केन्द्रीय संस्करण
विचार

‘युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो’ (भाग २)

person explore access_timeअसार १९, २०७४ chat_bubble_outline2
प्रदीप गिरी

रातोपाटी

राष्ट्रियताको बहसमा युग पाठकले अत्यन्त संवेदना र साहानुभूति साथ २५०–३०० वर्षमा राष्ट्रियताका नाममा सीमान्कृत बनाइएका समूहप्रति आफ्ना भावना व्यक्त गर्नुभएको छ । यसले के बताउँछ भने आज पनि नेपालमा राष्ट्रियताको कुरा, व्याख्या भइरहेको छ । राष्ट्रियताको यो विमर्श तात्विक रुपमा त्यहीँ छ, जसको प्रथम भाष्य दार्जिलिङमा निर्माण गरिएको थियो । जसका मुलकर्ता सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पासरमणी थिए ।


लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री हुँदा यसलाई चर्काएका थिए । देवकोटाले, कसैले हिन्दीमा बोल्न खोज्दा ए हिन्दीमा बोल्ने भनेर आफू अङ्ग्रेजीमा बोलेका थिए । जसलाई राजा महेन्द्रले सहर्ष स्विकारेका थिए । महेन्द्रले पुस १ गते बीपी कोइरालालाई अपदस्त गर्दा बीपीले राष्ट्रियतामाथि खलल पुर्यायो भनेका थिए, जुन राष्ट्रियता प्रकारान्तरले आजसम्म पनि कुनै न कुनै रूपमा चलिरहेको छ । 


उहाँले यसमा स्पष्ट भन्नुभएको छ, तर धेरै भन्नु भएको छैन । त्यसको के कारण होला भने आज पनि राजनीतिक नेतृत्वमा करिब करिब त्यही वर्ग, जाति लिङ्गका मान्छे हावी छन् र अहिले पनि महिला, दलित, मधेसी, जनजाति बहिष्कृत छन् । यद्यपि संसदमा प्रतिनिधित्व भएको त्यो राम्रो भएको छ । 


राष्ट्रियताको सन्दर्भमा प्रजातन्त्र र राजाबीचको लडाइँ बडो महत्वपूर्ण छ । तपाईंहरुलाई थाहानै छ, पुस १ गते राजा महेन्द्रले तानाशाही कायम गरेदेखि नेपालमा प्रजातन्त्र स्थापित हुनुपर्छ अथवा नेपालमा जनवादी शासन स्थापित हुनुपर्छ भनेर काङ्ग्रेस र कम्युनिस्टले लडाइँ सुरु गरे । त्यसपछि झण्डै तीस वर्ष लडाइँ रह्यो । यसका साँची हामी र हाम्रो पुस्ता हो । हामी जेल पनि गयौँ र निर्वासनमा पनि गयौँ । 


त्यसको अन्त्य अन्ततः कहाँ गएर भयो भने नेपाली जनआन्दोलनलाई निर्विवादित रूपले सबैभन्दा प्रतिभाशाली, सबैभन्दा प्रखर, सबैभन्दा दुःख पाएका बीपीले राजासँग घाँटी जोड्न पुगेर अन्त्य भयो र केको नाममा घाँटी जोडिन पुग्यो भन्दा ‘राष्ट्रिय एजेन्डा’ । हाल यसमा मैले सङ्केत मात्र गरेर छोडिदिन्छु र पछि समय भएमा यसमा आउने छु । किनकी यो विमर्श निकै महत्वपूर्ण छ । 

यो पनि पढ्नुहोस्

राष्ट्रवाद नेपालमा मात्र होइन विश्वमै अनर्थको विषय हो (भाग १)

तपाईंहरुलाई थाहा हुनुपर्छ, बीपी कोइरालाका विचारहरूमा आखिरी दिनहरूमा पूर्ण रूपमा परिवर्तन आएका थिए । प्रारम्भका दिनमा जनताको अधिकार पहिलो हुने, प्रजातन्त्र महत्वपूर्ण हुने र जनता नै राष्ट्रियताका एक मात्र स्रोत बताउने बीपी राजा भए पनि हुने, नभए पनि हुने तर राजा नभएकै बेस भन्दै राजामा राष्ट्रियताको आश्रय खोज्नुभयो । त्यो पनि कहिले ? नेपालमा पञ्चायती व्यवस्थाको कालो अवधिमा । 

राज्यले आफूलाई समावेशी सहभागितामूलक बनाउनु्पर्छ । त्यो समावेशी र सहभागितामूलक बनाउनका लागि राज्यले सर्वप्रथम विकासको यो आयातित, चोरिएको र देशका उपर लादिएको जुन धारणा छ, त्यो धारणालाई चुनौती दिँदै अघि बढ्नु्पर्छ ।


यहीँ नेपालमा विकास गर्ने कुराको चर्चा आउँछ । म युग पाठकलाई बधाई दिन चाहन्छु किनभने उहाँले यो विकासको पहेलीबारे आफ्नो पुस्तकमा चर्चा गर्नु भएको छ । देवेन्द्रराज पाण्डेजी झण्डै २५ वर्षअघि विदेशी अनुदानले हामीलाई कहीँ पु¥याउँदैन, हामीले विकासको तेस्रो बाटो खाज्नुपर्छ भनेर लाग्नुभएको हो । तेस्रो बाटो मैले किनभने भने सामान्यता दुईवटा बाटाको कुरा गरिन्छ । सामान्यतः एउटा कम्युनिस्ट बाटो र अर्को तथाकथित विकासको डेमोक्रेटिक बाटो । त्यसलाई पाण्डेजीले बारम्बार बहसको केन्द्रमा ल्याउनुभयो । 


पाठकजीले आफ्नो पुस्तकमा नेपालमा समानान्तर विचार राख्ने विद्रोही तीन चिन्तक महेशचन्द्र रेग्मी, देवेन्द्रराज पाण्डे र कमलप्रकाश मल्लको उल्लेख गर्नु भएको छ । त्यसमै बुद्धिजीवी को हो भन्ने विषयमा अत्यन्त राम्रो काम देखिन्छ । मूलतः विकास के हो ? राष्ट्रियता के हो ? यी दुईलाई बुझ्ने र बुझाउन खोज्ने बुद्धिजीवी भनेका कस्ता हुन् ? भन्ने विषयमा पुस्तक केन्द्रित छ । 


केहीबेर अब म विकासको कुरा गर्न चाहन्छु । विकासका बारेमा पाठकले एतिहासिक पृष्ठभूमि प्रदान गर्नुभएको छ । दोस्रो विश्वयुद्धपछि कसरी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ह्यारी ट्रयुमनले आफ्नो उद्घाटन भाषणमा अमेरिका अविकसित मुलुकहरुका साथ सहकार्य गरेर उनीहरुलाई विकसित बनाउन चाहन्छ भन्नेतर्फ उहाँले सङ्केत गर्नुभएको छ र त्यो नै यस्तो भाषण थियो, जहाँबाट पहिलो पटक समाजशास्त्रमा यो मान्यता बोध कि केही मुलुक विकसित छन् र केही मुलुक अविकसित छन् । 


त्यसपछि विकसित मुलुक अविकसित मुलुकहरुलाई विकसित गराउन अहोरात्र लागिरहेका छन् । तर समस्या के छ भने यी विकसित मुलुकले अविकसितलाई साँच्चै नै विकसित गराए भने विकसितको काम धन्धा कसरी चल्छ ? त्यसैले जो अविकास अन्त्य गर्न आएको हो उसको भित्री स्वार्थ भनेकै अविकास रही रहोस भन्ने हो । यो अत्यन्त महत्वपूर्ण कुरा हो । 


विकास र राष्ट्रवादको अवधारणा कतिलाई भिन्न भिन्न लाग्न सक्छ तर यो भिन्न होइन । तपाईं भित्र जति उग्र र चर्को महत्वकाङ्क्षी राष्ट्रवाद हुन्छ त्यति नै महत्वकाङ्क्षी विकासको अवधारणा पनि हुन्छ । जस्तो कि स्विजरल्यान्ड बन्नु्पर्नेछ । म भन्छु किन स्विजरल्यान्ड बन्नु पर्यो ? नेपाल नेपाल नै बने भैहाल्यो नि । अर्कोलाई देखेर आफू बन्ने इच्छा, भरसक स्विजरल्यान्ड बन्ने, नभए हङ्कङ बन्ने, केही नभए बैङ्कक बन्ने । आफू चाहिँ कहिलै नबन्ने । आफ्नो स्वत्व कहिलै नखोज्ने । 


म को हुँ भनेर नसोध्ने यस्तो खाले महत्वकाङ्क्षा र राष्ट्रवादको जन्म पुँजीवादको जन्मसँगै भएको हो । तपाईहरुले भन्नु होला कसरी म तपाईंलाई बताउन चाहन्छु– यसबारेमा धेरै विद्वानहरुले आफ्नो मत व्यक्त गरेका छन् । यसलाई विद्ववानहरुले व्यक्ति भन्ने व्यक्ति र राष्ट्र भन्ने राष्ट्र उत्पन्न भएको परिस्थिति भनेका छन् । पहिले समाजमा ‘इन्डिभिजुआलिजम’ थिएन । 


पहिले जात हुन्थ्यो, जस्तै नकर्मी, डकर्मी, सिकर्मी तल आएर सुडी, तेली, हलुवाई । हलुवाईको छोरालाई ठूलो भएर म को हुँ भन्नु पर्दैन्थ्यो उसलाई पहिले नै थाहा हुन्थ्यो र आफ्नो जाति परम्परा अनुसारको काम गरिरहन्थ्यो । तर पुँजीवादले रोजगारीको सृजना गरेसँगै जसले जे काम गरे पनि भयो अनि बल्ल ‘इन्डिभिजुआलिजम’को जन्म भयो । 


‘इन्डिभिजुआलिजम’को जन्म पुँजीवादको जन्मसाथ भयो । त्यसपछि म जात, परिवार होइन म व्यक्ति हुँ भन्ने एउटा आधुनिक अवधारणा आयो । चीनमा त के थियो भने, माइलाले अपराध गरे साइलाले अपराधको सजाय भुक्तान गरे पनि हुन्थ्यो । त्यतिबेला व्यक्तिभन्दा परिवार ठूलो थियो । परिवारभन्दा जाति ठूलो थियो । जातिभन्दा समुदाय ठूलो थियो । त्यो पुँजीवादको विकाससँगै अन्त्य भयो । 

जबसम्म तपाईं विकासको तथाकथित मन्डीमा पुग्न चाहनु हुन्छ, अर्थतन्त्रको वृद्धि बढाउन चाहनु हुन्छ र जबसम्म तपाईंलाई स्विजरल्यान्ड नभए मलेसिया हुने महत्वकाङ्क्षा रहिरहन्छ, त्यस दिनसम्म तपाईं को हो र तपाईंको समाज के हो भन्ने बुझ्न जान्न र अघि बढ्न दिँदैन ।


त्यतिबेला जसरी एक व्यक्ति एक भोट नै प्रजातन्त्र हो भनियो, त्यसैबेला राष्ट्रको एकाइ कल्पना गरियो । राष्ट्रको एकाइ कल्पनासाथ के जसरी व्यक्तिमा स्वार्थ, हिंसा, आत्मकेन्द्रिकता, पराइपनको बोध खडा हुन्छ राष्ट्रमा पनि त्यही हुन्छ । यसको सुरुवात युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो । 


नेपालको सन्दर्भमा बीपीले सङ्केत गर्न खोज्नु भएको दुईवटा उर्वर सभ्यतालाई थिचो मिचो गरेर वर्तमान राज्य बन्यो । अब यो राज्यले आफूलाई समावेशी सहभागितामूलक बनाउनुपर्छ । त्यो समावेशी र सहभागितामूलक बनाउनका लागि राज्यले सर्वप्रथम विकासको यो आयातित, चोरिएको र देशका उपर लादिएको जुन धारणा छ, त्यो लादिएको धारणालाई चुनौती दिँदै अघि बढ्नुपर्छ । 


जबसम्म तपाईं विकासको तथाकथित मन्डीमा पुग्न चाहनु हुन्छ, अर्थतन्त्रको वृद्धि बढाउन चाहनु हुन्छ र जबसम्म तपाईंलाई स्विजरल्यान्ड नभए मलेसिया हुने महत्वकाङ्क्षा रहिरहन्छ, त्यस दिनसम्म तपार्इं को हो र तपाईंको समाज के हो भन्ने बुझ्न जान्न र अघि बढ्न दिँदैन । 


म पाठकजीको विमर्शलाई अगाडि बढाउँदै के भन्न चाहन्छु भने एकातिर राष्ट्रियताको नकारात्मक हिंसामूलक अज्ञान विमर्शको कुरा स्पष्ट पार्नुपर्नेछ, अर्कोतर्फ विकासका नाममा विनासबाट रोक्न हामीले के गर्न सक्छौँ, नयाँ अवधारणाको हामीलाई खाँचो परेको छ । 


यो पुस्तकले समग्रमा मलाई के छाप परेको छ भने अलिकति पुस्तकलाई पाठकजीले र खासगरी प्रकाशकले यसको प्रचार प्रसारमा बल पुर्याए भने यसले नेपालमा साँचो अर्थमा नौलो विमर्श सुरु गर्न सक्छ । पाठकजीले भन्नु भएको पनि छ, लेखकले लेखेर मात्र हुँदैन, नेताले बोलेर मात्र हुँदैन । हामीले निकै धेरै काम गर्नु बाँकी नै छ । कर्मबाट चिन्तन निस्कन्छ । त्यसैले यो पुस्तक पाठकहरुले निकै मिहिनेतका साथ पढ्नुपर्छ । 


यति कुरा भनिसक्दा अब अगाडिको बाटो के त ? राष्ट्रियताको वर्तमान विमर्श एकदमै राष्ट्रघाती छ । ठीक छ एउटा थेसिस हो । विकासको नाममा हामी विकासतर्फ होइन विनासतर्फ गइरहेका छौँ । यो जति गरे पनि सभ्यताको स्रोत के थियो ? जुन सभ्यतालाई नष्ट गरेर लगभग हत्या गरेर राज्य खडा भयो त्यो केमा आधारित थियो । त्यो भूगोलमा थियो ? थिएन । पुरानो जमानाको मैथिल भूमि अहिले ठ्याक्कै दुई भागमा बाडिएको छ । अलिकति विहारमा पर्छ, अलिकति नेपालमा पर्छ । तर मैथिल समाजको सत्व केमा छ त ? 


त्यो सिमाना भोलि बन्द नै भयो भने पनि मैथिल समाजको जुन आधारभूत एकता छ, अपनत्व छ समाप्त हुन्छ ? मतलब कुन चीजले समाप्त हुन्छ ? सभ्यतालाई जोगाउने कुरा के हो ? जस्तै इजराइलसँग राष्ट्र थिएन । यहुदीहरुसँग आफ्नो देश थिएन । देश नहुँदा कत्रो पीडा खाए । त्यो राज्य पीडाका बीच जन्मियो र आज अरूलाई पीडा दिँदैछ । त्यसैले गम्भीर रुपमा के ध्यान दिनुपर्छ भने सभ्यताको आदिम तत्व के हो ? सभ्यताको आदिम तत्व बाहिर होइन, भित्र हुन्छ । 


हाम्रो सारा शक्ति, ऊर्जा बाहिरबाट आउँदैन ‘टु ह्याब’बाट होइन ‘टु बी’बाट आउँछ । त्यस धरातलमा टेकेर विकासको आधार र राष्ट्रियताको विकल्पको कुरा हुन्छ । बदलाको भावना राख्दा एउटाले आँखा फुटालिदियो तपाईंले पनि आँखा फुटाल्न लाग्नुभयो भने सबै अन्धा हुन्छन् । जबसम्म तपाईं ‘स्प्रिचुअल भ्यालुज’ अर्थात जो मान्छे पैसा, घर, परिवार सबै त्यागेर कुनै उद्देश्यका लागि लाग्छ, उसको कामलाई ‘स्प्रिचुअल’ भनेको, लाग्नु हुन्न त्यो राष्ट्रमा लड्ने ताकत, विकासको आधुनिक अवधारणासँग लड्ने ताकत मिल्दैन । 


यसैक्रममा उहाँले लक्ष्मीप्रसाद देवकोटाको राष्ट्रवादबारे निकै आलोचनात्मक चेत राख्नु भएको छ तर बीपीको राष्ट्रवादबारे भन्न डराउनु भएको छ । हुन त महेन्द्रको राष्ट्रवादमाथि गरिएको आलोचनाले नै सबै राजनीतिक दलहरुलाई पुग्छ । मेरो कुरा के हो भने नेपालको गोर्खाली राष्ट्रिय राज्यको जन्म नेवार सभ्यता र मैथील सभ्यताको चिहानमा, थिचोमिचोमा, कण्ठ थिचेर भएको हो । त्यो मल्ल कालीन राजाको इतिहाससम्म हेरे पुग्छ । 


गिरीले युग पाठकको पुस्तक ‘माङ्गेना : नेपाल मन्थन’ अनावरणका क्रममा १७ गते दिएको मन्तव्य । 
 

कमेन्ट

  1. Dec. 21, 2018, 3:04 p.m. Rakesh Pariyar
    Great
  2.  0 Reply
  3. Dec. 22, 2017, 8:42 p.m. MR. MANOJ KUMAR ACHARYA
    आजको समयमा त्यो पुस्तक जस्मा फूट नोट र बिबलियोग्राफी हुँदैन त्यसलाई मात्र आख्यान मानिन्छ । त्यसैले त्यस्ता पुस्तक (ट्रम्पले डि भि बाला लाई रड्डिको टोकारीमा) फल्न लायक भनेका छन । आजको समयमा राष्ट्रियता वा अनर्थको अचम्मको बिसय भएको भए दुनियालाई चकित पार्दै ट्रम्प बिजयि हुने थिएनन । इशा पुर्व दुइशय वर्ष पहिले आर्य सन्स्कृतिका प्रखर योध्दा तथा राष्ट्रियताको भावनाले ओत्- प्रोत भएर नै आचार्य चाण्क्यले एक भारतको सपना देखेर नै राजनीतिको मर्मज्ञ बनी विश्व बिजेता महान सम्राट सिकन्दरलाई फर्कन बाध्य पारेको सबैलाई विदितै छ । ट्रम्पलाई गलत( मात्र आजलाई) भन्नेहरुको सन्ख्या धेरै हुन सक्छन तर चाण्क्यलाई गलत भन्ने नि ? रास्टृयता प्रती उदासिन ब्यक्ती , नागरिक, त्यो सामान्य शत्रु हो,अझ शाशक वा सम्राट छ भने त्यस्तो शत्रुको वन्श नै बिनास गर्नु पर्छ ( अरथात राजनितिमा शत्रुको वन्श नै बिनाश गर्न पाइन्छ्) भन्ने सिध्दान्तका प्रतिपादक आचार्य चाण्क्य नै हुन । त्यसले उनले त्यो समयमा नेपाल नरेशको सहायतले मगधका ऐयाशी सम्राट धर्मा नन्दको वन्ष नै समाप्त गरी चन्द्र गुप्तलाई राजा बनाएको इतिहास जिवितै छ । मिथिला राज्य थियो भन्ने प्रमाणिक दस्तवेज अहिले सम्म मैले भेटेको छैन न त कुनै शिला लेख नै । मैथिल भाषा र सन्स्कृती जो आज सम्म नेपाल र भारतको बिभिन्न ठाउमा प्रचलित रहेको छ । आजको समयमा एउट भाषा र सन्स्कृतिको अर्को भाषा र सन्स्कृती सँग सङ्गर्ष हुनु हुँदैन र छैन पनि । हाम्रो सन्स्कृतिमा कुनै भेद छैन र प्रचलित सबै सन्स्कृतीहरु पुर्ण गौरवशाली छन ।जसरि अलग-अलग खण्डको योगले नै एउटा वृत पुरा हुन्छ त्यसैगरी भिन्न -भिन्न भाषा र सन्स्कृतिको योगले एउटा राष्ट्र समुन्नत हुन्छ । भाषाको भिन्नाताले, सन्स्कृतिको भिन्नाताले हाम्रो आफ्नो मौलिक स्वन्त्रतको पहिचनमा आच आउनु हुँदैन । सवैको अ-आफ्नो मार्ग अलग -अलग हुन सक्छ । यो मान्नु गलत हुने छ कि मेरो मार्ग ठीक छ र जो कोही आफ्नो मार्गमा छैन्, त्यो गलत । रामायणमा उल्लेख भएको मिथिला राज्यको राजधानी अहिलेको नेपालको जनकपुर नै हो भन्ने प्रमाण पनि बलियो छैन र रावणको लन्का पनि कसैले अहिलेको श्रीलन्का , त कसैले थाइल्यान्ड , त कसैले मलेसिया , त कसैले कबोडियालाई मानेकोले बिबादित नै देखिन्छ । रामायण पुस्तकमा पनि बिबलियो ग्राफी र फुट नोट छैन । माहाभारत पुस्तकमा उल्लेख भएको बिराट राजाको राजधानी बिराटनगर त्यो पनि नेपालको बिराटनगर हो भन्न सकिदैन किनकी राणाकालमा गोगराहाको नाम परिवर्तन गरी बिराट्नगर नामा करण गरिएको हो । जहाँ सम्म आस्थाको कुरा छ त्यो त, "मानो तो गङ्गा मा न मानो तो बहता पानी " !
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...