बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किए’

आइतबार, ०६ फागुन २०७४, १० : ४०
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । नेपाली क्रिकेट टोलीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा हासिल गरेको सफलताबाट आफू खुसी रहेको कप्तान पारस खड्काले बताएका छन् ।

शनिबार राती स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले नेपाली टोलीले राम्रो क्रिकेट खेल्न सफल भएकोमा खुसी व्यक्त गरेका हुन् ।

उनले नेपालका लागि हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किएको उल्लेख गरे । ‘हामीले निकै राम्रो क्रिकेट खेल्यौँ,’ कप्तान पारसले भने, ‘हरेक खेलमा हाम्रो लागि नयाँ म्याचविनर निस्किए । यसले सबैजना उत्साहित, अनुसाशित र दृढ थिए भन्ने देखाएको छ ।’

युवा खेलाडीहरुको प्रशंसा गर्दै उनले यसपटक युवा खेलाडीहरुले आफूहरुलाई स्थापित गर्न सकेको जिकिर गरे । पारसले भने, ‘ प्रतियोगिताभर सबै खेलाडीको उत्तिकै योगदान रह्यो । टिमलाई आवश्यक परेको बेला सबैले राम्रो प्रदर्शन गरे । तर, यसपाली युवा खेलाडीहरुले आफूलाई स्थापित गर्न सफल भएका छन् ।’

उनले कुनै खेलाडीको एकल प्रदर्शनभन्दा पनि टोलीको जीत महत्वपूर्ण कुरा भएको बताउँदै नेपालले हासिल गरेको सफलता आफ्नो लागि महत्वपूर्ण भएको बताए ।

‘कुनै खेलाडी चल्यो चलेन भन्दा पनि टोलीले जित्यो जितेन भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘कुनै खेलाडीले राम्रो प्रदर्शन गर्यो तर, टिम हार्यो भने त्यसको केही अर्थ रहँदैन । हरेक खेलमा सबै खेलाडीले केही न केही योगदान अवश्य दिएका छन् । टोलीले जीत हासिल गर्न सफल रह्यो तयो महत्वपूर्ण कुरा हो ।’

पारसले यो मोमेन्टमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि अझै राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गरे । 

आफूहरुले जीतको लक्ष्य साथ फाइनल खेले पनि झिनो अन्तरले हार बेहोर्नु परेकोमा दुःख लागेको बताए । ‘विश्वकप छनौटमा दुवै समूह उत्तिकै कठिन छन् । अझै मिहिनेत गरेर अब विश्वकपसम्म नेपाललाई पुर्याउने लक्ष्य छ’ कप्तान पारसले भने ।

यता, प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका सन्दीप लामिछानेले नेपालीहरुको मायाले आफूले सफलता हासिल गर्न सफल भएको बताए । उनले अब डिभिजन टुको प्रदर्शनलाई विश्वकप छनौटमा पनि दोहोराएर नेपालको नाम उच्च राख्ने आफ्नो लक्ष्य भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप