शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्वतका किसानको पीडाः डढुवा रोगले गोलभेँडा सखाप

शुक्रबार, ०९ चैत २०७४, १६ : ०४
शुक्रबार, ०९ चैत २०७४

फलेवास– लामो खडेरी पछिको वर्षासँगै गोलभेँडामा डढुवा रोगको संक्रमण देखिएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् ।  लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने र एक सातामै बोट मर्न थालेको किसानले बताएका छन् । 

जिल्लाको मोदी, पैयुँ, जलजला गाउँपालिका र फलेवास नगरपालिकामा गोलभेँडामा डढुवाको संक्रमण देखिएको हो । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेँडाका बोट धमाधम मर्न थालेपछि किसान आत्तिएका छन् । 

“पोहोर टनेलको गोलभेँडा बेचेर दुई लाखसम्म आम्दानी गरेको थिए,” फलेवास– ६ देवीस्थानका ओमप्रसाद भुषालले भने– “यसवर्ष पाक्ने बेलामा सबै सखाप भयो । लगानी उठ्न पनि मुस्किल छ ।” 

फलेवास– ४ का थानेश्वर भुषालले डढुवा रोगको संक्रमण बढेपछि कृषि प्राविधिकको सल्लाहमा विभिन्न औषधि प्रयोग गरे पनि बोट मर्ने क्रम नरोकिएको बताए । उनले दुई महिनादेखि डढुवा रोग निको पार्न विभिन्न विषादीको प्रयोग गरेको बताए । 

लाखौं लगानी गरेर गोलभेँडाको खेती गरेका किसान डढुवा रोगका कारण निराश छन् । एउटा टनेल बनाउन रु एक लाख ५० हजारसम्म खर्च हुन्छ । दुई वर्ष लगातार डढुवा रोग लागेर गोलभेँडा मरेपछि हालसम्म लगानी जुटाउन नसकेको भुषाल बताउँछन् । खुलाबारीमा देखिएको डढुवा टनेलभित्रको गोलभेँडामा पनि फैलिएको हो । 

जलजलाका रामु सुवेदीले तीन रोपनीमा लगाएको गोलभेँडामा डढुवा फैलिएको बताए । “विगतमा गोलभेँडाबाट पाँच लाखसम्म आम्दानी हुन्थ्यो,’ उनले भने, “बीउ र परिश्रम सबै खेर गयो ।” गोलभेँडाको बोट मरेपछि पारिश्रमिक उठाउन नसकेको उनको भनाइ छ । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी मौसममा थोरै फेरबदल हुने वित्तिकै गोलभेँडा र आलुमा डढुवाले आक्रमण गर्ने बताउँछन् । खुला स्थानमा लगाइएको गोलभेँडामा छिटो आक्रमण गर्ने यो रोगले टनेलभित्र पनि असर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप