शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोपीसँगै गम्छाको सम्मान गरौँ (प्रदेश २ का मुख्यमन्त्रीको अन्तरवार्ता)

आइतबार, ०६ फागुन २०७४, १० : ५९
आइतबार, ०६ फागुन २०७४

नगरपालिकाको अधिकृत हुँदा मधेश आन्दोलनको समर्थन उत्रिएका लालबाबु राउतको जिन्दगीका उकाली ओरालीका कथा निश्चय पनि अरूको भन्दा फरक छ । पहिलो मधेश आन्दोलनमा कर्मचारीकै रूपमा आन्दोनको समर्थनमा देखिएका राउतपछि जागिर छाडेर सक्रिय राजनीतिमा लागेका थिए । 
 

दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनेका राउत अहिले प्रदेश नम्बर २ को मुख्यमन्त्री भएका छन् । पर्सा–१ को (२) बाट प्रदेश सभामा निर्वाचित भएका राउतले प्रदेश नम्बर दुईको मुख्मन्त्रीका रूपमा आफ्नो कार्यकालको सुरुवात गरिसकेका छन् ।
 

प्रदेश–२ को अस्थायी राजधानी जनकपुरमा मुख्यमन्त्री राउतसँग रातोपाटीका लागी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
 
देशभर वाम गठबन्धनको सरकार बनेको छ, दुई नम्बर प्रदेशमा चाहिँ मधेशवादी दलबाट तपाईं मुख्मन्त्री बन्नुभयो, यसलाई कसरी लिनुभएको छ ?
यो प्रदेशमा परिवर्तनका लागी लड्ने आन्दोलनकारीहरूको बाहुल्यता रहेको छ । मलाई के लाग्छ भने यहाँ ती समुदायहरूको वर्चस्व रहेको छ, जसको बलमा मुलुकले सङ्घीयता पाएको छ ।

अन्य प्रदेशमा वामपन्थी गठबन्धन भए पनि यो प्रदेशकै सङ्घर्षका कारण मुलुकले सङ्घीयता पायो । त्यसैले सङ्घीयताको सफलता असफलता र भविष्य प्रदेश २ को  गतिविधि र यो प्रदेशको सफलता र असफलतामा निर्भर हुनेछ ।

स्वभाविक छ, सङ्घीयताको स्पिरिट पनि यही हो, जुन जातीय समुदायको जहाँ वर्चस्व छ, त्यहाँ ती जातीय समुदायको स्वशासन हुनुपर्छ । मलाई के लाग्छ भने दुई नम्बर प्रदेशमा मधेशी समुदायहरू जहाँ ८० प्रतिशतभन्दा बढी छन् । ती जातीय समुदायको आज स्वशासन भएको छ ।


 
मधेशमा तपाईंहरूले सरकार बनाउनुभएको छ, सरकारका चुनौतीहरू के देख्नुभएको छ ?
चुनौती थुप्रै छन् । खासगरी यो प्राकृत्तिक स्रोत साधनविहीन प्रदेश हो । मानवीय विकास सूचकाङ्कमा मुलुकका सात प्रदेशमध्ये २ नम्बर प्रदेश सबैभन्दा बढी पिछडिएको छ । यहाँका शिक्षा, स्वास्थ्यको समस्या, बेरोजगारी जस्ता चुनौतीहरू छन् ।

जातीय समुदायको राज्यमा जुन प्रतिनिधित्व रहेको छ, यो प्रदेशमा त्यसको ठूलो असर छ ।
 
तपाईंले प्राकृतिक साधन र आर्थिक रूपमा २ नम्बर प्रदेश कमजोर रहेको कुरा गर्नुभयो । आफू मुख्यमन्त्री हुनुहुन्छ, प्रदेश सञ्चालनका लागि आवश्यक साधन स्रोत कसरी जुटाउनुहुन्छ ?

साधन स्रोत जुटाउनका लागि अब लाग्छौँ । यहाँको सबल पक्ष के छ, यसबारे अध्ययन गर्छौं ।  प्रदेश नम्बर २ मा उद्योगधन्दाको बढी सम्भावना छ, कृषिजन्य उद्योगहरूको बढी सम्भावना छ ।

कृषिको उत्पादनलाई बढाउन सकिन्छ, यहाँ पर्यटक भित्र्याएर पर्यटकीय स्थलहरू जस्तैः जानकी मन्दिर, सखडा भगवती मन्दिर, सिम्रौनगढ, गढीमाई, पर्साको बिन्दवासिनी जस्ता  ठाउँहरूलाई विकास गरेर पर्यटकहरूलाई यहाँ ल्याउन सकिन्छ ।

लगानीको वातावरण बनाएर बाहिरका लगानीकर्ताहरूलाई पनि यो प्रदेशमा आकर्षित गर्न सकिन्छ ।
 
केन्द्रमा वामपन्थी नेतृत्वको सरकार छ, यहाँ मधेशकेन्द्रित दलको सरकार बनेको छ । केन्द्रीय सरकारसँग कोअर्डिनेसनको समस्या चाहिँ कत्तिको देख्नुहुन्छ ?
समन्वयको समस्या त आउने दिनमा फेस गरौँला । अहिले सरकार चलाउने दलले यसलाई कसरी लिइराखेको छ ? प्रदेश दुई भनेको यो मुलुककै एउटा प्रदेश हो । मुलुककै अभिन्न अङ्ग हो । जसको आवश्यकता अहिले स्रोत साधनका लागि बढी छ । किनभने मानवीय विकास सूचकाङ्कमा पछि पारिएको जिल्लाहरू यहाँ बढी छन् ।

यहाँको विकास भएन भने मुलुुकको विकास अधुरो हुन्छ । त्यसैले सबैसँग सहकार्य गर्नुपर्ने केन्द्रीय सरकारको दायित्व हुन्छ ।  हामीलाई जसरी काखापाखा गर्नसक्ने सम्भावना बाहिरबाट आँकलन गरिएको छ । केन्द्रमा वामपन्थीको सरकार प्रदेशमा एउटा आन्दोलनकारी मुलुकमा सङ्घीयता ल्याउने परिवर्तकारीको सरकार बनेको हुनाले त्यस्तो आँकलन गरिएको हुनसक्छ ।

निश्चित रूपमा यसले समस्या हुन्छ तर मलाई के लाग्छ भने गर्दै जाने कुरा हो । हामी केन्द्रीय सरकारसँग आग्रह गर्छाैं, अन्य प्रदेशभन्दा हाम्रो अवस्थालाई मूल्याङ्कन गरेर सहयोग गर्नुपर्छ । यहाँ स्रोत साधनको अवस्था कमजोर भएकाले खासगरेर केन्द्रबाट दिनुपर्ने आर्थिक स्रोतमा काखापाखा नहोस् ।  वैदेशिक दातृ नियकाबाट आउने स्रोत यदि हामी पहिल्याउँछौँ भने त्यसमा तपाईंहरूको सहयोग हुनुपर्छ भन्ने हाम्रो प्रयास रहन्छ ।
 
तपाईं पहिले पनि भन्नुहुन्थ्यो काठमाडौँले मधेशलाई दोस्रो दर्जामा राखेको छ भनेर । अब तपाईं आफैंलाई जनताले मधेश हाँक्ने जिम्मा दिएका छन् । अब यहाँका जनताको मुहारमा खुसी ल्याउने योजना के छ तपार्इंसँग ?
यहाँका अहिलेसम्म विभेदमा पारिएका समुदाय, विभेदमा रहेका विकासका योजनाहरू तथा  विभेदमा रहेका जति पनि कार्यहरू छन्, पक्कै त्यसलाई हामीले अगाडि बढाएर लान्छौँ । दुई नम्बर प्रदेशभित्र हामीसँग उपलब्ध साधन स्रोतहरूलाई सदुपयोग गर्दै इमानदारी साथ सुशासन कायम गरी यदि अगाडि बढेनौँ भने हामी असफल हुनेछौँ, हामीे अयोग्य ठहरिने छौँ । हामी सफल कहलिनेवाला छैनौँ । त्यसैले हाम्रो प्रयास यसलाई कसरी सफल बनाउन सक्छौँ भन्ने हो ?

निश्चित रूपमा हामी भन्ने गथ्र्यौं, काठमाडौँले मधेशलाई दोस्रो दर्जाको व्यवहार गरेको छ तर अब हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कार्यमा यदि हामी कमजोर ठहरियौँ भने यो हाम्रो असक्षमता हुनेछ ।

तर म के विश्वास दिलाउन चाहन्छु भने मोरोे पार्टबाट गर्नुपर्ने काममा कुनै पनि किसिमको कमजोरी हुने छैन ।


 
यो प्रदेशका अधिकांश भूभागमा खुला सिमाना रहेको छ, वीरगञ्ज र जनकपुर अपराधीहरूले बढी खेल्ने ठाउँ भनेर पनि बुझिन्छ त्यो पाटोलाई कसरी लिनुभएको छ ?
खुला सिमानाकै कारण यहाँ कुनै अपराधिक गतिविधिहरू बढेको छ भन्ने मलाई लाग्दैन । तथापि अब ओपन बोर्डरको कारणले आपराधिक गतिविधि बढी हुनसक्छ भनेर आँकलन गर्नु स्वभाविक छ । स्थानीय प्रशासनको सही परिचालन गर्दै सर्वसाधारणलाई शान्ति सुरक्षा र आपराधिक गतिविधि रोक्नु हाम्रो प्रमुख दायित्वमध्येको एक हो । यसका लागि हामी हरसम्भव प्रयास गर्छौैं ।
 
दुई नम्बर प्रदेशमा वामपन्थी र काँग्रेसलाई कसरी विश्वासमा लिनुहुन्छ ?
अहिले सदनमा उहाँहरूसँग हामी सहकार्यमा छौँ । किनभने उहाँहरू पनि यही प्रदेशमा शान्ति, स्थिरता विकास गर्नका लागि चुनिनुभएको हो ।  त्यसैले मलाई के लाग्छ भने उहाँहरूको सहयोग रहन्छ, सद्भाव रहन्छ ।

अहिलेसम्म उहाँहरूको सहयोग सद्भाव नै देखिएको छ । सभामुख र उप–सभामुखको निर्वाचनमा पनि उहाँहरूको सक्रिय सहयोग नै रह्यो । उहाँहरूले उम्मेदवारी नै दिनुभएन । मलाई लाग्छ उँहाहरूको र हाम्रो मिसन भिजन भनेको एउटै हो, यो ठाउँको विकास गर्नु यहाँको पछौटेपनलाई समाप्त गर्नु हो । यो प्रदेशमा शान्ति स्थिरता कायम गरी समृद्ध प्रदेश बनाउनु काँग्रेस र वामपन्थीको पनि दायित्व हो । पार्टी फरक भए पनि हामी सबै यही प्रदेशको उत्पीडित समुदायभित्रका हौँ । ठीकै छ उहाँहरूको पार्टीले हामीले जतिको विरोध गर्ने अनुमति नदेला तर पीडा त उहाँहरूलाई पनि छ ।

सडक राम्रो भयो भने हाम्रै पार्टीका मान्छेहरू हामी मात्रै हिड्छौँ त भनेको छैन । राम्रो अस्पताल भयो भने हामी मात्रै उपचार गराउने हैन क्यारे ? राम्रो शैक्षिक संस्था भयो भने हामी मात्रै त्यसको बेनिफिट लिने हैन । यहाँ जागिरको अवसर बढ्यो भने ती फोरम र राजपासँग लाग्नेहरूले मात्रै पाउने हैन क्यार सबैले पाउने हो । त्यसैले मलाई के लाग्छ भने हाम्रो भविष्य र उहाँहरूको भविष्य एउटै ठाउँमा छ, त्यसैले उहाँहरूले एकदमै सहयोग गर्नुहुन्छ । अहिलेसम्मको उहाँहरूको प्रस्तुती सहयोगात्मक नै रहेको छ ।
 
तपाईंले प्रदेश संसदमा हिन्दी भाषामा बोल्दा विरोधका स्वरहरू पनि उठेका थिए, राजमार्ग आसपास बस्ने पहाडी समुदायले अब मधेशका स्कुलहरूमा मैथिलीभाषमा पढाइ हुने पो हो कि भनेर चिन्ता व्यक्त गरेका छन् नि ?
 

हैन, हामी के भन्दै आएका छौं भने यहाँ जसलाई जुन भाषामा सहज हुन्छ त्यही भाषा उसले प्रयोग गर्न पाउँछ । नेपाली भाषा हाम्रो अहिलेसम्म प्रयोग गर्दै आएको भाषा हो र बहुसङ्ख्यक नेपालीहरूले बोल्ने भाषा हो त्यो भाषालाई हामी सम्मान गर्छौं ।

नेपाली भाषा यो मुलुककै प्रमुख भषाको रूपमा रहेको छ । रह्यो कुरा कि त्यो भाषामा कसैले पढ्न चाहन्छ भने पक्कै त्यसले पाउनुपर्छ । कसैलाई आफ्नो सिद्धान्त, विचार, नीति, भाषा र पोसाक लादेर अरूलाई मान्न बाध्य बनाउन सक्नुहुन्न ।  

हामी सङ्घीयतामा किन गएको ? किनभने हाम्रो पहिचानको समस्या पायौं, हाम्रो अधिकार कुण्ठित भएको पायौँ, हामीलाई विभेद गरेको पायौँ तर अहिले हामी सङ्घीयतामा गइसकेपछि पनि त्यस किसिमको अवस्था त्यस किसिमको समस्या यदि फेस गर्छौं भने सङ्घीयताको त मतलव नै भएन ।

म भोजपुरी भाषी हुँ, मुख्यमन्त्रीको शपथ भोजपुरीमा  लिएँ । तर मलाई हिन्दी बोल्न सहज छ, मैथीली कसैले बोल्न भन्यो भने सहजताका साथ बोल्न सक्दिनँ । तर यो प्रदेशमा बहुसङ्ख्यक जनता मैथिली बोल्छन् तत्पश्ताच भोजपुरी र हिन्दी बोल्छन् । त्यसैले मैथली, भोजपुरी, हिन्दी, थारु या अन्य जातीय समुदायको भाषा यदि छ भने त्यो भाषालाई  हामीले सम्मान गर्नुपर्छ ।

तपाईंलाई दौरा सरुवाल लगाउन मन छ भने किन सम्मान नगर्ने ? म त भनिरहेको छु, म पाइजामा कुर्ता लगाउँछु, तपाईं पनि सम्मान गरिदिनुस् । तपाईंलाई टोपी लगाउन मन छ, म गम्छा राख्छु, टोपीको म सम्मान गर्छु मेरो गम्छाको सम्मान गरिदिनुस् । विविधताभित्रको आत्मीयता  र एकता भनेको यही हो ।
 
तपाईं कर्मचारी पृष्ठभूमिबाट आएर मुख्यमन्त्री बन्नुभयो, कस्तो अनुभूति भएको छ ?
अब, कर्मचारीको भूमिकामा रहँदा एउटा निश्चित दायरा थिए । थोरै काम गर्ने ठाउँ हुन्छ, त्यसको क्षेत्र सानो हुन्छ तर राजनीति फराकिलो छ ।

पक्कै पनि यहाँ एउटा ठूलो चुनौती छ । चुनौतीको साथमा अवसर पनि बढी छ । अवसर के छ भने अहिले सबै नयाँ संरचाना छ, नयँ संरचनामा हामी सबैको सहयोगले अगाडि बढेमा पक्कै सफल हुन्छौँ ।
निश्चित रूपमा पहिलेभन्दा अहिले जिम्मेवारी बढेको छ । पहिलेभन्दा अहिले चुनौती बढेको छ । पहिलेभन्दा अहिले अवसर बढी छ, पक्कै पनि पहिले र अहिलेमा धेरै अन्तर छ । 
 
(फोटो : कृष्ण खड्का)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप