शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरलाई नेपाल र भारतबीचको ट्रान्जिट बनाउन प्रस्ताव

शुक्रबार, ०२ चैत २०७४, १७ : ५५
शुक्रबार, ०२ चैत २०७४

चितवन । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पर्यटन क्षेत्रले आर्थिक बृद्धिदरमा सहयोग पुग्ने भएकोले सीमापार पर्यटन व्यावसायलाई प्रबद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जले शुक्रबार नारायणगढमा संयुक्तरुपमा आयोजना गरेको नेपाल भारत द्विपक्षीय पर्यटन प्रबद्र्धन गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत पुरीले यस्तो बताएका हुन् ।

‘पर्यटनले देशको आर्थिक बृद्धिदरमा सहयोग गर्छ’ राजदूत पूरीले भने, ‘नेपाल र भारतबीच सीमापार (क्रसबोर्डर) पर्यटनको धेरै ठूलो सम्भावना छ । यसका लागि पर्यटन प्रबद्र्धन आवश्यक छ ।’ उनले इलामका मानिस सपिङको लागि दार्जिलिङ पुग्नु र दार्जिलिङका मानिस घुम्नको लागि इलाम आउनु सीमापार पर्यटनको नमुना भएको बताए । यसले पर्यटनमात्र नभएर द्विदेशीय सम्बन्धमा पनि सुधार ल्याएको उनको धारणा थियो ।

दुई देशबीच पर्यटक आदानप्रदान गर्न सक्ने सम्भावनाको खोजी गर्नुपर्ने विचार व्यक्त गर्दै भारतीय राजदूत पुरीले पर्यटन प्रवद्र्धन गरेर दुबै देशमा पर्यटन व्यवसायलाई उकास्न सकिने बताए । उनले नेपालमा प्रकृतिको देन बलियो रहेको बताउँदै मानिसहरुबीच अन्तरक्रिया गर्ने सशक्त माध्यम पर्यटन भएकोले पर्यटनको विकासले सम्बन्ध बिस्तारमा सहयोग पुर्याउने विचार व्यक्त  गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आर्थिक समृद्धिका लागि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्यटननै भएको बताइन् । उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरेर पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न आवश्यक भएको विचार व्यक्त गरिन् ।

देशकै मध्यभागमा अवस्थित एवम् पर्यटकीय सम्भावनाले भरिपूर्ण भरतपुर महानगरलाई समृद्ध तथा आत्मनिर्भर बनाउने प्रमुख क्षेत्र पर्यटनको प्रबद्र्धन र विकास गरेर आर्थिक समृद्धिलाई सम्भव तुल्याउन सकिने उनको भनाइ थियो । देवघाटदेखि वनारस, गया, मुक्तिनाथ, मानसरोवर तीर्थयात्राको लागि भरतपुरलाई ट्रान्जिटको रुपमा विकास गर्न भरतपुरदेखि गया र वनारस सिधा यातायात सञ्चालन गर्नु पर्नेमा उनले जोड दिइन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका र समग्र चितवनको गहनाको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, दूर्लभ एकसिँगे गैँडा, पाटेबाघ लगायत वन्यजन्तु तथा सिमसार, रामसारको संरक्षणका लागि निजी क्षेत्र तथा छिमेकी देश भारतलाई लगानीको लागि आह्वान समेत गरिन् । 

गोष्ठी उद्घाटन सत्रमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल, मिलनबाबु श्रेष्ठ, घनश्याम दाहाल र भारतीय महावाणिज्यदूत बीसी प्रधानले मन्तव्य व्यक्त गर्दै पर्यटनका माध्यमबाट आर्थिक विकास सम्भव भएको धारणा व्यक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप