बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै न्यायपरिषद् घेराउ

बुधबार, ०२ फागुन २०७४, ११ : ५४
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– कानुन व्यवसायीहरुले बिबादमा तानिएका प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै न्याय परिषदको कार्यालय घेराउ गरेका छन् । 
नागरिकता र शैक्षिक प्रमाण पत्र समेत फरक–फरक मितिमा लिएको आरोपमा मुछिएका प्रधानन्यायाधिश पराजुलीले तत्काल राजीनामा दिनु माग गर्दै कानुन व्यवसायीहरुले बुधबार बिहान पुल्चोकस्थित न्याय परिषदको कार्यालयमा एक घण्टा धर्ना दिएका हुन् । 
न्यायालयको गरिमामाथिनै आँच आउने भएकाले विवादमा तानिएका प्रधानन्यायाधिश पराजुलीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नु परेको अधिवक्ता युवराज बन्जाडेले जानकारी दिए ।
बुधबार न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधिश सिफारिस गर्न बैठक बस्ने कार्यसूचि थियो । 
समग्र न्यायालयकै बदनाम हुने छबी बनाएका प्रधानन्यायाधिशको अध्यक्षतामा बैठक बस्न नदिन पनि कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालयमा विहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा धर्ना दिएका हुन् । उनीहरुले काम चलाउ अवस्थामा पुगेको सरकारलाई न्यायाधिश सिफारिस गर्ने अधिकार नरहेको दावी पनि गरेका छन । 
सरकार काम चलाउ अवस्थामा रहेका बेला न्यायाधिशहरु नियुक्ती गर्न नमिल्ने तर्क पनि कानुन व्यवसायीहरुको छ । अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधिश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भएकाले उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रर्दशनमा उत्रनु परेको स्पष्ट पारे ।
कानुन व्यवसायीहरुले लगाइएको आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि प्रधानन्यायाधिश पराजुलीको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
प्रधानन्यायाधिश पराजुलीमाथि ४ पटक नागरिकता लिएको तथा फरक–फरक मिति उल्लेख गरिएको शैक्षिक प्रमाण पत्र रहेको आरोप लगाइएको छ ।
 त्यसको यथार्थ विवरण सर्वोच्च अदालतको ‘फुल कोर्ट’ले नदिएसम्म प्रधानन्यायाधिश पराजुली अध्यक्ष रहेको न्यायापरिषदले कुनै पनि निर्णय गर्न नमिल्ने कानुन व्यवसायीहरुको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप