शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटै डाँडामा हिमालदेखि तराईसम्मका रूख

बिहीबार, ०८ चैत २०७४, ११ : ०५
बिहीबार, ०८ चैत २०७४

दीपेन्द्र राई 
दुर्छिम (खोटाङ)– घुमाउनेडाँडा । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम भन्ज्याङमा पर्छ । घुमाउनेडाँडाको पूर्वमा हात्तीढुंगे, दक्षिणपट्टि चुमाखु, उत्तरमा भन्ज्याङ र पश्चिमपट्टि रातमाटे गाउँ रहेका छन् । डाँडाको दक्षिण–पश्चिममा साल र सल्ला पाइन्छ भने पूर्व–उत्तरमा चिउरी, चिलाउने, गुराँस, खन्यु, निगालो, पन्यु, मौवा, अंगेरी, सिमली र पड्मेरो पाइन्छन् ।

एउटै डाँडाको दक्षिण–पश्चिम र पूर्व–उत्तरमा फरक–फरक प्रजातिका रूख पाइँदा स्थानीय आनन्दित छन् । डाँडाको दक्षिण–पश्चिममा साल र सल्लाका साथै आफूले सतिबेयरसमेत देखेको स्थानीय व्यापारी घनश्याम राईले बताए । साल र सल्ला बेंसीमा पाइने रूख हुन् भने पूर्व–उत्तरमा पाइने चिउरी, चिलाउने, गुराँस, खन्यु, निगालो, पन्यु, मौवा, अंगेरी, सिमली, पड्मेरो हिमालदेखि तराईसम्म पाइन्छन् । चिउरी पहाडका बेंसीमा पाइने रूख हो भने गुराँस पहाडदेखि हिमालसम्म पाइन्छ । 

हिमालदेखि तराईसम्म पाइने रूख एउटै डाँडामा पाइँदा सबैलाई अचम्मित बनाएको छ । ‘एउटै डाँडामा विभिन्न प्रजातिका रूखबिरुवा पाइनु अस्वाभाविक होइन । तर, त्यसरी पाइनुचाहिँ सुखद मानिन्छ,’ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले भने, ‘यसैगरी, एउटै डाँडामा दक्षिण र उत्तरपट्टि फरक–फरक प्रकृतिकै रूख पाइन्छन् ।’ 

डाँडाको उत्तर–पूर्वमा रहेको जंगलमा सिकारीथान र दक्षिण–पश्चिममा देवीथान रहेको छ । स्थानीयले सिकारीथान र देवीथानमा पूजाआजा गर्दै आएका छन् । उत्तर–पूर्वको जंगलमा रहेका रूखबिरुवामात्रै होइन, घाँससमेत काट्न र सोत्तर घर ल्याउन नहुने स्थानीय बताउँछन् । अलिखित मान्यता लत्याउँदै स्थानीय कम्पसेर राईले काठका लागि पन्युँ काट्दा पक्षघात (प्यारालाइसिस) भएको राईकी श्रीमती रम्भासरी राईले सुनाइन् । राईले थपिन्, ‘पन्यु काटेपछि सुरुमा प्यारालाइसिस भयो । सिकारी लागेर श्रीमान्को प्यारालाइसिस भएको स्थानीय धामी (नछुङ) शिवराज राईले भनेका थिए ।’ 

घुमाउनेडाँडा स्थानीय राजन राईको नाममा रहेको छ । डाँडामा खेतिपाती गर्न छाडिएको छैन । सामान्य डाँडाभन्दा उचाइमा रहेकाले यसलाई पर्यटकीयस्थल बनाउन सकिन्छ । ‘घुमाउनेडाँडालाई रमिता हेर्ने ठाउँ बनाउन सकिन्छ,’ लेखक भोगीराज चाम्लिङ सुझाउँछन्, ‘यहाँ बसेर स्वच्छ हावा खाँदै दक्षिणपट्टि हेर्दा सुनकोसी रहरलाग्दो देखिन्छ । यहाँबाट सुनकोसीसम्म प्याराग्लाइडिङको सम्भावना त्यत्तिकै छ ।’ डाँडाबाट दक्षिणपट्टि उदयपुरका पहाडी गाउँ देखिन्छन् । पूर्वपट्टि खोटाङ र भोजपुरको सिमानामा रहेको स्याल्मे, ट्याम्केडाँडा पश्चिममा सिन्धुलीसम्म देखिन्छ । 

स्थानीयका अनुसार डाँडाको दक्षिण–पश्चिम र पूर्व–उत्तरमा रहेको जंगल परापूर्वकालदेखिकै हो । यसको ऐतिहासिक र सांस्कृतिक पक्षको अध्ययन गरिएको छैन । यत्ति हो, डाँडा हेरेर लोभिनेले जग्गाधनीलाई किन्न मागेको थुप्रै भयो । 

हलेसी–तुवाचुङ नगरपालिका–५ छापडाँडादेखि सुनकोसीको बतासघाटसम्म जोड्ने होलेसुङ–जनकराज राई मार्ग सञ्चालनमा आइसकेको छ । उदयपुरको लिम्चिङबुङ गाउँपालिका र हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाटमा पुल बनेपछि हलेसी हुँदै १ नम्बर प्रदेशवासीमात्रै होइन, २ नम्बर प्रदेशका केही जिल्लावासी यही बाटो खोटाङको हलेसी हुँदै ओखलढुंगादेखि सोलुखुम्बुसम्म पुग्न सक्छन् । यसलाई दृष्टिगत गर्दै घुमाउनेडाँडामा उनीहरूलाई एक÷दुई घन्टा अल्मलाउन सकिन्छ । त्यसो गर्न सके स्थानीय लाभान्वित हुनेछन् भने पर्यटन प्रवद्र्धनसमेत हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप