बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टी नेतालाई प्रचण्डको ब्रिफिङ : अब एकताको कुरा मिल्यो

सोमबार, ०७ फागुन २०७४, १३ : २५
सोमबार, ०७ फागुन २०७४

काठमाडौं– एमाले र माओवादीबीचको एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पार्टीका केही नेताहरुसँगको अनौपचारिक बैठकमा एकताका विषयमा देखिएको सैद्धान्तिक पक्ष हल भएको बताएका हुन् ।

‘एमाले र माअ‍ोवादीबीचको सैद्धान्तिक विवाद हल भएको अध्यक्षले बताउनु भएको छ । अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले भने ।

यस अघि एमाले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउनुपर्ने अडान लिएको थियो भने माओवादीले माओवाद र २१ औँ शताब्दीको जनावादलाई अडान बनाएको थियो । यहीँ सैद्धान्तिक अडानले केही दिन देखि एकता प्रक्रियामा प्रगति हुन सकेको थिएन् । 

तर, हिजो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चार घण्टा लामो ‘वान टू वान’ छलफल भएपछि सैद्धान्तिक पक्षमा सहमति जुटेको हो । 

आज बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट यस विषयमा सहमति जुटाउने तयारी छ । 

यस अघि फागुन २ गते यी दुई दलका नेताले केही महत्वपूर्ण मुद्दामा सहमति जुटाएको दावी गरेका थिए । 

त्यसदिन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको थियो । 

एकीकृत पार्टीमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड को समान हैसियतमा रहनेछन् । दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने सहमति भएको जनाइएको छ । 

यस अनुसार प्रधानमन्त्री हुने नेता पार्टीको सेरमोनियल अध्यक्ष र अर्को नेता अधिकारसम्पन्न अध्यक्ष हुनेछन् । अर्थात शुरुमा ओली प्रधानमन्त्री र सेरमोनियल अध्यक्ष तथा प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष हुनेछन् । 

दोस्रो कार्यकालमा ओली अधिकारसम्पन्न अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री एवं सेरमोनियल अध्यक्ष हुनेछन् । सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम प्रधानमन्त्री हुनेछन् । 

सहमति अनुसार राष्ट्रपति र उपसभामुख एमालेलाई तथा उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई हुनेछ । 

एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने सहमति छ । 

संगठनात्मक संरचनाबारे गृहकार्य गर्न र पार्टीको अन्तरिम विधानका लागि कार्यदल गठन गरिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप