शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा केसीमाथि उठ्यो नैतिक प्रश्न, सामाजिक सञ्जालमा ‘तीनथरी’ जन्ममिति भाइरल

बुधबार, ०९ फागुन २०७४, १० : २९
बुधबार, ०९ फागुन २०७४

काठमाडौँ । पटक–पटक अनसन बसेर चिकित्सा क्षेत्रको सुधारका लागि आफूले नैतिक आन्दोलन तयार गरेको बताउँदै आएका त्रिवी शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी स्वयम्माथि नैतिकताको प्रश्न उठेको छ ।

सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ ।

डाक्टर गोविन्दको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७ उल्लेख गरिएका कागजात सामाजिक सञ्जालमा देखिएका छन् । यसको स्वतन्त्र पुष्टी हुन वाँकी छ ।

घटना र विचार साप्ताहिकको अनलाइन संस्करणमा छ, ‘केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेश नगरेको बुझिएको छ । उनले अनिवार्य रुपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश नगरेकोले थप आशंका जन्माएको छ ।’

नैतिकताको प्रश्न उठाएर अरुमाथि औला उठाउने डाक्टर गोविन्द केसीकै नैतिक धरातल यति कमजोर किन भन्ने रातोपाटीको प्रश्नमा डाक्टर केसीका सहयोगी सुमन आचार्यले भने– ‘तपाईंले भनेको कुरा सहि हो, यस्ता कुरा आएका छन् तर यसको पुष्टी नभई हामीले केही भन्न मिल्दैन ।’

उनले थपे– ‘अहिलेसम्म हामीले उठाएका कुराहरु सबै ठीक छन्, जसमा मिडियाले पनि साथ दियो । यस विषयमा पनि कुरा के हो भन्ने तपाईंहरुले खोजी हाल्नु हुन्छ ।’

अब डाक्टर केसीले के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने– ‘यस विषयमा डाक्टर साहाबसँग कुरा भैसकेको छैन । तर उहाँले केही गर्नु हुन्छ होला ।’

डाक्टर गोविन्द केसीको १४औँ पटकको आमरण अनसन सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली प्रति लक्षित थियो ।

केसीले प्रधानन्यायाधिस पराजुलीको नागरिकतामा उल्लेख भएको जन्ममितिलाई लिएर उनले राजिनामा दिनु पर्ने भन्दै पराजुली भ्रष्ट र नैतिकहिन भएको भन्दै आएका थिए ।

केसीको आन्दोलनलाई नजिकदेखि नियाल्दै आएकाहरुको विचारमा भने केसीको आन्दोलन पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीको निर्णयलाई वर्तमान प्रधानन्यायाधिस पराजुलीले उल्ट्याउन थालेपछि प्रतिक्रिया स्वरुप जन्मिएको बताउँछन् ।

न्यायालय र केसीका बीच जे–जस्तो झगडा देखिएपनि सामाजिक सञ्जालमा उनकै नैतिकतालाई लिएर प्रश्न उठाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप