शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेल आउने ‘हल्ला’ले फेरि ‘बबाल’

मङ्गलबार, २२ फागुन २०७४, ११ : ४६
मङ्गलबार, २२ फागुन २०७४

तेजेन्द्र के.सी.

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ४ मा पर्ने  विभिन्न टोलमा माघ २८ र २९ गते रेल विभागबाट खटिएको टोली एकाएक पुग्यो ।

नयाँमिल, शिवचोक, देवीस्थान, दश नम्बर चोक आदिको दायाँबायाँ नापजाँच गर्ने, घरको छतमा पुगेर हेर्ने, कतै चिन्ह लगाउने काम रेल विभागका कर्मचारीले धमाधम गरे ।

दुई दिनसम्म साँझ बिहान नभनी ती कर्मचारी निकै खटे । रेल लैजानका लागि भन्दै पिल्लर गाड्ने, रुख र बिजुलीको पोलमा सङ्केत पनि लेखे ।

अनि गाडिएका पिल्लरमा आरडब्लूबीएम, रूख र बिजुलीको पोलमा आरएनआर १, आर २ सङ्केत लेखे ।

यसरी  एकाएक आफ्नो घरलाई क्षति पुग्ने गरी रेलमार्गको सङ्केत खेलिएपछि नयाँमिलकी आशा भण्डारी आत्तिइन् ।

विदेशमा भएका श्रीमान्लाई फोन गरेर रेल विभागको टोलीले नापजाँच गरेको बताइन् ।  आत्तिने भण्डारीसहित तिलोत्तमा नगरपालिका धेरै थिए ।

सुरुमा बुटवलमा डीपीआर भएको रेलमार्गबुटवल छाडेर तिलोत्तमा जाने हल्लापछि स्थानीयहरू सशङ्कित बने ।

सशङ्कित बनेको २ गते स्थानीयबासीले तिलोत्तमा नगरपालिकाबाट रेल लैजान नमिल्ने भन्दै सङ्र्घष समिति गठन गरे ।

सङ्घर्ष समितिले अहिले तिलोत्तमा नगरपालिकको बस्ती मास्नेगरी रेल मार्ग बनाउने काम रोक्न जोडतोडले लागेको छ ।

समितिका सदस्य सचिव माधव  देवकोटाले रेल तिलोत्तमा आउन नदिनका लागि दौडधूप गरेको बताए ।

तिलोत्तमाबाट रेल लैजाँदा बस्तीमा ठूलो क्षति हुने भएको रोक्नका लागि  समितिले विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाउनेदेखि राजनीतिक लबिङसमेत जारी राखेका छन् ।  

उनीहरूले यसका लागि नगरपालिकाका स्थानीय  नेताले बालकृष्ण खाँणलाई रोक्नका लागि ज्ञापनपत्र बुझाएका छन् ।

अब एमालेका नेता विष्णु पौड्याललाई पनि भेट्ने तयारीका रहेको छ । 

उनले भने ‘रेल यहाँबाट नै लगेमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौँ, पुरानो डीपीआर भएको ठाउँबाट लैजानुपर्छ, यहाँबाट हँुदैन ।’ 

तिलोत्तमा नगरपालिको पहलमा रेल विभागले लगाएको चिन्ह मेट्ने, पिल्लर हटाउने काम भयो । नगरपालिकाले पनि स्थानीयबासीलाई साथ  दिँदै रेल विभागले गरेको कामलाई अवरोध गर्नपुग्यो ।

आफूलाई जानकारी नदिई नापजाँच गरेको र पुरानो डीपीआर गरेको बुटवलबाटै रेलमार्ग निमार्ण गर्नुपर्ने तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले बताए । उनले भने– ‘पहिला बुटवलमाबाटै डीपीआर आएको हो । त्यहाँ विरोध भएको कारण देखाउने फेरि तिलोत्तमा ल्याउनु उपयुक्त हुँदैन् ।’

बुटवल सुस्त तिलोत्तमा सशक्त

४ वर्ष पहिले बुटवलमा रेल आउने हल्ला चल्यो । बुटवलका कालिकानगरमा रहेको रेजपार्टी प्यालेस हुँदै रेल जाने कुरा चलेपछि कालिकानगर, देविनगरको फिफा टेक्निकल सेन्टर, फर्साटिकर हुँदै कपिलवस्तुको ४ नम्बरसम्मका जग्गाहरू किनबेचमा अलमल भयो । धेरै आत्तिए । बुटवलमा पनि थाहा नदिई सर्भे भएको भन्दै सङ्घर्ष समिति गठन भयो ।

बुटवल उपमहानगरपालिकामा तीन दिनसम्म घर्ना दिने काम स्थानीयबासीले गरे । कालिकानगरबासीले मुख्य विरोध गरेका थिए ।  

बुटवलनगरपालिका हुँदै मन्त्रालय पुग्ने काम भयो ।

विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाउनेदेखि राजनीतिक लबिङ बुटवलको सङ्घर्ष समितिले तीव्र पारेको थियो । अहिले उक्त समिति र बुटवल नगरपालिका चुपचाप छ ।

बुटवलमा सेलाएको बेला रूपन्देहीकै अर्को नगरपालिका तिलोत्तमा फेरि रेल आतङ्क छायो । तिलोत्तमा नगरबासीले  रेल आतङ्क रोक्न सशक्तरूपमा लागेका छन् । बुटवलमा सेलाएका आतङ्क तिलोत्तमा सरेको स्थानीयहरू बुझाइ छ ।

तत्कालीन कालिकानगर सङ्र्घष समिति एक अगुवा नारायण पाण्डेले नेपालमा विकास निमार्णका काम निकै सुस्त भएकाले रेल पनि सर्भे मात्र भन्ने लागेको बताए  । उनले भने,  ‘हामी पनि सुरुमा केही तात्तियौँ, अहिले चुपचाप बसेका छौँ ।’

उनका अनुसार बस्तीबाट लैजादा अन्य विकल्पहरू खोज्ने तत्कालीन समयका रेल विभागका जिम्मेवार व्यतिहरूको आस्वशन पनि थियो ।

उनीहरूले डीपीआर भएको क्षेत्रबाट लैजाँदा बस्तीलाई धेरै असर पर्ने भएमा आकासबाट पनि लैजाने विधि अपनाउन सक्ने छलफल चलाएको थिए ।

अहिले रूपन्देहीको विरोधभन्दा पनि डीपीआर गरेको क्षेत्रबाट रेल लैजाने कि नयाँ ठाउँबाट लैजाने जिम्मा रेल विभागको नै छ ।

जग्गा कारोबारी सक्रिय
राजमार्ग पूर्व–पश्चिम रेल सरकारले विस्तार गर्ने घोषणासँगै केही ठाउँमा डीपीआर सुरु गरेको थियो । जसअन्तर्गत रूपन्देही, कपिलवस्तुमा रेल आउने हल्ला  जग्गा कारोबारीहरू निकै चलायमान भएका छन् ।

उनीहरूको उद्देश्य घर जग्गा खरिद बिक्रीबाट फाइदा लिने थियो ।

रेल विभागले गरेको सर्भेको स्पष्ट नक्सा स्थानीय तहका कर्मचारीहरूसँग  थिएन ।

स्पष्ट चिन्ह पनि लगाएको ठाउँ पनि भेटिँदैन । स्थानीयबासीलाई सर्भे भएको हेक्का थिएन ।

यस्तो अवस्था जग्गाको चलखेल गर्ने अवसरको रूपमा लिए । कसैलाई अत्याएर बिक्री गराउने, कसैलाई सस्तो मूल्य भएको भन्दै खरिद गराउने काम गराएको जग्गा व्यापारी  सम्राट चन्द्र चुनाराले बताए ।

बुटवलदेखि पश्चिम राजमार्ग क्षेत्र २ किलोमिटर आसपासबाट आउने रेल आउने हल्ला व्यापक चल्यो । 

रूपन्देही सैनामैना साइटको दक्षिणतिर जग्गा किनबेच करिब करिब ठप्पै जस्तै भयो । रेलमार्गले घरघडेरी मास्छ भन्दै बिक्री तीन वर्ष रोकियो ।

अहिले पछिल्लो ६ महिनादेखि सैनामैना नगरपालिकादेखि कपिलवस्तुको चार नम्बर हँुदै दाङसम्म राजमार्ग क्षेत्रमा किनबेचले गति लिइरहेको छ ।

रेल तत्काल नआउने भन्दै अहिले जग्गा कारोबारीहरूले जग्गा बिचबेच सुरु गरेको सैनामैना नगरपालिका वडा नम्बर १ बोलबोलधामका नरबहादुर कँडेलले बताए ।

रिसायो तिलोत्तमा नगरपालिका

स्थानीयस्तरमा नयाँ संरचना वा विकास योजना बनाउँदा स्थानीय सरकारसँग समन्वय, सहकार्य र स्वीकृति लिनुपर्ने प्रावधान छ ।

विद्युतीय रेलमार्ग आयोजनाअन्तर्गतको रेलवे विभागले भने नगरपालिकासित कुनै समन्वय गरेको छैन । रेलमार्ग सर्वेक्षण गरेको कुरा नगरपालिकाले स्थानीयमार्फत थाहा पाएको थियो ।

‘रेल विभागले नगरपालिकासित कुनै समन्वय गरेन । मनपरी ढङ्गले रूट कायम गर्न सर्भेक्षण गरेछ,’ तिलोत्तमा नगरपालिका मेयर वासुदेव घिमिरेले भने ।

उनले सहमतिबिना तिलोत्तमा नगरपालिका रेलमार्ग रुट नदिने बताए । रेल विभाग  सिनियर डिभिजन इन्जिनियर प्रकाशराज उपाध्यायले नगरपालिकाले नबुझी  वक्तव्य जारी गरेको बताए ।

उनले रेल डीपीआर गरेको ठाउँबाटै लैजाने योजना रहेको बताए । ‘हाम्रा कर्मचारीले रेगमार्गको ५, ७ किलो मिटर आसपसमा अनुगन मात्र गरेका हुन् । त्यहाँबाट रेल लैजाने होइन । तर नगरपालिका जिम्मेवार व्यतिसँग कुरा नगरी आवेसमा आउनु भएन’, उनको भनाइ थियो ।

रेल नै नचल्ने देशमा रेल विभागको के काम छ ?

प्रश्न स्वाभाविक रूपमा आउँछ । यस्तो प्रश्नको जवाफ राम्रैसँग दिनेगरी  केही वर्षमा रेल गुडाउने तयारीमा रेल विभाग लागेको छ ।

विभागमा सिनियर डिभिजन इन्जिनियर प्रकाश राज उपाध्याय सोमबार दाङको लमहीमा थिए ।

उनले भने साँझ नेपालगञ्ज सरोकारवालाहरूको मिटिङ भएकाले आफूहरू निकै हतारमा रहेको बताए ।  ‘हामी  सर्भेको लागि फिल्डमा नै छौँ । काम भइरहेको छ । हर्दै जाउँ नेपालमा रेल कहिले आउँछ ।’ उनले भने ।

रेल विभागले दीर्घकालीन र अल्पकालीन गरी काम छुट्याएको छ । पूर्व–पश्चिम रेल मार्गको केही स्थानमा निर्माण कार्य जारी छ । केही स्थानमा सर्भेको काम भइरहेको छ । सिमरा क्षेत्रमा रेलको कामले तीव्रता लिएको छ । ठेक्कापट्टा पनि  भएको छ । रेल निर्माणको काम सरकार राजनीतिक दल र स्थानीय चासोको आधारमा छिट्टै अगाडि बढाउने योजनामा रेल विभाग रहेको छ ।

काम यसरी भइरेहको छ 

पूर्व–पश्चिम ९ सय किलोमिटर नै रेल कुदाउने सपना छ ।

यसअन्तर्गत अहिले केही ठाउँमा काम भइरहेको छ ।

केही ठेक्का लाग्दैछ । केही सर्भे जारी छ ।

नेपालको मध्य भागमा पर्ने ५ नम्बर प्रदेशको राजधानी बुटवलपूर्व सर्भेको काम सकिएको छ ।

बुटवल पश्चिम केही सर्भे भइसेको छ ।

केही ठाउँमा हुँदैछ । केहीमा सकिएको छ ।

बुटवलपूर्वको सिमरा बर्दिबास निजगढमा रेल मार्गको काम सकिएको छ ।

दुई खण्डअन्तर्गत सिमारा बर्दिबास ३० किलो किलोमिटरको रेल मार्ग निमार्ण भइसेको छ ।

सिनियर डिभिजन इन्जिनियर प्रकाशराज उपाध्यायले सो क्षेत्रको  ३० किलोमिटर काम ठेकेदार कम्पनीले सकेको बताए ।

उनले उक्त सडक खण्ड पनि यही आर्थिक वर्षमा ठेक्कापट्टा  हुने जानकारी दिए ।

बुटवलदेखि पश्चिम केही ठाउँ सर्भे पनि अहिले भइरहेको छिटै सम्पन गर्ने तयारीमा विभाग रहेको बताए ।

अन्य रेलका परियोजनालाई पनि रेल विभागले दीर्घकालीन र अल्पकालीन रूपमा आगाडि सारेको छ । केहीलाई २० वर्षे रणनीतिक योजनाको आगाडि रेल विभागले सारेको छ ।

ओलीकै पालामा रेलको आस
केपी ओली प्रधानमन्त्री भएको बेला घोषणा  गरिएको चिनियाँ रेल लुम्बिनी ल्याउने विषयले फेरि चर्चा पाएको छ । 

ओली प्रधानमन्त्री भएका बेला काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको कामले केही उपलब्धि हुने अपेक्षा लुम्बिनीबासीको छ ।

तिब्बतको केरुङबाट काठमाडौँ–पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न सकिने चिनियाँ रेलमार्गको सम्भाव्यता अध्ययन केही समयअघि भइसकेको छ ।

तिब्बतको केरुङबाट काठमाडौँ–पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न सकिने चिनियाँ रेल अध्ययन टोलीले बताएपछि लुम्बिनी आसपासका मानिसमा खुसी छाएको  थियो । अब ओली पुनः प्रधानमन्त्री भएको बेला के गर्छन्, हेर्ने बेला आएको संस्कृति तथा पर्यटनविद् डा. गितु गिरीले बताए ।

चाइना रेल्वे एड्मिनिस्ट्रेसनका उपमन्त्री चेङ जियानले नेतृत्व गरेको २३ सदस्यीय टोली लुम्बिनी आएर अध्ययन गरेको थियो ।

रेल वभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार चिनियाँ टोलीले केरुङबाट लुम्बिनीसम्म रेलमार्ग जोड्न सम्भव रहेको र यो परियोजना अगाडि बढाउन चीन सकारात्मक रहेको बताए ।

चीनबाट लुम्बिनीसम्म रेल ल्याउन सके यहाँको पर्यटकीय विकासमा कायापलट हुने भन्दै पर्यटनवीद र सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन् ।

लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकमा चिनियाँ तेस्रो नम्बरमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप