बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेजनलाई ७ प्रश्न

सोमबार, १९ असार २०७४, १५ : २०
सोमबार, १९ असार २०७४
  • नरेन्द्र चुदाली 

लोकतन्त्रमा दलीय प्रतिस्पर्धालाई सुन्दर र अपरिहार्य तथ्यको रूपमा लिइन्छ । दलहरूले आफ्ना सबल पक्ष र प्रतिस्पर्धी दलका कमजोर पक्षलाई जनतामाझ देखाएर नै आफ्नो पक्षमा जनमत बटुल्नुलाई अन्यथा लिनु उपयुक्त हुँदैन । नेपाले लामो सङ्घर्ष र बलिदानीपछि प्राप्त गरेका जनअधिकारको रक्षार्थ संविधान कार्यान्वन र समृद्धिको यात्रामा अगाडि बढिरहेको छ । संविधान कार्यान्वयनका तत्कालीन प्रमुख मुद्दा  तीन तहका निर्वाचन सम्पन्न गर्नु नै हुन् । जसमध्ये अहिले स्थानीय तह निर्वाचन विभिन्न चरणमा सम्पन्न हुने क्रममा छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि देशको नजर अहिले नतिजामा छ ।


स्थानीय निर्वाचनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खासगरी माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन सरकार र चुनावी तालमेलका विषयमा निकै आक्रामक बने । त्यसो त विषक्षीलाई मर्महात हुने गरी अभिव्याक्ति दिएर मास तताउन खप्पिस ओली यो स्थानीय तहको निर्वाचनमा विषक्षीहरुप्रति अलि बढी नै आक्रामक रूपमा प्रस्तुत भए । लोकतन्त्रमा  वाक स्वतन्त्रता सुरक्षित हुन्छ । यसमा दुई  मत भएन ।

तर केपी शर्मा ओलीले सत्ता घटकलाई जुन आरोप लगाउनुभयो, त्यसको औचित्य पुष्टि हुनु जरुरी हुन्छ । किनभने ओली राष्ट्रिय स्तरको नेता भएकाले उहाँले बोल्ने हरेक अभिव्याक्ति न्यायोचित हुनुपर्छ । कार्याकर्तालाई उत्साहित पार्नकै लागि एउटा राष्ट्रिय स्तरको नेताले बिटबाहिर गएर बोल्नुपक्कै पनि राम्रो होइन् । तर ओलीका केही बोलीहरू कमजोर धरातलमा रहे । ओलीले सत्ता गठबन्धन र चुनावी तालमेलका सन्दर्भमा उठाएका प्रश्नहरूमा केही प्रतिप्रश्नहरू निम्न छन् : 


१. नेकपा एमालेले  विषेशगरी माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले गरेको चुनावी तालमेलका विषयमा धेरै टीका टिप्पणी गर्यो । नेकपा एमालेलाई यो प्रश्न– चुनावमा तालमेलहरु कुन देशमा हुँदैनन् ? विश्वका ठूला लोकतान्त्रिक देशदेखि छिमेकी भारतमा समेत विभिन्न गठबन्धन बनाएर चुनाव लडिन्छ । यसलाई अन्यथा लिन आवस्यक छैन । नेपाली काङ्ग्रेस र माओवादी केन्द्र आपसी समझदारीमा चुनावी रणनीति बनाउँदा तपार्इंहरुलाई किन आपत्ति ? तपार्इंहरुले पनि चुनावी तालमेल गर्न कैयौँ प्रयास गर्नुभयो । राप्रपा नेपाल,  फोरम र कतिपय ठाउँमा माओवादी केन्द्रसँगै चुनावी तालमेल भएका छन् । यसलाई चाहिँ के भन्ने ? 

२. तपाईंहरुले उठाएको अर्को सवाल हो  माओवादीले हिजो टाउकाको मूल्य तोक्नेसँग चुनावी तालमेल गर्यो भन्ने । प्रमुख शक्तिहरु विगतका तीता  इतिहासलाई बिर्सेर देशमा परिवर्तन र समृद्धिका लागि सहकार्य गरेर अगाडि बढेको तपाईंहरुले किन हेक्का राख्नु भएन । तिनै सहमति र सहकार्यबाट नै हामी आज यो स्थितिसम्म आएका छौँ । अब पनि विगतका घाउहरु कोट्याएर उछितो काट्न तपाईंहरुलाई कुन नैतिकताले दियो ?

३. एजेन्डा नमिल्ने काङ्ग्रेस माओवादी गठबन्धन अप्राकृतिक भयो भनेर एमालेले भन्यो । तपाईंहरुलाई प्रश्न अहिले तपाईंहरु कुन एजेन्डामा हुनुहुन्छ ? एजेन्डा प्रमुख सबै पार्टीको समृद्ध गणतान्त्रिक नेपाल होइन र ? अब तपाईंहरुले यति बुझ्नुहोस्, प्रमुख शक्तिका एजेन्डा सबैका एउटै छन् । मात्र कसले कुन तरिकाले काम गर्छ भन्ने मात्र हो । अब एजेन्डा होइन एक्सनका कुरा गर्नुहोस् । बरु तपाईंहरुले कुन एजेन्डाका आधारमा राप्रपासँग तालमेल गर्नुभयो । यसको उत्तर दिनुहोस् ? 

४. तपाईंहरुले रोल्पा रुकुममा माओवादीले अधिकांश स्थानीय तह जित्दा रोल्पा रुकुममा लोकतन्त्र आएकै छैन भन्नुभयो । अनि तपाईंहरुले धनकुटामा सम्पूर्ण स्थानीय तह  जित्दा अन्य पार्टीले धनकुटामा लोकतन्त्र आएकै छैन् भन्ने ? जनमतको कदर गर्न सिक्नुहोस् । पहिलो संविधानसभा चुनावमा भारी मत आउँदा अन्य पार्टीलाई हरुवा चरुवा भन्ने र दोस्रो संविधान सभा चुनावमा हार्दा धाँधली भयो भनेर बहिष्कारको चेतावनी दिएर लोकतन्त्रमा कच्चा सावित भएको माओवादी अहिले अधिकांश ठाउँमा हार्दा पनि जनताको मतको सम्मान गर्नुपर्छ भनिरहेको छ । निर्वाचन र लोकतन्त्रप्रति माओवादीको  प्रतिबद्धतालाई तपार्इंहरुले सम्मान गर्नु पर्दैन ?

५. तपाईंले बारम्बार समृद्धिका कुरा गर्नुहुन्छ । काङ्ग्रेस माओवादी गठबन्धन सरकारले लोडसेडिङको अन्त्य गर्यो । आर्थिक वृद्धिदर करिब ७ अङ्कले हासिल भयो । यो विश्वका धनी देशले हासिल गरेको हाराहारीमा छ । आखिर र माओवादी र काङ्ग्रेसको मात्रै थिएन । समग्र देशको थियो । तर तपाईं जस्तो शीर्ष नेताबाट उक्त कुराको खुलेर प्रसंशा गर्ने संस्कारको विकास हुनुपर्नेमा संसदमा जुँगाा मुसारेर उक्त उपलब्धिको धज्जी उढाउनु भयो । के यो राजनीतिक संस्कार हो ?

६.  कुनै बेला प्रचण्डका भाषण र अभिव्याक्तिहरु उत्तेजित हुने गर्थे र कार्यकर्ताहरुमा पनि त्यसको प्रभाव परेको थियो । सो समयमा तपाईंले माओवादीलाई गुरिल्लाको संज्ञा दिनुहुन्थ्यो । अहिले आफ्ना भाषण र अभिव्याक्ति कस्ता छन् ? मूल्याङ्कन गर्नुभएको छ ?

७. नाकाबन्दीका बेला तपाईंले लिनुभएको अडानको सबैले खुलेरै प्रसंशा गरेकै थिए, चाहे माओवादी हुन् या काङ्ग्रेस । तर तपार्इंहरुबाट  पछिल्लो समयमा एमाले बाहेकका अरू सबै पार्टी देश बेचेर खान्छन् भन्ने किसिमको व्यवहार भयो । यो अति भएन र ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप