शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अल्कोहलिकले देखाउने व्यवहार

शुक्रबार, ०९ चैत २०७४, १३ : २०
शुक्रबार, ०९ चैत २०७४

डा. नरेन्द्रसिंह ठगुन्ना, मनोविद् अध्यक्ष, द स्कुल अफ साइकोलोजी नेपाल

मदिरा विश्वभरि प्रयोग गरिने सबैभन्दा पुरानो नशालु पदार्थ हो । यसलाई मानिसले प्रयोग गर्ने तरिका र मात्राले समाज र व्यक्तिलाई पार्ने प्रभावको निर्धारण गर्छ । उसो त मदिराको नियमित प्रयोगले स्वयंलाई मात्र नभएर परिवार, साथी, सहकर्मी र अपरिचित सबैलाई प्रभावित तुल्याउँछ । नियमित सेवन गर्दै जाँदा कुनै समय मानिस मदिरामै निर्भर हुने सम्भावना हुन्छ ।

यसकारण एडिक्ट
छोटो समयमा मदिरामा निर्भर हुने कुरा व्यक्तिको उमेर, शारीरिक बनोट, मद्यपान गर्दाको अनुभव, मनस्थिति, बाहिरी वातावरण आदि कुराले निर्भर गर्छ । मदिराको असर व्यक्तिको शारीरिक तौल, बनोट, रक्सी पिउने तरिका, पिउने समय र मात्रामा भर पर्छ । रगतमा भएको रक्सीको मात्राअनुसार मस्तिष्कमा असर पर्ने गर्छ ।

भयावह तस्बिर
नशाको रूपमा मदिरा सर्वाधिक प्रयोग हुने पदार्थ हो । यसको एउटा कारण सहजै उपलब्ध हुनु पनि हो । विश्व स्वास्थ्य संगठनले १३ मे २०१४ मा जेनेभामा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार मदिरा सेवनका कारण प्रत्येक १० सेकेन्डमा एकजना र प्रत्येक वर्ष ३३ लाख मानिसको अकालमै मृत्यु हुने गर्छ । यो आँकडा विश्वको वार्षिक मृत्युको ५ दशमलव ९ प्रतिशत हो ।

त्यस्तै, गलत तरिकाले मदिरा सेवनबाट दुई सयभन्दा बढी रोग र दुर्घटना पनि निम्त्याउने गर्छ । ५ दशमलव १ प्रतिशत रोगको कारण मदिरा नै हो । अत्यधिक मदिरा सेवनका कारण २० देखि ३९ वर्ष उमेर समूहका २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको पनि अध्ययनले देखाएको छ । अत्यधिक मदिरा सेवनले मानसिक विचलन, चोटपटक र विचार आदान–प्रदानमा समस्या देखिने गरेको पाइन्छ ।

नियमित मदिरा सेवन गर्ने पुरुषले २१ दशमलव २ लिटर र महिलाले औसत ८ दशमलव ९ लिटर शुद्ध रक्सी प्रयोग गरेको देखाएको छ । रुसका पुरुषले औसत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन् २०१० को विश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ ।

अल्कोहलिक र मानसिक रोगका बारेमा अध्ययन गर्दा दुवै एक–अर्काका परिपूरकको रूपमा देखिएको छ । अत्यधिक मदिराको प्रयोगले रोगको संक्रमण बढाउनुका साथै सामाजिक सम्बन्धमा तिक्तता ल्याउने र सामाजिक, आर्थिक हानि हुने गर्छ ।

यस्ता व्यवहार देखाउँछन्
मदिराको समस्या भएका मानिसले नकार्ने वा अस्वीकार गर्ने व्यवहार देखाउँछन् ।
रक्सीको समस्या भएको व्यक्तिले आफूलाई पृष्ठपोषण र प्रतिवाद गर्ने व्यवहार देखाउँछन् ।
यसको समस्या भएका व्यक्तिमा सहजै झुटो बोल्ने र अरूलाई दोष दिने बानी हुन्छ ।
मदिरा र अन्य लागुपदार्थको उपचार गरेपछि पनि छोटो समयमै पुनरावृत्ति हुने सम्भावना बढी हुन्छ ।
मदिरको समस्या भएका व्यक्तिले यसबारे कुरा गर्न रुचाउँदैनन् । बरु व्यावहारिक कुराको सुरुवात गर्छन् । एकजना मात्र भएका र नजिकको साथीसँग मात्र यस्तो विषयमा कुरा गर्छन् ।
मदिरा सेवन गर्ने मानिसले आफ्नो बानीलाई नैतिकताको दायराभित्र राख्ने हरसम्भव प्रयास गर्छन् ।
व्यक्ति आत्तिएको, तनाव महसुस गरेको, छटपटिएको, पसिना आएको छ भने त्यस्ता गतिविधि रक्सी छोडेको अवस्थामा हुने शारीरिक तथा मानसिक प्रतिक्रियाको लक्षण पनि हुन सक्छ ।

समस्याबारे कसरी थाहा पाउने ?
कुराकानीको अवस्थामा मदिरा सेवन गरेको छ÷छैन भन्ने हेरेर यसको समस्याबारे थाहा पाउन सकिन्छ ।
रक्सी पिउने बानीका कारण परिवार वा व्यक्ति चिन्तित छ वा छैन भन्ने कुराबाट तुलनात्मक समस्याबारे अध्ययन गर्न सकिन्छ ।
बिहान खाली पेटमा रक्सी पिउने बानी छ कि छैन भन्ने कुराले पनि यसको समस्या देखाउन मद्दत गर्छ ।

उपचार र रोकथाम
मदिरा प्रयोगकर्ताको अवस्था र कारणअनुसार बहुआयामिक विधिबाट उपचार गर्न सकिन्छ । विशेष गरी विषमुक्तीकरण (डिटोक्सिपफिकेसन, औषधि, मनोचिकित्सा, मनोविमर्श, मनोउपचार, व्यवहार परिवर्तन, बहुआयामिक पद्धति, पुनस्र्थापना केन्द्र केन्द्रित उपचार पद्धति उपयोगी हुन्छ ।
सरकारीस्तरबाट पनि नीति नियम लागू भए÷नभएको अनुगमन र मूल्यांकन गरेर, मूल्यवृद्धि र करको दायरा बढाएर, मागलाई कम गरेर, रक्सीको उपलब्धता सीमित गर्न कोटा प्रणाली अपनाएर, यसबाट भइरहेको आर्थिक, मानवीय र भौतिक क्षतिबारे सजग गराएर यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
हाम्रोजस्तो विकासशील मुलुकमा लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याबारे जनचेतना फैलाउन जरुरी हुन्छ ।

समस्या
मदिराका कारण अल्सर, टिबी, उदासीनता, चिन्ता, डर, बेहोस हुने, हातखुट्टा काम्ने, कडा खालको मानसिक रोग आदि हुने गर्छ ।
यदि रक्सीको बारेमा सेवाग्राहीले सकारात्मक कुरा गरेको छ भने रक्सीले सेवाग्राहीको जीवनमा पु¥याएको असरहरूका बारेमा मनोशिक्षा प्रदान गर्ने र जानकारी गराउने ।

नयाँ पत्रिकाबाट 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप