शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गलकोट नगरपालिकामा एउटै कोठाबाट धेरै शाखाको काम गर्नुपर्ने कर्मचारीको बाध्यता

शनिबार, १९ फागुन २०७४, २० : ५२
शनिबार, १९ फागुन २०७४

थम्मन थापा 

बागलुङ  । स्थानीय तहमा नयाँ–नयाँ अनुहार निवार्चित भएर आएकाले स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिहरूको पहिलो कार्यकाल अभ्यास र अनुभवमै बित्ने देखिएको छ । 

अर्कोतिर स्थानीय निकायकोे आफ्नै कार्यालय भवन नहुनु, भाडामा लिएका भवन घर वा कोठाहरुमा प्रयाप्त भौतिक संरचना नहुनुले कर्मचारीलाई कार्यालय सञ्चालनमा थप समस्या झेल्दै आएको अनुभव राष्ट्रसेवकहरुको छ ।

गलकोट नगरपालिकाको निजी भवन नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ हुने गरेको छ । स्थानीय सरकार गठन भएको १० महिना बितिसकेको छ । ‘तर, नगरपालिकामा भौतिक पूर्वाधार र कर्मचारी अभाव अझै समस्याको विषय बनेको छ,’ गलकोट नगरपालिकाका प्रसाशकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । 

‘एउटै कोठाबाट धेरै काम गर्नुपर्ने बाध्यता छ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदी भन्छन् ‘जसोतसो काम चलाइरहेका छौं । एउटै कोठाबाट धेरै थरीका सेवा दिँदा कार्यसम्पादन प्रभावकारी हुँदैन ।’ 

पर्याप्त कोठा नहुँदा कर्मचारीलाई दैनिक कामकाज सञ्चालन गर्न हम्मे हुने गरेको छ । स्वास्थ्य, कृषि र भेटनरी, वास र पुनर्निर्माण, लेखा र प्रशासन एउटै कोठाबाट सञ्चालन भइरहेको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । 

सबै विषयगत कार्यालयसहितको सेवा प्रवाह गर्दा न्यूनतम ८ देखि १० वटा कोठा आवश्यक पर्ने देखिएको छ । ‘मासिक ३९ हजार रुपैयाँ घरभाडा बुझाउँछौँ’, सुवेदीले भने, ‘जसमा मेयर तथा उपमेरको सचिवालय कोठा, सभाहल सँगै ८ ओटा कोठा आवश्यक छ ।’ 

नगरपालिकामा भौतिक पूर्वाधार निर्माण क्षेत्रमा प्राविधिकको काम धेरै संवेदनशील हुने भएकाले कार्यकक्ष अलग अलग हुनुपर्ने प्रमुख अधिकृत सुवेदीको भनाई छ । भाडामा लिइएको कार्यालयबाट दैनिक कामकाज सञ्चालन गर्न गाह्रो भइरहेको कर्मचारीको गुनासो छ । निवार्चित जनप्रतिनिधि आएपछि सेवाग्राहीलाई सुविधा हुने आशा गरिएको थियो तर स्थानीय सरकार सञ्चालन गर्न सकस देखिएपछि सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकिरहेका छैनन् । 

जनप्रतिनिधिलाई स्थानीय तह व्यवस्थित गर्नमै कार्यकाल बित्ने सम्भावना देखिएको छ । भौतिक रूपमा सबल नहुँदासम्म स्थानीय तहबाट हुने सेवा प्रभावकारी नहुने देखिएको छ । 

त्यस्तै, गलकोट नगरपालिक भित्रका ११ वडा मध्ये ४ ओटा वडा भाडाको घरमा सञ्चालनमा रहेका छन् । गलकोट नगरपालिका १ दुदिलाभाटीले ८ हजार, वडा नम्बर ४ हटियाले ८ हजार, वडा नम्बर ६ हरिचौरले ६ हजार र वडा नम्बर ५ ले ४ हजार दिएर वडा कार्यालय सञ्चालन गरिरहेका छन् । 

भाडाका भरमा सञ्चालित वडा कार्यालय साँघुरो र एउटै कोठामा विभिन्न कागजात स्टोर गर्दा समयमै कागजात नभेटिने र होहल्लाजस्ता समस्या देखिएको गलकोट नगरपालिका १ दुदिलाभाटीका वडा अध्यक्ष नेत्र बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप