केन्द्रीय संस्करण

‘इन्काउन्टर’ को तेस्रो दिन जब म मनोजको घर पुगेँ...

person explore access_timeफागुन ११, २०७४ chat_bubble_outline0

तेजेन्द्र के.सी

बुटवल–रूपन्देहीको देवदह नगरपालिका–५ खैरेनीचोकबाट चहल–पहल देखिन्छ । तर, पछिल्ला वर्ष ग्रामीण सहरका रूपमा उदाएको यो बजारक्षेत्रभन्दा करिब  १ सय मिटर उत्तरतर्फ गोठदी मार्गमा रहेको एउटा घर पूरै सुनसान छ ।

यो मार्गमा हिँड्नेहरू घरतिर नजर लगाउन पनि डराउँछन् ।

कारण यो घर प्रहरी ‘इन्काउन्टर’मा मारिएका भनिएका गुन्डानाइके मनोज पुनको हो ।

प्रहरी ‘इन्काउन्टर’माथि केही प्रश्न पनि उठेका छन् ।

प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएका मनोजको घरमा प्लास्टिकको निलो त्रिपाल टाँगिएको छ । मनोजमाथि गुन्डागर्दीको बलमा धेरै पैसा असुलेको आरोप थियो । तर, घर हेर्दा त्यो सत्यजस्तो लाग्दैन्थ्यो ।

म पुग्दा घरको बाहिर ४–५ जना आफन्त बसेका थिए । विहान ९ बजेतिर म त्यहाँ पुगेको थिए । झन्डै एक घण्टा मैले परिवारका सदस्यसँग विताए । उनीहरुका कुरा सुनेँ ।

घरबाहिर केही कुर्सी राखिएका थिए । कोही आए भने त्यहीँ बस्छन् ।

एक तले घरमा निलो रङ लगाए पनि ठाउँ–ठाउमाँ रङ उक्किएको छ । घर वेवारिसे जस्तो देखिन्छ । घरको वरिपरि ‘बाउन्ड्री’ पनि छैन् । अगागि मूल गेट पनि छैन् ।

झ्यालको पनि रङ उडेको छ ।

मनोजका ६८ वर्षीय ब्ुबा छविलाल टाउकोमा सेता कपडा बाँधेर बसेका छन् ।

आज बिहान म त्यहाँ पुग्दा उनको घरमा मनोजका बुबा लठी टेकेर घरमा यता उता गर्दैथिए । 

मैले अनौपचारिक रुपमा कुराकानी सुरु गरेँ ।

परिवारका सदस्य मिडियासँग बोल्न पनि गा्रहो मान्छन् ।

मनोजका बुवाले हिजो र अस्ति चच्कर लागेको सुनाए ।

उनले आफूले प्रेसरको औषधि खाइरहेको पनि बताए ।

आफूलाई सुगर पनि बढेको उनले सुनाए ।

मलिन अनुहारमा थिए उनी ।

रोगले धेरै च्यापेको पीडा पोखे ।

रोगको पीडासँगै छोरा प्रहरीले ‘इन्काउटर’ मारिएको प्रति उनले रोष प्रकट गरे ।

उनका ४ जना छोराछोरीमध्ये मनोज कान्छो हुन् ।

प्रहरी ‘इकाउन्टर’मा मृत्यु भएपछि हिजो नै शव बुटवलको मगरघाटमा दाहसंस्कार गरिएको छ ।

‘इन्काउन्टर’ देवदहमा हुँदा मनोजको घर चाहिँ पुरै खालि थियो ।

बुवा–आमा काठमाडौँमा बसेका थिए ।

उनीहरू दुवै दीर्घरोगी छन् ।

आमा आज साँझसम्म घर आउँदैछिन् ।

दाइ पोखरा थिए ।

सुरुमा बुबालाई नै प्रहरीले खबर गरेको थियो ।

साथीको सल्लाहमा ट्याक्सी चढेर रूपन्देही आए ।

लुम्बिनी अञ्चलमा छोराको शव बुझे ।

भारतीय सेनाबाट रिटायर्ड छविलालले भने, ‘मेरो छोरो गुन्डा भए पनि हत्या नै गर्नु हुँदैन थियो । प्रहरीले हत्या गर्ने हो भने यहाँ प्रहरी र गुन्डा यस्तैउस्तै भयो । आजीवन जेल हाल्न सकिन्थ्यो । अदालत लैजान सकिन्थ्यो । तर हत्या नै गरियो ।’

तिवारी कान्डपछि घर खाली थियो
 

रूपन्देही युवा सङ्घका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या गत वर्ष पुस महिना भयो ।  

तिवारीको हत्या मनोज गरेको प्रहरीको भनाइ छ । 

सोही आधारमा प्रहरीले घरमा समेत  पटक पटक खोजतलास गरेको थियो ।

दाइ सोमबहादुरका अनुसार उक्त घटनापछि परिवार नै देवदहको घर खाली गरेर बाहिर बस्न पुगेको थियो ।

बुबाआम दीर्घ रोगी भएकाले काठमाडौँमा राखेर उपचार गर्ने गरेको उनले सुनाए । ‘म बेभ डिजायनर भएकाले केही काम गरेर पोखरातिर बसेँ । घरमा बस्ने मन पनि भएन’ उनले भने, ‘मनोजकी श्रीमती  पनि माइत बस्न थालिन् ।’

शुरुमा दाइ बोल्न मानेका थिएनन् । धेरै प्रयासपछि केही कुरा गर्न तयार भए । तर, आफ्नो तस्वीर चाहिँ खिच्न मानेनन् । मैले जर्वजस्ती गरिनँ ।

सबै लाखापाखा लागेपछि घर रङ हराउँदै गयो । 

मनोजका दाइले घर देखाउँदै मसँग भने, ‘यो घरमा कलर गर्न मन छैन ।  आखिर यहाँ बसिँदैन, कहिले प्रहरीको टर्चर, कहिले अन्यले टर्चरले गर्छन । हामी अन्यन्त्र जानु परेको छ ।’

छिमेकी ६९ वर्षीय घनबहादुर गौचन अब परिवारलाई तनाव दिनु हुँदैन् भन्नेमा छन् । ‘मनोजले के अपराध गरेका थिए । स्पष्ट प्रमाण छैन ।’ उनले भने, ‘प्रहरीले शङ्काको भरमा हत्या गरेको छ ।’

छिमेकीहरु मान्छन्, ‘मनोज अपराधी भए पनि उनीहरूको  परिवारलाई अब प्रहरीले तनाव दिनु हुँदैन । बीचमा  पटक पटक प्रहरीले तनाव दिएको थियो । मनोज गल्ती भए पनि उसका  बुबाआमा  श्रीमतीलाई पटक पटक किन प्रहरीले तनाव दिने, यस्तो काम गर्नुहँुदैन् ।’

दाइ शेरबहादुरका केही प्रश्न : प्रहरी र मिडियाप्रति

हाम्रो घर म्याग्दी जिल्लामा हो ।

बुबा भारतीय सेनाबाट रिटायर भएपछि रूपन्देहीको टुठी पिपलमा जग्गा किनेर बस्नुभयो ।

अनि ५० सालतिर हामी देवदेह आएका हो । 

यहाँ बस्ती सबै अवस्थित नै अथात् लालपुर्जा सरकारले नदिएको तर नगरपालिका कर गर्ने गरेको छौँ ।

हामी सबैको  जग्गा यस्तै  छ ।

हामी ४ जनामध्ये दिदी बेलायत हुनुहुन्छ ।

म बेभ डिजाएर हुँ ।

मनोजपछि अर्की बहिनी छिन्  ।

मनोज हाम्रो सम्पर्कमा नआएको तीन वर्षभन्दा धेरै भयो ।

केही दिन पहिले यस्तै अनलाइनहरूमा मनोज प्रकाउ, हत्या  जस्ता समाचार आए ।

ती समाचारलाई भेरिफाई भएन, जसले गर्दा हामी अलमलमा परेका थियौँ ।

अर्को कुरा हामी राजनीतिक दल तथा अन्य ठूलो पहुँचमा मेरो परिवार छैन ।

तसर्थ हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन ।

मिडियामा मनोज पुन एक्लो छोरा, दुई तले घर, गुन्डा नाइके, आदि लेखेका छन् ।

मनोज एक्लो छोरा भए म दाइ कसरी तपाईको सामु हुन्छु ?

अर्को दुई तले घर कहाँ छ ?

तपाई देखिहाल्नुभयो । 

गुन्डा नाइके, मोस्ट वान्टेड सूची आदि  के  प्रमाण छन् ?
 

प्रहरीले शङ्काभन्दा पनि तथ्य केलाउनु पर्छ ।

मिडियाले एकतर्फ भन्दा पनि सत्य नजिक पुगेर लेख्नुपर्ने हो । तर हाम्रा समान्य कुरा कसले सुन्छ र ?

१. मनोज अपराधी भएको पुष्टि गर्नका लागि उनले फोन गरेका आवाज ल्याब पुर्याएको मिडियाले देखेका थिए र ? मनोज आवाज हो कि अरूको, खै ल्याबबाट के आयो रिपोर्ट ? सार्वजनिक भएन ।

२. अन्तर्राष्ट्रिय लेबलको अपराधी  भारतमा पक्राउ भनिन्छ । अनि देवदहमा प्रहरी इन्काउटर भन्दा पत्याउने आधार छैन ।

३. तीनवटा आरोप लागेको थियो, तिवारी, पौड्यल र गौचनको हत्या । तर,  गौचनको हत्यामा समिरले भन्नेले मनोजको हात छैन भनेको छ ।  नभएको घटना किन जोडिन्छ ? अरू पनि स्पष्ट आधार के–के हुन्, थाहा पाए हुने थियो । 

४.  फेक न्युजले अलमल पारेको  थियो । पहिला पक्राउ परेको व्यक्ति पछि होइन भनेर सच्याएका समाचार आए । । हामी अलमलमा परेका छौँ । यदि समाचार सत्य हो भने पुष्टि गर्न सक्नुपथ्र्यो ।

५. हाम्रो घरमा सम्पत्ति रोक्काका सूचना टाँस भएको थियो । मनोजको मात्रै सम्पत्ति हाइेन  । परिवार सम्पत्ति रोक्ने कानुनी आधार के छ ?

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ