केन्द्रीय संस्करण

ओउमुआमुआ : सौर्यमण्डल बाहिरबाट आएको पहिलो पर्यटक

person access_timeफागुन १, २०७४ chat_bubble_outline0

युगौँ पहिले सायद पृथ्वी पनि अस्तित्वमा थिएन, आकाशगङ्गाको कुनै कुनामा एक ताराको फन्को लगाइरहेको चट्टान आफ्नो परिभ्रमणपथबाट यसरी हुत्याइयो कि यो आफ्नो मातृ प्रणालीबाटै बाहिरियो । यसपछि सो चट्टान लामो यात्रामा निस्कियो । सो यायावर चट्टानलाई अक्टोबर २०१७ मा हवाई विश्वविद्यालयको टेलिस्कोप प्यान–स्टार १ ले आफ्नो लेन्समा पक्रियो । सो पहिलो फोटो सोही विश्वविद्यालयका प्रध्यापक रव वेरयिकले खिचेका हुन् । 

सुरुमा यसलाई पुच्छ«ेतारा सोचिएको थियो । पहिला नदेखिएकाले यो निक्कै ठूलो परिपथमा सूर्यको परिक्रमा गर्ने पुच्छ«ेतारा अनुमान गरिएको थियो । तर पछि यसमा पुच्छ«ेतारामा जस्तो कुनै गुण पाइएन । त्यसपछि यसलाई शिशुग्रह मानेर अध्ययन गरियो तर गहिरो अवलोकनमा यसको असामान्य गुणमा प्रकाश आउन थालेपछि यो केही फरक वस्तु हो भन्ने वैज्ञानिकहरूलाई पर्यो । यसको सबैभन्दा प्रष्ट फरकपन भनेको यसको आकार हो । यो शिगारको आकार छ । यसले केही समयको अन्तरालमा फरक फरक प्रकाश परावर्तन गरिरहेको थियो । फेरि यसले लिने गति सौर्यमण्डलका अरू पिण्डभन्दा अलग छ । साथै यो जिम्न्यास्टले जसरी आफैमा धेरै उलटपुलट लगाइरहेको छ । 

वैज्ञानिकले सो पिण्डलाई सुरुमा A/2017 U1 नाम दिएका थिए । अक्टोबर २०१७ मा वैज्ञानिकहरूले यसको नाम ओउमुआमुआ दिए । यसको बारेमा थप जानकारी भनेको यसको लम्बाइ चौडाइभन्दा दश गुणा बढी छ र यो अत्यन्त तीव्र गतिमा घुमिरहेको छ । झट्ट हेर्दा आम शिशुग्रहजस्तो लाग्ने यो पिण्ड पिण्डको गतिले नै यसलाई बाँकी त्यस्ता पिण्डबाट फरक देखाउँछ । 

यो हाम्रो सौर्यमण्डलमा खगोलविद्ले ठम्याएको पहिलो बाह्य पिण्ड हो । यो हाम्रो सौर्यमण्डलको होइन भनेर यसको गतिले प्रष्ट पार्छ । यसलाई पहिलो पटक पत्ता लगाउँदा यसको गति २५.५ कि.मि. प्रति सेकेन्ड थियो । यो गति सूर्यलाई केन्द्रमा पारेर घुम्ने वस्तुको तुलनामा निक्कै बढी हो । यसको तीव्र गति नजिक रहेको कुनै ठूलो वस्तुको गुरुत्व प्रभावले पनि हुनसक्थ्यो तर यसो हुन यो सौर्यमण्डलमा रहेको परिभ्रमणको सतह (orbital plane) भन्दा अलग्गै रहेकाले त्यसको सम्भावना नै रहेन । 

हवाई विश्वविद्यालयले पहिलो पटक भेटेपछि अन्य दूरदर्शक यन्त्रले गरेको अवलोकनले पनि सो निष्कर्षलाई सहयोग पुग्ने परिणाम निकालेको छ । सूर्यको वरपर चक्कर लगाएपछि अक्टोबर १४, २०१७ मा यो चट्टान पृथ्वीको २ करोड ५० लाख किलोमिटर तलबाट घुज्रियो । त्यसपछि यो पुनः परिभ्रमण सतहको माथि गयो । ४४ किलोमिटर प्रतिसेकेन्डको रफ्तारमा अर्को पेगस नामक तारामण्डलतर्फ अघि बढिरहेको छ । 

विज्ञान कल्प (साइन्स फिक्सन)मा चाख राख्नेहरूलाई यसको ‘रेन्डेजस विथ रामा’को सम्झना गरायो । अर्थर क्लार्कद्वारा लेखिएको २०औँ शताब्दीको महान विज्ञान कल्पमा गनिने सो विज्ञान कल्प पनि यसरी नै सुरु हुन्छ । उपन्यासमा ‘रामा’ भनिने एक वस्तु अदृश्यबाट आएर सूर्यको चक्कर लगाउँछ र पुनः दूर कतै अलप हुन्छ । पछि यो ५४ किलोमिटर लामो बाह्य ग्रहबाट पृथ्वी आएका उन्नत जीव चढेको अन्तरिक्षयान हुन्छ । तर दुःखको कुरा यो पटक वैज्ञानिकको टेलिस्कोपमा ठम्याएका वस्तु ४०० मिटर रहेको छ । लामो दूरीको यात्रामा रहन लगभग एउटा बस्ती नै अटाउने हुनुपर्ने वैज्ञानिकहरूको मान्यता छ, जसका लागि यो आकार उपयुक्त होइन । बाँकी अध्ययनले पनि सो पिण्ड चट्टान हुने धेरै सम्भावना रहेको देखाउँछ । केही वैज्ञानिकहरू भने यो वस्तुले तय गरेको बेपरवाह बाटोको आधारमा यो बाह्य ग्रहहरूमा अत्यन्त उन्नत सभ्यता भएको जीवहरूको यान पनि हुन सक्ने सम्भावनालाई नकार्न नहुने बताउँछन् । यो तर्क गर्नेहरूले यस बस्तुबाट प्रत्येक तीन घण्टाको फरकमा अलग खालको प्रकाश आइरहेको अवस्थालाई इङ्गित गरेका छन् । यसमा असहमत हुने वैज्ञानिक भने सो प्रकाशको परिवर्तन सो पिण्डको गतिले उत्पन्न गराएको प्रकाशको प्रभाव भनिरहेका छन् ।

यो विवादको रहनुपछाडि यसको हाइ डेफिनेसन फोटो खिच्न नसक्नु हो । पृथ्वीमा उपलब्धमा सबैभन्दा उच्च स्तरको दूरदर्शक यन्त्रले पनि त्यो खालको फोटो खिच्न सक्दैन । हाल निर्माण भइरहेको लार्ज सिनाप्टिक सर्भे टेलिस्कोपले त्यसो गर्न सकिने दाबी भए पनि सो टेलिस्कोप अझै केही वर्ष प्रयोगमा आउन समय लाग्नेछ । 

यो पिण्डको एउटा गुणले भने वैज्ञानिकमाझ बहस सिर्जना गरेको छ । सौर्यमण्डलभन्दा बाहिरबाट आएको अवस्थामा यो चट्टान बरफले ढाकिएको हुनुपर्ने हो । त्यो अवस्थामा यसको पुच्छ«ेतारा जस्तो बरफको पुच्छर हुनुपर्ने हो । तर यसको सतह उल्कापिण्डहरूको जस्तो सुख्खा रहेको छ । यस पछाडिका कारण व्याख्या गर्दै वैज्ञानिकहरूले भनेका छन् यसको सूर्यजस्तो तारासँग जम्काभेट भएको पहिलो पटक होइन । अघिल्ला ताराहरूको सम्पर्कले यसको बरफहरू सबै उडेको हुनुपर्छ । 

अर्को रहस्य भनेको यस्ता पिण्ड वैज्ञानिकहरूले किन पहिला कहिल्यै पत्ता लगाएनन् । ग्रह निर्माण सिद्धान्तले यस्तो पिण्डको अस्तित्व पहिलै अघिसारेको थियो । तर ती सिद्धान्तले भने अनुरूप सहज रूपमा यी वस्तु नभेटिदिँदा कि त त्यो सिद्धान्तमा कमजोरी हुनुपर्छ या अर्को व्याख्या ती सिद्धान्त सही छन् तर हाम्रो प्रविधि त्यति उन्नत नभएकाले हामीले ठम्याउन सकेनौँ । यो पिण्डले मानवले अन्य ताराप्रणालीका पिण्डबारे हाम्रो बुझाइमै केही कमजारी रहेको पनि देखाएको छ । पहिले वैज्ञानिकहरू अरू ताराप्रणालीका पिण्डलाई निक्कै घनत्व हुने हिसाब निकालेकोमा यसमा परिवर्तन गर्नुपर्ने देखिएको छ ।

अन्तरतारा पिण्डको हाम्रो सौर्यमण्डलमा यो हिसाबले स्वतन्त्र विचरण पुष्टि हुने अवस्थामा जीवनको सुरवातबारे वैकल्पिक व्याख्या दिनेहरू उत्साहित भएका छन् । अधिकांश विज्ञले पृथ्वीमा जीवन यहीँको निर्जीव रसायनको संयोजनले सुरु भएको मान्दछन् । यो सिद्धान्त अनुरूप पहिले जीवन साधारण (एक कोषीय) रहेको तर पछि जीव उद्विकासको चरण पार गर्दै आजको अवस्था आइपुगेको मानिन्छ । त्यसमा विमती राख्नेहरू जीवन अन्तै बाहिरी ताराहरूको वरिपरि घुम्ने ग्रहमा उद्भव भएको र सुरुवाती चरण त्यतै विकास भएर यस्ता वस्तुमा पृथ्वीसम्म आइपुगेको विश्वास गर्छन् । 

एजेन्सीहरुको सहयोगमा

श्रवण उप्रेती

श्रवण उप्रेती रातोपाटीमा अन्तराष्ट्रिय मामिलामा समाचार लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X