मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एउटी आमा जसले १४ वर्षदेखि दुई छोरा खोजिरहेकी छन्

बुधबार, ०२ फागुन २०७४, १४ : ००
बुधबार, ०२ फागुन २०७४

‘आमा हामी युद्धका ज्यामी हौं, हामी जानुपर्छ । हामी छिट्टै फर्केर आउछौं चिन्ता नलिनू । यदि कुनै लडाइँमा हामी ढलेको समाचार सुन्नुभो भने दह्रो लौरो टेकेर हिँड्नू । शत्रुको अगाडि नझुक्नुहोला, नरुनुहोला । भित्र जस्तो भए पनि बाहिर हाँसेर हिँड्नु है । आफ्नो ख्याल राख्नू ।’

हिँड्ने बेला छोराहरूले आफूलाई सम्झाएका कुरा, हामीलाई बताउन नपाउँदै झापाकी चन्द्रकुमारी बस्नेतका आँखामा आँसु टिल्पिसकेका थिए । कान्छो छोरा धीरेन्द्र्रले भनेका यी शब्द अहिले पनि आमा चन्द्रकुमारीको दिलदिमागमा गुञ्जिरहेका छन् । 

२०६० साल वैशाख २८ गते काइँलो छोरा वीरेन्द्र्र बस्नेत र कान्छो छोरा धीरेन्द्र्र बस्नेत घरबाट निस्किए । ‘बाबु तिमीहरू आज नजाउ न, भनेकी थिएँ तर मैले भन्दा नभन्दै जानुपर्छ आमा भन्दै घरबाट निस्किए, चन्द्रकुमारीले सम्झिइन् । उनीहरू निस्किएपछि म पनि पछि–पछि लागें । घरबाट अलि पर चोकमा पुग्दा गाडी आयो । मलाई सम्झाए नरुनु आमा, आफ्नो ख्याल गर्नु, भनेको सुन्दा म अचेतजस्तो भएकी थिएँ । छोराहरूले त्यो भन्दा मेरा हात खुट्टा गलिसकेका थिए । 

म तिनिहरूलाई फर्केर हेर्न सकिनँ । बल्लतल्ल आफूलाई सम्हालें र अलि अघि बढें तर मनले मानेन पछि फर्केर हेर्ने हिम्मत गरें । मैले पछि फर्केर हेर्दा मेरा दुवै छोराले गाडीको झ्यालबाट “बाइबाई” आमा भन्दै हात हल्लाउँदै थिए, मलै पनि बाई भनें । 

मलाई बाइबाई भन्दै गएका २ छोरामध्ये मेरो काइँलो छोरा २०६४ मा फर्कियो तर मेरो कान्छो छोरा अmझै फर्केका छैनन् । 

हाम्रो संवाद हँुदै थियो । यी कुरा बताउँदा चन्द्रकुमारी अरू वाक्य निकाल्न सक्ने अवस्थामा भैनन् । एक छिन रोकिएर आँसु पुछ्दै पुनः माइलो छोरासँगको अन्तिम भेटलाई यसरी सम्झिइन् । कान्छो छोरा गएको २÷३ दिनपछि माइलो छोरा पुष्प बस्नेत पनि घरवाट निस्कियो । पुष्पले आमा, आफ्नो ख्याल राख्नु भन्दै बिहान अँध्यारोमै घरबाट निस्कियो । पुष्पलाई उसको बुवाले चोकसम्म छोड्न जानुभयो, मैले घरबाट हेरिरहेकी थिएँ । त्यो दिनदेखि मेरो पुष्प पनि फर्किएको छैन । मेरा दुवै छोराको अवस्था के हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । आफ्ना बेपत्ता २ छोराबीच भएको अन्तिम भेटघाट र बोलचाली चन्द्रकुमारीको मानसपटलमा ताजै छन् ।

मेरा होनाहार २ छोरा बेपत्ता छन्, म तिनको पर्खाइमा छु । मलाई अरू केही चाहिनी थिएन, उनीहरूको कि सास, कि लास जे भए पनि मेरो अघि आइदिए हुन्थ्योजस्तो लाग्छ । मेरा बेपत्ता छोराहरू खोज्न म धेरै भौंतारिएँ लाखौं रकम खर्च गरें । मेरा छोरा खोज्दा तीनपटक पक्राउ परें तर पनि न मेरा छोराहरूलाई खोज्न सके न आफूलाई सम्हाल्न सकेको छु, चन्द्रकुमारी फेरि आँसु झारिन् । 

म धेरैपटक मरेर बाँचेकी छु । मलाईजस्तो अरू कसैलाई नहोस् । आफ्ना होनाहार सन्तान बेपत्ता हुँदा बाबुआमालाई के गुज्रिन्छ, म कुरामा व्यक्त गर्न सक्दिनँ । यो परेकालाई मात्र थाहा हुन्छ । बरु मृत्यु भएको थियो भने केही वर्षपछि बिर्संदै गैन्थ्यो होला तर बेपत्ता हँुदा कहाँ कस्तो अवस्थामा छन् ? कतिबेला आमा भन्दै आउँछन् कि भन्ने आसले कुर्दाकुर्दै म जिउँदै मरेकी चन्द्रकुमारीले भनिन् । परिवारका अरूले बिर्सेजस्तो गर्छन्, तर म त आमा हुँ म कसरी बिर्सन सक्छु । कुनामा गएर एक्लै धितमरुन्जेल रुन्छु । सबैले सम्झाउँछन्, अब आउँदैनन् धेरै चिन्ता लिनुहुन्न भनेर तर म कसरी चित्त बुझाऊँ ? 

को हुन् चन्द्रकुमारी बस्नेत ?
दमक नगरपालिका–१ झापाकी चन्द्रकुमारी बस्नेतका २ छोरा बेपत्ता छन् । अहिले झन्डै उमेरले ७० पुग्न लागेकी उनका ७ सन्तानमध्ये ५ छोरा र २ छोरी हुन् । १० वर्षे जनयुद्धमा उनको सिंगो परिवार माओवादीमय भयो । २०५७ सालदेखि नै माओवादीमा लागेका चन्द्रकुमारीका २ छोरीको बिहे भैसकेको हुँदा आफूसँगै ५ छोरा र श्रीमान् पूर्ण रूपमा युद्धमा होमिएका थिए । बेपत्ता (पुष्प र धीरेन्द्र्र) बाहेक उनका श्रीमान् भीमबहादुर बस्नेत, अरू ३ छोराहरू (वीरेन्द्र्र बस्नेत र सुरेन्द्र बस्नेत) धेरैपटक मृत्युको मुखबाट जोगिएका प्रसंग सुनाइन् । अहिले पनि उनका श्रीमान् र ३ छोरामध्ये २ छोरा माओवादी राजनीतिमै सक्रिय छन् । चन्द्रकुमारी “बेपत्ता परिवारको” केन्द्रीय सल्लाहाकार छिन् । 

बेपत्ता माइलो छोरा पुष्प बस्नेत
२०३४ साल मंसिर १९ गते जन्मिएका पुष्प वस्नेत निकै मेहनती र इमानदार थिए । “आमा आफ्नो ख्याल राख्नू है भन्दै २०६० साल वैशाखमा घरबाट काठमाडौं हिँडेका थिए । अहिले १४ वर्ष भयो पुष्प अझै घर फर्केका छैनन् । पुष्पले आमालाई निकै माया गर्थे । पढाइमा अब्बल पुष्प राजनीतिमा पनि सक्रिय थिए । मिलनसार स्वाभावका पुष्प परिवारलाई निकै माया गर्थे । पढाइमा सधैं प्रथम हुने उनले धेरैपटक पुरस्कारसमेत पाएका थिए । 

अध्ययनका लागि सबै भाइ सँगै उनी पनि काठमाडौंमा डेरा लिएर बस्थे । २०६० साल मंसिर १९ गते दिउँसो कालीमाटीबाट नेपाली सेनाले उनलाई नियन्त्रणमा लियो । त्यतिबेला उनी २६ वर्षका थिए । उनलाई पक्राउ गर्ने कारण, माओवादीनिकट विद्यार्थी संगठनलाई सहयोग गरेको भन्ने थियो । जुन दिन उनी प्रक्राउ परे, त्यही दिन उनको जन्मदिन थियो । उनलाई अन्तिम समय भाइ वीरेन्द्र्रले निकै दर्दनाक अवस्थामा भैरवनाथ गणमा देखेका थिए । त्यसपछि अहिलेसम्म उनको अवस्था अज्ञात छ । छोराको जन्मदिन आउँदा यी घटना आमाको दिमागमा ताजा भएर आउँछन् । 

बेपत्ता कान्छो छोरा धीरेन्द्र्र बस्नेत

२०४० साल माघ १७ गते जन्मिएका धीरेन्द्र्र बस्नेत कक्षा ८ मा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । परिवारको सबैभन्दा कान्छो उनी आमा, बुवा, दिदी र दाजुहरूको निकै प्यारो थिए । 

कहिलेकाहीं स्कुलबाट फर्किंदा १०÷१५ रुपैयाँ जोगाएर मलाई अंगुर, केरा किनेर ल्याइदिन्थ्यो र भन्थ्यो आमा खानूस, स्वास्थ्यका लागि राम्रो हुन्छ, चन्द्रकुमारीले सम्झिइन् । 

२०६० सालको वैशाखमा घरबाट निस्किएका २ छोरामध्ये काइँलो छोरा वीरेन्द्र्र बेपत्ता भएको ३७ महिनापछि फर्किए तर कान्छो छोरा धीरेन्द्र्र अझै फर्किएका छैनन् । 

माइलो दाजुलाई पक्राउ गरेको एक हप्तापछि २०६० साल मंसिर २८ गते बिहान कलंकीमा चिया पिउँदै गरेका धीरेन्द्र्रलाई नेपाली सेनाले पक्राउ ग¥यो । त्यतिबेला उनी १९ वर्षका थिए ।

पढ्नमा निकै चलाख । चन्द्रकुमारी भन्छिन्, ‘उसको दिमाख तेज थियो । आमा तपाईंलाई बूढो हुन दिन्नौं । कपाल फुल्न लागेछ भने पनि नफुल्ने औषधि दिएर तपाईलाई सुन्दर बनाउँछौं भन्दै स्कुलको लुगामा घरवरिपरि हाँस्दै घुमेको दृश्य र बोली ताजै लाग्छ ।’ 

सेनाको हिरासतम एक छिमेकीले धीरेन्द्र्रलाई दर्दनाक अवस्थामा देखेका थिए । धीरेन्द्र्रले त्यतिबेला सेनाकै हिरासतबाट दाजुलाई लेखेको चिट्ठीले छोरा जिउँदै रै’छ भन्ने थाहा पायौं तर त्यसपछि अहिलेसम्म मेरो कान्छो छोराको अवस्था मलाई थाहा छैन । ऊ पनि घर फर्किएको छैन । 

बेपत्ता तीन छोरा खोज्न हजार रुपैयाँ मागेर काठमाडौं 

युद्धले चर्को रूप लिइरहेको थियो । जसकारण चन्द्रकुमारीको परिवार तितरबितर भैसकेको थियो । श्रीमान् र छोराहरू सबै सक्रिय रूपमा माओवादीलाई सघाइरहे । दिनहुँ यति मरे, यति घाइते भन्ने समाचार आउँथे । 

आफ्ना तीन छोरा बेपत्ता भएको खबर पाएकी चन्द्रकुमारीले कतै मेरा छोरा त हैनन् भन्दै टीभीमा देखाउने शवनजिकै गएर हेर्ने गरेको बताइन् । म घरमा एक्लै थिएँ । एकपटक त कस्तोसम्म भयो भने मेरा तीन छोरा बेपत्ता १ छोरा गिरफ्तार ।  त्यतिबेला मलाई कस्तो भयो होला ? म घरमा टुलुटुलु हेरेर बस्न सकिनँ । मेरा ४ छोरा पक्राउ परेका छन् । मैले होश गुमाइसकेकी थिएँ । त्यो क्षण सम्झिँदा कहाली लागेर आउँछ । 
मैले निर्णय गरिसकेकी थिएँ– मेरा छोरा खोज्न म जानुपर्छ भनेर । म घरबाट लुक्दैलुक्दै छोरीकहाँ गएँ । छोरीले मलाई १ हजार रुपैयाँ दिइन् । म गाडी चढेर काठमाडौं आएँ । काठमाडौं आएर घट्टेकुलोमा भाडामा एउटा कोठा लिएँ । त्यतिबेला मेराजस्तै आफन्त बेपत्ता भएका अरूले मलाई सहयोग गरे भाडा तिर्नलाई । मैले एक्लै त्यो अँध्यारो कोठामा ५ वर्ष बिताएँ । 

पछि पक्राउ परेको छोरा सुरेन्द्रलाई छुटाइयो भने २०६० सालमा बेपत्ता भएको ३७ महिनापछि काइँलो छोरा वीरेन्द्र्र सार्वजनिक भयए । अनि मलाई थाहा भयो कि मेरा अरू २ छोरालाई सेनाले बेपत्ता पारेको भन्ने । मलाई घरभेटीले माओवादी भन्ने थाहा पाए घरबाट निकाल्दिन्थ्यो, झुट बोलेरै छोराहरू खोज्न धेरै भौंतारिएँ । 

मेरा छोरा सार्वजनिक गर भन्दै धर्ना, आन्दोलन गर्दा झापा र काठमाडौंमै २÷३ पटक पक्राउ परें । धेरै कुटाइ खाएँ । निकै यातना दिन्थ्यो सेनाले । म बोल्न डराउँदिनथें । धर्ना बस्दा अगाडि हुन्थे । मलाई मेरा २ छोराको यादले पिरोलिरहेको थियो । म भोकभोकै छोरा खोज्न निकै संघर्ष गरें तर अहिलेसम्म पत्तँ लाग्न सकेन । 

पार्टीले आँसु पुछ्न सकेन 

१० वर्ष लामो जनयुद्धमा धेरै नेपाली सन्तानले ज्यान गुमाए । धेरै बेपत्ता छन् भने, धेरै घाइते पनि । ०५७ देखि माओवादीमा लागेकी चन्द्रकुमारीले पार्टीका लागि ठूलो योगदान दिएकी छन् । अहिले पनि उनी र उनको परिवार माओवादीमै छ । उनी भन्छिन्, ‘मेरा २ छोराको सके सास नत्र लास कसैले ल्याइदिन्छ भने मेरो सारा सम्पत्ति त्याग्न पनि म तयार छु । मैले निकै पीडा भोगेकी छु ।’ 

जनयुद्धको कालरात्रि सकिएको पनि धेरै वर्ष पुग्यो । मेरा सन्तानजस्तै धेरै आमाहरूले आफ्ना सन्तान गुमाउनुप¥यो । धेरै दिदीहिनीको सिन्दुर पुछियो । माओवादी शान्तिप्रक्रियामा आयो । मेरा २ छोराको सपना राजा ज्ञानेन्द्रको निरंकुश शासनको अन्त्य भयो । देशमा गणतन्त्र आयो । यो परिवर्तनले मेरो जवनमा केही राहत महसुस त ग¥यो, युद्ध लडेको आफ्नो पार्टी धेरैपटक सरकारमा पनि गयो । 

 मेरो सिंगो परिवारले पार्टीलाई गरेको योगदानको पार्टीले सम्मान गर्न सकेन । न त बेपत्ता मेरा २ छोराको अवस्था सार्वजनिक गर्न सक्यो । म र मेरो परिवार अझै पनि सक्रिय भएर पार्टीमा लागेका छौं । विगतका निर्वाचनमा पनि म सक्रिय भएर पार्टीका उम्मेदवार जिताउन लागिपरें । योपटक राष्ट्रियसभा उम्मेदवार छनोट गर्दा मेरो नाम काटियो । 

त्यो टुंग्याउनु केही दिनपहिले म अध्यक्ष प्रचण्डलाई भेट्न गएकी थिएँ । अब म बूढी हुन लागें मेरो सांसद हुने इच्छा छ भनेर जानकारी गराएकी थिएँ । तपार्इं चिन्ता नगर्नुस हामी तपाईंको आँसु पुछ्छांै । तपाईं राष्ट्रियसभामा पर्नुहुन्छ, फरक पर्दैन भनेर प्रचण्डले भने । आज मेरा होनहार २ छोरा पनि छैनन् पार्टीले मेरा आँसु पुछ्न सकेन । म झन्डै ७० वर्ष पुग्न लागें । केही आस थियो तर अब सबै हरायो । प्रचण्ड पनि कसैको दबाबमा पर्नुभयो कि । र त, मेरो नाम काटियो होला । तर, कहीं कतै माओवादी क्रान्तिमा योगदान पु¥याउनेको उपेक्षा गरेकोजस्तो मलाई लागेको छ ।

चाडबाड नआइदिए हुन्थ्यो 
२०६० सालदेखि चन्द्रकुमारीको परिवारले चाडबाड दसैं–तिहार मनाउँदैन । चाडबाड नजिकिँदा परिवारलाई तनाव हुन्छ । चाडबाड नआइदिए हुन्थ्योजस्तो लाग्छ । त्यतिबेला मेरा छोराहरूको याद झन् तीखो बनेर आउँछ । हामीले दसंैमा जमरा राख्दैनौं, राता अछेता नलगाएको १४ वर्ष भयो । मेरा छोरीहरूले आफ्ना होनाहार भाइहरू बेपत्ता हुँदा तिहारमा माला बुन्दैनन्, टीका लगाउँदैनन् । अब छोराहरूको मृत्यु भैसकेको हो भने पनि काजकिरिया गर्ने आधार छैन । सन्तान बेपत्ता हँुदा साह्रै मानसिक पीडा हुँदोरै’छ । 

जनयुद्ध दिवस 
हिजो (फागुन १)  तत्कालीन नेकपा माओवादीले औपचारिक रूपमा सशस्त्र जनयुद्धको घोषणा गरेको थियो । युद्धमा होमिएका नेताहरू अहिले फरक–फरक पार्टीमा छन् । हिजो २३औं जनयुद्ध दिवस मनाइयो । तर, पार्टीले जनयुद्ध दिवस मनाइरहँदा चन्द्रकुमारीजस्तै सयौं सहिद, बेपत्ता र घाइते परिवारको घाउ पुनः बल्झिएको छ । पार्टीलाई यहाँसम्म ल्याउन योगदान पु¥याएका योद्धाहरूको भन्दा पहुँच र बलको भरमा छिरेका व्यक्ति पार्टीमा हाबी भएका गुनासा सुनिन्छन् । सबै बेपत्ता तथा सहिद परिवारका व्यथा मिल्दाजुल्दा छन् । 

बेपत्ताको परिभाषा
बेपत्ता हुनेहरूमा युद्घ लड्नेक्रममा हराएका साथै संघर्षका पक्षहरूद्वारा गिरफ्तार गरिएका र त्यस उप्रान्त कहिल्यै नभेटिएका र खबरसमेत सुनिनमा नआएका व्यक्ति पर्ने आईसीआरसीको परिभाषभित्र पर्छ । संयुक्त राष्ट्रसंघले बेपत्ता पारिएका घटनालाई मानवअधिकारको गम्भीर उल्लंघनका रूपमा लिन्छ । नागरिकलाई बेपत्ता बनाउन, अपहरण गर्न मानवअधिकारका मापदण्डविपरीत थुनामा राख्न, मानिसको स्वतन्त्रता हरण गर्न मानवताविरुद्धको अपराध मानिन्छ । 

यातना दिनेलाई यातनासम्बन्धी क्षतिपूर्ति ऐनका आधारमा कारबाही चलाउने कानुनी व्यवस्थाको बेवास्ता छ । कुनै पनि परिवारको एकजना सदस्य पीडित हुँदा सो परिवारका अन्य व्यक्तिहरूलाई पनि स्वतः असर पर्ने मान्यता स्थापित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप