शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन दुख्छ छाती ? मुटुरोग विशेषज्ञ यसो भन्छन्

शुक्रबार, ११ फागुन २०७४, ११ : ४७
शुक्रबार, ११ फागुन २०७४

डा. मिलनप्रकाश श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ

छाती दुख्दा मानिस आत्तिन थाल्छ । धेरैको अनुमान हुन्छ कि मुटुको समस्याका कारण छाती दुख्न थालेको । तर, विचार पु-याउने कुरा के भने मुटुकै समस्याले मात्र छाती दुख्ने हुँदैन । कतिपय छातीको दुखाइ सामान्य पनि हुन सक्छ । यद्यपि, यस्तो दुखाइ हृदयाघात हुने लक्षण पनि हुन्छ । त्यसैले छाती दुखाइको प्रकृतिबारे थाहा पाउन जरुरी हुन्छ ।

० छातीको सेरोफेरोमा मुटु मात्र नभई फोक्सो, छातीका हड्डी, मांसपेशी पनि हुन्छन् । श्वासनली, खानानली पनि छाती हुँदै फोक्सो र पेटसम्म पुग्छ । छाती र पेटलाई डायफ्राम नामक अंगले छुट्याएको हुन्छ ।

त्यस्तै, फोक्सोलाई ढाक्ने पत्र पनि हुन्छ, जसलाई प्लुरा भनिन्छ । मुटुको बाहिरी भाग ढाक्ने पत्रलाई चाहिँ पेरिकार्डियम भनिन्छ । यीमध्ये कुनै पनि अंगमा समस्या सिर्जना भएमा छाती दुख्ने समस्या हुन सक्छ ।

०  मुटुका मांसपेशीमा रगत प्रवाह गर्ने रक्तनलीहरूमा संकुचन आए वा बोसो जम्दै गएमा साँघुरिन थाल्छ । यस्तो समस्या आएमा आराम गरिरहेको अवस्थामा चाहिँ त्यस्तो गाह्रो हुँदैन तर काम गर्दा, उकाली–ओराली गर्दा मुटुमा अधिक दबाब सिर्जना हुन्छ र साँघुरिएको रक्तनलीबाट पर्याप्त रगत प्रवाह हुन सक्दैन ।

यस्तो हुँदा मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन पुग्छ र छाती दुख्न थाल्छ । रक्तनलीहरू निकै साँघुरो भइसकेको छ भने केही कदम हिँड्दा पनि छाती दुख्ने समस्या हुन्छ । यस्ता मानिसलाई छातीमा ठूलो ढुंगाले थिचेजस्तो, केही चिजले हिर्काएकोजस्तो अनुभव हुन्छ ।

०  रक्तनलीहरू साँघुरिएर हुने दुखाइ प्रायः देब्रे पाखुरातिर तथा कहिलेकाहीँ चिउँडोको देब्रे भागतिर दुख्ने गर्छ । यस्तो अवस्थामा श्वासप्रश्वास गर्न गाह्रो हुने, छटपटी हुनेजस्ता स्थिति पनि सिर्जना हुन्छ । तर, केही बेर आराम गरेपछि वा गरिरहेको काम चटक्कै छाडेर केहीछिन बस्दा पनि यस्तो दुखाइ निको हुन सक्छ ।

मेडिकल भाषामा यस्तो समस्यालाई एन्जाइना भनिन्छ । यस्तो समस्या पत्ता लागेमा समयमै जाँच गराउन जरुरी हुन्छ । नत्र, साँघुरिएको रक्तनलीमा अकस्मात् रगत जम्न गई रक्तनली बन्द भएर हृदयाघात हुनेसमेत खतरा हुन्छ ।

०  यस्तो अवस्थामा रक्तनलीले रगत पु-याउनुपर्ने मुटुका मांसपेशीहरू मर्न थाल्छन् र काम गर्नै नसक्ने स्थितिमा पनि पुग्न सक्छन् ।

०  तर, हृदयाघातको दुखाइ भने फरक हुन्छ । यस्तो दुखाइ आराम गरिरहेकै अवस्थामा पनि हुन्छ । हुन त हृदयाघातको दुखाइ पनि एन्जाइना प्रकृतिकै हुन्छ । तर, तुलनात्मक रूपमा हृदयाघातको दुखाइ बढी र असह्य हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप