बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक कर्मचारीको घरमा मृत भेटिइन् बालिका, हत्या भन्दै परिवारले शव बुझ्न मानेनन्

बिहीबार, ०८ चैत २०७४, १० : ३९
बिहीबार, ०८ चैत २०७४

काठमाडौँ । काठमाडौँस्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडतौलाको घरमा मृत भेटिएकी एक बालिकाको शव दुई हप्तादेखि उठ्न सकेको छैन । 

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ की १४ बर्षिया वालिका रिता थामी गत फागुन २६ गते नक्साल, भगवती बहालस्थित गड्तौलाको घरमा मृत भेटिएकी थिइन् । मृतकका परिवार र आफन्तजनले रिताको हत्या भएको भन्दै घट्नाको निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने बताएका छन् । बालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । 

प्रहरीका अनुसार गड्तौलाले बालिकालाई बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको भन्दै हिमाल अस्पताल पुर्याएका थिए । जहाँ उनलाई मृत्त घोषित गरिएको थियो । त्यसपछि शवलाई शिक्षण अस्पताल लगेर पोस्टमार्टम गर्दा उनको मृत्युको कारण खुल्न नसकेको रिपोर्ट दिएको थियो 

 गडतौला परिवारले वालिकाले आत्महत्या गरेको दावी गरेपनि पिडित पक्षले वालिकालाई मारिएको भन्दै जाहेरी दिएका छन् । गड्तौला सानिमा बैंकको तेस्रो बरियता अर्थात निक्षेप प्रमुखको जिम्मेवारीमा छन् । 

घट्नाबारे अहिले महानगरिय प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ । परिसरका प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन कुमार थापाले प्रारम्भिक अनुसन्धानका क्रममा वालिकाले आत्माहत्या गरेको जस्तो नदेखिएको र थप अनुसन्धान भैरहेको बताए । 

उनका अनुसार अस्पतालको पोष्टमार्टम रिर्पोटमा मृत्युको कारण स्पष्ट नभएका कारण शवको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा ल्यावटेष्ट र गडतौला परिवारको पोलिग्राफसहित अनुसन्धान प्रक्रिया अघि बढेको छ । 

परिसरका एसएसपी विश्वराज पोखरेलले सबै उपाय प्रयोग गरेर घट्नाको गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउने प्रतिक्रिया दिए । 

गड्तौलाको बयान बाझियो
घट्नाबारे अनुसन्धानमा तानिएका गड्तौला परिवारले दिएको वयान पनि बाझिएको छ । अस्पताल रिर्पोटमा वालिकालाई शौचालयमा अचेत अबस्थामा भेटिएको वयान छ भने प्रहरीलाई झुण्डिएको अवस्थामा फेला पारिएको भनिएको छ । गड्तौलाले शंकास्पद रुपमा दिएको छुट्टाछुट्टै बयानले घट्नालाई थप रहस्यमय बनाएको छ । 

बालिकाकी आफन्त चन्द्र बहादुर थामीले पीडकको वयान र घट्नाको प्रकृति हेर्दा वालिकाले आत्माहत्या गरेको हुनै नसक्ने बताए । घट्नास्थलमा चाईनिज कम्बल बाहेक अन्य कुनै साधन फेला परेको छैन । वालिकाको मृत्युपछि गड्तौला परिवारले शवलाई प्रहरीलाई जानकारी नदिई हिमाल अस्पताल पु¥याएको थियो । 

वालिकाको परिवार तथा आफन्तजनको जाहेरीपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो । वालिका रिता सिन्धुपाल्चोककै स्थानीय भुजेल थरकी एक महिला मार्फत गड्तौला परिवारको सम्पर्कमा पुगेकी थिईन् । आफन्तजनका अनुसार उनलाई लालनपालन सहित शिक्षादिक्षा दिने प्रलोभन समेत देखाईएको थियो । तर उनलाई कामदारको रुपमा मात्रै प्रयोग गरिएको आफन्तको भनाई छ । 

संघ संस्थाको चासो
घट्नाबारे राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, थामी समुदायको साझा संस्था नेपाल थामी समाज लगाएतका संघ संगठनले चासो देखाएका छन् । पिडित पक्षको निवेदनपछि मानव अधिकार आयोग र महिला आयोगले अध्ययन गरिरहेका छन् । नेपाल थामी समाजले घट्नाको सत्यतथ्य छानविनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । 

बुधवार मात्रै समाजको टोलीले परिसरका एसएसपी पोखरेल, डिएसपी थापालाई घट्नाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि गम्भिर ध्यानाकर्षण गराएको छ । टोलीमा पिडित पक्षका आफन्तसहित नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामी, महासचिव लक्ष्मण थामी, हिरा थामी, गणेश थामी, कुसुम थामी, सुर्य थामी लगाएत सहभागि थिए । त्यसअघि पनि थामी समाजका सल्लाहाकार तथा पदाधिकारी, भातृसंस्था नेपाल थामी युवा संघ, नेपाल थामी विद्यार्थी संघ लगाएतले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप