शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा

आइतबार, ०६ फागुन २०७४, ०८ : २७
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ - कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । 

स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् । 

“मेरो दाइले सानामा स्केट खेल खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएको हो, सुरुमा घरमा बा र आमाले गाली गर्नुहुन्थ्यो, मेलै बिस्तारै पुरस्कार जितेर राम्रो गर्न थालेपछि अहिले त बुझ्नुहुन्छ” –सन्दीपले भने । 

सन्दीपले भारत तथा नेपालमा भएका विभिन्न स्केट प्रतियोगितामा भाग लिएर पुरस्कारसमेत प्राप्त गर्दै आएका छन् । त्यसैगरी ग्लासियर कलेजमा कक्षा ११ मा अध्ययनरत् गजेन्द्र बर्देवाको पनि स्केटमा रुची भएकै कारण दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा समय दिन्छन् । 

सन्दीप र गजेन्द्र मात्रै होइन, पछिल्लो समयमा स्कूल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाहरुको रुचीको खेल स्केट बन्दै गएको छ । विश्वमा खेलिने फुटबल र क्रिकेटलगायतका खेलहरुमा जस्तै स्केट खेलमा पनि नेपालका युवाहरुको पछिल्लो पटक आकर्षण बढ्दै गएको हो । 

खासगरी अमेरिका, अस्टे«लियालगायत युरोपियन देशहरुमा साहसिक खेलको रुपमा खेलिने स्केट खेलप्रति नेपालका युवाहरु पनि सक्रिय बन्दै गएका छन् । 

केही वर्षअघिसम्म नेपालमा स्केट खेलबारे नकारात्मक धारणा आए पनि पछिल्लो समयमा सकारात्मक धारणासहित खेलप्रति नयाँ पुस्ताले सक्रियता देखाएको परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडीले बताउनुभयो । 

स्केट खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१३ मा परिर्वतनका लागि युवा नामक संस्था स्थापना गरिएको हो । सो संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसहरुमा स्केट खेलबारे गोष्ठी, स्केट खेल प्रतियोगिता तथा स्केट खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

“नेपालमा केही वर्षअघिसम्म स्केट खेललाई कुलतमा लागेका मान्छेले खेल्ने खेलको रुपमा हेरिन्थ्यो, तर अहिले विस्तारै दृष्टिकोणमा परिवर्तन आउँदै छ, अहिले यसको आकर्षण बढ्दै गएको छ” –अध्यक्ष पहाडीले भन्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको स्केट खेलाडी उत्पादन गर्नु पनि सो संस्थाको उद्देश्य रहेको छ । 

स्केट खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले नेपाल स्केटिङ तथा स्केट एशोसिएसनसमेत गठन गरेको छ । स्केट खेललाई पनि अन्य खेललाई जस्तै सकारात्मक ढङ्गबाट महत्व दिँदै प्राथमिकतामा राख्नुपर्ने स्केट खेलाडीहरुको माग छ । 

परिवर्तनका लागि युवा संस्थाले स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गर्ने भएको छ । ‘ड्रि«म प्रोजेक्ट’ अन्तर्गत रुपन्देहीमा सञ्चालन गर्ने तयारी गरिएको सो पार्क तथा सेन्टरमा स्केट खेलसम्बन्धी सामग्रीसमेत उपलब्ध हुनेछ । 

स्केट खेल प्रशिक्षार्थी मनोज पाण्डेले नेपालमा स्केट खेलमा युवाहरुको आकर्षण बढ्नु आफैँमा सकारात्मक हो भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप