मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहपाठीको सम्झनामा शेरधन

शुक्रबार, ०४ फागुन २०७४, १२ : १७
शुक्रबार, ०४ फागुन २०७४

‘जिल्लावासी भए पनि उहाँसँग क्याम्पसमा मात्रै चिनजान भएको थियो,’ सञ्चारकर्मी राजेन्द्र किरातीले सुनाए, ‘भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा आईए प्रथम वर्ष अध्ययन गर्दा उहाँसँग चिनजान भयो ।’ यो संवत् २०४५ सालको कुरा हो । 

१ नम्बर प्रदेश मुख्यमन्त्री शेरधन राईका सहपाठी किरातीले भने, ‘क्याम्पसमा दुई 

(०४५ देखि ४७ सम्म) वर्ष उहाँसँग संगत गरियो । उहाँ पढाइमा राम्रो हुनुहुन्थ्यो । धेरै बोल्नुहुँदैनथ्यो । शालीन हुनुहुन्थ्यो ।’ 

मानविकी संकायका विद्यार्थी शेरधन राई र राजेन्द्र किरातीको राजनीतिक धरातल फरक–फरक थियो । राई अनेरास्ववियु र किराती मोटो मशालको अ.ने.रा.स्व.वि.यू. सम्बद्ध थिए । राजनीतिक धरातल फरक–फरक भएकाले दुवैबीच न धेरै नजिक न धेरै टाढाको सम्बन्ध थियो ।

‘हामी (अ.ने.रा.स्व.वि.यू. सम्बद्ध) अलि विद्रोही स्वभावका थियौं,’ उनले नढाँटी भने, ‘अनेरास्ववियुका साथीहरू धेरै थिए । छैटौंका १२–१३ जना थियौं । हामी भोजपुरको टुँडिखेलमा कार्यक्रम गथ्र्यौं । चर्को भाषण गथ्र्यौं । त्यतिबेला कच्चा नै थियौं । काँग्रेसको पुच्छर भनेर अनेरास्ववियुसम्बद्ध साथीहरूलाई घोचपेच गथ्र्यौं । तर, उहाँ (शेरधन राई) साह्रै जेन्टल हुनुहुन्थ्यो ।’ 

मुख्यमन्त्री राई संवत् ०४४ देखि अनेरास्ववियुमा क्रियाशील थिए । ‘उहाँले केही भन्नुहुन्नथ्यो,’ किरातीले विगत सम्झे, ‘अनेरास्ववियुसम्बद्ध अन्य साथीहरूले हामी कम्युनिस्ट–कम्युनिस्ट एक हुनुपर्ने होइन ? उल्टै हामीलाई गाली गर्ने भन्थे ।’

आईए ‘रेगुलर’ पास गरेर उच्च शिक्षाका लागि किराती ०४८ मा काठमाडौं पसे । ‘त्यसपछि उहाँसँग लामो समय भेट भएन,’ उनले विगत कोट्याए, ‘म माओवादीले थालेको जनयुद्धमा लागें ।’ त्यसो भए दुई सहपाठीको भेट कहिले भयो होला ? माओवादी शान्तिप्रक्रियामा आएपछि उनीहरूबीच ०६३ मा पुनः भोजपुरमै भेट भयो । त्यसपछि पनि भेटघाट पातलो थियो । ०६५ मा भोजपुरमा आयोजित ‘शान्ति र संविधान’ विषयक अन्तक्र्रियामा उनीहरू भेटिए ।

मुख्यमन्त्री राईको घर साबिक थिदिङ्खा–५ पसलभन्ज्याङ भोजपुर हो । अहिले थिदिङ्खा आमचोक गाउँपालिका–३ नम्बर वडामा पर्छ । भोजपुर क्याम्पसबाट छुट्टिएपछि नभेटे पनि जनयुद्धताका किरातीले राईको घरमा दुई रात बिताएका थिए । ‘म उहाँको घरमा दुई रात बसेको मुख्यमन्त्रीलाई सुनाएको छैन,’ उनले थपे, ‘उहाँको बुवा जागिरमान राई र आमा राम्रीमाया राई पनि साह्रै इमानदार हुनुहुन्थ्यो । छलकपट कत्ति पनि थिएन । बोट गुनको फल त्यत्तिकै भनिएको होइन रहेछ । बुवाआमाजस्तै उहाँ पनि त्यस्तै इमानदार, त्यत्तिकै शालीन ।’ 

राई र किरातीले कहिल्यै पेटभरि बात मार्न पाएका छैनन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार–प्रसारमा भेटिएको बेला उनीहरूले लामो कुराकानी गर्ने कुरै भएन । ‘त्यसपछि पनि लामो कुराकानी गर्ने साइत जुरेको छैन,’ किरातीको भनाइ छ, ‘म भोजपुरे भए पनि धरानमा बस्ने भएकाले भेटघाट र कुराकानी गर्ने समय नमिलेको हो ।’

२० महिनाअघि सञ्चारमन्त्रीको भूमिकामा रहेका शेरधन राई २० महिनापछि १ नम्बर प्रदेश मुख्यमन्त्रीमा निर्वाचित भएका छन् । सहपाठी मुख्यमन्त्री हुँदा किराती कम्ती खुसी छैनन् । ‘उहाँ मुख्यमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै बधाइ दिएँ,’ उनको तर्क छ, ‘मुख्यमन्त्री भएसँगै उहाँको जिम्मेवारीमात्रै होइन, व्यस्तता पनि बढ्ने नै भयो । तसर्थ, डिस्टर्ब नहुनेगरी फेसबुकबाटै बधाइ दिएको हुँ ।’ 

राईले भोजपुर बहुमुखी क्याम्पस भोजपुरबाट स्नातक गरे पनि किराती उच्चशिक्षाका लागि काठमाडौं पसे । किराती ०४५ मा अ.ने.रा.स्व.वि.यू. भोजपुर बहुमुखी क्याम्पस भोजपुर इकाइ सहसचिव थिए । त्यतिबेलादेखि अहिलेसम्म दुवै सहपाठी राजनीतिमै सक्रिय छन् । 

एमाले पोलिटव्युरो सदस्य राईले भोजपुर जिल्ला कमिटी अध्यक्ष, अनेरास्ववियु केन्द्रीय सदस्य (दुई कार्यकाल), पूर्वाञ्चल प्रमुख (०५०–५४), चार कार्यकाल एमाले भोजपुर प्रमुख र ०५६ मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पाटन क्याम्पसबाट ललितपुरबाट समाजशास्त्रमा स्नातकोत्तर उनी दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर–२ बाट पुनः निर्वाचित भएका थिए । ०७२ कात्तिक १९ मा सूचना तथा सञ्चारमन्त्री भए । उनी ०४४ देखि ०४६ चैत २६ सम्म ‘निछाक’ उपनामबाट राजनीतिमा सक्रिय रहे । यसैगरी, किराती एकतापछिको माओवादी केन्द्र आयोजक समिति केन्द्रीय सदस्य हुन् । प्रचण्ड नेतृत्व सरकारका सूचना तथा सञ्चारमन्त्री राम कार्कीको प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका उनी राजनीतिसँगै पुस्तक र अखबारी लेखनमा समेत व्यस्त छन् । 

‘हामी सबै–सबै त्यागेर त्याग र बलिदानको राजनीति गर्यौं । उहाँले संसदीय राजनीति गर्नुभयो,’ सञ्चारकर्मी राजेन्द्र किरातीले खुसी व्यक्त गरे, ‘हाम्रो राजनीतिक प्रक्रिया फरक–फरकखालको थियो । राजनीतिक प्रक्रिया फरक–फरक रहे पनि एउटा सहपाठीले हासिल गरेको राजनीतिक उचाइ र सफलतामा अर्को सहपाठी खुसी नहुने कुरै छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप