बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकै अग्लो कलश बनाउन नगरपालिकाले दियो एक करोड

शुक्रबार, ११ फागुन २०७४, ११ : २३
शुक्रबार, ११ फागुन २०७४

बागलुङ– संसारकै अग्लो कलश बनाउने लगायतका उदेश्य राखेर बागलुङमा शुरु भएको महायज्ञमा बागलुङ नगरपालिकाले पञ्चकोटको बिकासका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बुधबारबाट सुरु भएको महायज्ञमा नगर प्रमुख जनकराज पौडेलले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा बिकास हुँदै गरेको पञ्चकोटको बिकासका लागि नगरपालिकाले एक करोड सहयोग गर्ने बताएका हुन् ।

‘सरकारी कामकाजका लागि धेरै प्रकृयाहरु छन्, त्यसको प्रयोग गरेर रकम खर्च गर्न सकिन्छ’ पौडेलले भने, ‘नगरपालिकाले यो क्षेत्रको बिकासका लागि एक करोड रुपैयाँ सम्म खर्च गर्न सकिने सहमति भएको छ ।’ कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनाकुमारी केसीले जिल्लाको पहिचानको रुपमा पञ्चकोट बिकास हुन थालेकोले सबैको पहलमा देशकै उत्कृष्ठ गन्तव्य बन्नुपर्ने धारणा राखिन् । साथै उनले जिल्लाका अधिकांश पर्यटकीय क्षेत्रमा लगानी बढाउने वातावरणका लागि सरकारको ध्यानाकर्षण गर्ने र वर्तमान सरकारले त्यसका लागि सहयोग गर्ने आश्वासन पनि दिईन् ।

अर्का सांसद सुर्य पाठकले पञ्चकोट र बागलुङ एक अर्काका पर्यायबाची भैसकेको भन्दै सबैको उत्तिकै साथ र सहयोग प्राप्त हुने बताए ।त्यस्तै प्रदेश सांसद ईन्द्रलाल सापकोटाले ढोरपाटनको जिल्ला भनेर चिनिएको बागलुङ केही बर्षदेखि प्रञ्चकोटको पनि भएको बताए । कार्यक्रममा सांसद चन्द्रबहादुर बुढा, सावित्रा राना, स्वामी कमलानयनाचार्यका उत्तराधिकारी ऋषि प्रपन्नाचार्य, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा, पञ्चकोट धार्मिक तथा पर्यटकीय अभियानका महासचिव तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बानपा ६ का वडा अध्यक्ष खेमराज सापकोटा लगायतले बोलेका थिए ।

एकसय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माण गर्ने, धार्मिक पर्यटकहरुको पहिलो रोजाईको केन्द्र बनाउने लगायतका उद्धेश्य राखेर चारबर्ष अघिदेखि हरेक बर्ष महायज्ञ गरदै आएको छ । जसबाट अहिलेसम्म १४ करोड रुपैयाँ संकलन भएको छ भने सोही अनुसारको पूर्वाधार पनि निर्माण भएका छन् ।

उक्त स्थानमा पर्यटक आर्कषणका लागि गरुण नारायण मन्दिर, सिस महल, हनुमान मुर्ति, महाघण्ट स्थापना, पाहुना घर तथा गौशाला निर्माणको काम भैरहेको छ । महायज्ञ फागुन १५ गते सम्म चल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप