शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

सोमबार, ०७ फागुन २०७४, ०९ : १६
सोमबार, ०७ फागुन २०७४

खोटाङ - वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । 

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न लागिएको हो । 

करिब रु ५० लाखको खर्चमा सम्पन्न हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आवश्यक तयारीका लागि आयोजक सितोरियो कराते संघले सबैसँग समन्वय गरिरहेको छ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ । कराते प्रतियोगितामा नेपाली टोली, सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारत, भुटान, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।  

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः रु एक लाख, रु ७० हजार र रु ५० हजार नगदको साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही रु २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए । 

आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समूहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप