बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ संस्करणमा मार्च आठ

शुक्रबार, ०४ फागुन २०७४, १० : २९
शुक्रबार, ०४ फागुन २०७४

विद्यमान समाजमा संसारका हरेक महिलाहरू दोस्रो दर्जाको नागरिकका रूपमा बाँच्न बाध्य छन् । महिला अधिकारका सन्दर्भमा विश्वमा विभिन्न क्रान्ति र आन्दोलन भए, तर उनीहरू पुरुष बराबरको हैसियतमा आउन सकेका छैनन् । महिलाहरूको त्यस्तै एउटा विम्बका रूपमा संसारभर मार्च ८ लाई ‘अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस’का रूपमा मनाउने गरिन्छ । 

श्रमिक महिलाहरूको अधिकार प्राप्तिको आन्दोलनको प्रतीकका रूपमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको स्वामित्व पछिल्लो समय पुँजीवादीहरूले लिन खोजिरहेको सन्दर्भमा नेपालमा ‘मूलबाटो प्रतिष्ठान’ले मार्च आठलाई ‘क्रान्ति उत्सव’का रूपमा मनाउने तयारी गरेको छ । यो आलेख यसै विषयमा केन्द्रित हुनेछ । 

क्रान्ति उत्सवको सामान्य अवधारणा
यही फेब्रुअरी १६ देखि मार्च ८ (फागनु ४ देखि २४) सम्म उत्सवका रूपमा ‘मार्च आठ’ अर्थात् ‘अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस’लाई नेपाली पारामा मनाउँदै छौँ । नेपाली समाज धर्म, जात, संस्कार, संस्कृतिका आधारमा विविधतायुक्त छ । त्यसकारण अन्तर्राष्ट्रिय महिला दिवसलाई सबैको उत्सव बनाउने अवधारणाका साथ मार्च आठलाई यसरी मनाउन लागिएको हो ।  

महिलाहरूलाई नाच गान र रातो लुगा लगाउन बढी मन पर्छ । रातो रङलाई क्रान्तिको प्रतीकका रूपमा विम्बित गर्नका लागि सकेसम्म रातो लुगा लगाएर उत्सवममा हसहभागी हुनेछौँ । यसमा महिला मात्रै होइन, सबैको उत्सव बनाउनका लागि पुरुष दाजुभाइहरूलाई पनि समाहित गर्नेछौँ । 

उत्सवको सुरुवात फेब्रुअरी १६ का दिन नेपाल प्रज्ञाप्रतिष्ठानको हलबाट साहित्यअन्तर्गत कविता गोष्ठीबाट हुनेछ । कविता महोत्सव ३ चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा नयाँ कविहरू मञ्चमा उभ्याइनेछ भने दोस्रो चरणमा पुरस्कृत भइसकेका र तेस्रो चरणमा पुरस्कृत भएर कविता लेख्न छोडिसकेका कविहरूलाई प्रस्तुत गरिनेछ । 

यसको उद्देश्य तीन पुस्तालाई एकै ठाउँमा ल्याउँदा नयाँले पुरानो पुस्तालाई चिन्ने र पुरानाले नयाँ पुस्तालाई सल्लाह सुझाव दिने अवसर प्रदान गर्ने हो । यसपालि पहिलो वर्ष भएकाले क्रान्तिमै आधारित कविता लेख्नुपर्छ सीमा छैन । स्रष्टाले मन पराएको तर सङ्घीयता र महिलाविरोधी कविता भने संलग्न हुन हुँदैन ।

कविता महोत्सवबाट सुरु हुने क्रान्ति उत्सव मार्च ८ का दिन सामान्य कार्यक्रमका साथ समापन गरिनेछ । मार्च ८ मा अन्य सङ्घसंस्था र राजनीतिक दलहरूले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने भएकाले त्यस दिन सामान्य कार्यतालिकामै उत्सवको समापन गरिने भएको हो । 

यसबीचको समयमा खुला मञ्चमा १२ गते शुभकामना आदान प्रदान हुनेछ । त्यसपश्चात विश्वका सबै राष्ट्रका सङ्गीतहरू बजाएर नाच गान गरिनेछ । खुलामञ्चमै १९ गते महिलालाई वंश अधिकारको आवश्यकता र यसलाई समाजमा कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा बहस सञ्चालन हुनेछ । 

मार्च ८ अर्थात् क्रान्ति उत्सव
महिलाहरू अहिले राजनीतिक वा वर्गीय रूपमा विभाजित भइरहेका छन् । हरेक क्षेत्रमा महिलाहरू शोषित वर्गको रूपमा रहनुपरेको छ । यसको एउटै कारण हो, कुनै पनि महिलाबाट वंशको निरन्तरता हुँदैन । 
एउटा महिला राजाको दरबारमा राजकुमारी भएर जन्मियोस् या कुनै गरिब परिवारको सदस्य भएर जन्मियोस् । राजदरबारमा राजकुमार र गरिब परिवारमा छोराको खोजी हुन्छ । त्यो छोरीलाई परिवार वा समाजले अपहेलना गरेर होइन, वंश निरन्तरता नहुने भएकाले हो । 

यसकारण, हामी वंश अधिकार कायम गर्नाका खातिर वकिलको परामर्शमा सर्वोच्च अदालतमा रिट दायर गर्दैछौँ । उत्सवकै दारानमा हामीले यो कार्य पनि सम्पन्न गर्नेछौँ । 

यस सन्दर्भम कानुनी रूपमा पैत्रिक सम्पतिको अधिकार महिलाहरूले प्राप्त गरेका छन् । तर, त्यही अंशको अधिकारलाई कार्यान्वयन गर्न नसकिरहेको परिस्थितिमा वंशअधिकारको कुरा गर्नु गम्भीर विषय हो । यद्यपि अंशको अधिकार अहिलेसम्म महिलाहरूले नपाउनुमा यसको आवश्यकता पनि कारण बनिरहेको छ । 

किनभने अधिकांश महिलाहरूले आफ्नो श्रीमानको घरको सम्पत्ति नै सम्हाल्न सकिरहेका हुँदैनन् भने माइतीमा गएर किन किचलो गरिराख्ने ? अर्को चाहिँ माइतीले पनि जानेर चेलीहरूलाई अंश दिँदैनन् । सम्पत्ति माग्ने वित्तिकै त्यहाँ माइतीसँगको सम्बन्धमा दरार पैदा हुन्छ । यदि महिलालाई आवश्यकता परेको खण्डमा उसँग संविधान प्रदत्त अधिकार सुनिश्चित छ । 

महिलाहरूलाई चाहिएका मुख्य अधिकार वंशको अधिकार हो । एउटा छोरी मान्छेले बिहे गरेको घरमा प्रभाव जमाउन सक्यो भने त्यो राम्रै हुन्छ । तर, छोराछोरी जन्माएर पनि उसले त्यहाँ प्रभाव जमाउन सकेन भने ऊ त्यहाँबाट लखेटिनुपर्छ । यदि उसँग वंश अधिकार हुने हो भने त्यो अवस्था उसले कदापि भोग्न पर्दैन । 

छोराछोरी, नातिनातिनीलाई आफ्नो वंशमा राख्न सक्छ । त्यसैले पैतृक सम्पत्ति आवश्यकतामा भर पर्ने कुरा हो भने वंशको अधिकार अपरिहार्य हो । मान्छेलाई आवश्यकताहरूले अभ्यास गराउँदै लान्छ । हामी अहिले धेरै कुरामा अपरिपक्व हौँला । तर, हामीले एउटा रुट पक्रेका छौँ । कुनै पनि बाटो बन्नलाई सुरुमा रुट बनाइन्छ । भलै त्यो रुट अनुरूप बाटो नखनिएला । तर, बाटो अवश्य खनिन्छ । हामीले यसैका लागि प्रयास जारी राख्नेछौँ । मूलबाटो प्रतिष्ठानले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्नेछ र यो मुद्दा सफल नहुन्जेल सङ्घर्ष गरिरहनेछ । 

क्रान्ति उत्सवमा हरेक महिलाको सहभागिताको प्रश्न
सबै महिलाहरूको वर्ग एउटै छैनन् । तर, हरेक वर्गका महिला उपेक्षित छन् । किनभने माथि भनिएजस्तै उबाट वंश निरन्तरता हुँदैन । त्यसैकारण जुनसुकै वर्गको भए पनि महिलाहरू पतिको अधिनायकत्व स्वीकार गरेर बस्नु परिरहेको छ । जुनसुकै वर्गको परिवारमा पनि वंश निरन्तरताका लागि छोरी भएर हुँदैन, छोरा नै चाहिन्छ । 

छोराको खोजी हुनु भनेको छोरी चाहिँ मूल्यहीन हुनु हो । यसकारण एउटा महिला जतिसुकै सम्भ्रान्त परिवारमा जन्मिए पनि ऊ पूर्ण हुँदिन । त्यसकारण यो आन्दोलन वा अभियानमा हरेक वर्गका महिलाहरू सक्रियतापूर्वक लाग्नु आवश्यक छ । 

यो अभियानमा लाग्नुको अर्थ महिला स्वयम्ले आफ्नो मुक्तिको यात्रा तय गर्नु हो र यो अभियानमा हरेक क्षेत्र, वर्गका महिलाहरू तथा यस मुद्दामा एकताबद्ध भएर अघि बढ्न सक्ने सकारात्मक सोच भएका पुरुषहरूको सहभागिता हुनेछ ।

अहिले हरेक देशका महिलाहरूको समस्या वंशको अधिकारकै हो । एउटा महिलाले जतिसुकै सम्पत्ति आर्जन गरोस्, उसको नामबाट उसले  आफ्नो वंश निरन्तर गर्नै पाउँदैन र उसको समाप्ति त्यहीँनिर हुन, ऊ जहाँ उभिएको छ । एक हिसाबले उसको सुरुवात नै अन्त्य हो । त्यसकारण ‘हरेक देशका महिलाहरू यो मुद्दामा एकाकार होऊ’ भन्नका लागि हरेक देशका सङ्गीतलाई विम्बका रूपमा उत्सवभरि बजाइनेछ । 

यहाँनिर ‘क्रान्ति’ र ‘उत्सव’ शब्द एकअर्कामा विरोधाभासजस्तो पनि देखिन्छ । माओवादी जनयुद्धमा पनि सांस्कृतिक कलाकारहरू थिए । माओवादीले फगत नाचगानका लागि ती सांस्कृतिक समूह निर्माण गरेको थिएन । उसलाई त उत्पीडितहरूको अधिकार स्थापित गर्नुथियो । त्यसैकारण सांस्कृतिक क्षेत्रबाट जनचेतना अभिवृद्धि गर्न बढी प्रभावकारी हुने भएकाले उसले सांस्कृतिक सङ्गठन निर्माण गरेर अघि बढ्यो । 

त्यसकारण हरेक देशका महिलाहरूका लागि यो मुद्दा उठान गर्नुपर्ने भएकाले अहिलेलाई हरेक देशका गीत सङ्गीतमा नाचगान गरेर यसलाई विम्बका रूपमा बुलन्द गरिनेछ । क्रान्ति र उत्सव एकअर्काका विरोधाभास नभएर हामीले एकअर्काका लागि अपरिहार्य छन् भनेर बुझ्नुपर्दछ । 

पहिलो पटक यो उत्सव आयोजना गर्न लागिएकाले यही उत्सवलाई नै लक्षित गरेर कुनै गीत सङ्गीत सिर्जना गरिएको छैन । हामीसँग जे–जे छ, त्यही सङ्गीत बजाइने छ । जसले समाजलाई हानि गर्दैन र समाजलाई अनावश्यक उत्तेजित गर्दैन, त्यस्ता गीत सङ्गीतलाई कार्यक्रममा बजाइने छ । 

अभियानको प्रारम्भ
माक्र्सले क्रान्ति सुरु गर्नुपर्छ भन्ने प्रेरणा कसरी पाए होलान् ? लेनिन र माओहरूले क्रान्ति गर्नुपर्छ, सर्वहाराको पक्षमा लड्नुपर्छ भन्ने प्रेरणा कसरी पाए होलान् ? उनीहरूले अवश्य पनि त्यसबेलाको समाजको परिस्थितिबाट प्रेरणा लिए । मेरो सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । 

मेरो समाज र विश्व समाजकै महिलाहरूले भोगरिरहेको जुन परिस्थिति छ, यसले नै मलाई यो कार्य गर्नका लागि प्ररणा प्रदान गर्यो । म आफ्नो व्यवस्ताका कारण यो काम गर्न केही ढिला हुन पुग्यो । महिलाहरू अहिले पनि दोस्रो दर्जामा छन् । हरेक मान्छे हरेक कुरामा सक्षम छ । महिलाहरू काम गर्न नसकेर उपेक्षित भएका होइनन् । सङ्गीत, राजनीति, जहीँ पनि महिलाहरू सक्षम छन् । 

ऊ जहाँ जन्मिन्छ, त्यही समाप्त हुन्छ । किन त भन्दा उसले वंश निरन्तरता गर्न पाउँदैन । त्यसकारण वंशअधिकार महिलाहरूलाई आवश्यक छ भन्ने धेरै पहिले नै मैले थाहा पाएको हुँ । यो कुरा ‘लेखककी स्वास्नी’ उपन्यासमा पनि लेखेको छु । यो मुद्दालाई साहित्यमा मात्रै लेखेर पूर्ण हुन्न भनेर धेरै पाठकहरूले पनि भनिरहनुभयो । 

मैले पनि यसबारे जसरी पनि काम गर्ने सोचिरहेको हुनाले यसपालि सबै कुरा थाँती राखेर यो काम गरिरहेका छौँ । यसमा मलाई लक्ष्मी रुम्बा, सुनिला राई, देवकी अभिलाषी, ननुुता राई, पवित्रा सुनुवार, गङ्गा बस्नेत, सुनिता खनाललगायतले साथ दिनुभएको छ भने आर्थिक रूपमा थुप्रै साथीहरूले सहयोग गरिरहनुभएको छ । व्यक्तिगत रूपमा म आफूले पनि एक लाख रूपियाँ छुट्याएको छ । 

अन्त्यमा
हाम्रो समाजमा महिला दिवस भन्नेवित्तिकै महिला मात्रै उपस्थित हुनुपर्छ भन्ने धारणा छ । हामीलाई हाम्रो जाति, भाषा, संस्कार, धर्म, संस्कृतिले फरक बनाए पनि सबैलाई एउटै आँगनमा उभ्याउने चाहना छ हाम्रो । यसमा पुरुष दाजुभाइको सहभागिता अत्यन्तै महत्वपूर्ण रहनेछ । 

बहस कार्यक्रमहरूमा समेत पुरुष दाजुभाइहरूको सहभागिता ५० प्रतिशत हुनेछ । महिलाको मुद्दामा सकारात्मक धारणा राख्ने पुरुषवन्धु धेरै हुनुनुहुन्छ । उनीहरूलाई हामीले सम्मान गर्न सकेका छैनौँ । पुरुष भएकै आधारमा पन्छाइरहेका छौँ । हामी त्यो गल्ती दोहोर्याउन चाहन्नौँ । क्रान्ति उत्सवमा सहभागी हुन विश्वका सम्पूर्णमा हामी आह्वान गर्दछौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रगती राई
प्रगती राई
लेखकबाट थप