकसँग परामर्श गर्न आवश्यक छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप