मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारी ठहर भएपछि सुवास निरौलाले भने, ‘अन्याय भयो, अब सर्वोच्च जान्छु’

बिहीबार, १० फागुन २०७४, १८ : ५८
बिहीबार, १० फागुन २०७४

काठमाडौं– नेपाल पर्यटन वोर्डका तत्कालीन कायममुकायम सिइओ सुवास निरौला भ्रष्टचारी ठहर भएका छन् । बिहिबार विशेष अदालतमा भएको अन्तिम बहसपछि निरौंला भ्रष्टचारी ठहर भएका हुन् ।  निरौलासँगै तत्कालीन लेखा प्रमुख अनिलकुमार दास र पर्यटन व्यावसायी महेन्द्र खनाल पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका हुन् । पर्यटन बोर्डमा आफूखुशी आर्थिक विनियमावली बनाएर १ अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौलासहित २३ जनालाई भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २० चैत २०७१ मा दायर गरिएको मुद्दामा बिहिबार मात्रै अन्तिम फैसला भएको हो । 

पर्यटन वोर्डमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै पर्यटन व्यवसायीले अख्तियारमा उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो । छानबिनमा क्रममा नेपाल सरकारका दुई सचिवसमेत २३ जनाबिरुद्ध मुद्दा चलेको थियो । बिहिबारको फैसलाले पर्यटन मन्त्रालयका अवकाशप्राप्त सचिव सुशील घिमिरे, वन मन्त्रालयका तत्कालिन सचिव शरदचन्द्र पौडेलसहित वोर्डका निर्देशकहरुले सफाई पाएका छन् । 

१ करोड ३५ लाख जरिवाना, ७ वर्ष कैद

विशेष अदालतले भ्रष्टचारी ठहर गरेसँगै अब निरौलाले १ करोड ३५ लाखभन्दा बढी रकम बुझाउनुपर्ने भएको छ । अदालतले निरौलाबाट ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवाना भराउन आदेश दिँदै ७ वर्ष कैद सजाय भोग्नुपर्ने फैसला सुनाएको छ । फैसलाको पूर्ण पाठ आउन भने अझै केही समय लाग्नेछ ।


यस्ता थिए भ्रष्टाचारका आरोप 

पर्यटन वोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको कार्यकाल सकिएलगत्तै निरौला बोर्डमा निमित्त सिइओ बनेका थिए । तर निमित्त सिइओ बनेको ६ महिनासम्म पनि वोर्डमा नयाँ सिइओ नआएपछि निरौला कायममुकायम सिइओ बनेर आर्थिक अधिकारसहित कामकाज सम्हालेका थिए । यहीबीचमा विभिन्न शीर्षकमा निरौलाले भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको थियो । 
भ्रष्टाचारको केही आरोप यस्ता थिए । 
–बीबीसीसँग पर्यटन प्रबद्र्धनका सम्बन्धमा १३ करोडको विज्ञापन सम्झौता गर्दा २ करोड कमिशन लिएको । 
–सार्वजनिक खरिद ऐन विपरित आर्थिक विनियमावली बनाएको । 
–प्रतिष्पर्धा नगराई रेडियो, टेलिभिजन र पत्रिकामा विज्ञापन दिएर कमिशन लिएको । 
–आफ्नै छोरीको म्यागाजिनलाई अनाधिकृत विज्ञापन दिएको । 
–टुरिज्म फेयरका नाममा करोडौं रकम बाँडेको । 
–नक्कली हवाई टिकट बनाएर ट्रभल्स व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको । 

अब सर्वोच्च जान्छौ: निरौला

बिहिबार विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै फैसला सुनाएपछि निरौलाले आफूहरु सर्वोच्च अदालत जाने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै निलम्बित सिइओ निरौलाले पक्षपातपूर्ण फैसला आएको भन्दै आफूहरु सर्वोच्च अदालत पुग्ने बताएका हुन् ।

भ्रष्टाचारको आरोपमा २३ जनाबिरुद्ध छानबिन र मुद्दा दायर भएपनि ३ जनालाई मात्रै दोषी देखाउनु रहस्यको विषय बनेको निरौलाको भनाई छ । यो निर्णय तथ्य र प्रमाणमा भन्दा पनि पूर्वाग्रहबाट प्रेरित भएको निरौलाले आरोप लगाएका छन् । 
उनले भने ‘एउटै कागज र निर्णयमा सही गर्ने अन्य २० जनाले सफाई पाउने तर लेखा अधिकृत र पर्यटन व्यवसायीलाई दोषी देखाउने नियत नै गलत छ । कि उनीहरु पनि दोषी ठहर हुनुपर्छ, होइन भने हामीले पनि सफाई पाउनुपर्छ ।’

तपाईहरु २३ जनाले नै मिलेर भ्रष्टाचार गरेको हो त ? भन्ने रातोपाटीको प्रश्नमा निरौलाले भने ‘मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन । पर्यटनका नाममा देश लुट्नेहरुको योजनामा म लगायत केही सहकर्मीलाई फसाइएको मात्रै हो । हामी अब अदालत जान्छौँ र न्याय पाएरै छाड्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप