शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी जेलमा रहेका उमेशको मुद्दामा फैसला हुँदै

बिहीबार, ०८ चैत २०७४, १७ : ०४
बिहीबार, ०८ चैत २०७४

काठमाडौँ । एक पाकिस्तानी नागरिकको हत्या गरेको आरोपमा १२ वर्षदेखि साउदीको जेलमा रहेका उमेश यादवको मुद्दामा २७ दिनपछि फैसला हुँदैछ ।

साउदी अदालतमा केही दिन पहिले बहस हुँदा उमेशको पक्षमा सकारात्मक वतावरण बनेको समाचार प्राप्त भएको पारिवारिक स्रोतले जनाएको छ । यो खबरले उमेशका परिवार खुशी बनेका थिए । तर साउदी अदालतले उमेशको घाँटी काटेर २४ घण्टा झुण्डाउने र ७० लाख ब्लडमनी (क्षतिपूर्ति) पनि लिने समाचारहरु पनि सँगै आएपछि परिवार झन पीडित बनेका छन् ।

तर, उमेश यादव बचाउन अभियानमा लागेकाहरुले यस विषयमा खोजबिन गर्दा ती समाचारहरुमा कुनै सत्यता नरहेको पुष्टि गरेका छन् । बरु उमेश यादव २७ दिनपछि रिहाई हुने सम्भावना रहेको बताइएको छ । 

फैसला उमेश यादवको पक्षमा हुने विश्वास उनका परिवारका सदस्यले गरेका छन् । २०६२ सालमा वैदेशिक रोजगारमा गएका उमेश र त्यही काम गर्ने मोहम्मद वाजिरसँग झडप भएको थियो । झडपमा वाजिरको मृत्यु भएको थियो । 

वाजिरको मृत्युपछि उमेशलाई साउदीको जुबैल जेलमा राख्यो । सो घटनामा मुछिएका दिनेश यादव पनि पक्राउ परेका थिए तर छ महिनापछि रिहा भएर घर फर्के ।

२०६७ मा अदालतमा भएको एक फैसलाले उमेश यादवलाई मृत्यु दण्ड दिएको थियो । धनुषा कमलामाई नगरपालिकाका उमेश यादवलाई मृत्युदण्ड दिएपछि साउदीका प्रशासनले त्यहाँका नेपाली दुतावाससँग उनको बारेमा थप जानकारी माग गरेको थियो । 

दुतावासले उमेश यादवको बारेमा विस्तृत जानकारी उपलब्ध गराउनुको साथै त्यसको बचाउनमा तत्कालिन नेपाली राजदूत उदयराज पाण्डे लागेका थिए । उमेश बचाउन अभियानमा लागेका सरोज राय यादवका अनुसार राजदूत पाण्डेको पहलमा पीडित परिवार (पाकिस्तानी) ले मृत्युदण्डबाट माफी दिन तयार भएका थिए । 

यद्यपि उनलाई माफी दिए पनि पीडित परिवारले ब्लडमनी (क्षतिपूर्ति) माग गरेका थिए । त्यसका लाग पनि पहल गर्न राजदूत तयार भएको कुरा समाचारहरु प्रकाशित भएको थियो । 

तर, त्यहाँका वर्तमान राजदूत डा.महेन्द्र सिंहले ब्लडमनी दिने कुनै सहमति नभएको कुरा उमेश यादव परिवारलाई जानकारी गराएको अभियन्ता सरोज रायले बताए । पीडितका पाकिस्तानी परिवार सम्पर्क विहिन भएकाले अदालतले कानुनी प्रकृया पूरा गरेर उमेशलाई छाड्न सक्ने सम्भावना रहेको राजदूत सिंहले आफूलाई भनेको रायले रातोपाटीलाई बताए । 

उमेश र राजदूत सिंह एउटै ठाउँका भएका हुनाले उनीबीच साउदीमा फोनमा कुराकानी भइरहेको हुन्छ । जुबैलाको अदालतमा उमेशको बारेमा केही दिन पहिले अदालतमा बहस हुँदा उनी चाँडै रिहा हुने अवस्था देखिएको राजदूत सिंहको भनाईलाई उद्धृत गर्दै सरोज रायले बताए ।

उमेश यादवको चाँडै रिहाइका लागि सरोज राय सदस्य रहेका तराई मधेश राष्ट्रिय परिषद्ले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पहल गर्न आग्रह गरेको छ । त्यसका साथै पराराष्ट्र मन्त्रालयका पदाधिकारी प्रविण भट्टराईसँग पनि उनीहरुले छलफल गरेका छन् ।

उमेश यादवलाई रिहाइका लागि मन्त्रालयले पहल गर्ने आश्वासन भट्टराईले दिएका छन् । त्यसैगरि, सरोज रायले दुवईमा रहेका राकेश जयसवालको मार्फत पाकिस्तानका एकजना पदाधिकरीसँग पनि फोनमा कुराकानी गरेका छन् । पाकिस्तानी पदाधिकारीले पनि उमेशलाई रिहाईका लागि पहल गर्ने आश्वासन दिएको सरोज रायले रातोपाटीलाई बताए ।

यदि पीडित (पाकिस्तानी) परिवारले क्षतिपूर्ति माग गर्यो भने त्यो बुझाएर भए पनि उमेशलाई रिहा गराउने तयारी पनि भइरहेको छ । पिडित परिवारलाई क्षतिपूर्ति दिए उमेशलाई रिहाई गरी दिने सम्भावना रहेको सरोज रायले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप