शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी दर्जन नेपाली कलाकार, जसले गरे प्रेम विवाह

बुधबार, ०२ फागुन २०७४, १० : ४७
बुधबार, ०२ फागुन २०७४

कलाकारको प्रेम र सम्बन्धका विषयले चलचित्र नगरी हमेसा गर्माउने गरेको छ । त्यो मामिलामा नेपाली कलाकार पनि अछुत छैनन् । एक दिन एउटासँग मनमुटु साटेको चर्चा सेलाउन नपाउँदै अर्को दिन अर्काेसँग डेटिङमा रमाएको समाचार बाहिरिन्छ । डेटिङ, प्रेम र रोमान्समा रमाउने मात्र होइन । प्रेमसम्बन्धलाई सँगै जिउने सँगै मर्ने कसम खाएर लगनगाँठो कस्ने कलाकारको पनि चलचित्र क्षेत्रमा कमि छैन । आज ‘भ्यालेन्टाइ डे’को अवसर पारेर ती एक दर्जन कलाकारको चर्चा गर्न खोजिएको छ, जसले प्रेमी–प्रेमीका सँगसँगै जिउने मर्ने कसम खाँदै लगनगाँठो कसे ।

राजेश हमाल र मधु भट्टराई 
राजेशले मधुसँगको करिब ७ वर्र्ष लामो प्रेम विवाहमा परिणत गरेका हुन् । हमालले आफ्नो उमेर ५० लाग्दा करिब आधा उमेरकी प्रेमिका मधुसँग लगनगाँठो कसेका थिए । ७ वर्र्षसम्म लुकिछिपी दिल साटेको यो जोडीले प्रेमलाई विवाहमा परिणत गर्दा सबै आश्चार्य चकित परे । अहिले दुवैको सम्बन्ध राम्रो चलिरहेको छ ।

निशा अधिकारी र शरद भेषवाकर 
निशा र क्रिकेटर शरद भेषवाकरको प्रेमको समचारले सम्पूर्ण मिडिया रङ्गिन्थ्यो । यी दुवैले लामो समय लुकिछिपी प्रेम गरेका थिए । कहिले चलचित्र भवन, कहिले आर्यघाट र कहिले कता डेटिङ गर्दै आएका उनीहरूले केही पहिले प्रेमलाई विवाहमा परिणतसमेत गरे । चलचित्र क्षेत्रका सीमित व्याक्तिको उपस्थितिमा दुवैले  केही पहिले होटल अन्नपूर्णमा लगानगाँठो कसेका थिए ।

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ 
हाँस्यशृङ्खला ‘मेरी बाँस्सै’ले यी दुवैलाई जोडीका रूपमा प्रस्तुत गरेको थियो । अभिनय सिलसिलामा दुवैले प्रेम महसुस गरे । अनि लगनगाँठो पनि कसे । अहिले अभिनय होस् या समाजिक काम दुवै एकसाथ देखिँदै आएका छन् । सन्तानका रूपमा छोरीसमेत जन्मिएकी छन् ।

निखिल उप्रेती र संचिता लुइटेल 
निखिल र संचिताको मायाको बिजारोपण ‘माया त माया हो’ले गराएको थियो । त्यसपछि केही चलचित्रसँगै गरेका यी दुवैले भागेर विवाह गरे ।  दोस्रो बिहे गरेका कारण निखिलले केही समय तनाव पनि झेले । चलचित्र उद्योग छाडेर उनी भारत पनि रहे । अहिले निखिल र संचिता साथसाथ रहँदै आएका छन् । एक छोरा र एक छोरी सन्तानका रूपमा पाएका छन् ।

झरना थापा र सुनिलकुमार थापा 
अभिनेत्रीबाट निर्देशक बन्दै ‘ए मेरो हजुर २’ जस्तो सफल चलचित्र दिएकी झरनाले पनि निर्माता सुनिलकुमार थापासँग प्रेम बिहे गरेकी हुन् । कन्या क्याम्पस अध्यायन गर्दैगर्दै सुनिलले झरनालाई प्रपोज गरेका थिए । केही महिनामै बिहे गरेका हुन् । अहिले यो जोडीका एक छोरी छिन् । झरना र सुनिल चलचित्र निर्माणमा समेत सक्रिय छन् । यो जोडी नेपाली चलचित्रको एक सफल जोडीका रूपमा चिनिन्छ ।

मुकेश ढकाल र मेलिना मानन्धर 
अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिना मानन्धरको पनि प्रेम विवाह नै हो । मेलिनाले आफूभन्दा कान्छा मुकेशसँग प्रेम बिहे गरेकी थिइन् । अहिले यो जोडीको दिनचर्या राम्रो चलिरहेको छ ।

आर्यन सिग्देल र सपना भण्डारी

 आर्यनले पनि सपनासँगको प्रेमलाई विवाहमा परिणत गरेका छन् । करिब तीन वर्र्षको प्रेम सम्बन्धलाई उनले केही वर्र्ष अगाडि विवाहमा परिणत गरेका थिए । आर्यनलाई नेपाली चलचित्रको ‘प्लेब्वाई’ भन्थे धेरैले । तर उनले आरोपलाई गलत सावित गर्दै प्रेम विवाह गरे ।

रेजिना उप्रेती र सुरज पोख्रेल 

अभिनेत्री रेजिना उप्रेतीले पनि लन्डनका व्यवसायी सुरज पोख्रेलसँग प्रेम विवाह गरेकी हुन् । सुरजसँगको प्रेमलाई उनले लुकाउन धेरै कोसिस गरेकी थिइन् । तर सफल हुन सकिनन् । अन्ततः उनले प्रेमलाई विवाहमा परिणत गरिन् ।

सलोन बस्नेत र करिष्मा श्रेष्ठ 
अभिनेता सलोन बस्नेत र अभिनेत्री करिष्मा श्रेष्ठ चलचित्र एउटा साथी अभिनयका सिलसिलामा नजिकिएका हुन् । त्यसपछि यी दुवैले पारिवारिक सहमतीमा विवाह गरे । यी दुवै अहिले निर्देशक शोभितकै चलचित्र ‘झिल्के’मा देखिँदै छन् । 

ऋचा घिमिरे र शङ्कर घिमिरे 
अभिनेत्री ऋचा घिमिरे र निर्देशक शङ्कर घिमिरेले पनि व्यवसायिक सम्बन्ध र चिनजानलाई प्रेम सम्बन्धमा परिणत गरेका हुन् । शङ्करले निर्देशन गरेको एक चलचित्रमा ऋचा अभिनेत्री थिइन् । हाल अमेरिका बसोबास गरिरहेको यो जोडीको अहिले दुई सन्तानसमेत रहेको छ ।

सुमिना घिमिरे र रोशन सापकोटा 
अभिनेत्री सुमिना घिमिरेले पनि आफ्नो प्रेमलाई सफल बनाउँदै विवाह गरेकी हुन् । एक म्युजिक भिडियो अभिनय सिलसिलामा नजिकिएका सुमिना र रोशनले ६ महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

निश्मा घिमिरे र गम्भीर विष्ट 
अभिनेत्री निश्मा घिमिरे र नृत्य निर्देशक गम्भीर विष्टले पनि प्रेम विवाह गरेका हुन् । म्युजिक भिडियो निर्माणको सिलसिलमा नजिक भएका यी दुवैले केही वर्र्षको प्रेमलाई विवाहमा परिणत गरे । गत मङ्सिर लगनगाँठो कसेका यी दुवैको विवाह समारोहमा नजिकका साथीहरू र परिवारका सदस्य मात्र सहभागी थिए । गम्भीर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप