शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का प्रमुख भन्छन्, ‘अभिभावकको भूमिका निर्वाह गर्छु’

बुधबार, ०२ फागुन २०७४, ११ : २०
बुधबार, ०२ फागुन २०७४

प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ मङ्गलबार बिहान एक जना कानुन व्यवसायीसँग छलफल गर्दै थिए । विराटनगरस्थित सुनसरी मोरङ सिंचाइ योजनाको संरचनामा अस्थायी बसोबास गरिरहेका प्रदेश प्रमुखको गेटमा नेपाली सेनाका जवानहरू तैनाथ थिए । सरकारले प्रदेश प्रमुखको निवास सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ

उनको एउटा मुद्दाको बारेमा अदालतमा चलिरहेको छलफल बीचमै रोकेर रातोपाटीसँग कुरा गरेका प्रा. तुम्बाहाङले भने, ‘सङ्घीयताले जनताको घरदैलोसम्म सुविधाहरू पुर्याउँछ, आर्थिक उन्नति र प्रगति गर्छ भन्ने लागेको छ ।’

(प्रस्तुत छ, प्रदेश १ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश) 

मुलुक पहिलो पटक सङ्घीय प्रणालीमा गएको छ, यस्तोमा तपाईं प्रदेश १ को पहिलो प्रदेश प्रमुख बन्नुभएको छ, व्यक्तिगत रूपमा तपाईंको अनुभव कस्तो रह्यो ?
अब यो जनताको चाहना हो, जनचाहनाअनुसार मुलुकमा सङ्घीयताको अभ्यास सुरु भइराखेको छ । यसले जनतालाई अधिकार सम्पन्न बनाउँछ घरदैलोसम्म सुविधाहरू पुर्याउँछ र आर्थिक उन्नति र प्रगति गर्छ भन्ने मलाई लाग्छ ।

प्राध्यापन पेसाबाट यतापट्टि आउनुभएको छ, कस्तो अनुभूति हुँदैछ ?
हैन, मलाई खास त्यस्तो अनुभूति केही भएको छैन । प्राध्यपन पेसामा हुँदा पनि दिएको जिम्मेवारी मैले त्यहाँ इमानदारसाथ नै निर्वाह गरेको थिएँ । प्राध्यापन पेसामा हाम्रो त्यहाँ रहँदा प्राध्यापकहरूमा उप–प्रशिक्षक, सहायक प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक हुँदै अन्तिममा प्राध्यापक हुने हो । म त्यहाँ प्राध्यापक भइसकेको थिएँ  र एउटा प्राध्यपकका रूपमा आफ्नो कर्तव्य निर्वाह गरिराखेको थिएँ । अहिले आएर यो प्रदेश प्रमुखको जिम्मेवारी सरकारले मलाई दिएको छ । मेरो जिम्मेवारी परिवर्तन भएको मात्र हो, मैले नेपालको संविधान २०७२ अनुसार आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्ने कुरा बुझेको छु । यसमा खास मलाई अरू केही अनुभूति भएको छैन ।

प्रदेश प्रमुखको जिम्मा पाएपछि अहिलेसम्म के–के गर्नुभयो ?
प्रदेश प्रमुखको जिम्मा पाइसकेपछि नेपालको संविधान २०७२ ले प्रदान गरेको अधिकार बमोजिम प्रदेशसभाको निर्वाचन भएको मितिले २० दिनभित्रमा प्रदेशसभाको अधिवेशन आह्वान गरेँ । त्यसअनुसार गत माघ २२ गते १ बजे जिल्ला समन्वय समितिको कार्यालय विराटनगरमा प्रदेशसभाको बैठक बस्यो ।

त्यो प्रदेशसभा बैठकले अन्तरिम कार्यविधि पास गरेको छ । त्यसपछि सभामुखको निर्वाचनको मिति तोक्यो । अहिले सभामुखको निर्वाचन पनि सम्पन्न भइसकेको छ । हिजो मात्रै सभामुखको शपथ खुवाउने कार्यक्रम सम्पन्न भयो । नेपालको संविधानमा नलेखे पनि नियममा उल्लेख भए अनुसार सभामुखको शपथ पनि नै गराइसकेँ ।

प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य छन् त्यसमा नेकपा एमाले एक्लैको ५१ सांसदहरू छन् । उहाँहरूले संसदीय दलको नेता चुनिसक्नुभएको छ । अब एमाले संसदीय दलको नेता शेरधन राईलाई कानुनी प्रक्रिया पुर्याएर उहाँलाई मुख्यमन्त्रीका रूपमा नियुक्ति गर्ने कार्यक्रम छ ।

उहाँलाई शपथ गराइसकेपछि उहाँको सिफारिसमा मन्त्रिपरिषद्को गठन हुन्छ । संविधानअनुसार मुख्यमन्त्री र मन्त्रीहरूको शपथ प्रदेश प्रमुखले गराउनुपर्छ । सहायकमन्त्री र राज्यमन्त्रीको शपथ मुख्यमन्त्रीले प्रदेश प्रमुखको उपस्थितिमा गराउनुपर्छ । संविधानले प्रदेश प्रमुखलाई प्रदान रेका अधिकार यिनै हुन् । यही अधिकारको सेरोफेरोमा रहेर मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु ।

अब बन्ने प्रदेश सरकारसँग कसरी समन्वय गर्नुहुन्छ ?
त्यो त संविधानमा जे–जे उल्लेख छ, यहीँ नै छ । समन्वयको कुरा त्यहीँ नै छ, अब संविधान बमोजिम मुख्यमन्त्रीले हप्तामा एक पटक या दुई पटक आएर प्रदेश प्रमुखलाई रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ, त्यसैअनुसार समन्वय हुन्छ ।

अहिले केन्द्र सरकारसँग कसरी समन्वय गरिरहनुभएको छ ?
केन्द्र सरकारसँग चाहिँ के हुन्छ भने खासगरी प्रदेश प्रमुखको भूमिका केन्द्रमा राष्ट्रपतिको जे हुन्छ, धेरथोर यहाँ त्यही हो । समन्वय गर्नुपरेमा फेरि संविधानअनुसार नेपाल सरकारमार्फत गर्नुपर्ने हुन्छ, त्यो कार्य आवश्यकता अनुसार हुन्छ ।

हामी विल्कुल नयाँ अभ्यासमा छौँ, प्रदेश प्रमुख र सकारको बीचमा कार्यक्षेत्रको विषयलाई लिएर विवाद पनि देखिन सक्छ, त्यसमा कत्तिको सचेत हुनुहुन्छ ?
हैन, त्यस्तो विवाद देखिँदैन । किन भन्नुहुन्छ भने खास गरेर प्रदेश प्रमुख चाहिँ सामान्यतया आलङ्कारिक पद हो । प्रदेश सरकारले संविधानअनुसार पास गरेर ल्याएका कुराहरू हेर्ने हो । अनि त्यसमा आफ्नो स्वीकृति जनाउने हो । त्यसकारण खासै त्यस्तो विवाद पर्छ जस्तो मलाई लाग्दैन ।

तपाईंको प्रदेशमा कर्मचारी व्यवस्थापनको समस्या कसरी हल हुँदै छ ?
अब हेर्नुस्, अहिले कर्मचारी व्यवस्थापन हुँदै छ, भइराखेकै छ । अहिले नयाँ सुरुवात हो, अहिले त्यस्तो अप्ठ्यारो केही भएको छैन । हो, भवनको समस्या छ तर पनि विस्तारै व्यवस्थापन हुँदै छ । 

प्रदेश सरकार गठनसँगै आवश्यक पूर्वाधारहरूको अवस्था के छ ?  
पूर्वाधार व्यवस्थापन प्रदेश प्रमुखको पाटोभित्र त्यति पर्दैन । किनभने, कार्यकारी यहाँको सरकार हो । पूर्वाधार व्यवस्थापनको काम सरकारका अधिकारीहरूले गर्नुुहुन्छ भन्ने मलाई विश्वास छ ।

प्रदेश १ मा फरक जात–जाति र भूगोलका मानिस बसोबास गर्छन्, यहाँ दलहरू बीचको समन्वयका लागि प्रदेश प्रमुखको हैसियतमा तपाईंको के भूमिका हुन्छ ?
मैले त एउटा अभिभावकीय भूमिका निर्वाह गर्ने हो । एउटा  अभिभावकले आफ्ना छोराछोरीलाई के गर्नसक्छ ? बुढो एउटा अभिभावकले तिमीहरू झगडा नगर मिलेर जाओ, मिल्दाखेरी परिवार बलियो हुन्छ भनेर पटक–पटक सम्झाउने हो । अब सम्झाउँदा सम्झिएनन् भने के हुन्छ त, उनीहरू आफ्नो परिणति भाफैं भोग्छन आफैं सिक्छन् । त्यहाँभन्दा बढ्ता केही हुन्छ जस्तो मलाई लाग्दैन ।

अन्त्यमा केही छ ?
प्रदेश १ को उन्नति र विकासको निमित्त हिजो निर्वाचनमा विभिन्न दलहरूले आआफ्ना उम्मेदवारी दिए पनि अब आएर विकास, संवृद्धि र शान्तिका निम्ति सबै एकजुट हुनुपर्छ ।
सरकारमा रहेका सरकार पक्षले पनि हाम्रो बहुमत छ भनेर पेलेर लाने काम गर्नु हुँदैन र अरू विपक्षमा रहेकाले पनि यो सरकार हाम्रो विपक्ष हो भनेर राम्रा कुरालाई पनि अनावश्यक रूपमा विरोध गर्दै विकासको काममा बाधा अड्चन गर्ने काम गर्नु हुँदैन । विकास र शान्तिको निम्ति सबै एक भएर अगाडि बढ्नुपर्छ, सबै पक्षलाई यही अपिल गर्न चाहन्छु ।

(फोटो : कृष्ण खड्का)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप