बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनतासँग मुख्यमन्त्री र जनतासँग प्रहरी कार्यक्रम ल्याउने

शुक्रबार, ११ फागुन २०७४, १२ : १२
शुक्रबार, ११ फागुन २०७४

मनोज भुजेल

इटहरी । प्रदेश १ मन्त्रीपरिषद्को बैठकले ‘जनतासँग मुख्यमन्त्री संवाद’ कार्यक्रम कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । मुख्यमन्त्रीसँग प्रदेशभित्रका जनताले पाक्षिक रूपमा टेलिफोन संवाद गर्न सक्ने गरी कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

प्रदेश सरकारको सहयोगका लागि तीनवटा समिति गठन गर्ने निर्णय भएको मुख्यमन्त्री शेरधन राईले पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले मुख्यमन्त्री कार्यालयका कानुन सचिवको संयोजकत्वमा कानुन मस्यौदा समिति र सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहने गरी भौतिक पूर्वाधार विकास र सुशासन तथा सदाचार समिति गठन गर्ने निर्णय गरेको छ । यसैगरी, सुरक्षित जीवन र भयरहित समाज निर्माणका लागि ‘जनतासँग प्रहरी’ हातेमालो कार्यक्रमलाई १ नम्बर प्रदेशभर प्रभावकारी बनाउने अभियान थालिने भएको छ ।

प्रदेश नम्बर १ मन्त्री परिषद्को बैठकले जनतासँग प्रहरीको सम्बन्ध स्थापित गर्दै सामाजिक सुरक्षाका लागि प्रत्येक घरधुरीलाई प्रहरीसँगको सम्पर्कमा राख्ने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्री परिषद्को बिहीबार बसेको दोस्रो बैठकले प्रहरीसँग सिधा सम्पर्कमा प्रदेशवासीलाई राख्न हरेक घरमा सुरक्षा सम्पर्क स्टिकर टाँस गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री शेरधन राईले हरेक जनताको सुरक्षाको ग्यारेन्टी गर्न प्रदेश सरकारले जनतालाई प्रहरीसँगको सम्पर्कमा राख्ने बताए ।

एक महिनाभित्रमा प्रदेशभित्रका सबै घरधुरी संख्या यकिन गरी मूल ढोकामा सुरक्षा सम्पर्क स्टिकर टाँस गरिने मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईका अनुसार अब हरेक जनताको घरमा आवश्यक पर्दा एक घन्टाभित्रमा प्रहरीले सुरक्षा दिने नीति सरकारले लिएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप