बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्निर्माण प्राधिकरणले  संचालनमा ल्यायो ‘परियोजना निगरानी सूचना प्रणाली’

बुधबार, ०९ फागुन २०७४, १२ : ११
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्याएको छ । 
प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कामबारे अन्तराष्ट्रिय दाताहरुलाई समेत अनुगमन गर्न सहज हुनेगरी ‘परियोजना निगरानी सूचना प्रणाली’ बुधबारबाट संचालनमा ल्याएको हो । 
एशीयाली विकास बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याइएको सो सेवाबाट पुनर्निर्माणको कामलाई अनुगमन गर्न सहज हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । 
 विश्वका विकसित मुलुकहरुले परियोजना अनुगमनका लागि प्रयोग गर्दै आएको यो सूचना प्रणालीमार्फत् पुनर्निर्माणको कामलाई विश्वको कुनै पनि कुनाबाट हेर्न सकिने विश्वास गरिएको छ । 

देशका विभिन्न भागमा भएका पुनर्निर्माणको कामलाई निगरानीमा राख्न पनि यो सूचना प्रणाली उपयोगी हुनेछ । यो प्रणालीले पुनर्निर्माणको कामलाई तीव्रता दिन सहयोग गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले बताए । 


दाताहरुले आफूले दिएको बजेट पुनर्निर्माणको काममा सदुपयोग भयो, भएन भनेर हेर्न पनि यो सूचना प्रणालीलाई प्राधिकरणले संचालनमा ल्याएको हो । कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुले सोही ठाउँबाट त्यहाँ भएका कामको प्रगति विवरण सो सूचना प्रणालीमा अपलोड गर्नेछन । सोही सूचना संसारका कुनै पनि मुलुकमा बसेर हेर्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले अंगे्रजी भाषामा सुरु गरिएको सो सूचना प्रणाली नेपाली भाषामा पनि संचालन गर्ने योजना रहेको बताए । 
प्राधिकरणले सूचना प्रणालीको माध्यामबाट पुनर्निर्माणको कामले झनै गति लिने विश्वास व्यक्त गरेको छ । चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको कामलाई पूरा गर्ने योजना अनुसार काम भइरहेको प्राधिकरणको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप