बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्यटक लोभ्याउँदै राइनास होमस्टे, यस्ता छन् विशेषता

आइतबार, २० फागुन २०७४, ०७ : ५७
आइतबार, २० फागुन २०७४

बेसीशहर - लमजुङको राइनास नगरपालिका वडा नं ९ मा रहेको ऐतिहासिक राइनासकोटमा सञ्चालन गरिएको होमस्टे यतिबेला पर्यटकको मुख्य आर्कषणको रुपमा परिणत भएको छ ।

दैनिक ५०÷६० को हाराहारीमा पर्यटक आउने गरेको होमस्टे सञ्चालक खड्कवहादुर गुरुङले रातोपाटीलाई बताए । उनले भने, ‘१४ घरमा होमस्टे सुरु गर्ने योजना अनुसार १४ वटै घर निमार्ण गरियो । हाल १३ घरमा मात्रै होमस्टे सञ्चालन गरिएको छ । एक दिनमा ८४ जनासम्म राख्न सकिने क्षमता रहेको गुरुङले बताए । होमस्टेमा अर्गानिक खानाका परिकार सँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिएको छ ।

१० लाख बचत
गत बैशाख १२ गते उद्घाटन भएको राइनासकोट होमस्टे सञ्चालन भएको एक वर्षसमेत पुरा भएको छैन, करिब एक बर्षको अवधिमा सबै खर्च कटाएर १० लाख बचत गर्न सफल भएको गुरुङको भनाइ छ ।

पर्यटकको घुईंचो
पछिल्ला दिन होमस्टेमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो लाग्न थालेको छ । त्यस्तै ऐतिहासिक स्थलको प्रचार–प्रसारका साथै आय आजनका लागि समेत स्थानियवासी आकर्षित भएका छन् । 

विशेषता
-राइनासकोटबाट लमजुङ हिमालसहित मनासलु, अन्नपूर्ण, माछापुच्छ्रेका साथै धवलागिरीजस्ता हिमालको अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । सूर्योदयको रमणीय दृश्य अवलोकन गर्न सकिने एक हजार आठ सय मिटर उचाइको यहाँबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ वटा जिल्ला देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बताए ।

-उक्त स्थानमा रहेका केही पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको उक्त गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ ।

ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा रहेकामा यस वर्ष नगरपालिकाले संरक्षणका लागि १० लाख र वाटो स्तरीकरणको लागि १० लाख रकम छुट्याइएको कार्यकारी अधिकृत देवबहादुर अधिकारीले बताए ।

नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूघपोखरी मार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी (उकालो) उक्लनुपर्छ ।

विसं २०७२ सालको  विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राइनासकोटमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै होमस्टे सुरु गरिएको हो । नातासाको दुई करोड ७५ लाख, स्थानीयवासीको ७५ हजार गरी कूल तीन करोड ५० लाखको लागतमा १ सामुदायिक भवन, एक संग्राहालय र १४ घर निर्माण गरिएको हो ।

सेनाद्वारा राइनासकोट गढी मर्मत
जिर्ण अवस्थामा रहेको राइनासकोट गढीमा भत्किएको पर्खालको नेपाली सेनाको लमजुङस्थित श्रीजंग गणवाट मर्मत गरिएको छ । केही समयअघि प्रधानसेनापति राजेन्द्र क्षत्रीले गढीको स्थलगत अवलोकन गरेका थिए । अवलोकनका क्रममा ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि प्रधानसेनापति क्षत्रीले मर्मत गर्न श्रीजंग गणलाई निर्देशन दिएका थिए । 
गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्य शाहको बासस्थान रहेको गढी राइनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप