शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ६ को पर्यटन : यस्तो छ सुर्खेतको बुलबुल ताल (फोटो/भिडियो रिपोर्ट)

बुधबार, ०२ फागुन २०७४, १० : १९
बुधबार, ०२ फागुन २०७४

सुर्खेत– प्रायः सामान्य ज्ञानको प्रश्न सोधिँदा एउटा लोकप्रिय प्रश्न हुनेगरेको छ, ‘बुलबुले ताल कुन जिल्लामा पर्छ ?’

उत्तर : ‘सुर्खेत’ ।

रेडियोमा बज्ने गीतमध्ये एउटा लोकगीत चर्चित छ ।

‘सुर्खेत बुलबुल ताल, माया, मै सानी हुनाले छुट्यो मायाजाल ।’

बुलबुल तालको बारेमा यो पहिलो गीत रेकर्ड भएपछि यो तालको नाम लिएर १ दर्जनभन्दा बढी गीत रेर्कड भएका छन् ।

सुर्खेतलाई चिनाउने एउटा माध्यम बन्न पुगेको बुलबुल ताल अहिले पर्यटकीय गन्तव्य बनेको छ । मध्यपश्चिमको भ्रमणको प्याकेजभित्र यो ताल र सँगै रहेको काँक्रेबिहार पनि परेको छ ।

सङ्घीयता कार्यान्वयनको सुरुवातसँगै प्रदेशहरूले आफ्नो क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरूलाई संरक्षण गर्ने र त्यसलाई आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिन थालेका छन् ।

प्रदेश नम्बर ६ को अस्थायी राजधानी रहेको वीरेन्द्रनगर सुर्खेतमा यो तालको संरक्षणका लागि अहिले यहाँको नगरविकास समितिले काम  गरिरहेको छ ।

नगरविकास समिति सुर्खेतका अध्यक्ष नारायण कोइरालाले पार्क व्यवस्थापनका लागि काम भइरहेको बताए । उनले ५ करोड लगानीमा तालको कम्पाउण्डमा पर्खाल लगाएको र ताल वरिपरिको  बगैँचालाई व्यवस्थित बनाउन अध्ययन भइरहको  जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले तालको छेउमा रहेको पार्कलाई बोटानिकल गार्डेन बनाउने उद्देश्यका साथ आर्किटेक इन्जिनियर सुमन बज्रार्चायले खाका बनाइरहेको बताए ।

उनले १० धारा रहेको सानो ताल नै बुलबुले ताल रहेको बताउँदै तल रहेको ठूलो ताललाई पनि व्यवस्थित बनाउन लागिएको उनको भनाइ  छ । बुलबुले ताल तथा पार्कलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका नहुँदा पनि काम हुन नसकेको भन्दै यसलाई मेघा प्रोजेक्टको रूपमा अगाडि बढाउनुपर्ने बताए ।  

यस्तो छ बुलबुले ताल
प्रदेश नंबर ६ को राजधानी बिरेन्द्रनगर सुर्खेतमा अवस्थित यो तालमा  जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको यहाँका स्थानीय बताँउछन् ।

समुन्द्र सतहबाट लगभग ६५७ मिटर को उचाइमा अवस्थित छ यो ताल । पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुरदेखि उत्तरतर्फको रत्न राजमार्ग हुँदै ८७ किलोमिटरको यात्रापछि सुर्खेत उपत्यका वीरेन्द्रनगर बजार पुगिन्छ । यो ताल वीरेन्द्र नगरको सुर्खेत जुम्ला सडक खण्डबाट झन्डै एक किलोमिटर दूरीमा रहेको छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट सवारी सधानमा झन्डै २० मिनेटमा यो तालमा पुग्न सकिन्छ । तालमा प्रवेशका लागि १० रुपियाँ टिकटको व्यवस्था गरिएको छ ।

यो तालले जति चर्चा कमाए पनि यो ताल त्यस्तो ठूलो र विचित्रको भने छैन । सानो तालले चर्चा कमाएपछि यसलाई ठूलो बनाइएको स्थानीय रामजीप्रसाद कोइरालाले बताए । बुलबुले ताल सानो रहेको छ भने यो तालभन्दा तल अर्को ठूलो ताल रहेको छ । बुलबुले तालमा कम्पाउन्ड लगाइएको छ भने नुहाउन तथा लुगा धुनका लागि १० वटा धाराको व्यवस्था गरिएको छ । जहाँ एकातिरको ५ वटा धारा महिलाले प्रयोग गर्छन् भने अर्कोतिरको ५ वटा धारो पुरुषले प्रयोग गर्छन् ।

ताल आसपासको क्षेत्रमा हरियाली, रमणीय, शान्त र सुन्दर वातावरण रहेको छ । तालको वरिपरि बगैँचा र पिकनिक स्पट निर्माण गरिएको छ । एकान्त र शान्त मन पराउनेहरूका लागि मन बहालाउन यो स्थल एकदमै उपयुक्त छ ।

तालमा फोहोर र जलकुम्भी झार
ताल संरक्षणका लागि पहल भए पनि ताल क्षेत्रमा फोहोरमैला, प्लास्टिक र जलकुम्भी झार फस्टाएको छ । ताल क्षेत्रभित्र जलकुण्ड, बगैँचा, शौचालय, सडक निर्माण गरेपछि उचित संरक्षण भएको भने छैन । १ महिना अगाडि नेपाली सेनाले तालको सरसफाइ गरे पनि त्यसपछि भने सरसफाइको काम हुन नसकेको स्थानीयले बताए ।

तालको छेउमा पर्खाल लगाइए पनि कतै भत्किएको छ भने रेलिङसमेत लगाइएको छैन । ताल आसपासको फोहोर मैला व्यवस्थापन, तालको छेउमा बस्नेलगायतका पूर्वाधार हुने हो भने यहाँ आउने पर्यटकका लागि आकर्षण थप्न सक्छ । प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने हो भने यसले पर्यटन प्रवद्र्धनमा मद्दत पुर्याउने निश्चित छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप