शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले र माओवादी एकतामा धेरै आशङ्का छन् (शरतसिंह भण्डारीको अन्तर्वार्ता)

बुधबार, ०९ फागुन २०७४, १२ : ५९
बुधबार, ०९ फागुन २०७४

शरतसिंह भण्डारी
अध्यक्ष मण्डल सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल

पञ्चायत र काँग्रेसको राजनीति हुँदै मधेस राजनीतिमा छिरेका शरतसिंह भण्डारीले पछिल्लो समय मधेसका मुद्दा मधेसी मूलका नेताभन्दा कडा रूपमा उठाएका छन् । रक्षामन्त्री भएको बेला नेपाली सेनामा मधेस युवाको सामूहिक प्रवेशको कुरा उठाएर चर्चामा आएका भण्डारी त्यही कारणले राजीनामा पनि दिनुपरेको थियो । मन्त्रीबाट मात्र होइन, विजयकुमार गच्छदार अध्यक्ष रहेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट समेत राजीनामा दिएका थिए । त्यतिबेला मधेसमा उनको निकै वाहवाही भएको थियो । त्यसैकोे आधारमा उनले राष्ट्रिय मधेस समाजवादी पार्टी नै गठन गरेका थिए । त्यो पार्टीले पनि मधेसको मुद्दामा राम्रै काम गरेको थियो । अहिले राजपा नेपाल बनाउनेमध्येका एक भण्डारी प्रतिनिधिसभाका सदस्य पनि छन् । प्रस्तुत छ, वाम एकता र मधेसको राजनीतिक परस्थितिको बारेमा रातोपाटीका लागि एस.के. यादवले गरेको कुराकानीको मुख्य अंशः

नेपालको राजनीतिमा एमाले र माओवादी केन्द्र मिल्ने भएको छ, यसलाई तपाईंल कसरी लिनुभएको छ ?
–यो वास्तवमा भन्ने हो भने सुखद् घटना नै हो । जुन प्रकृया र पद्धतिबाट एकीकृत भयो, त्यसलाई सुखद् नै भन्नुपर्छ । तर, पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ । संविधान बन्न १० वर्ष लाग्यो तर टुङ्गिनलाई तीन दिनमै टुङ्ग्यायो । फास्ट ट्र्याकबाट संविधान बनायो । त्यो चुनौती अहिले पनि वर्तमान सरकार र सरकारलाई नेतृत्व गर्ने दलसँग छ । यद्यपि यो एकीकरणले के कुराको पुष्टि गरेको छ भने देशलाई सैद्धान्तिक रूपमा अगाडि बढाउन जिम्मेवार दलहरू अगाडि आएका छन् तर ती सिद्धान्त कति कार्यान्वयनमा आउँछन्, त्यो हेर्न बाँकी नै छ । जसरी लोकतान्त्रिक र साम्यवादी शक्तिहरू एकीकृत भएका छन्, त्यसले देशका लागि हितकर नै हुने विश्वास गर्न सकिन्छ । साम्यवादी दलहरूको संरचना हेर्ने हो भने त्यो बाहुलवादी चिन्तनको छैन । नश्लवादी चिन्तन त्यहाँ पाइन्छ । त्यो पनि चिन्ताको विषय छ । यद्यपि यो एकीकरणले मधेसमा पनि एकीकरणका लागि दबाब बन्न सक्छ । मधेसमा राजपा नेपाल र फोरम नेपालबीच पनि एकीकरण हुनुपर्छ भनी झक्झकाउँछ ।  यो एकीकरणलाई मैले निगेटिभ रूपमा लिएको छैन ।

अहिले आएर एकीकरणलाई पोजेटिभ लिएको भन्नुभयो, तर प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा तपाईंहरूले यी दुई दलबीच एकीकरण भयो भने देशमा साम्यवाद आउँछन् र निरङ्कुशता सुरुहुन्छ भन्दै मत माग्नुभएको थियो । आज सही हो भन्नुहुन्छ किन यस्तो ?
–मैले सुरुमै प्रकृयाको कुरा गरेको हुँ । जुन प्रकृयाबाट एकीकरण भयो, त्यो सकारातमक हो तर अब उहाँहरूको क्रियाकलाप हेर्न नै बाँकी छ । मैले पार्टीको चरित्र, पार्टीको क्रियाकलापको बारेमा अहिले कुरा गरेको छैन । विभिन्न विचार बोकेका पार्टी एकीकृत भएपछि राजनीतिक प्रतिस्पर्धा बढेर जान्छ । त्यसले गर्दा नेतृत्वमा रहेका दलहरूले चुस्तदुरुस्त रूपमा राज्य सञ्चालन गर्न सक्छ । पहिलो र दोस्रो सविधानसभा चुनावमा एक सिटे दुई सिटे दलहरूले हालमुहाली जमाएका थिए तर जनताले त्यसलाई रुचाएका थिएनन् । तर यो अवस्था हुँदैन । पाँचवटा राष्ट्रिय दल चारदलमा झ्यो । अरू दलहरूमा एकीकरण भयो भने तीन दलमा झर्छ । बाँकी रहेका दलमा कडा प्रतिस्पर्धा हुन्छ । यसले देश निर्माणमा सजिलो गर्छ ।

एकीकरणलाई सकारात्मक हो भन्नुहुन्छ भने यसको नाकारात्मक पक्ष के हो ?
–म एकीकरणको प्रकृयामा पोजेटिभ भएको छु तर हिजो जुन कुराको आशङ्का थियो, त्यो कुरालाई अझै चिर्न सकेको छैन । बहुदलीय प्रतिस्पर्धी व्यवस्था र बहुलवाद समाजलाई स्वीकार गरेर समावेशी समानुपातिकको आधारमा शक्तिपृथकीकरणलाई कसरी लागू गर्छन् त्यो हेर्न बाँकी नै छ । जस्तो, जबजको कुरा एकातिर छ भने माओवादको कुरा अर्कोतिर छ । यी दुइटा कुरालाई पछि मिलाउँदै जाने भनेको छ, जब कि सिद्धान्त भन्ने कुरा सबैभन्दा पहिले स्पष्ट हुनुपर्छ । यो एकीकरण त भयो तर दिशाबोध स्पष्ट भएन । यसले कुराले हामीलाई आशङ्का उब्जाएको छ । राजनीतिक दिशाबोध, राजनीतिक सिद्धान्त स्पष्ट भएन भने यो पार्टी कहाँ जान्छ भनी कुरा क्लियर हुँदैन । यो गठबन्धन हो, या पार्टी हो या कुनै अरू उद्देश्यले एकीकरण गरेको हो भन्ने जस्ता आशङ्काहरू उब्जाउनेछ ।

एकीकृत पार्टीलाई शङ्काको घेरामा राख्नुभएको छ, त्यसो भए त्यो पार्टीसँग तपाईंहरूको (राजपा) सहकार्य हुन्छ कि हुँदैन ?
–हामी अहिले पनि भन्छौँ कि कसैले जोरजवजस्ती गरेर यो मुलुक बन्दैन । २० वर्षदेखि देश द्वन्द्वमा छ । यसको समाधान भएन भने कहीँ नकहीँ असन्तुष्टि तथा द्वन्द्व रही रहन्छ । त्यसले गर्दा देशलाई अगाडि बढाउन सजिलो हुनेछैन । यो देशमा दुइटा कुरामा धेरै ठूलो द्वन्द्व भयो । एउटा सशस्त्र द्वन्द्व जो १० वर्षसम्म चल्यो । अर्को मधेस विद्रोह, जो लामो समयसम्म नै चल्यो । तर विडम्बना यी दुवैको व्यवस्थापन अझै हुन सकेको छैन । माओवादीले द्वन्द्व छाडेर आएपछि पहिलो काम थियो, हतियार व्यवस्थापन गरी शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउनु । जो अहिलेसम्म भएको छैन । देशमा शन्ति प्रकृया अझै टुङ्गो लागेको छैन । अर्कोतिर मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिललगायत पिछडिएका समुदायल जेजति आन्दोलन गरेका छन्, ती सबैको एउटा माग थियो संविधानको पूर्णता तर संविधानले अझै पूर्णता पाएको छैन । संविधान अपूरो छ भन्दै त्यसको संशोधनका लागि हामीले आन्दोलन नै गर्यौँ । त्यसको पूर्णताका चुनावमा पनि गयौँ तर अझै त्यसको टुङ्गो लागेको छैन । संविधानको मूलभूत अवधारणामा हामीलाई कुनै आपत्ति छैन । हामीले भनेअनुसार नै नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल भएको हो, जुन कुरामा संविधानमा उल्लेख गरिएको छ । तर समावेशी समानुपातिकलाई अझै कार्यान्वयनमा ल्याएको छैन, संविधानमा । हामीले पहिचान र अधिकारको कुरामा पनि गरेका थियौँ । जो नागरिकता र भाषालगायतका विषयसँग जोडिएको हो । त्यसैले हामी शान्ति प्रकृया र सविधान संशोधनको विषयमा टुङ्गो लगाउनै पर्छ । त्यसको बारेमा स्पष्ट रूपमा आउनै पर्छ ।

त्यसो भए यी दुईवटा विषयको टुङ्गो नलागेसम्म वर्तमान सरकारसँग तपाईंहरूको सहकार्य हुनेछैन ?
–हो, निश्चित रूपमा देशलाई समृद्धि र स्थिर बनाउनका लागि यी दुईवटा कुराको समाधान गर्नैपर्छ । एउटा कुरा वाम गठबन्धनमा रहेका माओवादी केन्द्रसँग सम्बन्धित हो । माओवादी द्वन्द्व हुँदा काँग्रेस र एमाले एक ठाउँमा थियो तर अहिले माओवादी केन्द्र र एमाले एक ठाउँमा आएको छ । के अब एमालेले माओवादीको द्वन्द्वलाई स्वीकार्छ या शान्ति प्रकृया टुङ्गो लगाउन माओवादीको पक्षमा वकालत गर्छ, त्यो मुख्य प्रश्न खडा भएको छ । अहिले पनि यी दुईवटा दलको सात बुँदे सम्झौता हेर्नुभयो भने त्यसमा शान्ति प्रकृयाको विषयमा कुनै कुरा उठेको छैन । द्वन्द्व पीडितको व्यवस्थापन कसरी गर्ने, सत्य निरूपण आयोगको विषयमा के गर्नेलगायतका विषयमा यी दुई दलले केही बोलेका छैन । अर्को, जुन हाम्रो कुरा छ । हामी दुई नम्बर प्रदेशको चुनावबाट संविधान संशोधन गराउने म्यान्डेट पाएका छौँ । अर्को सरकार बनाउने म्यान्डेट पाएका छौँ जो हामीले पूरा गरेका छौँ । अब सविधान संशोधन मुख्य काम बाँकी छ । सविधान संशोधन नगराएसम्म केन्द्रीय सरकारमा सहकार्य गर्ने, सहयोग गर्ने अथवा सरकारमा जाने प्रश्न नै आउँदैन । त्यो हाम्रो बटमलाइन नै हो । किनभने मधेसी जनताले हामीलाई संविधान संशोधनका लागि म्यान्डेट दिएर पठाएको छ । केन्द्रमा सरकार बनाउने वा सरकारमा जाने म्यान्डेट दिएको छैन । हाम्रो कुरा के हो भने सविधान संशोधन संशोधनका लागि मात्र नभएर कार्यान्वयनका लागि संशोधन गर्नुपर्छ । संविधान संशोधन गरेर कार्यान्वयन गर्यो भने वाम सरकारलाई सहयोग गर्नेमा हामीलाई कुनै आपत्ति छैन ।

अहिले जुन विषयहरूमा तपाईंले आशङ्का व्यक्त गर्नुभयो ती आशङ्काहरू हटाउनका लागि एमाले–माओवादीसँग कुनै प्रकारको छलफल भएको छ किन छैन ?
–प्रत्यक्ष रूपमा कुनै पनि औपचारिक कुराकानी भएको छैन । तर निर्वाचन भएपछि विभिन्न स्तरमा जुन छलफलहरू भएको छ । तर जुन कङ्क्रिट धारणा र विचार आउनुपर्छ वा छलफल हुनुपर्छ त्यस्तो भएको छैन ।

अहिलेसम्म भएको अनौपचारिक छलफलमा उहाँहरूको धारणा कस्तो पाउनुभएको छ त ?
–अहिलेसम्मको अवस्था हेर्दा त उहाँहरू आफैमा अलमल हुनुहुन्छ । वाम गठबन्धन गरेर सोचअनुसार शक्ति प्राप्त गरेको छ । दुई नम्बर प्रदेश बाहेक अरू प्रदेशमा सरकार बनाएको छ । केन्द्रमा पनि सरकार बनायो । हिजो पार्टी एकीकरण नै गर्यो । अर्थात् उनीहरू पनि आफैमा अलमलमा रहेका कारणले ठोस कुरा अगाडि बढी रहेको थिएन । अब एकीकृत भइसकेपछि उनीहरूको तर्फबाट केही ठोस् कुरा आउँछ कि भन्ने हाम्रो विश्वास छ ।

मधेसले फोरम र राजपाबीच गठबन्धन बनोस्, केन्द्रदेखि प्रदेशसम्म मिलेर जाओस् भनी म्यान्डेट दिए तर अहिले केन्द्रदेखि प्रदेशसम्म फोरम मात्र अगाडि अगाडि हिँडिरहेको छ । तपाईंहरूसँग कुनै सल्लाह छलफल पनि छैन किन, तपाईंहरूको बीचमा केही तलमाथि भएको छ कि ?
–हाम्रो चुनावी गठबन्धन हो । हामीले मधेसी जनताबाट पाएको म्यान्डेट अनुसार मधेसमा हामीले सरकार बनायौँ । हामी त्यसमा कुनै अप्ठ्यारो भएन । अब बाँकी रह्यो सविधान संशोधन । सविधान संशोधनको बारेमा पनि हामीले कुरा उठाइरहेका छौँ । उपेन्द्रले सविधान संशोधनको विषयमा उठाइरहनु भएको कुराप्रति हाम्रो कुनै विमति छैन । हामीले उठाइरहेको कुराप्रति उपेन्द्र यादवको पनि विमति छैन । सविधान संशोधनको विषय राष्ट्रियसभाको चुनावलाई पनि प्रभावमा पारेको थियो । हामीले वाम गठबन्धनसँग त्यो चुनावमा सहकार्य गर्ने कुरा गर्यौँ, त्योसँगै हामीले संविधान संशोधनका कुरा पनि राख्यौँ तर एमालेले त्यसलाई मानेन । अनि हामीले काँग्रेसतिर लाग्यौँ । वाम गठबन्धनले राष्ट्रियसभाको चुनावमा दुई नम्बर प्रदेशमा छ वटा सिट दिइरहेको थियो तर संविधान संशोधनमा कुरा नमिलेपछि हामीले वाम गठबन्धनलाई छाड्यौँ । सविधान संशोधनमा सकारात्मक रहेका काँग्रेससँग हामी राजपा र फोरमले सहकार्य गर्यौँ । यसले के स्पष्ट हुन्छ भने फोरम र राजपा नेपालको गठबन्धन कायम छ । मधेसी जनताले एक अर्को म्यान्डेट पनि दिएको छ  त्यो हो फोरम र राजपा नेपालबीचका एकीकरण । यी दुई नेपालबीच एकीकरण होस् भन्न चाहन्छौँ ।

पछिल्लो समयमा राजपा नेपालमा विभिन्न निर्णय हुँदा विवाद देखिएको छ । कुनै पनि निर्णय निर्विवाद रहेको छैन, त्यसले अहिलेसम्म भइसक्नुपर्ने निर्णयहरू हुन सकिरहेको छैन, किन त्यस्तो ?
–तपार्इंलाई थाह छ, राजपा नेपाल छ वटा पार्टी मिलेर एउटा बनेको हो । पार्टी एकीकरण भएका एक वर्ष पनि भएको छैन । विभिन्न दलबाट आएका हुनाले पक्कै पनि त्यहाँ छलफलमा केही नकेही हुन्छ । आआफ्नो निर्णय लाद्न खोज्छन् । आआफ्नो स्वार्थअनुसार काम गर्न खोज्छन् । तर, यी सबैका बाबजुद पनि निर्णय प्रकृयामा कुनै आपत्ति छैन । कुनै निर्णय हुँदा सबैलाई स्वीकार हुन्छ । हामीले सामूहिक नेतृत्वको अभ्यास हामीले गरिरहेका छौँ । त्यसले गर्दा त्यस्तो देखिएको छ । विभिन्न विषयमा हामीले व्यापक छलफल गरेका छौँ ।

फोरम र राजपाबीच गठबन्धन रहेको छ तर फोरम नेपाल अहिले जसरी अगाडि बढेको छ भोलि यदि एक्लै वामपन्थी सरकारमा सहभागी भयो भने त्यसपछि तपाईंहरूको भूमिका कस्तो हुनेछ ?
–यस विषयमा मैले कल्पनासमेत गर्न चाहेको छैन । यो हुन सक्दैन । मेरो मान्यता त के हो भने फोरम नेपाल सरकारमा सँगै होइन, एउटै पार्टी बनाएर सरकारमा जानुपर्छ । एकीकरणको प्रकृया हामीले सुरु गरिसक्नुपर्छ । यो मधेसको माग हो । दुई धु्रुवमा उभिएका एमाले र माओवादी पार्टी एक हुनसक्छ भने हामी एउटा मुद्दामा लड्नेबीच पनि एकीकरण किन हुँदैन । एकीकरण हुनुपर्ने विषयमा गृहकार्य हुनुपर्छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप