शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लग : राधा चौधरी कहिले न्याय पाउँछिन् ?

आइतबार, २७ फागुन २०७४, ११ : ४७
आइतबार, २७ फागुन २०७४

नारी दिवश देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको समयमा कैलालीको घोडाघाडी नगरपालिका वडा नं. ५ देउकलीमा २० वर्षीय राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भयो । नारी दिवसमा नारी समानता, न्याय, मुक्ति र नारीमाथिको अन्याय अत्याचारको विरुद्धमा देशभरका विभिन्न तारे होटलमा डलरको कार्यक्रम भइरहँदा देउकलीमा राधा चौधरी मृत्यृसँग लडिरहिन् । देशमा महिलामाथि भएको असमानताको विरुद्ध राज्यबाट बर्सेनि रकम खर्च भइरहे पनि हजारौँ नारीहरू बोक्सीका  नाममा कुटिइरहेका छन् । मुख्य कारण जे भए पनि त्यहाँ चेतनाको कमी त रह्यो नै समाज र देशका समाजसेवी बुद्धिजीवी भनाउँदाहरूको पाखण्डी सोच नै प्रमुख कारण बनेको छ । 

समाजमा अशक्त, वृद्धा, गरिब, असहाय व्यक्तिहरू हरेक समाजमा बोक्सी अथवा अन्य कारणबाट अपहेलित भइरहेका छन् । कुटिइरहेका छन्  । समाजबाट तिरष्कृत भइरहेका छन् । तर पनि यसको न्यूनीकरणभन्दा पनि समाजबाट नै यसलाई बढावा दिने काम भइरहेको छ ।यो कार्य समाजमा  निरन्तर नै कायम रहिरहेको छ । देश सङ्घीय गणतन्त्रमा प्रवेश गरेर के भयो । व्यक्तिको चेतनामा जबसम्म परिवर्तन हुँदैन र कारवाही गर्ने निकाय मुकदर्शक बन्दछ तब लाखौँ राधा चौधरीहरू अनायासै बोक्सीको नाममा कुटाइ खाइरहन्छन् । अपहेलित भइरहन्छन् । समाजमा प्रताडित भइरहन्छन् । 
    २१औँ शताब्दीको प्रविधिको युगमा समेत कोही नारी विभिन्न बहानामा कुटपिटको शिकार भइरहने, देशमा अन्धविश्वासलाई निरुत्साहित भन्दा पनि बढवा दिइरहने जिम्मेवार निकायको चरम लापरवाहीका कारण आज पनि हजारौँ नारीहरू बोक्सीको आरोपमा समाजमा पीडित बेगे्रल्ती भेटिन्छन् । जबसम्म चेतनाका विकास र सम्बन्धित निकाय जिम्मेवारीबाट विमुख रहन्छ, तबसम्म यस्ता घटनाहरू निरुत्साहित होइन प्रोत्साहित भइरहन्छ । 

स्थानीय पार्वती चौधरी विमारी हुनुका कारण खोज्नुभन्दा पनि अझै अन्धविश्वासमा नै रमाइरहँदा देश अझै पनि कहाँ रहेछ भन्ने कुराको पुष्टि भएको छ । नारी दिवसका दिन चारतारे होटलमा बसेर भाषण ठोकिरहँदा कैलालीको देउकलीमा राधा चौधरीले भोग्नुपरेको पीडा सायद कसैले कल्पना पनि गर्न नसक्ला । अन्धविश्वास, कुरीति, कुसंस्कारले जकडिएको समाजमा अझै पनि आस्था र विश्वासले अझै पनि कति नरनारीहरूले पीडा भोगिरहनुपर्ने हो टड्कारो प्रश्न खडा भएको छ । पीडक रामबहादुर चौधरी भोले बाबाले अझै पनि सर्वसाधारण जनतालाई भ्रममा राख्न खोज्नु र बिरामी पार्वती चौधरीलाई उपचार गर्ने निहुँमा पीडित राधा चौधरीलाई लात्तैलात्ताले हान्नुले सिङ्गो समाज र सम्बन्धित निकायको खिल्ली उडाएको छ । कोही आफैमा बोक्सी र धामी हँुदैन भन्ने समान्य कुरा पनि हेक्का राख्न नसक्ने समाज अथवा समाज निर्माणको मसिहा सम्झने जनप्रतिनिधि समेत उल्टै पीडिकलाई कारावाही गर्नुभन्दा पनि प्रश्रय दिनुले झन् यस्ता घटनालाई मलजल गरेको देखिन्छ । प्रहरी स्रोत भन्दछ, घटना पछि हामीले पिडकलाई समातेर ल्याएका थियौँ । पीडित राधा चौधरीलाई जाहेरीका लागि भन्दै मिलापत्र गरियो । यस्तो जवाफले भोलि हाम्रो समाज कहाँ जाँदैछ ? कारवाही गर्ने निकाय र देशमा शान्तिसुरक्षाको

जिम्मेवारी लिएको निकायले जवाफ दिनुपर्दैन ? कसैको डर धाकधम्किले कानुनको धज्जी उड्ने भए किन चाहियो प्रहरी र प्रशासन ? जनतालाई शान्तिपूर्वक बाँच्न पाउने नागरिरको मौलिक हकको रक्षा गर्ने कि शक्ति केन्द्रको दलाली ? कैलाली प्रशासनसामु टड्कारो पश्न खडा भएको छ । जब पीडित सम्पूर्ण समाजको अगाडि नै कुटाइ खानुपरेको छ । जीवन रक्षाका लागि याचना गर्नुपरेको छ । बाँच्न सकिन्छ कि भन्ने आशामा जे पनि बक्नुपरेको छ त्यस्ता व्यक्तिले उजुरी दिएन भनेर केही कारवाही नगर्नुले प्रशासन र प्रहरीको जिम्मेवारी माथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । 

    सेती अञ्चल अस्पताल धनगढीमा जीवन र मरणको दोसाँधमा रहेका राधा चौधरीको यो बोक्सीको आरोपमा भएको घटनाले सिङ्गो देशमा नै नारी हक हितका लागि काम गर्ने विभिन्न निकायको खिल्ली उडाएको छ । नारीहरूको मुख्य समस्या के हो ? समाजमा नारीहरू के–के विषयमा पीडित बनिरहेका छन् भन्ने समान्य चेतनाको विकास गर्न पनि नसक्ने नारी सङ्घसङ्गठनलाई राधा चौधरीको यो हिंसाले प्रश्नचिन्ह खडा गरिदिएको छ । अझै सबैभन्दा गम्भीर प्रश्न भनेको भोलेबाबा भन्ने रामबहादुर चौधरीलाई मेयर र जनप्रतिनिधिको टोलीले नै प्रश्रय दिएर उनीहरूको हैसियत उदाङ्गो पारिदिएको छ । कारवाही गर्ने निकायसमेत जमात  र भीडको पछाडि लाग्दा यस्ता घटनाहरूले झन्झन् प्रश्रय पाएको बुझ्न गाह्रो छैन । 

    नागरिकको मौलिक हकअन्तर्गत शान्तिपूर्वक बाँच्न पाउने हकलाई समाजमा विभिन्न तत्व र नाममा महिलामाथि विभिन्न प्रकारको हिंसा बेग्रल्ती देख्न सकिन्छ । यस्ता घटनालाई निरुत्साहित गर्नका लागि कानुन बमोजिमको कारवाही नै हो । तर यसमा ध्यान नदिँदा र मिलापत्रका नाममा सम्बन्धित निकायले नै महिलामाथि हुने यस्ता घटनालाई प्रश्रय दिइरहेका छन् । जुन सम्बन्धित निकायको अक्षम्य लापरपाही हो । मिलापत्रका नाममा हुने यस्ता गतिविधिले समाजलाई झन् कुरीति, अन्धविश्वासलाई थप मलजल गर्ने कुरामा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । हैन भने शक्ति र सत्ताको पछाडि लाग्ने हो भने शान्ति सुरक्षा केवल शक्ति हुनेहरूका लागि मात्र हो भन्ने कुरा पुष्टि हुनेछ । सर्वसाधारणको सरकार र सम्बन्धित निकायप्रतिको आस्था र गरिमा घट्नेछ । 
 

   भाषणमा ठूलाठूला कुरा गर्ने महिला अधिकारकर्मीहरू अवसरका लागि मात्र महिलामा समानता खोज्नु, शक्तिका लागि मात्र महिला मुक्तिका कुरा गर्ने शैलीले सिङ्गो महिला अधिकारकर्मीको खिल्ली उडाएको छ । समानता र न्याय राजधानी मात्र होइन, देशका दूरदराजसम्मका लागि हो भन्ने बुझ्न नसक्ने महिला अधिकारकर्मीहरूले बेलामा नै महिलामाथिको चरम हिंसाका लागि आवाज उठाउनुपर्नेछ । होइन भने महिलाहरू सधैँ केही न केही विषयलाई दिएर मर्ने, अपहेलित हुने र अत्याचार सहनुपर्ने भइरहनेछ । 

    सिङ्गो समाजलाई दुर्गन्धित गर्ने कैलालीको देउकलीमा भएको यो घटनाको पीडित पार्वती चौधरी, भोले बाबा भन्ने रामबहादुर चौधरीलाई कानुन बमोजिम कारवाही होस् । दबाबको भरमा मात्र काम गर्ने नत्र सर्वसाधारणलाई मात्र कानुन नाममा दुःख दिने प्रहरी प्रशासन देशको कानुनअनुसार काम गर्न तयार हुनुपर्दछ । नभए यस्ता घटना समाजमा घटिरहनेछ । कारवाही गर्ने निकाय नै मेलमिलापको नाममा पीडकलाई उन्मुक्ति दिनु भनेको अन्याय शिवाय केही हुन सक्दैन । समाजको त्यो भीडमा पीडित राधा चौधरीको पुकार सुन्ने त्यत्रो समाजमा कोही भएनछ, धन्न हाम्रो चेतना र मानवता ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बीबी श्रेष्ठ
बीबी श्रेष्ठ
लेखकबाट थप