शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन हारेपछि के गर्दैछ कमल थापाको राप्रपा ?

बिहीबार, ०८ चैत २०७४, १२ : ३२
बिहीबार, ०८ चैत २०७४

काठमाडौं–  विगत १० वर्षमा तीन पटक सत्तामा पुगेका कमल थापा र उनले नेतृत्व गरेको राप्र्रपाले गत मङ्सिर १० र २१ गते भएको निर्वाचनमा अस्वाभाविक झड्का खाएपछि समग्र पार्टी पङ्क्तिमा सामूहिक निराशा छाएको छ ।

निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि सो पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन हार्नुमा सैद्धान्तिक कारण नभएर कार्यनीतिक त्रुटि भएको स्वीकार गरे ।

संवैधानिक राजसंस्था र हिन्दू राज्यलाई सैद्धान्तिक एजेन्डा बनाएको यो पार्टीले पछिल्ला वर्षमा राजसंस्थाभन्दा पनि हिन्दु धर्मलाई आफ्नो प्रमुख एजेन्डा बनायो । 

राजसंस्था र हिन्दु राज्यकै एजेन्डाका बलमा पहिलो संविधानसभामा चार सभासद, दोस्रोमा २४ (राप्रपा र राप्रपा एकीकरणपछि ३७) सभासद भएको पार्टी २०७४ को आम निर्वाचनपछि १ सांसदमा चित्त बुझाउन बाध्य भयो । यही बीचमा पटक पटक सत्ता सयरसँगै जुट र फुट ब्यहोरेको राप्रपा र त्यही राप्रपाको नेतृत्वकर्ता कमल थापा अहिले के गर्दै छन् त ?

सामूहिक निराशा
निर्वाचनमा पार्टीले लज्जासपद हार खाएपछि नेतादेखि कार्यकर्तासम्म निराश भए । अध्यक्ष कमल थापाकै असफलताका कारण पार्टीले हार बेहोरेको भन्दै उनको चौतर्फी आलोचना भयो । पार्टी बैठकमै नेताहरूले यसको कारण खोजी गरे । 

हारको कारण खोज्ने क्रममा गत फागुन २५ गते बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकमा नेता बुद्धिमान तामाङ र धवल शमशेर राणाले त थापालाई अध्यक्ष पद त्याग्न दबाब नै दिए । नेताहरूको यो दबाब बढेपछि पार्टी बैठकमा कमल थापा ‘भाबुक’ बन्नु स्वभाविक थियो । जवाफमा उनले निर्वाचनमा हार हुनुमा आफ्नो कमजारी रहेको स्वीकार गरे तर थापाले नेतृत्व छोडनेभन्दा पनि पार्टीलाई ‘पुनर्जीवन’ दिनेगरी अझै एक पटक दृढताका साथ लाग्ने प्रतिबद्धता जनाए । 

‘इतिहासले सुम्पेको जिम्मेवारी कार्यान्वयन गरेर जानुपर्छ, यस्तो अवस्थामा नेतृत्व छोड्दा प्रतिस्पर्धाबाट भाग्नुजस्तै हुन्छ । राजनीतिमा जीतहार सामान्य कुरा हो’, थापाले बैठकमा भनेका थिए । 

सैद्धान्तिक पुनरावलोकन
पार्टीले भोगेको नतिजाले राप्रपाका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पनि चिन्ता हुनु स्वभाविक थियो । यसअघि हिन्दु धर्म र राजसंस्थालाई मूल सिद्धान्त बनाएको राप्रपाले पछिल्लो समय राजसंस्थालाई केही कम र हिन्दु धर्मलाई अलि बढी उचाल्यो । त्यहिबेलादेखि राप्रपा आफ्नो सिद्धान्तबाट विचलित बनेको हो कि भन्ने प्रश्न, आलोचना र टिप्पणीहरू पनि भए । यति हुँदाहँुदैै पनि मङ्सिरमा भएको निर्वाचनमा काँग्रेससँगको गठबन्धनमा राप्रपाले २७५ मध्ये ४ क्षेत्रमा आफ्ना उम्मेदवार उठायो । तर राप्रपाका चारमध्ये एकजना (राजेन्द्र लिङ्देन) बाहेक अरू कसैले पनि निर्वाचन जित्न सकेनन् । बरु विजयी भएका लिङ्देनले अन्तिममा समीकरण परिवर्तन गरेर एमालेको सहकार्यमा चुनाव जित्न सफल भए । चुनावमा आएको समग्र परिणाम र पार्टीले बेहोरेको क्षतिको विश्लेषण गर्दै अब भने पार्टीले पूर्ववत पार्टीका नीति तथा सिद्धान्तलाई पुनरावलोन गर्ने तयारी गरेको छ । 

‘आवाश्यक परे पार्टीका सैद्धान्तिक विषयलाई पुनरावलोकन पनि गर्नुपर्छ भन्नेमा अब पार्टीमा छलफल सुरु हुन्छ, छलफलले जे निष्कर्ष निकाल्छ त्यही पारित हुन्छ’, पार्टका सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई बताए । 

भ्रम चिर्ने प्रयास 
पटक–पटक सत्तामा गएको, आफूनिकटकालाई मात्रै अवसर दिएको, वैचारिक अडानबाट विचिलित भएको, पार्टीमा तानाशाही प्रवृत्ति लादेको र थापाकै अहंकारका कारण राप्रपा विभाजित बनेको जस्ता आरोप अध्यक्ष कमल थापामाथि लागेका छन् । यी आरोपमा केही सत्यता भएको स्वयम् थापाले नै स्वीकार गरिसेकका छन् । तर सबै आरोप सत्य नभएको उनको भनाइ छ । ‘केही कमजोरी भएका छन् तर यी सबै आरोप सत्य हैनन् । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जानु नै हाम्रा लागि ठूलो घाटा बन्न पुग्यो’ अध्यक्ष थापाले रातोपाटीसँग भने ‘राजनीतिमा कहिलेकाँही जान्दा जान्दै पनि अफ्ठ्यारोमा परिँदोरहेछ यसलाई सच्चाउँदै जाने अबको प्रयास हुन्छ ।’

जसको भ्रम चिर्न थापाले देशभर पार्टी पङ्क्तिलाई प्रशिक्षण, भेला र सम्मेलन गर्ने तयारी गरेका छन् । त्यही योजनाअनुसार चैत ७ र ८ मा काभ्रेमा अनुशिक्षण कार्यक्रम राखेका छन् भने वैशाख ७, ८ र ९ मा केन्द्रीय भेला बोलाएका छन् । यी भेला र सम्मेलनमार्फत थापाले पार्टीमा विचलन नआएको सन्देश दिने प्रयत्न गर्दैछन् । 

साङ्गठानिक ‘रिभ्यु’
राप्रपाका कतिपय नेताले राप्रपालाई पुनः पहिलेकै स्वरूपमा लैजान साङ्गठानिक पुनर्संरचना गर्नुपर्ने आवाज पनि उठाएका छन् । नेता बद्धिमान तामाङ आवाश्यक सबै गर्नपछि नपर्ने बताउँछन् । भन्छन्– एक पटक के–के गर्न सकिन्छ, त्यसतर्फ लाग्ने हो ।’ वाक पटुटताका धनी र नेपाली राजनीतिका चतुर खेलाडी मानिने कमल थापा तत्कालीन राप्रपा र राप्रपा नेपाल एकीकरणपछि राप्रपाको अध्यक्ष बने । 
उनी अध्यक्ष बनेदेखि नै पार्टीमा एक किसिमको असन्तुष्टि सुरु भयो । त्यसैबेलादेखि नेता प्रकाशचन्द्र लोहनीको एउटा समूह पार्टीबाट बाहिरियो । त्यसलाई सामान्य ठानेका थापाले पुनः अर्को धक्का खान पुगे– जब पशुपति शमशेर राणा समूह आधाभन्दा बढी सांसद लिएर राप्रपा प्रजातान्त्रिक गठन गर्न पुगे । राणाले पार्टी फुटाउँदा थापा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्री थिए । निर्वाचनको सम्मुखमा पार्टी विभाजन भएपछि थापालाई ठूलै धक्का पुगेको उनी आफैले बताएका थिए । त्यसबेला उनले भनेका थिए– ‘नहुनुपर्ने जे थियो त्यही भयो ।’ त्यसबेला राणापक्षले थापाले आफ्ना निकटकालाई पार्टीमा जिम्मेवारी दिएको, पार्टीका निर्णयहरू एकलौटी गर्ने गरेको लगायतका आरोप लगाएको थियो । थापाले त्यसबेला केन्द्रीय समिति, विभागीय प्रमुखलगायतमा आफ्ना विश्वासपात्रलाई मनोनित गरेका थिए । 
एकीकरणमा खुला 
थापा नेतृत्वको राप्रपा जस्तै हालत पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपाको पनि छ । जुट्दै र फुट्दै गरेका यी तीनवटै पार्टी अब फेरि जुट्ने प्रयासमा लागेका छन् । तर, यसबारे औपचारिक छलफल भने कुनै पनि पार्टीले चलाइसकेका छैनन् । तर सबैको बाध्यता भएपछि उनीहरू एकीकरणका लागि मानसिक रूपमा तयार भने भइसकेका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता बुद्धिमान तामाङ भन्छन्– एकता गर्न सके धेरै राम्रो हो । किनभने फुट्दा सबैको हालत देखिसकियो । त्यसका लागि तीन पार्टी मात्रै होइन, राष्ट्रवादी सबै शक्तिसँग एकता गर्नुपरे पनि पछि पर्नु हँुदैन ।’  

राप्रपाका सहप्रवक्ता श्रेष्ठले एकताका लागि पार्टी खुला रहेको बताए । उनले भने– ‘हामी एकताको विरोधी कहिल्यै होइनौँ, जहिले पनि खुला छौँ ।’

गणतन्त्रपछि पनि अवसरै अवसर 
कमल थापा यस्ता भाग्यमानी हुन्, जसले व्यवस्थाको विरोध गर्दागर्दै पनि विगत १० वर्षको अवधिमा तीन पटक सत्तासयर गर्ने अवसर पाए । राजसंस्थाको वकालत गर्ने व्यक्ति गणतान्त्रिक व्यवस्थामा उपप्रधानमन्त्रीसमेत हुन पाए । केपी ओली नेतृत्वको सरकारमा नौ महिना, प्रचण्ड नेतृत्वको सरकारमा ४७ दिन र शेरबहादुर देउवा नेतृत्वको सरकारमा झण्डै ५ महिना थापा र उनको पार्टी सरकारमा बस्यो । ०४६ सालमा पञ्चायत ढल्दा धेरै पञ्चहरू एमाले काँग्रेस भए । २०६२–६३ को परिवर्तनपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपछि राजसंस्था र हिन्दु राज्य नै भन्दै आएको पार्टीले गणतन्त्र स्वीकार गर्यो । तर, थापाको नेतृत्वको पार्टीले हिन्दुराज्य र राजसंस्थाको एजेन्डा नै देखाउँदै पटक पटकको सत्ता सयर गर्ने अवसर पाएका थिए । सधैँ सत्ता र शक्तिको वरिपरि रहने थापा २०७४ मा भएका तीनवटै निर्वाचनपछि भने ५ वर्षका लागि सत्ता र शक्ति दुवै गुमाउन बाध्य भए । 

अहिले के गर्दैछन् थापा ?
गत फागुन २ गतेसम्म थापा र थापा नेतृत्वको पार्टी सरकारमा थियो । फागुन ३ मा शेरबहादुर देउवाले राजीनामा दिनु अघिल्लो दिन नै थापाले सरकारबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि कमल थापाले पार्टीमा २ वटा बैठक राखे । ती बैठकबाहेक राजनीतिक कार्यक्रममा थापा खासै देखिएनन । बरु, टेबलटेनिस खेलाडी समेत रहेका थापाले यही बीचमा २ पटक राष्ट्रियस्तरको खेल खेल्न भ्याए । जसमा थापा एकमा विजेता र अर्कोमा उपविजेता बने । त्यसबाहेक उनले विभिन्न धार्मिकस्थल पुगेर पूजापाठ समेत गर्न भ्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप