केन्द्रीय संस्करण

हेटौँडाबाट राजधानी सारे सङ्घीयता  रहँदैन (३ नम्बर प्रदेशका प्रतिपक्ष दलको नेता इन्द्र बानियाँको अन्तरवार्ता)

person access_timeफागुन २, २०७४ chat_bubble_outline0

नेपाली काँग्रेसमा प्रखर व्यक्तिका रूपमा परिचित इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस मकवानपुरका सभापति पनि हुन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँ प्रदेश नम्बर ३ मा प्रमुख प्रतिपक्ष दलको नेता हुन् । गत निर्वाचनमा बानियाँले मकवानपुर २ ‘ख’बाट निर्वाचन जितेका थिए । जिम्मेवार प्रतिप्रक्षको भूमिकामा प्रस्तुत हुने बताएका बानियाँले हेटौँडा प्रदेश ३ को मुकाम बन्न नसके सङ्घीयता नै सङ्कटमा पर्ने बताउँछन् । रातोपाटीका लागि लिलु डुम्रेले हेटौँडामा बानियाँसँग गरेको कुराकानी :

अन्य प्रदेशभन्दा प्रदेश ३ को केन्द्रका विषयमा चर्चा बढी सुनिएको छ ? तपाईं मकवानपुरको स्थानीयवासी पनि हुनुहुन्छ ।  हेटौँडा अस्थायी बनिसकेपछिको चर्चा बढिरहनुका कारण के देख्नुहुन्छ ?

अब म स्थायी राजधानीका विषयमा बढी कुरा गर्ने पक्षमा छैन । कसले के बोल्छ, त्यस विषयमा पनि बोल्न चाहन्नँ । हेटौँडा तोक्दा सरकारले अन्य प्रदेशका राजधानी पनि अस्थायी नै तोकेको हो । केन्द्रहरू अस्थायी पनि होइनन् । स्थायी पनि होइनन् । तोकिएको राजधानीलाई अब अस्थायी भनिरहनु जरुरी छैन । स्थायी प्रकृतिमै जाने हो । सङ्घीयता, धर्म निरपेक्षता र लोकतन्त्र संविधानको मर्म हो । त्यसकारण सबै धर्मको स्वतन्त्रता पनि छ । हेटौँडा प्रदेशको राजधानी रणनीतिक, आर्थिक रूपमा उपयुक्त स्थान हो र सबै क्षेत्रका हिसाबले पनि पायक पर्ने स्थान हो ।

नेपालकै गौरवको आयोजना फास्ट ट्र्याक नेपाल सरकारले सेनालाई जिम्मा लगाएको छ । एक खर्बको आयोजना हो । काठमाडौँदेखि हेटौँडाका दूरी जम्मा ३० मिनेटको दूरी हो । त्यो फास्ट ट्र्याक दुई वर्षमा निर्माण सकिन्छ । धरान चतरा सडक खण्ड जुन मकवानपुरसँग जोडिँदै छ । त्यसमा सरकारले २२ सय करोड लगानी गरेको छ । कान्ति लोक पथलाई तीन अर्ब लगानी हँुदैछ । आर्थिक केन्द्रको रूपमा हेटौँडा विकास हुँदै गएको छ । औद्योगिक क्षेत्र पुरानै थियो । औद्योगिक क्षेत्र विस्तार हुँदै गएको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र विस्तार गर्ने सरकारको नीतिअनुसार यहाँ पनि विस्तार भएको छ । पृतना, अख्तियार, वन, शिक्षा र स्वास्थ्यलगायतका धेरै सरकारी कार्यालयहरू हेटौँडामा छन् । सम्पूर्ण पूर्वाधार भएको तथा सरकारलाई सङ्घीयतामा जाँदै गर्दा आर्थिक भार पनि कम गर्ने भएकाले हेटौँडा नै पहिलो रोजाइको स्थान हो । आर्थिक नाकाका रूपमा रहेको वीरगञ्ज नाका रहेको हुँदा केन्द्रीय राजधानीलाई समान ढुवानीमा सहजीकरण गर्न हेटौँडा उपयुक्त स्थान हो । व्यावहारिक र वैज्ञानिक दृष्टिकोणले उपयुक्त भएकाले रोजिएको हो भन्ने मलाई लाग्छ ।

नयाँ संरचनामा जाँदा अभिष्ट पूरा गर्न बोल्न मिल्यो । आफ्नो अभिष्टको कुरा गर्ने हो भने रोल्पा, रुकुम, हुम्ला, ताप्लेजुङका जनतालाई राजधानी काठमाडौँ भएको चित्त बुझेको छ ? हटाउँदै जाने कुरा गर्ने हो भने सबै प्रदेश राजधानी सार्नुपर्नेहुन्छ । समृद्धि एकता र सहकार्यको कुरा गर्ने समयमा प्रदेश सदस्यहरू राजधानीका विषयमा अल्झिनु हुँदैन ।

तपाईंका अनुसार सबै कोणबाट व्यावहारिक र वस्तुगत रूपमा  हेटौँडा उपयुक्त हो भन्ने बुझिन्छ । तर धेरै प्रदेश सदस्यहरूको राय सार्नुपर्ने बुझिन्छ । उहाँहरूले बुझ्न नसकेको कि बुझ पचाउनुभएको ?


प्रदेशको माननीय भएर आएको व्यक्तिलाई अरूले बुझाउनु पर्दैन । आफै बुझ्ने हो । माननीयज्यूहरू राजनीतिक उद्देश्यले प्रेरित भएर बोलिरहेका हुन्छन् । सुतिरहेकालाई उठाउन सकिन्छ, सुतेझै गरेकोलाई उठाउन सकिन्न । संसद सञ्चालनका लागि नियामावली पास गर्नुपर्यो । प्रादेशिक नियम कानुनका लागि सरकारले संसदलाई बिजनेस दिनुपर्यो । केन्द्र, प्रदेश र स्थानीयको अधिकारको विषय टुङ्ग्याउँदै जानुपर्ने छ । विषय प्रवेश संसदमा हुनुपरेयो । प्रदेश केन्द्र सार्ने विषयमा विवाद हुँदै गयो भने लेखेर राख्नुस् । सङ्घीयता मुलुकमा रहँदैन । सबै क्षेत्रको प्रतिनिधित्व भएको छ । अब यसलाई हल्लाउन वा दायाबायाँ गर्न खोजिए सङ्घीयताको जरो उखेलिन्छ । अनि गणतन्त्र पनि सङ्कटमा पर्छ । सञ्चारकर्मी, राजनीतिकर्मी सबैले बुझ्नुपर्छ ।

प्रदेश ३ का आर्थिक सम्भाव्यताका आधारहरू के–के देख्नुभएको छ ?
देशको राजधानी भएको प्रदेश हो । यो प्रदेशमा धेरै खनिजहरू रहेका छन् । चुनढुङ्गा पनि यसै प्रदेशमा छ । हेटौँडामै तीन सिमेन्ट कम्पनीहरू आजभोलिमा आएका छन् । हेटौँडा, शिवम् छँदैछन् । रिद्धिसिद्धी नयाँ सिमेन्ट कम्पनी आएको छ ।
उद्योगहरूमा धेरै सम्भावना बोकेको प्रदेश हो । जलविद्युत र जडीबुटीमा प्रचुर सम्भावना छ । प्राकृतिक स्रोत साधनले भरिपूर्ण प्रदेश हो ।

तपाईं प्रतिपक्ष दलको नेता हुनुहुन्छ । तपाईंले नेतृत्व गरेका नेपाली काँग्रेसका प्रदेश सदस्यहरूको प्रदेश सभामा कस्तो भूमिका हुन्छ ?
मुलुकलाई आर्थिक समृद्धितिर बढाउने हाम्रो प्रयत्न हुन्छ । गणतन्त्रलाई संस्थागत गर्ने हाम्रो भूमिका हुन्छ । समृद्धिका पक्षमा संसदमा पेश भएका नियम कानुन पास गर्ने कार्यमा सहयोग पुर्याउँछौँ । हाम्रो भूमिका जिम्मेदार प्रतिपक्षका रूपमा सकारात्मक रहन्छ । नकरात्मक भूमिका कहिले पनि रहँदैन । संसदीय र लोकतान्त्रिक अभ्यास, लोकतान्त्रिक विधिको शासन, कानुनी राज्य, सबैको अस्तित्व स्वीकार्ने लोकतन्त्रका लागि हाम्रो आवाज उठिरहन्छ । बहुमतले शासन गर्ने तथा अल्पमतले खबरदारी गर्ने लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको सुन्दर पक्षमार्फत सरकारमा भएकाहरूलाई सचेत गराउने हो । जिम्मेवार प्रतिपक्ष कस्तो कहुन्छ उहाँहरूलाई सिकाउने हो । भोलि हामी सरकारमा भएको समय उहाँहरू हामीले सिकाएको बाटोमा उहाँहरू हिँड्नुपर्छ । सरकारी गलत निर्णयको खबरदारी गर्छौं । संसद अवरुद्धको गलत बाटोमा विश्वास लाग्दैन ।

थप अन्तर्वार्ता

यो त शक्तिको दुरूपयोग हो (प्रदेश सांसद विशाल खड्काको अन्तरवार्ता)

अब जित्नेले हार्नेसँग सहयोग माग्ने हो (मुख्यमन्त्री डोरमणि पौडेलको अन्तरवार्ता)


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X