शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

बुधबार, ०२ फागुन २०७४, १२ : १३
बुधबार, ०२ फागुन २०७४

गोरखा-भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । 

करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । 

विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार जगैदेखि भत्काइएको यो दरबार पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गरिनेछ । पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा दरबार भत्काइएको हो । 

“पुराना सामग्री हटाउने कार्य भइरहेको छ । काम लाग्ने सामग्री पुनः प्रयोग गर्ने र काम नलाग्ने सामग्री हटाउँछौँ” भुसालले भन्नुभयो, “जग राख्न काम भइरहेको छ ।” पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । रु चार करोड ३७ लाख लगानीमा दरबार पुनःनिर्माण हुनेछ । 

भूकम्पका बेला क्षति पुगेको गोरखनाथ मन्दिरलगायत संरचना भने पुनःनिर्माण गरिसकिएको छ । दरबारमा रहेका राजा पृथ्वीनारायण शाहका गद्दीलगायत महत्वपूर्ण सामग्री भने सुरक्षित ठाउँमा भण्डारण गरिएका छन् । दरबार भत्काउँदा विसं १८६३ का बेलाका इँट्टा पनि फेला परेका छन् । आगामी तीन वर्षभित्र दरबार पुनःनिर्माण सकिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप