शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान ‘मोस्ट वान्टेड’, श्रीमती माननीय !

बुधबार, १६ फागुन २०७४, १४ : ००
बुधबार, १६ फागुन २०७४

बसन्त गिरी
 

कपिलवस्तु– श्रीमान प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा ।

श्रीमती चाहिँ प्रदेशकी माननीय ।

झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ ।

प्रहरी पनि अचम्ममा छ ।

‘मोस्ट वान्टेड’ अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको छ ।

हो, हामी कुरा गरिरहेका छौँ, एमालेले प्रदेश ५ मा समानुपातिकतर्फबाट संसद बनाएको फौजिय नसिमको ।

पहिला फौजिय नसिम सांसद भइन् कसरी ? यो जानौँ ।

उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता होइनन् ।

‘मोस्ट वान्टेड’ पतिकै चाहना र राजनीतिक सम्पर्कमा उनले स्थानीय तहमा पनि टिकट पाएकी थिइन् ।

फौजिय नसिमले स्थानीय तहको निर्वाचना कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा एमालेबाट टिकट पाइन् । तर, चुनाव हारिन् ।

पत्नी स्थानीय तहको निर्वाचनमा पराजयपछि ‘मोस्ट वान्टेड’ पतिले फेरि अर्को राजनीतिक गोटी चाले ।

एमालेका जिल्ला नेताहरूसँग संवाद बढाए ।

त्यसै स्वरूप फौजिय नसिमको नाम प्रदेश सांसदका लागि सिफारिस भयो ।

उनी प्रदेश समानुपातिकमा मुस्लिम महिला कोटामा १ नम्बरमा सिफारिस भएकी थिइन् ।

सोहीअनुसार श्रीमती फौजिया प्रदेश सभासद बनिन् र शपथ पनि लिइन् ।

एमालेका एक जिल्ला नेताले यस्तो नाम सिफारिसमा ‘आर्थिक’ विषय पनि जोडिएको बताउँछन् ।

अब चाहिँ यी माननीयका ‘मोस्ट वान्टेड’ पतिको कथा जानौँ ।

‘मोस्ट वान्टेड’ नसिम खाँ को हुन् ?
२०६१ सालमा माओवादीविरुद्ध प्रतिकार समितिको अगुवाइ गरेका नसिम खाँ ६ जनाको हत्याको मुख्य योजनाकारका रूपमा  फरार अभियुक्त हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपरा बस्ने नसिम खाँ (बादशाह) र उनका केही साथी तराई मुक्ति मोर्चाको नाममा भूमिगत भए ।

सशस्त्र समूह गठन गरेका पूर्वमाओवादी कार्यकर्ताको उक्त समूह पटक–पटक विभाजित भयो । एक वर्षपछि कौटिल्य शर्माको संयोजकत्वमा अर्को सशस्त्र समूह बन्यो ।

खाँ संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको पश्चिम सैन्य कमान्डर बने । उनीसँगै माओवादी द्वन्द्वमा लागेका श्रवण नाउ उनका विशेष कार्यकर्ता भई सशस्त्र गतिविधिमा लागे ।

भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दा उनले चन्दा आतङ्क, हतियार बेचविखन, अपहरण तथा ‘कन्ट्र्याक किलर’ हत्या गर्नेसम्मका काम थाले ।

नसिम कसरी भए ‘मोस्ट वान्टेड’ ?
जनतान्त्रिक तराई मुक्ति मोर्चा पश्चिम सैन्य कमान्ड नसिमले माओवादी जिल्ला सदस्य प्र्रेम परियार (भुवन) को २०६३ साल फागुनमा तिर्तिखीमा गोली हानी हत्या गरेपछि उनी जिल्लामा एकाएक चर्चामा आएका थिए ।

लगत्तै उनीहरूको समूहले २०६४ मङ्सिर २५ गते जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरन्जन पौडेलको अपहरण गरे ।

करिब ४ लाख फिरौती लिएर उनीहरूले पौडेललाई ८ दिनपछि मुक्त गरेका थिए ।

चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम खाँ र श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेका थिए ।

नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमान माथि आक्रमण गर्दा स्थानीय सर्वसाधारण अकाली कोहारलाई गोली लाग्यो र उनको मृत्यु भयो ।

लगत्तै स्थानीय एमाओवादी अवध राज्यका युवा नेता राजेन्द्र तिवारीलाई उनकै योजनामा २०६७ वैशाख १३ गते पिपरा गाविसमै घेरा हाली हत्या गरे ।

हत्याको शृङ्खला बढे पनि पक्राउ नपरेका उनको समूहलाई राजेन्द्र तिवारीको हत्या प्रकरणपछि प्रहरीलाई पक्राउ गर्न ठूलो दबाब आयो ।

तत्कालीन प्रहरी प्रमुख शरद चन्दले जेलबाट भागेका श्रवण मुराउ र उनको खोजी तीव्र पारे ।

भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिए पनि नसिम भने बच्न सफल भए ।

नसिमको समूहले पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम् क्रसरको मजदुर ज्ञानबहादुर सुनारलाई २०६७ असार २३ गते गोली हानी हत्या गरे ।

क्रसर मालिकले चन्दा नदिएको भन्दै उनको समूहले रूपन्देही पर्रोहाका सुनारको हत्या गरिएको विज्ञप्ती नसिमले खुलाए । लगत्तै उनी पुनः भारतको चाकरचौडा क्षेत्रमा बसेर आपराधिक गतिविधि सञ्चालन गरिरहेका थिए ।

कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याको ६ वटा मुद्दा र एउटा डाकाँ मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ ।

माथिका घटना अनुसन्धान गरेको प्रहरीको हरेक प्रतिवेदनमा नसिम खाँको संलग्नता र खाँ नै हत्या योजनाकार भएको प्रहरीको मिसिलमा उल्लेख छ ।

२०६३ चैतमै कपिलवस्तु जिल्ला अदालतले नसिमलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

उनका सहयोगी श्रवण मुराउलाई १ सय १७ वर्षको कैद सजाय तोकी हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

सर्वाधिक खोजीका उनी चाकरचौडा सीमा पारि भारत बजारमा बस्दै अपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् ।

हत्या, फिरौती, अपहरण, लुटपाट, अवैध हतियार कारोबार र चन्दा आतङ्कलगायतका आपराधिक गतिविधिमा ‘मोस्ट वान्टेड’ नसिम खाँनको नाम जोडिएको छ ।

बालक अपरहण र हत्याको आरोप
गत फागुन ४ मा अपहरण गरी ६ गते हत्या गरिएका बालक अयमानका परिवारले घटनामा संलग्न भएका ५ जना विरुद्ध जाहेरी दिए ।

त्यसमा ‘मोस्ट वान्टेड’ नसिम खाँनको नाम पनि थियो ।

यसले नसिम खाँनलाई मात्र होइन उनकी पत्नी एवम् प्रदेश सांसद फौजिय नसिमलाई पनि चर्चामा ल्याएको छ ।

फौजिय नसिम पहिला ‘मोस्ट वान्टेड’ नसिम खाँनको पत्नीमा सीमित थिइन् ।

अब उनी जनप्रतिनिधि भएकी छिन् ।

त्यसैले यहाँ ‘मोस्ट वान्टेड’ नसिम खाँको नाम आउनेवित्तिकै फौजिय नसिमको नाम पनि चर्चामा आउन थालेको छ ।

पीडित परिवारले नसिम खाँविरुद्ध अपहरण र हत्याको आरोप लगाएको छ ।

नसिम खाँसहित सगिर अहमद, समसिर अहमद, रियाज उर्फ गोले मुसलमान र जमिल मुसलमानविरुद्ध मृतकका पिता फत्ते मोहम्मदले जाहेरी दिएका हुन् ।

मायादेवी गाउँपालिका वडा नं.४ का वडा अध्यक्षसमेत रहेका फत्तेले नसिम नै अपहरण र हत्याको मुख्य योजनाकार भएको बताउँछन् ।

किन गरियो बालक अपहरण र हत्या
 

नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीका नसिम पिपराबासी हुन् ।

उनका परिवार त्यही बसोबास गर्दछ ।

विगतदेखि नै नसिमले भारतमा रहेर पनि उक्त गाविसमा आफ्नो शक्ति देखाउँदै आएका छन् ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा उनकी श्रीमती फौजिया नसिमलाई गाउँपालिका अध्यक्षमा र भाई जमिललाई वडा अध्यक्षमा हराउन अहम् भूमिका खेलेको भन्दै नसिम र फत्तेबीच तिक्तता बढेको थियो ।

फत्ते वडा अध्यक्ष भएदेखि नै नसिम खाँसँग विवाद बढेको थियो ।

विगतका वर्षहरूमा गाविसको बजेट नसिमकै निर्देशनमा हुने गरेको भए पनि जनप्रतिनिधिका रूपमा फत्ते मोहम्मद आएपछि उनीहरू बीच द्वन्द्व सिजर्ना भयोे ।

विभिन्न पोखरीको आम्दानी दिनुपर्ने, विकास निर्माणको उपभोक्ता समिति तथा योजना आफ्नै निर्देशनअनुसार कार्यान्वयन गर्नुपर्ने, आफूले भनेका व्यक्तिहरूको नागरिकता सिफारिस गर्नुपर्ने दबाब वडा अध्यक्षलाई नसिमले दिँदै आएको स्थानीय मोबिन अहमद बताउँछन् ।

आफूले नसिमको कुरा नमानेपछि आफ्नो ६ वर्षीय छोरालाई अपहरण गरी भारत लगेको र हत्या गरिदिएको फत्तेले प्रहरीलाई दिएको किटानी जाहेरीमा खुलाएका छन् ।

किन पक्राउ गरिँदैन नसिमलाई ?
अपहरणलगत्तै प्रहरीले सर्च अभियान तथा अन्य गतिविधि गरे पनि बालक हत्यापश्चात प्रहरीले घटनामा कुनै चासो देखाएको छैन ।

किटानी जाहेरीपश्चात आरोपी सबै भारत पसेका छन् भने थप अनुसन्धानमा पनि प्रहरीको फितलो उपस्थिति पाइन्छ ।

परिवारका अनुसार जाहेरी फिर्ता लिन नसिम खाँसहितको आपराधिक समूहले पटक पटक धम्क्याइरहेको छ ।

मृतक बालकका बाबु फत्तेले मुद्दा फिर्ता नलिए आफ्नो पनि हत्या गर्ने धम्की नसिमले दिएको आरोप लगाए ।

‘मोस्ट वान्टेड’ सूचीका नसिमलाई पक्राउ गर्न प्रहरीले अहिलेसम्म कुनै चासो देखाएको छैन । जसका कारण पटक–पटक उनी कपिलवस्तुको सुरक्षामा चुनौती र प्रहरीको टाउको दुखाइ बन्ने गरेका छन् ।

भूमिगत अवस्थादेखि नै नसिम एमालेसँग नजिक मानिन्छन् ।

कतिपय प्रहरी अधिकारीहरू ‘मोस्ट वान्टेड’ नसिमको राजनीतिक सम्बन्धलाई लिएर अचम्म मान्छन् ।

एक प्रहरी अधिकारीले बालक अपहरण र हत्याको घटनामा समेत राजनीतिक दबाब महसुस गरेको बताए ।

यसले घटनामा प्रहरी अनुसन्धान तथा कारवाहीमा सुस्त बनेको छ ।

फरार अवस्थामै नसिमले भारत बस्दै एमालेको सदस्यता लिएका थिए ।

‘कतार, गोवा र विश्वका विभिन्न मुलुकबाट अपराधी पक्राउ गरी ल्याउन सक्ने प्रहरीले सिमानाको २ सय मिटर टाढा बसेको अपराधीलाई किन पक्राउ गर्न सक्दैन’, स्थानीय याकुब मुसलमान भन्छन् ।

तर प्रहरीलाई घटनाको अनुसन्धानमा कुनै बाधा पुग्ने र मुद्दा प्रभावित पार्ने काम आफूहरूले नगरेको एमाले अध्यक्ष झविलाल पोख्रेल बताउँछन् । ‘नसिम साधारण सदस्य हुन्, तर अपराधसँग हाम्रो सरोकार छैन, दोषी छन् भने कारवाही हुनुपर्छ’, पोख्रेलले भने ।

जिल्ला प्रहरी उपरीक्षक भोजजङ्ग शाहले आरोपी सबै फरार भएको र खोजी कार्य जारी रहेको बताउँछन् । ‘नसिम विभिन्न घटनामा फरार आरोपी हुन्, उनको खोजी अझ तीव्र पारेका छौँ, अन्य आरोपीको खोजी भइरहेको छ’, उनले भने ।

घटनाको अनुसन्धान भए पनि उपलब्धि भने न्यून रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्की बताउँछन् ।

एमालेका मुख्यमन्त्रीको परीक्षा
पाँच नम्बरमा एमाले नेता शङ्कर पोखरेल मुख्यमन्त्री छन् ।

उनकै पार्टीका कार्यकर्ता ‘मोस्ट वान्टेड’ सूचीमा छन् र ती कार्यकर्ताकी पत्नी प्रदेश सांसद ।

अब मुख्यमन्त्रीले ‘मोस्ट वान्टेड’ सूचीमा रहेका आफ्नो पार्टीका कार्यकर्तालाई कानुनी कठघारामा उभ्याउलान् ?

कपिलवस्तुमा धेरैले यो प्रश्न उठाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप