केन्द्रीय संस्करण
अन्तर्वार्ता

ओलीमा सङ्कीर्णता, आग्रह र प्रतिशोधको भावना छ (सीपी मैनालीको अन्तर्वार्ता)

person explore access_timeफागुन २१, २०७४ chat_bubble_outline0
नरेश ज्ञवाली

रातोपाटी

 माओवादी आन्दोलनको जगमा ‘प्रचण्ड’ नामले राजनीतिमा उदाएका पुष्पकमल दाहालजस्तै कुनै बेला कमरेड ‘सुभाष’का नामले वाम आन्दोलनमा नेपालको पूर्वी क्षेत्रबाट उदाएका नेताको नाम हो– सीपी मैनाली । मैनाली हाल नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का महासचिव छन् । कुनै बेला उनै मैनालीको मातहत रहेर वर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली राजनीति गर्थे । समय फेरियो र फेरिए राजनीतिक शक्तिका अनुहार । कुनै बेला कमान्डरको निर्देशनमा काम गर्ने ओली कालान्तरमा पहिलो पटक प्रधानमन्त्री भए र आफ्ना कमान्डरलाई आफू मातहतको मन्त्रीमण्डलमा समावेश गरे, र स्वयम् कमान्डर भए । सुखानी हत्याकान्डपछि चिसो पसेको दुई मन अहिले दुई भिन्दा–भिन्दै पार्टीमा छन् । झण्डै २०२७–०२८ सालदेखि तोडिदै, जोडिदै निरन्तर सहकार्यमा रहँदै आएका यी दुई नेता एकअर्कालाई निकै राम्रो गरी चिन्छन् ।

वाम गठबन्धनबाट निर्वाचन जितेर फेरि दोस्रो पटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीको वर्तमान सरकारसँग जनताका निकै अपेक्षा छन् । जनताका अपेक्षा ओली नेतृत्वको सरकारले पूरा गर्न सक्ने हो कि होइन ? जनताले अपेक्षा गर्नु सही हो कि होइन ?

बुझ्न हामीले वर्तमान प्रधानमन्त्रीको विगत बुझ्नुपर्ने हुन्छ ।

सीपी मैनालीसँग रातोपाटीका लागि नरेश ज्ञवालीले ओलीको विगत, वर्तमान र भविष्यबारे संवाद गरेका छन् ।
 
तपाईंको नजरमा वर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका सबल र दुर्बल पक्ष के–के हुन् ?
सबैभन्दा पहिले सबल पक्षहरूकै कुरा गरौँ । आफूलाई विश्वास लागेको कुरामा उनी प्रष्ट, सशक्त, साहसकासाथ आफ्नो कुरा राख्ने गर्छन्, जुन उनको बानी हो । धेरै घुमाई फिराई गर्ने उनको बानी छैन । यस्ता केही राम्रा गुणहरूले राजनीतिक व्यक्तित्वलाई लोकप्रिय हुन बल पुर्याउँछ । राष्ट्रियताका विषयहरूमा लिएको अडान, नीतिहरूमा केपी ओलीकै भाषामा भन्ने हो भने उनले– गाउँमा जन्मिएको, गाई, बाख्रा चराएर गाउँले जीवनमा भिजेको मजस्तो मान्छे, एक त शारीरिक अवस्थाले पनि मैले छिटोछिटो काम गर्नु पर्नेछ । अब यो उमेरमा आएर मैले केही लोभलाभ नगरी जनता र राष्ट्रको पक्षमा काम गर्नुछ भन्दै आएका छन् ।

मलाई लाग्छ, त्यसरी देश र जनताको भावनासँग जोडिएर काम गर्छु भन्ने कुरा राम्रो कुरा हो । तर उनले राष्ट्रलाई, जनतालाई, तिनका समस्यालाई कसरी बुझ्छन र त्यसको आधारमा उनी कुन निर्णयमा पुग्छन् भन्ने महत्वपूर्ण कुरा हो । राष्ट्रलाई, जनतालाई र जनताका समस्यालाई बुझ्ने सवालमा नै समस्या रह्यो भने तपाईंले लिने अडान, नीति र त्यसलाई समाधान गर्ने विधिमा नै समस्या पैदा हुन्छ । त्यसैले उनका कतिपय विवादास्पद कुराहरू पनि छन् । त्यसैले म चाहन्छु केपी ओलीले यी सबै कुरालाई राम्रोसँग बुझुन किनभने नेपाल भूराजनीतिक कारणहरूले अत्यन्तै संवेदनशील ठाउँमा रहेको देश हो ।

एकीकरणपश्चात नै नेपाल दुई ढुङ्गा बीचको तरुलका रूपमा चित्रित भइसकेको छ । नेपाल एकीकरणका नेता पृथ्वीनारायण शाहको पनि अनुभव त्यही हो । उहाँले दक्षिणको सम्राट अर्थात ब्रिटिस भारतसँग होस गर्नु यो धेरै धूर्त छ । चीनसँग राम्रो समबन्ध राखेर जानु भनेका थिए । सौभाग्यवस अथवा दुर्भाग्यवस त्यो कुरा आज पनि त्यति नै जायज छ । त्यसैले केपीमा परिस्थिति र घटनालाई कसरी बुझ्ने भन्ने सवालमा समस्या छ ।

केही मानवजन्य कमजोरी छन् । मैले देखेको के हो भने, आफ्नै पार्टीभित्र र अन्य राजनीतिक पार्टीहरूको सन्दर्भमा पनि उनी जति सहिष्णु हुनुपर्ने हो त्यति सहिष्णु छैनन् । सङ्कुचित छन् । आग्रह पाल्ने र अन्यलाई पेलेर तुष्टी लिने गर्छन् । प्रतिशोध राख्ने गर्छन् । उनीभित्र बदलाको भावले पनि काम गरेको देखिन्छ । उनले कुनै पनि निर्णय गर्दा चाहे त्यो पार्टीको सन्दर्भमा होस् अथवा सरकारको नेतृत्व गर्दाको सन्दर्भमा होस्, त्यसले जनताको पक्षमा कस्तो परिणाम ल्याउने हो भनेर भन्दा पनि त्यसमा आफ्नो के रुचि छ र कति आफू अनुकूल छ भन्ने आधारमा निर्णय गर्छन् । जब कि यसले दीर्घकालमा फाइदा गर्दैन । यसका धेरै उदाहरणहरू छन्, म त्यतातर्फ जान चाहन्नँ ।

त्यतिबेला केपी ओली जानी जानी महाकाली सन्धिका गलत प्रावधानहरूको पक्षमा थिए । त्यसपछि लामो समयसम्म भारतको ‘गुड लिडर’को रूपमा उनी एक जना रहे । अहिले पनि केपी ओली हाम्रा असलमित्र हुन् र हाम्रो अहिले पनि राम्रो सम्बन्ध छ भन्ने भारतीय नेताहरूको भनाइ छ । मित्र हुनु र पुरानो मित्र हुनुमा कुनै अप्ठेरो मान्नु पर्दैन तर उनीहरूका गलत कुरालाई पनि साथ दिने नेता र मित्र हुनु भएन । ओलीसँगको हाम्रो चिन्ता पनि त्यही हो ।

म ०३५ सालमा मालेको महासचिव भएपछि जस्तो उतार–चढावबाट गुज्रिएँ त्यसमा केपी ओलीका सकारात्मक र नकारात्मक दुवै भूमिका रहे । म उनको सरकारमा पनि रहेँ । ती सबैलाई मध्यनजर गर्दै उनी अलिक आग्रह पाल्ने, सङ्कीर्ण भएर काम गर्ने, पार्टी र देशको बृहत्तर हितलाई भन्दा आफ्नो रुचि अनुसार काम गर्ने व्यक्ति हुन् ।

कुनै समय ‘भारतमैत्री’ भनेर आरोप लागेका ओली अचानक ‘भारतविरोधी’ देखिए, कसरी यस्तो भयो ?
देश र जनताको पक्षमा काम गर्छु भने पनि जनताको स्वार्थ र आफ्नो माटोलाई कसरी, कुन सन्दर्भमा बुझ्ने भन्ने ठूलो कुरा हो । जस्तै ५० को दशकमा एकीकृत महाकाली सन्धि धेरै विवादास्पद भयो । त्यसबेला एमालेमा मलगायत धेरै ठूलो समूह त्यो सन्धिको विपक्षमा थियो । हाम्रो बुझाइ सन्धीले नेपाल राष्ट्रको हित गर्दैन भन्ने थियो । त्यसैसँग सम्बन्धित शारदा ब्यारेजमा प्रयोग भएको भूमिको ‘रिप्लेसमेन्ट’ दिने कुरा, पानीको समान वितरणको कुरा आदि देखिँदैन भन्ने हाम्रो कुरा थियो । तर त्यसबेला सबै कुरा भयो भनियो । जुन कुरा सही थिएन भन्ने आज आएर प्रमाणित भयो । अहिले आएर हेर्दा आजसम्म त्यसको डीपीआर बन्न सकेको छैन ।

पछिल्लो समयमा भारतको एउटा कम्पनीले डीपीआर तयार गरेको छ र जसमा हामीले आधा पानी पाउनुपर्नेमा कुल पानीको २३ प्रतिशत पानी मात्र दिने कुरा लेखिएको छ । त्यसैले हामीले त्यो बेला यो असमान सन्धि हो र हामीले हस्ताक्षर गर्नु हुँदैन भनेका थियौँ । हामीले त्यतिबेला ‘हाई ड्याम’को सट्टा ‘लो टेरिस ड्याम’ निर्माणतर्फ जाउँ भनेका थियौँ तर त्यसो हुन सकेन । भारतीय पक्षको ‘हाई ड्याम’ बनाउनुपर्ने कुरामा आफ्नै रणनीति थियो । सन्धिका ती धारा र प्रावधानहरूलाई हटाएर जानुपर्छ भन्ने तत्कालीन एमाले भित्रको एउटा स्वरलाई जबरजस्त ढङ्गले दबाइयो जसका अगुवा केपी ओली थिए । ओलीले नै छ महिनामा डीपीआर बन्छ र तत्काल कार्यान्वयनमा जान्छ भन्दै त्यसबाट नेपालले १ खर्ब २० अर्ब फाइदा लिनेछ भन्दै त्यो प्रोजेक्ट चलाउन हामीले किन सहमति नदिने भनेका थिए ।

आज महाकाली सन्धी र त्यो आयोजनाको अवस्था के छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा छ । मलाई अझै सम्झना छ, त्यो आयोजना पास गराउन तत्कालीन एमालेमा मनमोहन अधिकारीजीको छद्म भोटको प्रयोग गरेर बहुमत पुर्याएको नाममा त्यसलाई पास गरियो । त्यतिबेला केपी ओली जानी जानी महाकाली सन्धिका गलत प्रावधानहरूको पक्षमा थिए । त्यसपछि लामो समयसम्म भारतको ‘गुड लिडर’को रूपमा उनी एक जना रहे । अहिले पनि केपी ओली हाम्रा असलमित्र हुन् र हाम्रो अहिले पनि राम्रो सम्बन्ध छ भन्ने भारतीय नेताहरूको भनाइ छ । मित्र हुनु र पुरानो मित्र हुनुमा कुनै अप्ठेरो मान्नु पर्दैन तर उनीहरूका गलत कुरालाई पनि साथ दिने नेता र मित्र हुनु भएन । ओलीसँगको हाम्रो चिन्ता पनि त्यही हो ।

त्यति बेला पनि ओलीको अडान स्पष्ट थियो, सटिक थियो, दृढ र खरो थियो तर गलत थियो । त्यसैले मैले के भनेको भने तपाईं प्रष्ट, शसक्त र सिधा बोल्नु हुन्छ खरो हुनुहुन्छ भन्दैमा तपाईं सही हुनुहुन्छ भन्ने हुँदैन । त्यसलाई बुझ्ने सवालमा तपाईंको राजनीतिक वैचारिक सुझबुझ के हो भन्नेले फरक पर्छ । विषयवस्तुप्रति तपाईंको बुझाइ कस्तो छ भन्नेले नै तपाईंको राम्रो र नराम्रोको निर्धारण गर्छ । त्यतिबेला उनले लिएका सारा अडान आज आएर अवगुणमा परिणत भए । अब पनि देशलाई, जनतालाई, यहाँको माटोलाई बुझ्ने सवालमा तपाईंको बुझाइ गलत छ भने भोलि त्यो पनि अवगुणमा परिणत हुन्छ र देश झनै नराम्रो अवस्थामा पुग्छ ।

आजको दिनमा ओलीको अडानलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
अहिले पनि मधेस केन्द्रित दल र विभिन्न जनजातिका नेताहरूले उठाएको कुरा जुन अलिक सङ्कीर्ण र आफ्नो समुदायको पक्षमा मात्र छ तर पनि उनीहरूले केही वास्तविक समस्याको उजागर गरेका छन् । उनीहरूले पहिचानको जुन प्रश्न उठाएका छन्, त्यो निकै जायज प्रश्न हो । मलाई लाग्छ पहिचान माग्नु भनेको आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको राष्ट्रिय मान्यता माग्नु हो । त्यसकारण पहिचान दिइनु जरुरी छ । तर केपी ओलीको पहिलो चरणमा स्पष्ट मान्यता थिएन । पछि उनले पहिचानको समस्यालाई समाधान गर्न न त अग्रसरता देखाए न त्यसलाई स्विकारे ।

मैले एमाले र केपी ओलीले गलत कुराको विरोध गरेको पाएँ तर त्यसको निकास के हो भन्ने कुरा पाइनँ । ओलीले राष्ट्रियताको विषयलाई जसरी बुझ्नु भयो र जसरी त्यसको पक्षमा निकासविहीन ढङ्गले एकपाखे भएर उभिनुभयो त्यसले अन्ततः मुलुकलाई फाइदा गर्दैन । यस्तो अडानले मुलुकलाई कमजोर नै बनाउने हो ।

समुदायको पहिचान दिने सवालमा उनले जसरी त्यसलाई अस्वीकार गरे त्यसैले गर्दा नै आज देशमा ध्रुवीकरण बढेको छ । यसो गर्नु भनेको कि त नेपालको जातीय समस्या, भूराजनीतिक समस्यालाई नबुझेको हुनुपर्यो कि त कसैको दबाबमा आएर नचाहेको हुनु पर्यो । होइन भने पहिचानलाई संविधान मार्फत सुनिश्चित गर्न सकेको भए हामीले यो समस्यालाई समाधान गरेर अघि बढ्ने थियौँ । संविधानबाट पहिचान सुनिश्चित गर्ने सवालमा यदि विदेशीहरूको दबाबमा ओली परेका हुन् भन्ने कुरालाई बिर्साइ दिने हो भने यो उनको नेपाल प्रतिको अज्ञानताको कारणले, नेपाल प्रतिको गलत बुझाइको कारणले हो । ओलीको निकासविहीन विरोध भयो । तर हेर्नुस् त त्यति हुँदा पनि उनी आफ्नो कुरामा कति सशक्त, स्पष्ट र सिधा, बोल्छन् । तर उनको अडान र सीधा बोलाई गलत भएपछि त्यसले कसलाई नोक्सान र कसलाई फाइदा गर्छ ?

पहिलो पटक ओली प्रधानमन्त्री हुँदा तपाईं त्यही सरकारमा उपप्रधानमन्त्री हुनुहुन्थ्यो । उनको त्यो प्रधानमन्त्रीकाल उत्तिकै चर्चित र उत्तिकै विवादास्पद पनि रह्यो । त्यही कालमा ओलीले घरमा ग्यास पाइप लाइन जोड्ने, महासागरमा नेपाली ध्वजाबाहक जहाज चलाउने, हावाबाट बिजुली निकाल्ने कुरा गरे । ओलीले जे–जे कुरा भनेका थिए, तपाईंलाई के लाग्छ साँच्चै गर्नुपर्छ भन्ने भावनाका साथ भनेका थिए ?
यो उनको देश नबुझ्ने समस्या हो । यहाँका जातीय समस्या र जटिलता नबुझ्ने समस्या हो । अहिले पनि त्यही गलत समझदारी रह्यो भने यसले गलत निष्कर्ष निकाल्नेछ । मलाई लाग्छ केपी ओलीको वर्तमान नीतिले विदेशीहरूलाई नै सेवा गर्छ । यद्यपि उनले कति कुरामा अडान लिए त्यो ठीक छ । यसले नेपालमा ध्रुवीकरण र द्वन्द्व बढ्छ विदेशीहरू यही त चाहन्छन् ।

अर्को कुरा राजनीतिक नेतृत्वले सपना देखाउनु र सम्भावनाहरूको कुरा गर्नु राम्रो कुरा हो । हामीसँग के–के संसाधानहरू छन्, हामीसँग ग्यास, पेट्रोलियम र जुन सोलिड बेस्ट छ, त्यसलाई प्रयोग गर्न सकिने आधार के हुन भन्नु एउटा कुरा हो तर एक–दुई ठाउँमा ग्यास भेटियो भन्दैमा त्यसको अतिशयोक्तिपूर्ण ढङ्गले प्रचार गर्नु गलत कुरा हो । हामी सरकारमा भएको बेलामा पनि त्यति ठूलो परिणाममा ग्यास पत्ता लागेको होइन ।

अतिशयोक्तिपूर्ण प्रचार विरोधीहरूबाट भयो भन्नु भएको कि एमालेबाटै ?
प्रधानमन्त्रीले वस्तुस्थितिमा उभिएर अहिले र भोलि के गर्न सकिन्छ भन्ने प्रष्ट नपारी सोलोडोलो अति आशावादी कुरा गर्नुभयो । अरूले त्यसै बेफ्वाँकमा त्यसलाई प्रचार गरेका होइनन् । सपना देख्नु र देखाउनुपर्छ । आफ्नो साधान स्रोतमा आत्मनिर्भर हुन सपना देखाउनुपर्छ । नेताहरूले सपना र वर्तमानको बीचमा रेखालाई स्पष्ट देखाउन सक्नुपर्छ । भन्न खोजेको के भने सपनालाई सपनाका रूपमा र वास्तविकतालाई वास्तविकताका रूपमा प्रस्तुत गर्नु पर्यो । त्यतिबेला ओलीले यस विषयमा स्पष्ट धारणा राख्न नसकेकै हो ।

मैले एमाले र केपी ओलीले गलत कुराको विरोध गरेको पाएँ तर त्यसको निकास के हो भन्ने कुरा पाइनँ । ओलीले राष्ट्रियताको विषयलाई जसरी बुझ्नु भयो र जसरी त्यसको पक्षमा निकासविहीन ढङ्गले एकपाखे भएर उभिनुभयो त्यसले अन्ततः मुलुकलाई फाइदा गर्दैन । यस्तो अडानले मुलुकलाई कमजोर नै बनाउने हो ।

ओलीको पहिलो प्रधानमन्त्री कालमा भारतमा जन्मदिन मनाउँदा केक काटे, दोस्रो पटक प्रधानमन्त्री हुँदा बालुवाटारमै झण्डै २५ किलोको केक काटे । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
यस्ता व्यक्तिगत कुरालाई आफैले प्राथमिकता दिने, हाइलाइट गर्ने पक्षमा म छैन । म जन्मेको दिन अथवा केपी ओली जन्मेको दिनलाई जब आफैले महत्व दिँदै त्यसलाई उत्सवको रूप दिन थालिन्छ त्यो आत्मसल्घा भन्दा केही होइन । मलाई त्यो उचित लाग्दैन । यो प्रवृति भनेको अलिकति आत्मश्लाघा गर्ने, अलिकति व्यक्तिवादी ढङ्गले सोच्ने प्रवृत्ति हो ।

०३५ सालतिर तपाईं पार्टी महासचिव हुँदाका ओली र आजका ओलीमा के भिन्नता पाउनुहुन्छ ?
०३५ सालमा हामीले भूमिगत रूपमै नेकपा (माले)को पुनस्र्थापना गर्दा, केपी ओली, आरके मैनाली, मोदनाथ प्रश्रित लगायतका साथीहरू जेलमै हुनुहुन्थ्यो । सुखानी हत्याकाण्डपछिको फागुन चैतबाट ओली झापामा हुनुहुन्थेन । उहाँ भारतको कुनै ठाउँमा जानुभएको थियो । पछि त्यहाँबाट फर्कने क्रममा ०३३ सालतिर मोहनचन्द्र अधिकारी र ओली रौतहटबाट पक्राउ पर्नुभयो । हामीले मालेको स्थापना गर्दा मोहनचन्द्र अधिकारी, आरके मैनाली, केपी ओली र मोदनाथ प्रश्रितलगायतका जोजो नेताहरू जेलमा हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले केन्द्रीय कमिटीमा राखेनौँ । तर उहाँहरूलाई केन्द्रीय कमिटीको हैसियत भने दिएका थियौँ । जे होस यो एउटा स्थिति थियो तर केपी ओलीको राष्ट्रियतालाई बुझ्ने सवालमा समस्याहरू छन् ।
 
तपाईंहरू सँगै जेलमा पनि बस्नुभयो होइन ?
म ०३२ सालमा पक्राउ परेपछि झापा हुँदै सेन्ट्रल जेल सुन्धारा ल्याइएको थिएँ । वैशाखदेखि असोजसम्म मलाई गोलघरमा पनि राखियो । त्यसपछि नख्खु जेल चलान गरियो । हामी सुन्धाराको सेन्ट्रल जेलमा जम्मा ५–७ दिनसँगै बसिएको हो । त्यहाँ केपी, आरके, मोहनचन्द्र लगायतका हामी साथीहरू थियौँ । तर पछि प्रशासनले आरके र केपीलाई त्यहाँबाट अन्यत्रै सरुवा गर्यो । पछि हामीले ०३३ साल चैत १२ मा नख्खु जेल ब्रेक गर्यौँ । हामीहरू राति १२ देखि १ बजेको बीचमा सुरुङ खनेर जेल ब्रेक गरेका थियौँ । त्यसबेला उहाँहरू जेलमा हुनुहुन्थेन ।

जतिबेला तपाईंसँगै हुनुहुन्थ्यो, त्यो बेला उनको जोड के कुरामा हुन्थ्यो ?
त्यसबेला हामी गोलघरबाट सेन्ट्रल जेल आएका थियौँ । मैले भने हामी जम्मा ५–७ दिन मात्रै सँगै बस्यौँ । त्यतिबेला हाम्रा मूल कुराहरू बीचमा छुटेको समयमा के–के भयो भन्नेमै केन्द्रित थियो । साथै झापा कालमा रहेका केही समझदारी–असमझदारीहरू पनि थिए । म आफूले बुझेसम्म ओलीका त्यसबेलाका अभिव्यक्ति सन्तोषजनक थिए । त्यसबेला हामीबीच रहेका कतिपय विवादास्पद विषयमा सौहार्दपूर्ण तवरले कुराकानी भएर हामी समान धारणामा पुगेका थियौँ ।

झापा आन्दोलनदेखि आजसम्मको ओलीको चरित्र र शैलीमा आएको भिन्नतालाई बुँदागत रूपमा व्यक्त गर्न सकिएला ?
झण्डै ०२७–०२८ सालदेखि ०२९ सालसम्म हाम्रो सहकार्य भयो । त्यसपछि उनी पक्राउ परे । पछि हामी पनि पक्राउ पर्यौँ । जेलबाट रिहा भएपछि बेग्लै परिस्थितिमा कोही कहाँबाट कोही कहाँबाट काम गरिरहँदा सहकार्य भैरह्यो । समग्रमा त्यतिबेला हामी युवा थियौँ । आन्दोलनको प्रारम्भिक चरणमा हामी सबैमा सेन्टिमेन्ट, स्प्रिट र जोस थियो । तर हामीमा परिपक्वताको कमी थियो । त्यसैले त्यतिबेलाको ओली र अहिलेको ओलीमा ठूलो परिवर्तन आइसकेको छ, जुन स्वभाविक हो ।

त्यहाँदेखि अहिलेसम्म आउँदा पनि ओलीमा सङ्कीर्णता छ । आग्रह छ । मानिसहरूको सन्दर्भमा प्रतिशोधको भावना राख्ने स्वभाव छ । उनी नीति, विचार र पार्टीभित्रको वैचारिक सङ्घर्षलाई अवैयक्तिक ढङ्गबाट हेर्दैनन् । उनी त्यसलाई वैयक्तिक ढङ्गबाट हेर्छन् । कुनै कुराको सन्दर्भमा यो कस्तो हो भनेर होइन कि यो कुरा कोबाट आयो भनेर हेर्ने गर्छन् । कुनै कुरा राष्ट्र र पार्टीको पक्षमा कति छ भनेर हेर्नेभन्दा पनि यसले के फाइदा गर्छ भनेर हेर्ने, त्यसरी विषयहरूको निष्कर्षमा पुग्ने दोषबाट ओली मुक्त छैनन् ।

मलाई लाग्छ, विशेषगरी केपी ओलीको तर्फबाट आग्रहपूर्ण ढङ्गले हाम्रो राजनीति समाप्त पार्न खोजियो । यस्तो खाले सङ्कीर्णता, आग्रह र प्रतिशोधी विचार केपी ओलीमा छ ।


 
केपी ओलीको ‘राष्ट्रवादी छवि’ देखिनुमा के प्रचण्डको हात छ ? तपाईंले उनीहरुबीचको सम्बन्धलाई कसरी लिनुभएको छ ?
केपी ओलीको राष्ट्रवादी छवि निर्माणमा हिजो पनि र आज पनि प्रचण्डको भूमिका हुन सक्छ भन्ने मलाई लाग्दैन । यी दुई विपरीत र भिन्न दृष्टिकोण तथा पृष्ठभूमिबाट आएका व्यक्तिहरू हुन् । जहाँसम्म प्रचण्डको कुरा छ उहाँले नेतृत्व गरेको आन्दालनको ठूलो दोष के हो भने नेपाललाई सिद्धान्तको कोणबाट भन्दा पनि विदेशपरस्त भएर माक्र्सवाद लागू गर्ने प्रयत्न गर्नुहुन्छ । त्यसैले अहिले देशमा जुन प्रगतिशील राष्ट्रवादी सोच आइरहेको छ, त्यो प्रचण्डले प्रयोग गर्न खोजेको नीतिविरुद्ध लडेर आएको हो । त्यसैले केपी ओलीको राष्ट्रवादी छवि निर्माणमा प्रचण्डजीहरूको सहयोग नकारात्मक कोणबाट मात्र हुन सक्छ । सकारात्मक कोणबाट भएको मलाई लाग्दैन ।

असोज १७ को गठबन्धन बन्नुभन्दा अघि उहाँहरू राष्ट्रियताको सवालमा विपरीत ध्रुवमा हुनुहुन्थ्यो । अहिले के भइरहेको छ, त्यो भन्न सक्दिनँ । किनभने उहाँहरूले गठबन्धन र पार्टी एकता कुन आधारमा गर्न लागेको हो, त्यसका आधार के हुन् भन्ने कुरा केही पनि स्पष्ट पार्नुभएको छैन । त्यसबारे नेपाली जनता आजसम्म बेखबर छन् । अब उहाँहरू कसरी अगाडि बढ्नुहुन्छ मेरा लागि निकै ठूलो जिज्ञासाको विषय हो ।
 
वर्तमान ओली सरकारसँग जनताका अपेक्षा निकै देखिन्छन्, तपाईंको बुझाइमा जनताले गरेको अपेक्षा स्वभाविक हो अथवा अस्वभाविक ?
ओली नेतृत्वको पहिलो सरकारले नाकाबन्दीको सवालमा केही अडान लियो । नेपालको आफ्नो अधिकारको प्रयोग गर्दै चीनसँगको विभिन्न विकल्पलाई खोल्दै अघिबढेको हुनाले अहिलेको सरकारसँग जनताले अपेक्षा राख्नु स्वभाविक हो । अर्को कुरा एकअर्कालाई राष्ट्रघाती भन्नेहरूका बीचमा कुनै सार्वजनिक चर्चै नगरी निर्वाचन गठबन्धन गरे । त्यसमा उनीहरूले दिएको नारा र भनेको कुराले पनि जनताले आशा गर्न सक्ने ठाउँ छ । अहिले त्यही आशा प्रतिविम्बित र ध्वनित भएको हो । तर कसरी अगाडि बढ्ने छन् समयक्रमसँगै हेर्नुपर्ने छ ।


 
ओलीको यो सत्तारोहणको भविष्यका विषयमा केही प्रक्षेपण गर्न मिल्छ ?
असोज १७ मा दुई पार्टीले जसरी गठबन्धन बनाए । त्यसको भोलि पल्ट म केपी ओलीको निवासमा पुगेर अन्य राष्ट्रवादी देशभक्त वाम दलहरूलाई समेटेर निर्वाचनमा सिट दिने र त्यसबाट बचेको सिटमा ६०, ४० गर्ने सहमतिपत्रको स्वागत गर्छु भनेँ । तर त्यो कुरा लागू भएन । त्यसकारण त्यो गठबन्धन राजनीतिक नीति, सिद्धान्त, देशको मामिलाहरूसँग प्रत्यक्ष सरोकार राखेर होइन कि दुई पार्टी कसरी बहुमत र शक्तिमा आउने भन्नेमा केन्द्रित थियो । त्यसकारण हामीले प्रयास गर्दा पनि गठबन्धनसँग हाम्रो कुनै तालमेल हुन सकेन । हामीसँग तालमेल गर्न नपर्ने म कुनै कारण देख्दिनँ । मलाई लाग्छ, विशेषगरी केपी ओलीको तर्फबाट आग्रहपूर्ण ढङ्गले हाम्रो राजनीति समाप्त पार्न खोजियो । यस्तो खाले सङ्कीर्णता, आग्रह र प्रतिशोधी विचार केपी ओलीमा छ ।

कुनै बेला क्रान्तिकारी नेता कमरेड ‘सुभाष’ जसलाई मानिसहरू भेट्न, बोल्न, छलफल गर्न निकै लालायित हुन्थे । ती कमरेड सुभाष आजको दिनमा सीपी मैनालीमा परिणत हुँदा मानिसहरू सीपी मैनालीलाई हेयका दृष्टिले हेर्छन् । त्यो छविबाट यो छविमा रूपान्तरण हुनुमा ओलीको कस्तो भूमिका रह्यो ?

नेपालमा अहिले शक्ति पुजाको संस्कार छ । यो कुरा राजनीतिक रूपले संस्थागत भइसकेको छ । एकीकरणपछि शक्तिको केन्द्र दरबार हुन्थ्यो । त्यहाँ जुन ढङ्गले एकले अर्कालाई समाप्त गरेर आफूलाई स्थापित गर्ने परम्परा बस्यो, त्यसले जनताको मानसिकतामा पनि प्रभाव पारेको छ । त्यसैले हाम्रो सङ्गठनमा, शक्ति नभएका कारण हामीलाई हिजोका दिनहरूमा राम्रो गर्न चाहने मानिसहरू पनि आज हामीसँग टाढिन्छन् । हामीलाई वास्ता गर्दैनन् । यो कुरा मैले निकै नजिकबाट महसुस गरेको छु । पार्टीको आन्तरिक सङ्गठनमा अथवा पार्टी, पार्टीहरूको बीचमा हुने राजनीतिक, वैचारिक सङ्घर्ष, प्रतिस्पर्धालाई म निकै स्वभाविक ठान्छु । तर एउटै परिवारभित्र शत्रुतापूर्ण ढङ्गले निषेधको नीति अपनाएर व्यवहार गर्नु भनेको अनुचित कुरा हो ।

केपी ओलीहरू नेकपा (माले)प्रति त्यस्तै दृष्टिकोण राख्छन् । त्यसका पछाडि धेरै कुराहरू छन्, जुन पछि उद्घाटित हुँदै जाला । मलाई लाग्छ, त्यसका केही सैद्धान्तिक राजनीतिक कारणहरू पनि छन् । तर जुन ढङ्गले केपी ओलीको नेतृत्वले हामीसँग व्यवहार गर्यो एक्का दुक्का मुद्दाबाहेक अन्य विषयमा उहाँहरूको नकारात्मक भूमिका नै रह्यो । यति भन्दै गर्दा पनि प्रमुख कारण त हामी नै हो । किनभने हामीले शक्तिको राजनीति गर्न सकेनौँ, शक्ति र लाभ आर्जन गर्न सकेनौँ । त्यसको पहिलो दोषी हामी नै हो । तर पनि हामीलाई कमजोर बनाउन कसैको भूमिका छ भने मैले तपाईंलाई भन्नै पर्छ, एमालेको त्यसमा प्रशस्त भूमिका छ ।
 
अन्त्यमा सम्माननीय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली तपाईंको नजरमा राष्ट्रवादी हुन् कि राजनेता हुन् ? अथवा साधारण क्षमता भएका कमसल नेता हुन् ?
उनी प्रशस्त कमजोरीसहितका राष्ट्रवादी हुन् ।
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...